सम्बन्ध सुधारको नयाँ अवसर


नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाको काठमाडौं आगमन केवल कूटनीतिक प्रतिनिधिको फेरबदल मात्र होइन, दुई देशबीचको सम्बन्धलाई नयाँ प्राथमिकता र विश्वासका साथ अघि बढाउने अवसर पनि हो । नेपाल र भारतबीचको सम्बन्ध भौगोलिक निकटता, ऐतिहासिक सम्बन्ध, सामाजिक–सांस्कृतिक अन्तरसम्बन्ध र आर्थिक निर्भरतामा आधारित छ । तर, निकट सम्बन्ध हुँदाहुँदै पनि दुवै देशबीच विश्वासको अभाव, सीमा विवाद, व्यापार असन्तुलन, पारवहन समस्या तथा राजनीतिक असमझदारी बेलाबखत चुनौतीका रूपमा देखिँदै आएका छन् । त्यसैले नयाँ राजदूतको कार्यकाललाई औपचारिक कूटनीतिक जिम्मेवारीमा मात्र सीमित राख्नुहुँदैन । सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेला नेपाल मामिलाका अपरिचित पात्र होइनन् । भुटानका लागि भारतीय राजदूत र भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको जिम्मेवारी सम्हालेको अनुभवले पनि उनलाई क्षेत्रीय कूटनीति, आर्थिक सहकार्य र विकास साझेदारीबारे राम्रो ज्ञान भएको अधिकारीका रूपमा स्थापित गरेको छ । उनको यही अनुभव नेपाल–भारत सम्बन्धलाई व्यावहारिक र परिणाममुखी बनाउन उपयोगी हुन सक्छ ।

नेपाल र भारतबीचको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण पक्ष आपसी विश्वास हो । विगतमा राजनीतिक परिवर्तन, सीमा विवाद र विभिन्न द्विपक्षीय घटनाक्रमले दुई देशबीच अविश्वासको वातावरण सिर्जना गरेको छ । विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा विवाद नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतासँग जोडिएको विषय हो । यसलाई केवल कूटनीतिक औपचारिकतामा सीमित राखेर समाधान गर्न सकिँदैन । दुवै देशले तथ्य, प्रमाण र पारस्परिक सम्मानका आधारमा संवादलाई अघि बढाउन आवश्यक छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भए पनि व्यापार घाटा निरन्तर चिन्ताको विषय बनेको छ । नेपालले भारतसँगको व्यापारलाई आयातमा मात्र निर्भर नराखी निर्यात विस्तार, लगानी प्रवद्र्धन र उत्पादनमूलक सहकार्यमा जोड दिनुपर्छ । यस्तै जलविद्युत्, कृषि, पर्यटन, उद्योग तथा सीमापार पूर्वाधार विकासमा सम्भावना प्रशस्त छन् । विशेष गरी नेपालको विद्युत् उत्पादन क्षमता र भारतको ठूलो ऊर्जा बजारबीचको सम्बन्धलाई दीर्घकालीन रणनीतिसहित अघि बढाउन सके दुवै देश लाभान्वित हुन सक्छन् । नेपालका लागि ऊर्जा व्यापार अहिले सम्भावनाको प्रमुख क्षेत्र बनेको छ । तर, विद्युत् निर्यातमा देखिने नीतिगत जटिलता, प्रसारण लाइन विस्तार र बजार सुनिश्चितताका विषयमा स्पष्ट सहमति आवश्यक छ । त्यस्तै, रेल तथा सडक सञ्जाल, एकीकृत भन्सार जाँच चौकी, व्यापारिक नाका र पारवहन सुविधाको विस्तारले नेपालको आर्थिक विकासमा प्रत्यक्ष योगदान पु¥याउन सक्छ । यी विषयमा दलेलाले आफ्नो आर्थिक कूटनीतिक अनुभवलाई परिणाममा बदल्न सक्नुपर्छ ।

दलेला नेपाल आइपुगेकै समयमा भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण र प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको तयारीलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । नयाँ राजनीतिक नेतृत्वसँग भारतले कस्तो सम्बन्ध विकास गर्छ भन्ने विषयले आगामी द्विपक्षीय सहकार्यको दिशा निर्धारण गर्नेछ । नेपालले आफ्नो राष्ट्रिय हित, सार्वभौमिकता र स्वतन्त्र परराष्ट्र नीतिलाई केन्द्रमा राखेर छिमेकीसँगको सम्बन्ध अघि बढाउनुपर्छ । भारतले पनि नेपालको आन्तरिक राजनीतिक संवेदनशीलता र सार्वभौम निर्णय प्रक्रियाको सम्मान गर्न आवश्यक छ ।

नेपाल–भारत सम्बन्ध समानता र पारस्परिक सम्मानमा आधारित हुनुपर्छ । ठूलो अर्थतन्त्र र शक्तिशाली छिमेकी भएकै कारण भारतको भूमिका बढी जिम्मेवार हुनुपर्छ भने नेपालले पनि आफ्ना राष्ट्रिय प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । कूटनीतिक सम्बन्धमा सद्भावका अभिव्यक्तिभन्दा व्यवहारमा देखिने सहयोग बढी महत्वपूर्ण हुन्छ । नयाँ राजदूत दलेलाका लागि नेपालको राजनीतिक नेतृत्व, प्रशासनिक संयन्त्र, निजी क्षेत्र र नागरिक समाजसँग विश्वासपूर्ण संवाद स्थापित गर्नु पहिलो प्राथमिकता हुनुपर्छ । दुई देशबीच वर्षौंदेखि थाती रहेका समस्यालाई नयाँ ढंगले सम्बोधन गर्ने र सहकार्यका सम्भावनालाई व्यवहारमा उतार्ने अवसर उनका सामु छ । अन्ततः नेपाल–भारत सम्बन्ध कसैको प्रभाव वा दबाबमा होइन, साझा हित र सम्मानको जगमा अघि बढ्नुपर्छ । नयाँ राजदूतको आगमनले पुराना असमझदारी हटाउँदै सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सके मात्रै उनको कूटनीतिक अनुभवको सार्थकता प्रमाणित हुनेछ ।