नेपाल बाहिरको नेपाल : अल्डरशट

0
Shares

केहीबेर अघिसम्म आकाशले आफ्ना परेला भिजाइरहेको थियो । सिमसिम पानीका सूक्ष्म थोपाहरू हावासँगै नाचिरहेका थिए । मानौं बेलायती मौसमले आफ्नो पुरानो स्वभाव दोहोर्‍याइरहेको हो । तर स्टेसन रोडबाट भित्र पस्ने बित्तिकै दृश्य फेरिन्छ । बादलका तहहरू चिरिँदै जान्छन् । सुनौलो घामले जमिनलाई स्पर्श गर्छ र भिजेका सडकहरूमा उज्यालोका असंख्य टुक्राहरू छरिन्छन् । प्रकृतिको त्यो आकस्मिक रुपान्तरणले मनलाई अनायास प्रसन्न बनाइदिन्छ ।

तारासँगै म गोर्खा भिल्ला खाजा घरलाई बायाँतिर छाडेर विस्तारै अगाडि बढिरहेको छु । सडकका दुवैतर्फ उभिएका पुराना इँटाका भवनहरू समयका मौन साक्षीझैँ देखिन्छन् । हावामा कतै चियाको सुगन्ध मिसिएको छ । कतै भर्खरै परेको वर्षाको माटोको गन्ध बाँकी छ । तर केही पाइला मात्र अघि बढेका के थियौँ । तर एउटा दृश्यले हाम्रो बाटो रोकिदियो ।

अंग्रेजी सहर अल्डरशटको एउटा शान्त कुनामा केही नेपाली वयोवृद्धहरू घाम तापिरहेका थिए । उनीहरूलाई देख्नेवित्तिकै मन एकाएक हजारौँ माइल पर उडेर नेपाल पुग्यो । लाग्यो, यो कुनै विदेशी सहरको सडक होइन । गाउँको कुनै चौतारो हो । जहाँ समय अलि बिस्तारै बग्छ र जीवनका कथाहरू घामसँगै तापिन्छन् ।

कसैको शिरमा ढाका टोपी थियो । कसैको काँधमा पुरानो कोट । झुर्रीहरूले भरिएको अनुहारमा जीवनका असंख्य ऋतुहरू कोरिएका थिए । उनीहरूको बोलीमा पहाडको मिठास थियो । हाँसोमा गाउँघरको आत्मीयता थियो । आँखामा टाढाको मातृभूमिको अव्यक्त तिर्सना ।

म सुस्तरी उनीहरूको नजिक पुग्छु । शिरमा पाल्पाली ढाका टोपी ढल्काइरहनु भएका एक वृद्ध बुबाले मेरो ध्यान तान्नुहुन्छ । उहाँको अनुहारमा उमेरका गहिरा रेखाहरू थिए । तर ती रेखाभित्र जीवनसँग हार नमान्ने अद्भुत उज्यालो पनि थियो ।

‘बुबा, नमस्कार हजुर,’ मैले श्रद्धापूर्वक अभिवादन गरेँ ।

उहाँले केही क्षण मलाई हेर्नुभयो । स्मृतिका पानाहरू पल्टाइएजस्तो लाग्यो ।

‘आराम हुनुहुन्छ होला ?’ फेरि मैले सोधेँ ।

हल्का मुस्कानसहित उहाँले उत्तर दिनुभयो, – ‘खै बाबु, चिन्न त राम्ररी सकिएन । तर हामी बेसै छौँ । बेलायतको मौसम अझै चिसै छ । घरभित्र बस्दा जाडोले सताउँछ । त्यसैले घाम ताप्न बाहिर निस्केका हौँ ।’

त्यो उत्तरमा कुनै गुनासो थिएन । केवल जीवनलाई जस्तो छ । त्यस्तै स्वीकार गर्ने परिपक्व शान्ति थियो ।

मैले उहाँलाई ध्यानले हेरिरहेँ । उमेर सायद असी वर्षको हाराहारी पुगिसकेको थियो । तर चाल, बोलाइ र अनुहारको चमकले उहाँभित्रको जीवटपन अझै मरेको छैन भन्ने बताइरहेको थियो । समयले शरीरलाई वृद्ध बनाएको थियो । तर आत्मालाई छुन सकेको थिएन ।

‘हजुर, अब त घाम पनि लाग्न थालेको छ । दिनहरू सप्रँदै जाला नि,’ मैले भनेँ ।

उहाँले टाढाको आकाशतिर दृष्टि लगाउनुभयो । केहीबेरपछि बिस्तारै भन्नुभयो, – ‘दिन त सप्रन्छ बाबु, तर उमेर चाहिँ कहिल्यै सप्रँदैन । एकपटक ढलेपछि फेरि उकालो चढ्दैन ।’

त्यो वाक्य सुन्नासाथ मन एकछिन स्तब्ध भयो । साँच्चै, मौसम फेरिन्छ । वर्षहरू फेरिन्छन् । देश र समाजका परिस्थितिहरू फेरिन्छन् । तर जीवनको घडी भने निरन्तर अगाडि बढिरहन्छ । समय एकपटक हातबाट निस्केपछि कहिल्यै फर्केर आउँदैन ।

मैले सम्मानपूर्वक विदा मागेँ । उहाँहरू फेरि आफ्नै कुराकानीमा फर्कनुभयो । सायद कसैले गाउँको कुनै पुरानो चाड सम्झिरहेको थियो । कसैले कुनै बिछोडिएको साथीको कथा सुनाइरहेको थियो । ती आवाजहरूमा केवल शब्दहरू थिएनन्, पूरै एउटा पुस्ताको इतिहास लुकेको थियो ।

म भने अगाडि बढ्न थालेँ । तर शरीर अघि हिँडिरहेको भए पनि मन त्यहीँ अड्किएको थियो । ती वृद्ध अनुहारहरू हेर्दा मलाई लाग्थ्यो । मानिस जहाँ पुगे पनि आफ्नो देशलाई पूर्ण रूपमा छाडेर जान सक्दैन । उसको भाषा, स्मृति, संस्कार र सपनाहरू सँगै यात्रा गर्छन् ।

नेपाल केवल एउटा भूगोल होइन । नेपाल एउटा भावना हो । एउटा स्मृति हो । एउटा सम्बन्ध हो । जहाँ नेपालीहरू एकअर्कालाई ‘नमस्कार’ भन्छन् । जहाँ चियाका कपसँग गाउँघरका कुरा मिसिन्छन् । जहाँ ढाका टोपीले पहिचान बोकेको हुन्छ । त्यहीँ एउटा सानो नेपाल जन्मिरहेको हुन्छ ।

यस्तै सोच्दै अगाडि बढ्दा हाम्रो सामु अचानक मालिङ्गो रेष्टुरेन्ट देखापर्‍योI भित्रबाट मसला, अदुवा चिया र तातो परिकारको सुगन्ध बाहिर फैलिएको थियो । झ्यालभित्र केही नेपाली अनुहारहरू देखिन्थे । जो हाँस्दैगफिँदै आफ्नै संसारमा रमाइरहेका थिए ।

एक क्षणका लागि मलाई लाग्यो । म बेलायतमा छैनँ । म कुनै नेपाली बजारको चोकमा उभिएको छु । जहाँ भाषा आफ्नै छ । अनुहारहरू आफ्नै छन् र आत्मीयता पनि आफ्नै ।

विदेशका विशाल सडकहरू, आधुनिक भवनहरू र व्यस्त जीवनबीच यी साना नेपाली कुनाहरू कुनै तीर्थस्थलभन्दा कम लाग्दैनन् । यहाँ आइपुग्दा मनले केही क्षणका लागि भए पनि घर भेट्टाउँछ । मातृभूमिको यादले थाकेको आत्माले यहाँ आएर विश्राम पाउँछ ।

त्यस क्षण मैले महसुस गरेँ । प्रवासमा बस्ने मानिसको सबैभन्दा ठूलो सम्पत्ति उसका स्मृतिहरू हुन् । शरीर विदेशमा बूढो हुन सक्छ तर मनभित्रको गाउँ कहिल्यै बूढो हुँदैन । त्यहाँ अझै आमाको आवाज जीवित हुन्छ । बाल्यकालका गोरेटाहरू ताजा हुन्छन् र हिमालहरू उस्तै श्वेत र गौरवशाली देखिन्छन् ।

शनिबारको दिन थियो । ३ अक्टोबर २०२६ । सायद बिहानको एघार बज्नै लागेको होला । किनभने मध्य इङ्ग्ल्यान्डमा रहेको मेरो सानो डेरा छाड्दा बिहानको नौ बजेको थियो । अल्डरशटसम्म पुग्न करिब एक घन्टा चालीस मिनेटको यात्रा तय गर्नुपरेको थियो । त्यसमा पनि पार्किङ गर्ने ठाउँ खोज्दा खोज्दै केही समय त्यसै खेर गयो ।

यात्रा आफैंमा एउटा सानो कथा जस्तै थियो । झ्याल बाहिर बेलायतका हरिया फाँटहरू, शरद ऋतुका पहेँलिँदै गरेका रूखहरू, कतै टाढासम्म फैलिएका गाउँहरू र बीचबीचमा झुल्किने साना बजारहरू देख्दा समय बितेको पत्तै भएन । तर अल्डरशट आइपुग्ने बित्तिकै मनमा छुट्टै अनुभूति जाग्छ । लाग्छ, यो कुनै अपरिचित अंग्रेजी सहर होइन, बरु नेपालीपनले भरिएको एउटा टुक्रा संसार हो ।

सायद बिहानको समय भएकाले होला ? मालिङ्गो रेष्टुरेन्टमा मानिसहरूको उपस्थिति धेरै देखिएको थिएन । केही टेबलहरू खाली थिए । कुर्सीहरू शान्त मुद्रामा बसेका थिए र भित्र कताकता भान्साको मिठो सुगन्ध मात्र तैरिरहेको थियो । नेपालीहरूको जमघट हुने ठाउँमा जब मान्छेको चहलपहल हुँदैन । तब त्यो ठाउँ पनि अलिक एक्लिएको जस्तो लाग्छ ।

मनमनै यस्तै सोच्दै मैले आफ्ना पाइला फेरि अगाडि बढाएँ । केही कदमपछि लिटिल वेलिङ्टन स्ट्रिटलाई दायाँतिर छोडेर म स्टाफोर्ड हाउसको अगाडि पुगेर टक्क उभिएँ । त्यो भवनलाई केहीबेर एकटकले हेरेँ । पुरानो समयका स्मृतिहरू बोकेर उभिएको त्यो घरले धेरै इतिहास आफ्ना भित्ताहरूभित्र लुकाएर राखेको जस्तो लाग्थ्यो । सडकमा मानिसहरू आ-आफ्नै गन्तव्यतर्फ हतारिरहेका थिए तर म भने केही क्षणका लागि समयसँगै रोकिएको थिएँ ।

त्यसै बेला मेरो नजर ३५ स्टेसन रोडमा पर्यो । तिनै स्थानमा एउटा परिचित नेपालीहरूको प्रिय स्थल, ‘प्यालेस रेष्टुरेन्ट’ रहेको छ । रेष्टुरेन्ट मानौँ गर्वका साथ आफ्नो छाती फुलाएर उभिएको थियो । हजारौँ माइल टाढा मातृभूमि छोडेर आएका नेपालीहरूको पसिना, संघर्ष र सपनाले बनेको एउटा सानो स्मारकजस्तै ।

उज्यालो भविष्यको खोजीमा नेपालबाट बेलायत आएका नेपालीहरूले यसलाई केवल रेष्टुरेन्टको रूपमा मात्र हेर्दैनन् । यो त भेटघाटको चौतारो हो । पुराना मित्रहरू भेटिने ठाउँ हो । नेपाली भाषाले सहज सास फेर्ने ठाउँ हो । कतिपयको लागि त यो घरको सम्झना आउनेबित्तिकै पुगिने एउटा भावनात्मक शरणस्थल नै हो ।

अनि मेरो लागि ?

मेरो लागि त प्यालेस रेष्टुरेन्ट अझ विशेष थियो ।

किनभने त्यसका मालिक मेरा पूर्व सैनिक सहकर्मी थिए । हामी केवल चिनजानका मानिस मात्र थिएनौँ । हामीले जीवनका महत्वपूर्ण वर्षहरू एउटै पल्टनमा बिताएका थियौँ । एउटै ब्यारेकको छानामुनि सुत्यौँ । एउटै मेसमा बसेर खाना खायौँ । दुःखका दिनहरू सँगै पार गर्‍यौँ र खुसीका क्षणहरू पनि सँगै मनायौँ ।

हामीले असंख्य बिहानहरू परेड ग्राउन्डमा बिताएका थियौँ । जहाँ सार्जन्ट मेजरको कडा आवाजसँगै ‘लेफ्ट… राइट… लेफ्ट…’ को तालमा हातखुट्टा मिलाएर कवाज खेलिन्थ्यो । कहिले झरीमा भिज्दै, कहिले चर्को घाममा पसिना बगाउँदै, तर सधैँ एउटै लक्ष्य र अनुशासनका साथ ।

