खोटाङका पत्रकार मिनाक्क्षीलाई ‘शिखर खेल पत्रकारिता पुरस्कार’


खोटाङ ।

मंसिर–६, खोटाङका पत्रकार आत्मा राई(मिनाक्क्षी)लाई ‘शिखर पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । केही बर्षदेखि जिल्लामै पत्रकारिता क्षेत्रमा सक्रिय राईलाई शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस् कप–२०८३’ वडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिताको अवसर पारेर पुरस्कार प्रदान गरेको हो ।

मिनाक्क्षीलाई नगद पाँच हजार ५ सय ५५ रुपैंयाँ राशीको ‘खेल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको आयोजकले जनाएको छ । बिशेषगरी फुटबल खेल र सोही क्षेत्रको रिपोर्टिङ्मा रुचि राख्ने पत्रकार राईलाई थप हौसला र फुटबल खेल क्षेत्रको प्रबद्र्दनमा थप अभिरुचि जागृत गराउने उदेश्यले पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष महेन्द्र राईले बताउनुभयो । अध्यक्ष राईका अनुसार बर्षेनी आयोजना गरिने प्रतियोगताको संस्करणमा फुटबल तथा अन्य खेल क्षेत्रमा सक्रिय पत्रकारिता गर्ने पत्रकारितालाई उक्त शीर्षकको पुरस्कार गरिने छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खार्मीस्थित शिखर खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सोही नगरपालिका–११ खार्मीलाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै वडा नम्बर दुई सोल्माले उपाधि कव्जा गरेको छ । जिल्लाका १० टोली सहभागी प्रतियोगितामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा र केपीलासगढी गाउँपालिका–४ बाक्सिला प्रतियोगिताको सेमिफाईनालिष्ट बनेका छन् ।

पहिलो संस्करणको उपाधि विजेता सोल्माले एक लाख ११ हजार १ सय ११ रुपैंयाँ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता संयोजक हर्कराज राईले सुनाउनुभयो । उपविजेता बनेको खार्मीलाई ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको संयोजक राईको भनाई छ ।

प्रतियोगितामा सेमिफाइनलिस्ट बनेको केपिलासगढी गाउँपालिका–४ बाक्सिला र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माले जनही नगद २१ हजार १ सय ११ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका हेखाम राई उदीयमान खेलाडी, सोही ठाउँका नवीन पोखरेल उत्कृष्ट गोलरक्षक, खार्मीका सविन दाहाल उत्कृष्ट डिफेण्डर, सोल्माका विकास राई उत्कृष्ट मिडफिल्डर घोषित भएका छन् । यस्तै, सोल्माका प्रकाश राई उत्कृष्ट प्रशिक्षक, बाक्सिलाका संगम राई सर्वाधिक गोलकर्ता र सोल्माका आशिष राई उत्कृष्ट खेलाडी चयन भएका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार ५ सय ५५ र अन्यलाई नगद तीन हजार ३ सय ३३ रुपैंयाँ प्रदान गरिएको छ ।

यस्तै, खेलको उद्घाटन समारोहमा भएको जिल्लामा क्रियाशील पत्रकार तथा जनप्रतिनिधिवीच भएको मैत्रीपूर्ण खेलमा जनप्रतिनिधि ३–० गोल अन्तरले विजयी बनेका छन् । यस्तै, समापन समारोहको अवसरमा भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र आयोजकबीच भएको मैत्रीपूर्ण खेलमा ४–१ गोल अन्तरमा आयोजक शिखर स्पोर्टस् क्लव पराजित बनेको जनाईएको छ । दुवै प्रतियोगिताको बिजेता टोलीले नगद १०/१० हजार रुपैयाँ प्राप्त गरेको आयोजकले उल्लेख गरेको छ ।

विजेता वडा र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले पुरस्कार वितरण गर्नुभएको छ ।
विविध कार्यक्रमसहित आयोजना गरिएको प्रतियोगिताको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराईले गर्नुभएको थियो ।

नगरपालिकाको लगानीमा निर्माण गरिएको खेलमैदानको उपयोग गर्दै दक्ष तथा व्यवसायिक फुटबल खेलाडी उत्पादन गर्न खुला वडास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक हर्कराज राईले जानकारी दिनुभएको छ ।
नगरपालिकाको आर्थिक सहयोग तथा एक्सट्रिम ईनर्जीले प्रायोजन गरेको प्रतियोगितामा करिब १५ लाख रुपैंयाँ खर्च भएको क्लबका कोषाध्यक्ष विकाश राईले जानकारी दिनुभएको छ । प्रतियोगिता सम्पन्न गर्न देश/विदेशमा रहेका शुभेच्छुकले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।