विश्वप्रसिद्ध लाङटाङ चिज उत्पादनमा चुनौती

0
Shares

रसुवा ।

नेपालकै जेठो र ऐतिहासिक पहिचान बोकेको रसुवाको चिज उद्योग संकटतर्फ धकेलिन थालेको छ । विगत ७ दशकभन्दा लामो इतिहास बोकेको रसुवाको चिज उत्पादन क्षेत्रमा पछिल्लो समय अनेकौँ चुनौतीहरू थपिँदै गएका हुन् ।

दुग्ध विकास संस्थानअन्तर्गत रसुवाका पाँच उच्च हिमाली क्षेत्रहरू– धुन्चे, चन्दनबारी, लाङटाङ, तातोपानी र गत्लाङमा यस वर्ष पनि वैशाखदेखि कात्तिकसम्मका लागि चिज उत्पादन भयो । पौष्टिक तथा औषधियुक्त घाँस पलाउने मौसम शुरु भएसँगै यी केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन भएका थिए । उत्पादित चिज काठमाडौँस्थित लैनचौर केन्द्रीय भण्डारमा पठाइएको छ । संस्थानले चिजको मूल्य प्रतिकेजी रु. १,९०० र मख्खनको प्रतिकेजी रु. १,१५० निर्धारण गरेको थियो । यद्यपि, नेपालकै जेठो मानिने लाङटाङ चिज उत्पादन केन्द्र भने यस वर्ष विविध कारणले ढिलो गरी मात्र सञ्चालनमा आएको जानकारी प्राप्त भएको छ ।

समस्या र चुनौतीका चाङ

स्वीस सरकारको सहयोगमा वि.सं. २००९ मा नेपालमै पहिलोपटक रसुवामा चिज उद्योगको स्थापना भएको थियो । त्यसपछि स्थानीय बासिन्दाले चौँरीपालनलाई व्यावसायिक रूपमा अँगाल्दै आएका थिए । तर, पछिल्ला वर्षहरूमा पर्यटन व्यवसायको विस्तारसँगै चौँरीपालक किसानहरू होटल तथा लज सञ्चालनतर्फ आकर्षित भएका छन् । यसले गर्दा चिज उद्योगहरूमा दूधको चरम अभाव हुन थालेको छ ।

चन्दनबारी चिज उत्पादन केन्द्रका प्रमुख सुभाष राईका अनुसार युवा पुस्ता वैदेशिक रोजगारीतर्फ पलायन हुनु, पुराना चौँरीपालक किसानहरूको उमेर ढल्किँदै जानु र दूधको उत्पादन निरन्तर घट्दै जानुले केन्द्र सञ्चालन गर्न निकै मुस्किल परिरहेको छ ।

हाल चन्दनबारी र लाङटाङ चिज केन्द्रहरू सीमित दूध संकलनकै भरमा जेनतेन सञ्चालन भइरहेका छन् । अर्कोतर्फ, दुग्ध विकास संस्थानले पहिले किसानहरूलाई उपलब्ध गराउँदै आएका छाता, बाल्टिन, र गमबुटजस्ता आवश्यक सामग्रीमा कटौती गरेको र अहिले केवल २५ केजी नुन मात्र उपलब्ध गराउने गरेको भन्दै स्थानीय किसानहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

इतिहास र महत्व

इतिहासकार एवं पूर्वप्रशासक रेशमबहादुर पाण्डेका अनुसार विश्वमा चिज उत्पादनको इतिहास ७–८ हजार वर्ष पुरानो छ । नेपालमा भने आधुनिक चिज उत्पादनको शुरुवात वि.सं. २०१४ मा स्वीस विशेषज्ञहरूको सहयोगमा भएको मानिन्छ । हिमाली क्षेत्रको चौँरीको दूधबाट उच्च गुणस्तरको चिज उत्पादन हुने सम्भावना देखेपछि यो प्रविधि नेपाल भित्र्याइएको थियो, जसको निरन्तरता स्वरूप रसुवाको लाङटाङ चिज नेपालकै पहिचान बन्यो ।

स्वीस शैलीको यो हिमाली चिज आफ्नो विशिष्ट स्वाद र गुणस्तरका कारण स्वदेशी तथा विदेशी उपभोक्तामाझ निकै लोकप्रिय छ । तर, किसानको संख्या घट्नु र पर्यटनतर्फ आकर्षण बढ्नुले दशकौँ पुरानो यो उद्योगको दिगोपनमा ठूलो प्रश्नचिह्न खडा गरिदिएको सरोकारवालाहरू बताउँछन् ।

संरक्षणका लागि आग्रह

रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार स्थानीय किसानलाई प्रोत्साहन र आवश्यक सामग्रीमा सहयोग पु¥याएर चौँरीपालनलाई आकर्षक व्यवसायका रूपमा विकास गर्न सके मात्र यो ऐतिहासिक चिज उद्योगलाई दीर्घकालसम्म संरक्षण गर्न सकिन्छ ।

त्यस्तै, जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरेले रसुवाको चिज व्यवस्थित र गुणस्तरीय तवरले उत्पादन भइरहेकाले यसको जगेर्नाका लागि सरकारी एवं गैरसरकारी निकायहरूको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । चौँरीपालक किसानलाई राज्यले उचित राहत र प्रोत्साहन नदिए विश्वप्रसिद्ध लाङटाङ चिज इतिहासमा मात्र सीमित हुने जोखिम बढेको छ ।