समयले धेरै कुरा बदलिसकेको थियो । कहिल्यै बुटको आवाजले गुज्जिने सैनिक जीवन आज रेष्टुरेन्टको भान्साबाट निस्किने भुटेको प्याज र मसालाको सुगन्धमा रूपान्तरित भएको थियो । कहिल्यै बन्दोबस्ती र अभ्यासको कुरा गर्ने साथी आज ग्राहकहरूको स्वागत गरिरहेको थियो । तर उसको अनुहारमा देखिने आत्मविश्वास र दृढता भने उही सैनिक जीवनले घडेको थियो ।

म केही क्षण त्यहीँ उभिएर रेष्टुरेन्टलाई हेरिरहेँ । मनमा एउटा अनौठो गर्वको भावना जाग्यो I विदेशको भूमिमा नेपालीहरूले केवल रोजगारी मात्र खोजेका छैनन् । उनीहरूले आफ्ना पसिनाले अवसरहरू सिर्जना गरेका छन् । आफ्नो परिश्रमले व्यवसाय स्थापना गरेका छन् । आफ्ना सन्तानका लागि नयाँ भविष्य कोरेका छन् ।

प्यालेस रेष्टुरेन्टको त्यो भवन केवल इँटा र सिमेन्टले बनेको संरचना थिएन । त्यो त संघर्षको प्रतिमा थियो । त्यहाँ नेपाली सपनाहरूले आकार लिएका थिए । नेपाली मेहनतले जरा गाडेको थियो र नेपाली आत्माले नयाँ परिचय बनाएको थियो ।

सडकको किनारमा उभिएर त्यो दृश्य हेर्दा मेरो मनमा एउटा विचार बारम्बार उठिरह्यो I हामी नेपालीहरू जहाँ पुगे पनि आफ्नो पहिचान सँगै बोकेर हिँड्छौं । कहिले ढाका टोपीमा, कहिले भाषामा, कहिले खानाको स्वादमा, र कहिले यस्तै रेष्टुरेन्टका साइनबोर्डहरूमा ।

सायद त्यसैले अल्डरशटका यी गल्लीहरूमा हिँड्दा बेलायतभन्दा बढी नेपाल भेटिन्छ । यहाँका भवनहरू अंग्रेजी हुन सक्छन् । सडकहरू अंग्रेजी हुन सक्छन् तर ती भवनभित्र धड्किने हृदयहरू भने नेपाली नै छन् ।

अँ, अल्डरशट वरिपरि बस्ने अधिकांश नेपालीहरू उनलाई ऋखीराम राना भनेर चिन्छन् । व्यवसायीका रूपमा उनको छुट्टै परिचय छ । तर मेरो मनमा भने उनी आज पनि पल्टनका दिनहरूकै साथी हुन् । त्यसैले म उनलाई कहिल्यै ‘मिस्टर राना’ भन्न सक्दिनँ । मेरो मुखबाट सहजै निस्कने शब्द हो, ‘भाइ’ ।

त्यो सम्बोधनमा केवल मित्रता मात्र छैन, त्यसभित्र वर्षौं पुरानो सैनिक सम्बन्धको आत्मीयता मिसिएको छ । पल्टनको सम्बन्ध कहिलेकाहीँ रगतको नाताभन्दा पनि बलियो हुन्छ । किनभने त्यहाँ मानिसहरूले एकअर्काको सुख-दुःख मात्र होइन । जीवनका कठिनतम क्षणहरू समेत सँगै भोगेका हुन्छन् ।

अल्डरशटका धेरैजसो गन्यमान्य व्यक्तिहरूले पनि उनलाई राम्ररी चिन्छन् । हुन पनि किन नचिनून् र ? नेपाली समुदायको बीचमा उनको नाम सम्मानका साथ लिइन्छ । ‘प्यालेस रेष्टुरेन्ट’ मात्र होइन, हालै सञ्चालनमा ल्याएको चाइनिज बफे सेवाले पनि उनको व्यापारिक यात्रामा अर्को सफल अध्याय थपेको छ । विदेशी भूमिमा एउटा व्यवसाय टिकाउनु नै सजिलो काम होइन । झन् त्यसलाई विस्तार गरेर अर्को क्षेत्रमा हात हाल्नु झन् ठूलो साहसको कुरा हो ।

निक्कै लामो अन्तरालपछि म र तारा अल्डरशट घुम्न आएका थियौँ । पुराना सम्झनाहरूले भरिएको यो ठाउँ हरेकपटक आउँदा केही नयाँ र केही पुराना अनुभूतिहरू सँगै लिएर आउँछ ।

‘यहाँसम्म आइ पुगिएको छ भने रानालाई पनि भेटेर जाऊँ । आखिर लामो समयदेखि चिने जानेको मानिस । बेलायती जाडोमा एक एक गिलास तातो चिया त अवश्य पिलाउँला । चिया नपिलाए पनि कम्तीमा एक एक गिलास तातो पानी त यसै दिन्छ नै होला ।’

यो सोच्दा आफैँलाई हाँसो उठ्यो । तर त्यो सानो लोभ मैले तारासमक्ष व्यक्त गरिनँ । वरिपरि जताततै नेपाली अनुहारहरू देखिन्थे । कोही हिँडिरहेका थिए । कोही पसलबाट निस्किरहेका थिए । कोही आपसमा गफ गर्दै थिए । मनमा लाग्यो, कतै कसैले सुने भने, –

‘भिम राई त सित्तैको चिया खोज्दै हिँड्ने पो रहेछन् !’ भनेर जिस्क्याउलान् I

त्यसैले मनभित्र उठेको त्यो सानो चाहना मनभित्रै थन्काइदिएँ I त्यति सोचि सकेपछि एकपटक खुइत्त गर्दै दुवै हात कम्मरमा राखेँ । वरिपरि हेरेँ । तारातिर एक नजर डुलाएँ । उनी मेरो मनको कुरा नबुझेझैँ शान्त मुद्रामा उभिएकी थिइन् ।

अन्ततः मैले ढोकाअगाडि पुगेर जुत्ताका तलुवाले भुइँ हल्का टक्टक्याएँ र आत्मीयताको अनुभूतिसहित प्यालेस रेष्टुरेन्टभित्र प्रवेश गरेँ ।

