अमेरिकामा कलाकारिता जोगाउँदै सरिता

नयाँ पुस्तालाई कला हस्तान्तरण, खेलाइयो देउसी–भैलो


अमेरिका बसोबास गरेर पनि कलाकारितालाई निरन्तरता दिंदै लोकप्रिय अभिनेत्री सरिता लामिछाने नेपाली कला र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानमा छिन्। नेपाली फिल्म तथा टेलिभिजन क्षेत्रमा करिब २५ वर्ष बिताएकी उनले अमेरिकाको ओहायोस्थित रेनल्सबर्गमा एभरेस्ट कला केन्द्र, युएसए स्थापना गरेर आफ्नो कलाकारितालाई नयाँ स्वरूप दिएकी हुन्।

लामिछानेले जुन २०२५ मा स्थापना गरेको केन्द्रमार्फत अहिले सयभन्दा बढी बालिका नृत्य तथा सांस्कृतिक प्रशिक्षणमा सहभागी छन्। केन्द्रका सबै विद्यार्थी बालिका हुन्। नेपाली मौलिक नृत्यप्रतिको उनीहरूको आकर्षण केन्द्रको विशेष पहिचान बनेको छ।

यही अभियानलाई निरन्तरता दिंदै सरिताले केन्द्रबाट नजिकिंदो तिहारलाई लक्षित गरी हालै रेनल्सबर्गस्थित वेलकम इभेन्ट सेन्टरमा दीपावली, देउसी–भैलो तथा छठ विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेकी छन्। कार्यक्रममा बालिकाहरूले नेपाली मौलिक नृत्य तथा देउसी–भैलो प्रस्तुत गरेका थिए। ज्येष्ठ नागरिकको सम्मानसमेत गरिएको कार्यक्रममा नेपाली समुदायका अभिभावक, बालबालिका तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए। गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाअन्तर्गत ओहायो च्याप्टरका अध्यक्ष विजय बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चर्चित गायक तथा कलाकार बाबु बोगटीले सांगीतिक प्रस्तुति दिएका थिए।

नेपाली कला र संस्कृतिको उत्थान, हाम्रो पहिचान भन्ने मूल नाराका साथ सञ्चालित केन्द्र सरिताका लागि नृत्य सिकाउने संस्था मात्र होइन, कलाकारिताप्रतिको लगाव र सांस्कृतिक जिम्मेवारीको निरन्तरता पनि हो। नेपालबाट अमेरिकामा बसाइं सरेपछि भौगोलिक दूरी बढे पनि कलाकारितासंगको उनको सम्बन्ध भने उस्तै रह्यो। बरु यही लगावले नयाँ सिर्जनात्मक यात्राको रूप लिएको उनी बताउँछिन्।

नेपालमा फिल्म र टेलिभिजन अभिनयबाट आफ्नो परिचय निर्माण गरेकी लामिछानेले कला क्षेत्रमा आर्जन गरेको अनुभव अहिले बालबालिकाको प्रशिक्षणमा उपयोग गरिरहेकी छन्। नेपाली गीत–संगीत, मौलिक नृत्य र सांस्कृतिक प्रस्तुतिमार्फत नया“ पुस्तालाई आफ्नो समुदायको पहिचानसंग परिचित गराउने उनको प्रयास छ।

उनका अनुसार कला केन्द्रमा नृत्यसंगै अनुशासन, समयपालन, जिम्मेवारी, आपसी सम्मान र मञ्चमा प्रस्तुत हुने आत्मविश्वासलाई पनि महत्व दिइन्छ। केन्द्रका आफ्नै नियम छन्, जसलाई विद्यार्थीहरूले उत्साहपूर्वक पालना गर्दै सिकिरहेका छन्। दर्शकसामु कसरी प्रवेश गर्ने, प्रस्तुति कसरी आत्मविश्वासका साथ दिने र समूहमा कसरी मिलेर काम गर्ने भन्ने सीप पनि प्रशिक्षणको हिस्सा हुन्। सरिताको लक्ष्य नृत्य जान्ने विद्यार्थी तयार गर्नुमा मात्र सीमित छैन। केन्द्रबाट बाहिरिंदा बालबालिकाले राम्रो संस्कार, अनुशासन, आत्मविश्वास र नेपाली सांस्कृतिक पहिचानप्रतिको गर्व हासिल गरून् भन्ने उनको ध्येय छ। अभिभावकहरूले पनि बालबालिकाको कलात्मक सीपसंगै व्यवहार र व्यक्तित्वमा सकारात्मक विकास अनुभव गरून् भन्ने उनको अपेक्षा छ। निकट भविष्यमै केन्द्रमा नेपाली भाषाको कक्षा सञ्चालन गर्ने योजना पनि उनले बनाएकी छन्।

छोटो अवधिमै सयभन्दा बढी बालिकालाई जोड्न सफल सरिताको यो प्रयासले विदेशमा नेपाली सांस्कृतिक शिक्षाप्रतिको रुचिलाई पनि उजागर गरेको छ। उनका लागि एभरेस्ट कला केन्द्र कलाकारितालाई निरन्तरता दिने माध्यम मात्र होइन, आफ्नो भाषा, संस्कार र सांस्कृतिक पहिचान नया“ पुस्तामा हस्तान्तरण गर्ने अभियान पनि हो। भविष्यमा नृत्य, नेपाली भाषा, अभिनय र व्यक्तित्व विकासलाई जोड्ने सिर्जनात्मक सिकाइस्थल बनाउने उनको परिकल्पना छ।