बालकमाथि गोली प्रहारको निष्पक्ष छानबिन गर्न सिजपको माग


काठमाडौं ।

बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर बालक घाइते भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले माग गरेको छ।

अस्पताल उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर बालक घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सिजपले राज्यका सुरक्षा निकायबाटै बालक घाइते हुनु दुःखद र चिन्ताजनक भएको जनाएको छ।

सिजपले बालबालिका कुनै पनि राजनीतिक विवाद, प्रदर्शन, झडप वा हिंसात्मक गतिविधिको सिकार हुन नहुने स्पष्ट पारेको छ। बालबालिकाको जीवन, सुरक्षा, सम्मान र संरक्षणको अधिकार संविधान, बालबालिकासम्बन्धी ऐन, २०७५ तथा बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिले सुनिश्चित गरेको उल्लेख गर्दै अभियानले घटनाले सार्वजनिक कार्यक्रम र सुरक्षा व्यवस्थापनमा बालबालिकाको सुरक्षालाई कति प्राथमिकता दिइएको छ भन्ने गम्भीर प्रश्न उठाएको जनाएको छ।

अभियानले नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद् तथा सम्बन्धित निकायसँग घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेको छ। गोली प्रहार र घटनामा संलग्न जिम्मेवार व्यक्तिको पहिचान गरी दोषीलाई प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने तथा पीडित बालकले न्याय पाउने सुनिश्चितता गर्नुपर्ने सिजपको माग छ।

त्यसैगरी घाइते बालकको सम्पूर्ण उपचार, मनोसामाजिक परामर्श र दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था निःशुल्क गर्न तथा बालक र उनको परिवारलाई आवश्यक सहयोग र उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि अभियानले आग्रह गरेको छ।

अनुसन्धान तथा न्यायिक प्रक्रियामा बालमैत्री पद्धति अपनाउँदै बालकको गोपनीयता, मर्यादा र सर्वोत्तम हित सुनिश्चित गर्नुपर्नेमा सिजपले जोड दिएको छ। सार्वजनिक कार्यक्रम तथा भीड नियन्त्रणका क्रममा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिई बल प्रयोगसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न पनि माग गरिएको छ।

राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद् तथा अन्य सम्बन्धित निकायले घटनाको तत्काल अनुगमन गरी बालबालिकाको संरक्षणका लागि आवश्यक पहल गर्नुपर्ने अभियानको भनाइ छ।

राजनीतिक दल, स्थानीय सरकार, प्रशासन र सुरक्षा निकायले आफ्ना गतिविधिमा बालबालिकाको सर्वोत्तम हित र सुरक्षालाई प्राथमिकता दिँदै उनीहरूलाई हिंसा, द्वन्द्व र जोखिमबाट सुरक्षित राख्ने प्रतिबद्धता व्यवहारमै कार्यान्वयन गर्नुपर्ने सिजपले जनाएको छ।

बालबालिकाको जीवन अमूल्य भएकाले उनीहरूमाथि हुने कुनै पनि प्रकारको हिंसा, लापरबाही र अधिकार उल्लङ्घन स्वीकार्य नहुने उल्लेख गर्दै अभियानले राज्यका सबै जिम्मेवार निकायलाई बालबालिकाको जीवन, सुरक्षा र सम्मानको अधिकार सुनिश्चित गर्न जवाफदेही बन्न आग्रह गरेको छ।

‘बालबालिका शान्ति क्षेत्र हुन्, उनीहरूलाई हिंसा, द्वन्द्व र असुरक्षाबाट मुक्त राखौँ’ भन्ने सन्देशसहित सिजपले बालअधिकार संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ।