उदयपुर ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा माध्यमिक विद्यालयमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा परीक्षण गरिएका मध्ये १५० जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । शिविरमा आँखा परीक्षण गराएका एक हजार ४ सय जनामध्ये करिब ११ प्रतिशतमा मोतियाबिन्दु पुष्टि भएको हो । विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका तथा सर्वसाधारणलाई लक्षित गरी त्रियुगा नगरपालिका र चौधरी आँखा अस्पताल लहानको समन्वयमा तीनदिने शिविर सञ्चालन गरिएको थियो ।
बुधबार उद्घाटन भएको शिविर शुक्रबार सम्पन्न भएको हो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उपेन्द्र कार्कीका अनुसार शिविरबाट एक हजार ४ सय जनाले आँखा परीक्षण तथा उपचार सेवा पाएका छन् । सेवाग्राहीमध्ये ८ सय ५ जना विद्यार्थी रहेका छन् भने अन्य अभिभावक, शिक्षकशिक्षिका तथा स्थानीय सर्वसाधारण हुन् ।
शिविरमा मोतियाबिन्दु पहिचान भएका बिरामीलाई आवश्यकताअनुसार चश्मा वितरण तथा शल्यक्रियाको व्यवस्था गरिएको छ । चश्माबाट दृष्टिमा सुधार नहुने बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि चौधरी आँखा अस्पताल लहान पठाइएको कार्कीले बताए । उनका अनुसार २१ जना विद्यार्थीलाई चश्मा वितरण गरिएको छ । शविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीमध्ये बिहीबार र शुक्रबार गरी ६९ जनालाई शल्यक्रियाका लागि लहान पठाइएको छ ।
पहिलो र दोस्रो दिन पहिचान भएका ३५ जनाको शुक्रबार नै शल्यक्रिया सम्पन्न भएको छ । शल्यक्रिया गर्न बाँकी तथा अन्तिम दिन पहिचान भएका ३४ जनालाई शुक्रबार अस्पताल पठाइएको नगरपालिकाले जनाएको छ । बाँकी ५१ जना बिरामीलाई पनि आइतबारसम्म शल्यक्रिया गर्ने गरी शनिबार अस्पताल पठाउने तयारी गरिएको छ । शिविरमा चौधरी आँखा अस्पताल लहानका चिकित्सक डा. विनय कामतको नेतृत्वमा आँखा प्राविधिक टोली परिचालन गरिएको थियो ।
नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा शिविर उद्घाटन गरेका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थी तथा उनीहरूका अभिभावकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । त्रियुगा माध्यमिक विद्यालयमा तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । दसैँ, तिहार र छठ पर्वका कारण विद्यार्थी बिदामा रहेकाले सबै विद्यार्थी शिविरमा सहभागी हुन नसकेको प्रधानाध्यापक सुभाष विष्टले बताए ।
शिशु कक्षादेखि कक्षा १२ सम्म नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ हुँदै आएको छ । कक्षा ११ र १२ मा विज्ञान, शिक्षा र व्यवस्थापन विषय सञ्चालनमा छन् भने कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङको प्राविधिक शिक्षा पनि प्रदान गरिँदै आएको छ ।
शिक्षा मन्त्रालयबाट पाँच वर्षका लागि नमुना विद्यालय घोषित त्रियुगा मावि पर्याप्त भौतिक पूर्वाधार, शैक्षिक सामग्री तथा सुविधासम्पन्न संरचनाका कारण नगरपालिकाभित्र सामुदायिक विद्यालयतर्फ उत्कृष्ट शैक्षिक संस्थाका रूपमा परिचित छ । विद्यालयमै आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन भएपछि विद्यार्थी, अभिभावक र स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाएको विद्यालयले जनाएको छ ।








तपाईंको विचार लेख्नुहोस्