राष्ट्रिय जागरण अभियानको उपादेयता

0
Shares

नेपाली राष्ट्रिय कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको संयोजनमा राष्ट्रिय जागरण अभियान सञ्चालन हुँदै छ । उक्त अभियान सञ्चालनको सन्दर्भलाई लिएर विभिन्न विश्लेषकहरूले विभिन्न तर्क–वितर्क गर्ने गरेको पाइन्छ । वास्तविकतालाई नियालेको खण्डमा पुराना राजनीतिक दलहरू लामो समय निष्क्रिय भएर रहने अनि स्थानीय चुनाव तथा आम चुनावको मिति नजिक आउँदै गर्दाको समयमा भने अलि बढी राजनीतिक सक्रियता देखाउने र विगतमा गर्न नसकेका काम पनि गरी पो छोड्लान् कि जसरी आम जनता र कार्यकर्तालाई उधारो हौसला बढाउने काममा लागेका देखिन्छन् ।

यति मात्र होइन कि मासिक रुपमा बुझाउनुपर्ने लेवीका लागि कडाइका साथ प्रस्तुत हुने बानी लागेका छन् । यसो गरेपछि हरेकजसो इमानदार कार्यकर्ताले तोकिएको लेवी बुझाउने र राजनीतिक दबाबकै भरमा भए पनि मतदाता रिझाउने, भोट माग्ने अभियानमा सक्रिय हुनुपर्ने अवस्था सिर्जना गरेको पाइन्छ । अबको राष्ट्रिय जागरण अभियान भनेको विगतमा त्यत्रो सिङ्गो माओवादी पार्टीको कमान्डर बनेका र प्रचण्डपथका संस्थापक मानिने कमरेड प्रचण्डलाई अरु सबैजसोले छोडेर भागे पनि तिमीहरूले चाहिँ अझै मानिराख अनि स्थानीय चुनावमा उनकै राजनीतिक दलबाट चुनावमा भिड्ने उम्मेद्वारलाई भोट दिएर जिताऊ, यदि त्यसो गरेका खण्डमा स्थानीय तह हाम्रो कब्जामा हुनेछ भन्नेजस्ता अफबाह फैलाउनु राष्ट्रिय जागरण अभियानको मूल उद्देश्य देखिन्छ । विगतको एक दशक लामो लडाइँमा जितियो भने केवल खेत वा बारीको एक टुक्रो जमिन मात्रै नभई सम्पूर्ण देश नै हाम्रो हुन्छ भन्ने आश्वासनको आशामा हजारौँ नवयुवाले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेका थिए, भरे एकथोपो उपलब्धि केही नभएको अवस्थामा चित्त बुझाउनुपरेको छ । अझ घाइते, अपाङ्गहरूले बाँचुन्जेल नारकीय र विवश जीवन बिताउन बाध्य हुनुपरेको छ ।

राष्ट्रिय जागरण अभियानको अर्को उद्देश्य भनेको वर्तमानको बालेन नेतृत्वको सरकार सिधै ढालेर होस् कि विविध खालका षड्यन्त्र मच्चाएर मन्द विषको जसरी सताउँदै लगेर ढाल्ने भन्नेजस्ता अभियान सञ्चालनका लागि पनि राष्ट्रिय जागरण अभियानको नाटक मञ्चन भइरहेको छ । अबका दिनमा उक्त अभियान सञ्चालन हुँदै गर्दाको समयमा कैयौँ सोझा र इमानदार कार्यकर्ताले विनालाभको कति झन्झट भोग्नुपर्ने हो भन्ने कुरा थाहा छैन । अब स्थानीय चुनाव सम्पन्न हुँदासम्मको लागि राष्ट्रिय जागरण कार्यक्रम सञ्चालन गरेर अधिकतम स्थानीय तहमा जित हात पार्न र फेरि हालिमुहाली गरेर देश लुट्न पाउँदाको खण्डमा आजको जागरण अभियानमा सामेल भएका आम कार्यकर्ता बीस दिनपछिको बिर्सियो भनेजस्तै हुन्छन् र हात्ती आयो हात्ती आयो फुस्सा हुन पुग्छ ।

पुराना राजनीतिक दलहरूले अबका दिनमा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नुको साटो स्व–आत्मजागरण कार्यक्रम सञ्चालन गर्नु अधिक उपयुक्त हुन्छ कि ! पुराना राजनीतिक दलका शीर्ष नेता कहलिएका सबैजना सत्तरीको उमेर पार गर्दै गरेका र कोही असीको हाराहारीतिर उक्लँदै गरेका छन् । आजका दिनसम्म उनीहरू कसैले पनि एक घण्टा फगत एक्लो बसेर भागवत गीताको दर्शनका अनुसारको आफूभित्रको शक्ति वा तत्वलाई म को हुँ ? भनेर नियाल्ने वा केवल चर्मचक्ष्ॉले मात्र नहेरेर भित्री आँखा वा ज्ञानको आँखाले नियाल्ने चेष्टा गर्न भ्याएका छैनन् होला । गरेकै भए पनि केवल देखावटी नाटक देखाएजसरी मात्रै देखाएका होलान्, त्यस कारण अब न त यिनले छोराछोरी हुर्काउनु, पढाउनु छ, न त शारीरिक परिश्रमको काम गर्नुपरेको छ, त्यस कारण हरेक कोणबाट फुर्सद भई राजनीतिलाई निजी पेसा बनाएर लुट्ने बानी बसेका शीर्ष व्यक्तिले राष्ट्रिय जागरण अभियानको साटो स्व–आत्माजागरण अभियान सञ्चालन गर्न सकेका खण्डमा यस लोकको राजनीतिको अवस्था डामाडोल भए पनि परमार्थ केही मात्रामा भए पनि सुध्रिने थियो कि !