तारा पनि निःसङ्कोच मेरो पछिपछि भित्र आइन् । ढोकाबाट छिरेर ठूलो हलमा पस्ने बित्तिकै मेरो दृष्टि कोठा भरि घुम्यो । एउटा टेबल वरिपरि छ-सात जना पुरुषहरू झुरुप्प बसेका थिए । उनीहरूको अगाडि चियाका कप थिए । कसैको हातमा मोबाइल, कसैले कुनै पुरानो घटना सुनाइरहेको थियो । कहिले हाँसोका फोहोरा छुट्थे । कहिले सबै गम्भीर भएर सुन्थे । हेर्दा लाग्थ्यो, – उनीहरू केवल गफ गरिरहेका छैनन्, बरु आफ्ना गाउँघरका सम्झनाहरू पुनर्जीवित गरिरहेका छन् ।

अर्को टेबलतिर केही महिलाहरू आफ्नै संसारमा रमाएका थिए । उनीहरूका कुरामा छुट्टै मिठास थियो । सायद नेपालका आफन्तहरू, छोराछोरीको पढाइ, गाउँघरका समाचार वा पुराना चाडपर्वका सम्झनाहरू साटासाट भइरहेका थिए ।

नेपाल भूगोलमा मात्र होइन, प्रवासी नेपालीको मन, भाषा, संस्कृति र आत्मीयतामा पनि जीवित छ। बेलायतको अल्डरशट साँच्चिकै ‘नेपाल बाहिरको नेपाल’ बनेको छ।

तीन दशकपछि भेटिएका पल्टनका पुराना साथीले सम्झाए, समयले अनुहार बूढो बनाउँछ, तर सच्चा मित्रता र स्मृतिहरू कहिल्यै बूढा हुँदैनन्।

जीवनको सबैभन्दा ठूलो राजनीति पेट पाल्नु, सबैभन्दा ठूलो दर्शन परिवारको जिम्मेवारी उठाउनु र सबैभन्दा ठूलो क्रान्ति इमानदारीपूर्वक जीवन बाँच्नु रहेछ।

संसारका अनेक देश घुमियो, हिमाल र समुद्र देखियो, तर सँगै हिँडेकी जीवनसाथीको मनभित्रको एउटा सानो रहर बुझ्न सकिएन। जीवनको सबैभन्दा कठिन यात्रा सायद आफ्नै प्रियजनको मनसम्म पुग्नु रहेछ।

त्यो दृश्य हेर्दा मलाई हरेक नेपाली जमघटको परिचित संस्कृति सम्झना आयो । हामी नेपालीहरू जहाँ पुगे पनि एउटा स्वाभाविक बानी सँगै लिएर हिँड्छौँ । पुरुषहरूको समूह छुट्टै, महिलाहरूको समूह छुट्टै । कसैले नियम बनाएर होइन, तर वर्षौँदेखि संस्कारसँगै बगेको एउटा मौन चलन जस्तै ।

त्यो दृश्यले मलाई कुनै रेष्टुरेन्टभित्र बसेको जस्तो लागेन । बरु नेपालको कुनै गाउँको चौतारीमा पुगेको अनुभूति भयो । जहाँ एकातिर बुढापाका देश-दुनियाँका कुरा गर्दै बसिरहेका हुन्छन् । अर्कोतिर आमा-दिदी बहिनीहरू आ-आफ्ना जीवनका कथा साटिरहेका हुन्छन् ।

क्षण भरका लागि बाहिरको अल्डरशट हरायो । रेष्टुरेन्टको त्यो हलभित्र एउटा सानो नेपाल जीवित थियो । भाषा नेपाली थियो । हाँसो नेपाली थियो । सम्झनाहरू नेपाली थिए र त्यो आत्मीयता पनि नेपाली नै थियो । विदेशको चिसो मौसमबीच त्यो वातावरणले मनलाई अनौठो न्यानोपन दिइरहेको थियो ।

तर उनीहरूलाई देख्नेवित्तिकै मेरो मनमा एउटा अनौठो संकोच जाग्छ ।

‘ए ! मान्छेहरू पो रहेछन्,’ मनमनै भन्छु र आफ्नो नजर अन्तैतिर मोडिहाल्छु । उमेर बढ्दै गएपछि मान्छेहरू भेट्नुभन्दा सम्झनाहरू भेट्न सजिलो हुँदो रहेछ । कहिलेकाहीँ चिने जानेका मानिसहरू देख्दा पनि अचानक बोलाउन, चिनाउन वा चिनिन साहस जुटाउन गाह्रो लाग्छ ।

हलको बायाँ कुनामा एउटा सानो भट्टिपसल थियो । बरु त्यतैतिर ध्यान मोड्छु । भित्र रक्सीका बोतलहरू सफासँग सजिएर बसेका थिए, तर बार पूरै सुनसान थियो । कुर्सीहरू खाली थिए । मानौं ग्राहकहरूको प्रतीक्षामा उनीहरू पनि मौन बसेका थिए ।

त्यही बेला ताराले वरिपरि हेर्दै भनी, – ‘जाडो भएको थियो, चिया पिउनु पर्थ्यो । तर बारमा त कोही पनि छैन रहेछ नि !’

त्यो दिनको पहिलो वाक्य थियो । जुन उनको मुखबाट निस्किएको थियो । बाहिरको मौसम जस्तै भित्रको वातावरण पनि शान्त थियो । मानिसका आवाजहरू सुनिँदैनथे, केवल हल्का संगीत कताकता बगिरहेको थियो । तर त्यो शान्ति धेरै बेर टिकेन ।

ताराको वाक्य सकिन नपाउँदै, हलको अर्को कुनाबाट अचानक कसैले मेरो नाम उच्चारण गर्‍यो ।

‘भीम… !’

म एकछिन झस्किएँ । धेरै वर्षदेखि नसुनेको स्वर झैं लाग्यो ।

त्यसतर्फ नजर फर्काएँ । मानिसहरूको एउटा समूह बसेको थियो । त्यही समूहबाट दुईजना व्यक्तिहरू उठे र विस्तारै हामीतिर हिँड्न थाले । एकछिन त म टुलुटुलु हेरेर बसिरहेँ ।

उमेरले अब आफ्ना प्रभावहरू देखाउन थालिसकेको छ । आँखाको दृष्टि पहिले जस्तो तिखो छैन । टाढाका अनुहारहरू धमिला देखिन्छन् । मैले चस्मालाई अलिक माथि सारें, पावरको फोकस मिलाएँ र ध्यान दिएर हेर्न थालेँ ।

अनुहारहरू विस्तारै स्पष्ट हुँदै गए । अनि अचानक एकजनालाई चिनेँ ।

‘ए ! निर्मल श्रीस पो रहेछ !’

