– फिल्मको स्क्रिप्ट लेखन पूरा, गीत रेकर्डिङसमेत भइसक्यो।
– निखिल उप्रेतीको समय मिलेपछि सुटिङको तयारी।
– २४ वर्षअघि निजगढमा भएको दुर्घटनापछि ओछ्यानमै थलिएका छन् पवन।
– निखिल उप्रेतीलाई मुम्बईबाट नेपाल ल्याएर उनैले पिँजडाबाट बनाएका थिए हिरो।
– फिल्म क्षेत्रले बिर्सिएको महसुस, आत्महत्याको प्रयाससम्म पुगेका थिए उनी।
नै समय पर्दामा खुँखार खलनायकका रूपमा प्रस्तुत भई दर्शकलाई भयभित बनाउने पवन मैनाली अब फेरि पर्दामा फर्कने भएका छन्। अभिनेत्री तथा निर्मात्री सुशीला रायमाझीसँगको साझेदारीमा उनी स्वयंले निर्माण गरेको पिँजडाको दोस्रो शृंखला पिँजडा २ निर्माण हुने भएपछि २४ वर्षदेखि अभिनयको अवसर पर्खिरहेका पवनको पर्दामा फर्कने सपना फेरि जागेको छ।
पवनको सक्रियतामा निर्माण हुन लागेको फिल्मको स्क्रिप्ट लेखनको कामसमेत पूरा भइसकेको छ। सुरेश अधिकारीको संगीतमा गीत रेकर्डिङ पनि भइसकेको छ। शारीरिक असमर्थताका कारण लामो समयदेखि ओछ्यानमा सीमित उनको जीवनमा अभिनेता तथा निर्देशक देशभक्त खनालका पुत्र अबुदोय खनालले निर्देशन गर्ने पिँजडा २ एउटा नयाँ आशा बनेको छ।
पवन नेपाली फिल्म क्षेत्रका त्यस्ता व्यक्ति हुन्, जसले प्राविधिक खराबीका कारण बन्न नसकेको फिल्म झुमामा सहायक निर्देशकका रूपमा समेत काम गरेका थिए। पछि उक्त फिल्मको निर्देशन प्रदीप उपाध्यायले गरेका थिए। उनले कुनै समय पर्दामा खुँखार खलनायकका रूपमा आप्mनो पहिचान बनाएका थिए।
स्टन्ट व्वाइका रूपमा काम गरिरहेका निखिल उप्रेतीलाई मुम्बई पुगेर नेपाल ल्याउने र पिँजडामार्फत नेपाली फिल्ममा एक्सन हिरोका रूपमा डेब्यु गराउने निर्माता पनि उनी नै थिए। पिँजडाले नेपाली बक्स अफिसमा सफलता हासिल गरेपछि पवन अर्को फिल्म दिदीबहिनी निर्माण गरिरहेका थिए। हरिवनमा सञ्चालित सिनेमा हलका सञ्चालक रहेका मैनाली सुटिङकै क्रममा आर्थिक अभाव भएपछि त्यस विषयमा बुबासँग सरसल्लाह गर्न मोटरसाइकलमा सवार भएका बेला निजगढमा दुर्घटनामा परेका थिए। ‘दुईवटा बस एकअर्कासँग जुध्दा म पेलिएँ र घाइते भएँ’ पवन सम्झन्छन् ‘बिहान आठै बजे एक्सिडेन्टमा परेँ।’
नेपाली फिल्ममा ठूलो सम्भावना र भविष्य देखिरहेका पवनको जीवनमा भएको यो दुर्घटनाले उनका सबै सपना र सम्भावनालाई एकैपटक रोकिदियो। दुर्घटनापछि उनी एक वर्षसम्म कोमामा रहे। लामो समय मृत्युसँग संघर्ष गरेर कोमाबाट त फर्किए, तर त्यसपछि कहिल्यै पहिलेको जस्तो सामान्य जीवनमा फर्कन सकेनन्। शरीरका केही भागले काम गर्न छाडे। हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेपछि उनको सक्रिय जीवन मात्र रोकिएन, अभिनय र फिल्म निर्माणका योजना पनि अधुरै रहे।