पुराना राजनीतिक दलका पुरानै नेताहरूले दशबर्से युद्धको घोषणा गरेर कति जनको क्षति भयो ? कति भौतिक सम्पत्ति लुटेर कति जनाले चाङ लगाएर कुहाए अनि ठण्डारामलाई केवल आश्वासनका भरमा बाँच्न विवश गराए । यस्ता घोर आपराधिक कर्म कति पटकसम्म गरियो ? घाइते भएका लडाकुहरूको नाममा राज्यकोषबाट ढाँटेर लुटिएको रकम उनीहरूको मुख मोसेर कसरी हाँडीघोप्टे भुँडीमै मात्र निर्लज्ज बनेर खन्याउने आपराधिक कर्म भयो ? कति जना निर्दोष आमाका काख रित्ता बनाइयो ? कति जना आमाका काख रित्ता बनाएर जीवनभर सन्तानवियोगको पीडामा छटपटाउन विवश बनाइयो ? तिनका गम्भीर असर भने अबका धेरै वर्षपछि पनि देखा परिरहने अवस्थामा भद्रगोल बनाएर छोडियो भन्ने कुरा आत्मिक समीक्षा गर्नु पहिलो आत्मजागरण कार्यक्रमको स्व–जागरण अभियान हो । कसैले पनि नेता होस् कि अरु कोही होस्, जसले आफ्नो मानसको जागरण नल्याई अरुलाई जागा गराउँछु भन्नु आफूचाहिँ कहिल्यै सचिन्न भनेर अरुलाई दोष थोपरेर आफू भने दूधले नुहाएको चोखो बन्नुजस्तै हो ।

गौतमबुद्धले यसो र उसो गर्नुपर्छ भन्दै दरबारमै बसेका भए उनी पक्कै बुद्ध बन्ने थिएनन् । दरबार छोडेर निस्केपछि पनि हाम्रा पुराना नेतालाई सत्ताको मोहले बाँचुन्जेल नछोडेजस्तै उनलाई पनि भोलि बाबुको शेषपछिको राजा हुने लोभले नछोडेको भए पनि उनी बुद्ध बन्न सक्दैनथे होला । ती सारा भौतिक सम्पत्ति, भौतिक सुखभोग आदि कुनै पनि आकर्षणले उनलाई वा उनको मानसलाई तान्न नसकेका कारणले मात्रै उनी बुद्ध बन्न सकेका हुन् ।

दुई–दुई पटक नेपालका कार्यकारी प्रधानमन्त्री बन्न सफल भएका कमरेड पुष्पकमल दाहाल प्रचण्डले अबका दिनमा कथंकदाचित सत्ता हात पारे भने आजको युवा पुस्ताले चाहेको सुशासनको नारालाई के र कस्ता काम गरेर प्रभावकारी रुपमा लागू गरी सार्थक बनाउने होलान् त ? यदि बालेन नेतृत्वको सरकार ढलेर कमरेड प्रचण्डको हातमा सत्ता आए पनि एमालेका केपी ओलीभन्दा पनि आफैँ महान्, अर्को फलानो पार्टीको नेताभन्दा आफू त कता हो कता उच्च बिचार राख्ने शासक भन्नेजस्ता तुलनात्मक रुपमा आफैँलाई सफल राजनेताको कुर्सीमा राखिमागेर आत्मरतिमा डुब्ने काम मात्रै गर्नेछन् ।

यथार्थ रुपमा भन्ने हो भने, हालको युवा पुस्ताले पुराना पुस्ताका नेतालाई थोरै पनि मन पराउन छोडेका छन् कि जस्तो लाग्न थालेको छ । पुस्तान्तरमा फरक पर्नु त स्वाभाविकै हो, तथापि पुराना राजनीतिक दलहरूले बारबार धोका दिएर नेपाली युवा पुस्तालाई दिक्क लगाएका थिए र अबको कालखण्डमा पनि सत्ताको बागडोर पुरानै पुस्ताले सम्हाल्न पाउने थियो भने युवा पुस्तालाई हैरानै बनाएर छोड्ने थियो होला । ठोस काम गर्नुको साटो फोस्रा र टालटुले गफ वा भाषण गरेर युवालाई तिनै गफ र आश्वासनको गुजुल्टामा गुजुल्ट्याएर सत्ताको तर मार्ने रणनीतिमा लागेका पुराना राजनीतिक दलहरू विसं २०८२ को आम चुनावपछिका दिनदेखि उनीहरूको उकालो वा प्रगतिको यात्रा नभएर ओरालो लागेको वा अवनतिको यात्रा शुरु भएको छ ।