मनभित्र खुशीको एउटा झिल्का चम्कियो ।

निर्मल मेरो पल्टने भाइ थियो । हामीले एकै वर्दी लगाएका थियौँ I एउटै अनुशासनमा बाँधिएका थियौँ र एउटै झण्डामुनि सेवा गरेका थियौँ । यति वर्ष बितिसक्दा पनि उसको अनुहारमा उही पुरानो आत्मीयता बाँकी थियो  । तर निर्मलसँगै आउने अर्को व्यक्तिलाई भने म चिन्न सकिरहेको थिइनँ ।

मनमा अनेक अनुमानहरू दौडिए । कतै कुनै पुरानो साथी हो कि ? कतै पल्टनतिर कै चिनजानको मान्छे हो कि ?

म सम्झनाका पानाहरू पल्टाउन थाल्छु । तर कुनै अनुहारसँग ठ्याक्कै मेल खाँदैन । उनीहरू हाम्रो नजिक आइपुगे । अनि त्यो व्यक्तिले मुस्कुराउँदै भन्यो, –

‘मान्छे ! मलाई नचिनेको ?’

त्यो आवाज सुन्नासाथ मेरो मन एकाएक विगततिर दौडियो । म झसङ्ग झस्किएँ I क्षणभरमै धमिलो अनुहार स्पष्ट भयो ।

‘ए ! मित्र पो ?’ मेरो मुखबाट स्वतः शब्द फुत्कियो ।

अनि हामी दुवैको अनुहारमा एकैसाथ हाँसो फैलियो । त्यस क्षण समयले मानौँ उल्टो यात्रा गर्‍यो I एकाएक म चार दशक पछाडि पुगें ।

लगभग त्रिचालीस वर्षअघिको कुरा थियो I जब हामी जवान थियौँ । जब आँखामा सपना थिए, शरीरमा ऊर्जा थियो र भविष्यबारे धेरै सोच्ने फुर्सद पनि थिएन ।

उही मित्र थापासँग हामी गोर्खा पल्टनको यातायात रेजिमेन्टमा सँगसँगै भर्ती भएका थियौँ । भर्ती केन्द्रको भीड, स्वास्थ्य परीक्षणका दिनहरू, तालिमका कडा क्षणहरू, अनि सैनिक जीवनका सुरुवाती संघर्षहरू हामीले सँगै भोगेका थियौँ ।

पछि हामी दुवै सैनिक ट्रक चालक भयौँ । कहिले हङकङको उकालो ओरालो बाटोमा सैन्य गाडी हाँक्यौँ  । कहिले हिउँले छपक्कै ढाकिएका साइप्रसको ट्रुडोस पर्वतहरूमा बास बस्यौं  । कहिले रातभरको सैनिक अभ्यासमा जाग्राम बस्यौँ । कतिपटक गाडीहरु राख्ने स्थान एमटी पार्कमा बसेर गुरुजी र साहेवहरुको कुरा काट्यौं । कतिपटक घरपरिवारका कुरा गर्‍यौँ । कतिपटक भविष्यका सपना देख्यौँ । त्यो सबै कुरा मानौँ हिजो मात्र भएको जस्तो लाग्थ्यो ।

तर वास्तविकता फरक थियो । समय कसैको प्रतीक्षा गर्दैन । सैनिक सेवाबाट निवृत्त भएपछि हाम्रो बाटो अलगअलग भयो । जीवनले हामीलाई आफ्नै दिशातिर डोर्‍यायो । कसैले परिवारको जिम्मेवारी सम्हाल्यो, कसैले नयाँ व्यवसाय सुरु गर्‍यो, कसैले संसारका विभिन्न कुनाहरूमा आफ्नो जीवन बितायो ।

त्यसपछि हाम्रो भेटघाट नै भएन । मैले औँलामा वर्षहरू गन्न खोजेँ ।

एक, दुई, पाँच, दस…गन्दै जाँदा आफैँ अचम्ममा परेँ I भेट नभएको पनि लगभग तीस वर्ष भइसकेको रहेछ ।

तीस वर्ष !

एउटा मान्छेको पूरा युवावस्था बित्ने समय । एउटा बालक जवान हुने समय । एउटा रूख उम्रेर फैलिने समय ।

तर हामी दुवै त्यस दिन फेरि आमनेसामने उभिएका थियौँ । उमेरले कपाल सेतो बनाएको थियो । अनुहारमा झुर्रीहरू थपिएका थिए ।

चालमा पहिलेको चुस्ती थिएन । तर मित्रताको पहिचान भने समयले मेटाउन सकेको रहेनछ । मित्रलाई हेर्दा मलाई अचानक महसुस भयो । जीवनमा धन, सम्पत्ति र सफलता भन्दा पनि महत्त्वपूर्ण कुरा सम्झनाहरू हुन् ।

वर्षौंसम्म सम्पर्क नभए पनि केही सम्बन्धहरू यस्ता हुन्छन् । जसलाई समयको धूलोले छोप्न सक्दैन । भेट हुनेबित्तिकै ती सम्बन्धहरू फेरि त्यही पुरानो न्यानोपनका साथ जीवित भएर उठ्छन् ।

त्यस दिन अल्डरशटको त्यो रेष्टुरेन्टमा मैले केवल एउटा पुरानो साथी भेटेको थिइनँ । मैले आफ्नो बितेको जवान समय भेटेको थिएँ । मैले सैनिक जीवनका ती सुनौला दिनहरू भेटेको थिएँ । र, मैले फेरि एकपटक महसुस गरेको थिएँ, स्मृतिहरू कहिल्यै बूढा हुँदैनन् । बूढो हुने त हामी मात्र हौँ ।

हरेक वर्ष आयोजना हुने बेलायतवासी श्रीष मगरहरूको भेलामा आएका उनीसँग लामो समयपछि भेट भएको थियो । समयले अनुहारमा केही नयाँ रेखाहरू कोरिदिएको थियो तर मित्रताको न्यानोपन भने जस्ताको तस्तै थियो । वर्षौँको अन्तरालपछि अचानक भेटिएका दुई पुराना साथीहरूझैँ हामी हर्षले भरियौँ ।

हामीले एकअर्काको हात बलियोसँग समात्यौँ । त्यसपछि आत्मीयताले भरिएको अंकमाल गर्‍यौँ । त्यो अंकमाल केवल भेटको औपचारिकता थिएन । बरु वर्षौँदेखि थुप्रिएका सम्झना, संघर्ष र सहयात्राका दिनहरूको मौन आदानप्रदान थियो ।

एकै क्षणमा समयको पांग्रा उल्टो घुम्न थाल्यो, र सैनिक जीवनका ती पुराना दिनहरू स्मृतिको आकाशबाट एकएक गर्दै ओर्लेर मनमा बस्न थाले । त्यसपछि उनले बारतिर फर्केर ठूलो स्वरमा भने, –

‘ए भाइ  !’