कुनै समय फिल्म निर्माण र अभिनयमै रमाउने पवन अहिले २४ वर्षदेखि ओछ्यानमा थलिएर जीवन बिताइरहेका छन्। पर्दामा अरूलाई जीवन्त बनाउने र आफैँ खलनायकका रूपमा दर्शकसामु प्रस्तुत हुने उनको परिचय अहिले घरको कोठाभित्र सीमित हुन पुगेको छ। बोल्नसमेत कठिन हुने शारीरिक अवस्थाबीच पनि उनको मनमा भने अभिनय गर्ने हुटहुटी उस्तै छ। फिल्म क्षेत्रमा फेरि केही गर्ने र पर्दामा फर्कने चाहना आज पनि उत्तिकै छ।
यही चाहनाको एउटा माध्यम बन्न पुगेको छ पिँजडा २ ।
आपूmले निर्माण गरेको पहिलो फिल्मसँग जोडिएको आप्mनो पुरानो सम्बन्ध र फिल्म क्षेत्रको अनुभवलाई फेरि उपयोग गर्दै पवन यस परियोजनामा सक्रिय छन्। उनका लागि यो केवल पुरानो फिल्मको सिक्वेल होइन, दुर्घटनाले बीचैमा रोकिदिएको कलाकारिताको यात्रामा फर्कने सम्भावना पनि हो। पिँजडा २ पवनका लागि एउटा फिल्मभन्दा धेरै अर्थ राख्छ। यो उनीसँग जोडिएको पुरानो फिल्मी इतिहासको निरन्तरता मात्र होइन, जीवनको लामो अन्तरालपछि फेरि पर्दामा फर्कने ढोका पनि हो।
यसपटक उनी खलनायकका रूपमा मात्र होइन, २४ वर्षको पीडा र संघर्ष बोकेर फेरि कलाकारका रूपमा पर्दामा देखिन चाहन्छन्। पवनका अनुसार यसको निर्माण योजना दशैंअघिकै लागि थियो। तर निखिल उप्रेतीको समय नमिलेका कारण सुटिङ योजना सरेको हो। अब भने निखिलको समय मिलिसकेको उनले बताए।
फिल्म क्षेत्रमा फर्कने उनको चाहना पिँजडा २ मा मात्र सीमित छैन। यस्तै शारीरिक अवस्थामा पनि उनले केही सिरियलमा अभिनय गरेका छन्। उनले आप्mनै निर्माणमा साईंला नामक सिरियलसमेत बनाएका छन्। उक्त सिरियलमा उनी साइलाको शीर्ष भूमिकामा छन्। केही भागको छायांकनसमेत भइसकेको छ। तर, निर्माणका लागि आवश्यक दुई लाख रुपैयाँ अभाव भएपछि सिरियलको काम रोकिएको उनको धर्मपत्नी लक्ष्मी मैनालीले जानकारी गराएकी छन्।
पवनको जीवनमा अहिले ८१ वर्षीया आमा, जीवनसंगिनी र दुई छोरी सबैभन्दा ठूला सहारा हुन्। आमाको माया, जीवनसंगिनीको साथ र छोरीहरूको उपस्थितिले उनलाई जीवनसँग जोडिरहेको छ। शुभचिन्तकको माया र साथ पनि छ। तर, परिवार र शुभचिन्तकको साथ हुँदाहुँदै पनि लामो समयदेखि अरूको सहारामा बाँच्नुपर्दाको पीडा उनलाई कम छैन। कुनै समय आफैँले काम सिर्जना गर्ने, कलाकार तथा प्राविधिकलाई अवसर दिने र फिल्म निर्माणका योजना बनाउने व्यक्ति आज आफ्नै दैनिक जीवनका लागि अरूको सहयोगमा निर्भर छन्।
दुर्घटनापछि जीवनमा आएको परिवर्तनले उनलाई शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि गहिरो असर पारेको छ। परिवारका लागि आफू बोझ बनेको महसुस र फिल्म क्षेत्रले बिर्सिएको अनुभूतिले उनलाई झन् कमजोर बनाएको छ। जीवनप्रतिको निराशा यति गहिरिएको छ कि उनले आफैँलाई समाप्त पार्ने सोचसमेत बनाएका थिए। बन्दुक निकालेर आत्महत्याको प्रयास गर्नुपर्ने अवस्थासम्म पुगेका पवन आज पनि आप्mनो अस्तित्व र जीवनको अर्थ खोजिरहेका छन्। बेलाबखत आप्mनै जीवनलाई लिएर उनी प्रश्न गरिरहन्छन् ‘म किन बाँचेको?’








तपाईंको विचार लेख्नुहोस्