यो अवनतिको यात्रा मात्रै भएको भए त केही थिएन, यो नपत्याउँदो ठानिएको बालेन नेतृत्वको सरकारले बिस्तारै मौनताका साथ काम गर्दै जाँदा विगतमा यिनले गरेका अनेक थरीका हत्कण्डाहरू छताछुल्ल हुने र नाङ्गेझार भएर खुइलिनुपर्ने दिन आउला कि भन्ने डरले तिनको मन भित्रभित्रै नराम्ररी टुट्दै जान थालेको छ । यो विषम अवस्थाको सामना नगरी हात बाँधेर बस्न पनि यिनले भएको छैन । यसै उदास वा निराश वातावरणको अन्त्य गरेर छिट्टै राजनीतिक प्रतिशोध लिन सकेका खण्डमा आफूहरूको उचाइ कति धेरै उचालिने थियो होला भन्ने विचार र सोही विचारलाई कार्यरुप दिनको लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न गइरहका छन् ।

कुनै पनि पुरानो राजनीतिक दललाई त्यो दलदले भासमा धकेल्ने र काम नलाग्ने गन्तव्यतिर लैजान प्रयास गराउनको लागि कुनै पनि राजनीतिक दलको फलानो कार्यकर्ताको भूमिका एकथोपो पनि छैन । बरु त्यसको सम्पूर्ण दोष भनेको तिनै राजनीतिक दलका शीर्ष नेताको रहेको छ भन्दा फरक नपर्ला । यदि राष्ट्रिय जागरण कार्यक्रम सच्चा रुपमा गर्ने तयारी गरिएको हो भने ती–ती राजनीतिक दलका ती–ती शीर्ष नेताले आफ्ना अहङ्कार, लालच, अदूरदर्शिताजस्ता विविध कारणले आ–आफ्ना राजनीतिक दलको गति ओरालोतिर लागेको हो । अबका दिनमा हामीले यी गलत हर्कत कहिल्यै दोहोर्‍याउने छैनौँ, हाम्रा अकर्मण्यताका लागि हामीलाई क्षमा दिएर सच्चिने सुनौलो अवसर दिनुहुन्छ कि भनेर विनम्रताका साथ अपिल गर्न आएका छौँ, हाम्रो राजनीतिक दलको यो ओरालोतिरको यात्राका लागि तपाईंहरू कसैको पनि कुनै नकारात्मक भूमिका छैन भन्ने व्यहोराको निवेदन आम नेपाली जनता र मतदातासमक्ष बिसाएर क्षमा मगाइका साथै स्थानीय निर्वाचनका लागि मतदान गर्न पनि अपिल गर्दछौँ भन्ने तरिकाले जनतासामु प्रस्तुत हुन सकेनन् भने राष्ट्रिय जागरण अभियान बेमौसमको बाजा बजेको जस्तै हुनेछ ।

पुराना राजनीतिक दलहरूलाई नेपाली जनताले त विश्वास गरेनन् गरेनन्, विदेशी दाता राष्ट्रका आधिकारिक व्यक्तित्वले समेत विश्वास नगरेका र नरुचाएका छन् भन्ने कुरा ती देशले नेपालको राजनीतिभित्रको फोहोरी खेललाई आधार बनाएर गरिएका अनेक थरीका काण्डले पनि तिनीप्रति विश्वास गर्ने वातावरण बन्न सकेको छैन । उनीहरू केवल लोकतन्त्र र गणतन्त्र भन्नेजस्ता नजानिँदा राजनीतिक मोडको दुरुपयोग गर्दै जनतालाई तिनै घुम्तीमा रोकेर राख्न अनि आफूले मनपर्दी व्यवहार अनि शासन गर्न खोजिरहेका छन् । तर उनीहरूका खिया परेका पुराना सोचका तुलनामा युवावर्गको सोच जति नै पुरातन छ भनिए पनि प्रविधिको यतिको उन्नतिका कारणले गर्दा धेरै उन्नत भएर गएको छ । आजको युवा पुस्ताको एकजना प्रतिनिधिले पनि पुरातन विचार सुन्नसमेत मन पराउँदैन । तर पुरानो पुस्ता हिजो जुन अवस्थामा राजनीति र शासन चलाउने गर्दथ्यो, आज पनि टसको मस नचलेरै वा कति पनि परिवर्तन नगरेरै यथास्थितिमै रहेर शासन चलाउने मोडमा रहेको छ । त्यस कारण आजको सन्दर्भमा राष्ट्रिय जागरण अभियान केवल देखावटी बारबन्धन हो, जसले विगतको जस्तै देश लुटेर खाने मौका प्रदान गरिरहोस् भन्ने चाहना राख्छ ।