बारभित्रको व्यस्तताबाट एकजना कर्मचारी हतारिँदै बाहिर निस्किए । उनले मुस्कुराउँदै हाम्रो स्वागत गरे । मेरा मित्रले कुनै ढिलाइ नगरी, – ‘चार कप इलामे तीनपाते चिया ल्याइदिनुहोस्,’ भने ।

केहीबेरमै तातो चियाका कपहरू हाम्रो अगाडि आइपुगे । चियाबाट उठिरहेको बाफसँगै इलामको माटोको सुवास मिसिएर आएको जस्तो लाग्यो । हजारौं माइल टाढा बेलायतको भूमिमा बसेर पनि त्यो सुगन्धले हाम्रो मनलाई नेपालको पूर्वी पहाड इलामको कन्यामसम्म पुर्‍याइदियो ।

हामी बारको एउटा कुनामा उभिएर विस्तारै चिया सिप गर्दै पुराना दिनहरूको पाना पल्टाउन थाल्यौँ I त्यसैबेला मलाई पल्टनघरका बारहरूको सम्झना आयो । विशेषगरी ‘निसुन क्लब’ सेक कङ र ‘बातु पहाड’ काउलुन, हङकङको बार । ती स्थानहरू केवल रक्सी पिउने ठाउँ थिएनन् । ती त मित्रताको चौतारो थिए I जवान उमेरका सपनाहरूको विश्रामस्थल थिए ।

भक्कु जाँडका केही गिलासपछि शुरु हुने गीतहरू, रमाइला नाचहरू, साथीहरूका हाँसो र युवावस्थाको बेफिक्री सम्झँदा हामी पटकपटक खित्का छोडेर हाँस्न पुग्थ्यौँ ।

समय साँच्चै कति अनौठो हुन्छ । कहिले जीवनको केन्द्रजस्तै लागेका ती क्षणहरू आज सम्झनाका अमूल्य रत्न बनेर बसेका छन् । हामी स्मृतिको समुद्रमा डुबिरहेका थियौँ कि त्यत्तिकैमा ऋखीराम भाइ पनि टुप्लुक्क आइपुगे । उनलाई देख्नेवित्तिकै गफको अर्को अध्याय शुरु भयो ।

अघिल्लो रात ठमेल जुहारी घरमा रमाइलो गर्दै रात बिताएका निर्मल भने अझै निद्राको संसारबाट पूरै फर्किएका थिएनन् । उनी सामान्यतया निकै रसिला र हँसिला व्यक्ति थिए । जहाँ बसे पनि माहोल तताइहाल्थे । तर त्यस दिन उनी असाध्यै शान्त देखिन्थे । कहिलेकाहीँ छोटो मुस्कानबाहेक धेरै बोलिरहेका थिएनन् ।

उता हामी भने विगतका दिनहरूमा हराइरहेका थियौँ । सेक कङका फुटबल मैदानहरू सम्झियौँ । पसिनाले निथ्रुक्क भिज्दै खेलेका फुटबल, बास्केटबल र भलिबलका खेलहरू सम्झियौँ । सेङसुई, लो यु र स्टोनकटर्स आइल्यान्ड रेन्जमा बन्दुक पड्काएका दिनहरू सम्झियौँ । दशैं आउँदा पल्टनभरि गुज्जिने हर्षोल्लास सम्झियौँ । फुर्सुङ्गे नाच, मादलका ताल, र परदेशको भूमिमा पनि नेपालीपन जोगाएर मनाइएको चाडपर्वका दृश्यहरू एकएक गर्दै आँखा अगाडि उभिन थाले ।

हामी गफ गरिरहेका मात्र थिएनौँ । हामी आफ्नै युवावस्थासँग पुनः भेट गरिरहेका थियौँ ।

यस्तैमा एक्कासि ताराको मधुर आवाज सुनियो ।

‘तपाईंहरुको गफ त असाध्यै मिठो थियो तर अब हामी जानुपर्छ होला नि  ?’

उनको स्वरमा आग्रह थियो तर त्यो आग्रह यथार्थको सम्झना पनि थियो । समय कसैको प्रतीक्षा गर्दैन ।

हामीले एक अर्कातिर हेर्यौँ । मन त अझै केहीबेर त्यहीँ बसिरहन चाहन्थ्यो । स्मृतिका कुरा कहिल्यै सकिने कहाँ हुन् र ? एउटा कथा सकिँदा अर्को जन्मिहाल्छ ।

तर यात्रालाई अगाडि बढाउनैपर्थ्यो । नचाहँदा नचाहँदै हामीले साथीहरूसँग बिदा माग्यौँ र तारासँगै हलबाट बाहिर निस्कन थाल्यौँ ।

तर ऋखीराम भाइ पनि हामीसँगै बाहिर निस्किए ।

बाहिर शरद ऋतुको मधुर घाम फैलिएको थियो । सडकमा हल्का चहलपहल देखिन्थ्यो । हामी क्रमश: अगाडि बढ्दै थियौँ कि उनले अचानक स्नेह पूर्वक भने, – ‘लन्च खाने समय पनि भइसक्यो । यदि तपाईंहरुलाई चाइनिज खाना मन पर्छ भने, म मेरो छोरालाई फोन गरिदिन्छु । उसैको रेष्टुरेन्ट छ । त्यहाँ गएर आरामसँग खानुहोस् ।’

उनको प्रस्ताव सुन्दा मेरो मन एकछिन भावुक भयो ।

विदेशमा बसाइँ लामो भए पनि नेपालीहरूको आत्मीयता भने कहिल्यै पुरानो हुँदैन । वर्षौँपछि भेटियोस् वा एकैछिन अघि, हाम्रो सम्बन्धमा अझै पनि गाउँघरको त्यो पुरानो न्यानोपन बाँकी नै थियो । सायद यही आत्मीयता नै हो । जसले अल्डरशटलाई केवल एउटा अंग्रेजी सहर हुन दिँदैन । यहाँ भेटिने प्रत्येक नेपाली अनुहार, प्रत्येक निमन्त्रणा, प्रत्येक चियाको कप र प्रत्येक सम्झनाले यसलाई ‘नेपाल बाहिरको नेपाल’ बनाएको छ ।

‘भैगो, आज त नेपाल बाहिरको नेपाल – अल्डरशटमा आइपुगेकै छौँ,’ म मुस्कुराउँदै भन्छु, ‘यहाँ आएपछि टन्न नेपाली खाना खाएर मात्र फर्किनु पर्ला ।’

मेरो कुरा सुन्नासाथ भाइले सडकको बायाँपट्टि हात फैलाउँछन्, मानौँ उनी कुनै पर्यटक मार्गदर्शक हुन् र अल्डरशटका नेपाली कुनाकाप्चाहरू उनको हातको नक्साभित्र कैद छन् ।

‘उसो भए यहाँ बायाँतिर मालिङ्गो रेष्टुरेन्ट छ,’ उनी भन्छन् ।

‘अलिक अगाडि जानुभयो भने गोर्खा भिल्ला पर्छ । त्यता होइन भने, उता फर्कनुभयो भने पानस छ । मम खान मन छ भने मम स्टेसन र मम मण्डप पनि नजिकै छन् । अनि नेवारी स्वाद मन पराउनेका लागि भिन्तुना त झन् छुटाउनै नहुने ठाउँ भयो । त्यहाँ छोइला, कचेला, च्युरा, बारा, सबै पाइन्छ । अझ अलिक माथि उकालो लाग्नुभयो भने नाङ्लो पनि भेटिहाल्नुहुन्छ ।’

उनी एकपछि अर्को रेष्टुरेन्टको नाम लिइरहँदा मलाई लाग्यो । म कुनै अंग्रेजी सहरमा होइन, काठमाडौंको कुनै व्यस्त गल्लीमा उभिएको छु । जहाँ केही कदमको दूरीमा थकाली भान्छा छ । अर्को मोडमा नेवारी खाजा घर, अनि छेउमै मम पसल ।

कहिलेकाहीँ अल्डरशटका सडकहरूमा हिँड्दा लाग्छ । नेपालीहरूले यहाँ केवल घर मात्र बनाएका छैनन् । उनीहरूले एउटा सिंगो सांस्कृतिक संसार नै पुनः निर्माण गरेका छन् । विदेशको कठोर यथार्थबीच आफ्ना स्वाद, आफ्ना भाषा र आफ्ना सम्झनाहरू जोगाएर राखेका छन् ।

सबै रेष्टुरेन्टहरूको नाम सुनेपछि म हाँस्दै भन्छु, –

‘ठिकै छ, आज त गोर्खा भिल्ला नै जानुपर्ला । त्यहाँ गएर बङ्गुरको झीर वा कान चपाउनुपर्ला । रेष्टुरेन्टका मालिक आनन्द देवानलाई फोन गरेर दुईचार पात सेलरोटी पनि प्याक गर्न लगाउनु पर्ला । मलाई त तेलमा पकाएका खानेकुरा खासै मन पर्दैनन्, तर सेल रोटीको कुरा आउँदा तारा भने बच्चाजस्तै खुसी भइहाल्छिन् ।’

ताराको नाम निस्किएपछि मलाई एकछिन घरको सम्झना आउँछ । नेपाली परिकारको स्वाद त केवल स्वाद मात्र हुँदैन । त्यसभित्र बाबुआमाको माया मिसिएको हुन्छ । चाडपर्वका स्मृतिहरू मिसिएका हुन्छन् । गाउँघरको गन्ध मिसिएको हुन्छ । सेलरोटी त झन् नेपाली मनको एउटा अलगै कथा हो ।

मेरो कुरा सुनेर भाइ एकछिन हाँस्छन् । त्यो हाँसोमा आत्मीयता छ । पुरानो चिनापर्चीको न्यानोपन छ । विदेशमा यस्ता भेटघाटहरू धेरै लामो नचलून् तर तिनको मिठास भने धेरै समयसम्म मनमा रहिरहन्छ ।

केहीबेरको गफपछि हामी छुटिन्छौँ ।

हामी आफ्ना पाइला गोर्खा भिल्लातर्फ मोड्छौँ । दुई-तीन मिनेटको छोटो पैदल यात्रापछि रेष्टुरेन्टमा पुग्छौँ । ढोकाभित्र पस्ने बित्तिकै नेपाली मसला, भुटेको प्याज र तातो सुपको बास्नाले स्वागत गर्छ । चर्चित गायक राजेश पायल राईको गीत गुन्जिरहेको हुन्छ । वरिपरि नेपाली भाषाका परिचित ध्वनिहरू सुनिन्छन् । कसैले गाउँको कुरा गरिरहेको छ । कसैले नेपालको राजनीति, कसैले सन्तानहरूको पढाइ ।

विदेशी भूमिमा नेपाली भाषा कानमा पर्दा एउटा अनौठो अपनत्व महसुस हुन्छ । मानौँ टाढा कतै छुटेको आफ्नो गाउँ एकछिनका लागि यतै आएर बसेको हो ।

हामी मज्जाले मध्याह्न भोजन गर्छौँ । खानामा केवल स्वाद मात्र थिएन । त्यससँगै स्मृतिको मिठास पनि मिसिएको थियो ।

खाना सकिएपछि फेरि सडकतिर निस्कन्छौँ । गोर्खा भिल्लाबाट दाहिने मोडिन्छौं र बिस्तारै नेभी, आर्मी एअर फोर्स इन्स्टिच्युट अर्थात् ‘नाफी’ गोल चक्करतर्फ लाग्छौँ । त्यो ठाउँ नजिक पुग्दा पुराना सैनिक दिनहरू स्वतः सम्झनामा आउन थाल्छन् । गोल चक्कर पार गरेर बायाँ मोडिने बित्तिकै हाई स्ट्रिट देखापर्छ । त्यही हाई स्ट्रिटमा मेरा पल्टने भाइ भक्तको टेलर पसल छ । पसल देख्नासाथ मनभित्र एउटा पुरानो सम्बन्धले ढकढक गर्छ ।

‘जाउँ कि  ? दुई मिनेट भए पनि आराम कुशल सोधेर जाऊँ,’ मनले भन्छ ।

त्यहाँ पुगेपछि, म ढोका खोलेर भित्र पस्छु । भक्त भाइ पहिलेझैँ आफ्नो काममा व्यस्त देखिन्छन् । समयले कपालमा सेतोपन थपेको छ, तर आँखाको चमक उस्तै छ । मलाई देख्नेवित्तिकै अनुहार उज्यालिन्छ ।

हामीबीचको भेट छोटो हुन्छ । केही हालखबर आदानप्रदान हुन्छ । परिवारका कुरा हुन्छन् । उमेर र स्वास्थ्यका कुराहरू पनि निस्कन्छन् । अनि फेरि आफ्ना-आफ्ना बाटोतिर फर्कनुपर्ने समय आउँछ ।

तर पसलबाट बाहिर निस्कँदै गर्दा मेरो मन बीसौं वर्ष पछाडि फर्किन्छ । त्यसबेला हामी जवान थियौँ ।

सैनिक जीवनका कठिन दिनहरू पार गर्दै थियौँ ।

मेरो छातीमा सजिने पदकहरू, सेवाका चिन्हहरू र सम्झनाका प्रतीक बनेका तक्माहरू भक्त भाइले नै आफ्ना कुशल हातले तयार गरिदिएका थिए । ती धातुका टुक्राहरू सामान्य वस्तु मात्र थिएनन् । तिनमा पसिनाको कथा थियो । अनुशासनको कथा थियो । कर्तव्य र त्यागको कथा थियो ।

आज ती दिनहरू इतिहास बनिसकेका छन् । परेड ग्राउन्डका आवाजहरू हराइसके । कवाजका तालहरू मौन भइसके । तर ती स्मृतिहरू भने अझै मनको कुनै कुनामा जस्ताको तस्तै सुरक्षित छन् ।

हाई स्ट्रिटको भीडमा हिँड्दै गर्दा मलाई फेरि महसुस भयो । अल्डरशटका सडकहरू केवल सडकहरू होइनन् । यहाँका प्रत्येक भवन, प्रत्येक पसल र प्रत्येक नेपाली अनुहारसँग कुनै न कुनै कथा गाँसिएको छ । संघर्षको कथा । मित्रताको कथा । बिछोडको कथा र मातृभूमिलाई मुटुभित्र बोकेर विदेशमा जीवन निर्माण गर्ने नेपालीहरूको अनन्त यात्राको कथा ।

कुनै समय बेलायती सेनाको घर भनेर चिनिने अल्डरशट, अर्थात् ‘होम अफ द ब्रिटिस आर्मी’, बिस्तारै अर्को परिचयले चिनिन थालेको छ । कसैले यसलाई ‘नेपाल आउटसाइड नेपाल’ भन्छन्, त कसैले ‘मिनी नेपाल’ । नाम जे भए पनि यहाँका सडकहरूमा हिँड्दा, पसलका साइनबोर्डहरू हेर्दा, र कानमा ठोक्किने नेपाली बोली सुन्दा लाग्छ, नेपालले यहाँ एउटा नयाँ घर बनाएको छ ।

हामी सुस्तरी अगाडि बढिरहेका छौँ । बाटोको बायाँपट्टि थकाली कुजिन देखापर्छ । झ्यालभित्र देखिने परिकारहरू, भान्साबाट निस्किने मसला र घिउको सुगन्ध, अनि ढोका बाहिर टाँसिएका नेपाली अक्षरहरूले एकैछिनमा मुस्ताङ र जोमसोमको झझल्को दिलाउँछन् । हिमालको काखबाट ल्याइएको स्वाद मानौँ यहाँ बेलायतको धरतीमा पनि जीवित छ ।

तर आज हाम्रो मन खानपानतिर छैन । केहीबेर अगाडि नै पेट भरिसकेकाले रगत पिएर मोटाएर सुतेका किर्नाजस्तै अल्छी भएका छौँ । त्यसैले दायाँबायाँका खाजा घरहरूलाई केवल आँखाको कुनाले मात्र हेर्छौँ र पाइला भने निरन्तर अगाडि बढाइरहन्छौँ ।

केही पर पुगेपछि एउटा नेपाली कपडा पसल अगाडि पुगेर रोकिन्छौँ । झ्यालका पारिबाट हेर्दा पसल निकै सिँगारिएको देखिन्छ । रङ्गीचङ्गी पोसाकहरू, ढाकाका सामग्री, नेपाली पहिरनका आधुनिक रूपहरू, सबैले पसललाई जीवन्त बनाइरहेका छन् ।

त्यही पसलभित्र एकजना युवती चरि चट्ट परेर उभिएकी थिइन् । एक झलक हेर्दा उनी पश्चिम पोखरातिरकी कुनै गुरुङ चेलीझैँ लागिन् । उनको अनुहारमा पहाडी सरलता थियो, पहिरनमा आधुनिकता, र व्यवहारमा आत्मीयता ।

मनले त सोध्न खोज्यो, ‘बैनी, कहाँको हुनुहुन्छ ?’ तर उमेरसँगै मानिसले केही संयम सिक्दोरहेछ । त्यसैले जिज्ञासा मनभित्रै थन्क्याएँ । आखिर, सभ्य समाजमा बस्ने दाबी गरिसकेपछि देख्नेवित्तिकै प्रश्नको झरी लगाउने अधिकार पनि कहाँ रहन्छ र ?

तर अनपेक्षित घटना त त्यसपछि भयो । उनले मलाई देख्नेवित्तिकै मुस्कुराउँदै नमस्कार गरिन् I एकछिन त म अलमलिएँ । हत्तपत्त दायाँबायाँ हेरेँ । कतै नमस्कार मेरो पछाडि उभिएको अरू कसैलाई त गरेकी होइनन् भनेर निश्चित हुन खोजेँ । जब वरिपरि कोही नभएको थाहा पाएँ, तब मैले पनि मुस्कुराउँदै नमस्कार फर्काएँ ।

नमस्कार फर्काउँदा फर्काउँदै शरीर आफैँ अलिकति मस्कियो । सायद अचानक प्राप्त भएको सम्मानले होला ।

यतिक्कैमा उनले हाँस्दै भनिन्, –

‘कति सामाजिक सञ्जालमा मात्र देख्नु, आज त जीवन्त देखियो ।’

उनको कुरा सुनेर म पनि मुस्कुराएँ । आजको संसार अनौठो छ । मानिसलाई प्रत्यक्ष भेट्नुभन्दा अघि उसका तस्बिर, लेख र विचारहरूसँग परिचय भइसकेको हुन्छ । कहिलेकाहीँ वास्तविक भेटभन्दा सामाजिक सञ्जालको भेट पुरानो भइसकेको हुन्छ ।

‘बैनी, धन्यवाद छ है,’ भन्दै म बिना कुनै विशेष उद्देश्य पसलभित्र प्रवेश गरेँ ।

केही क्षण त्यहाँ उभिँदा लाग्यो । अल्डरशट साँच्चै परिवर्तन भइसकेको छ । यहाँ केवल नेपालीहरू मात्रै छैनन्, नेपाली भाषा पनि बसोबास गर्न थालेको छ ।

आइतबारे हटियामा आलु र प्याज बेच्ने अंग्रेज व्यापारीहरूले समेत नेपाली शब्द मिसाएर ग्राहकसँग कुरा गर्ने ठाउँ बनेको छ यो । सडकका कुनाकाप्चामा नेपालको स्वाद छ । पसलहरूमा नेपालको रङ छ, र हावामा नेपालको आवाज छ ।

सायद त्यसैले होला, तारा पनि आफैँलाई यहाँ विदेशी ठानिरहेकी जस्ती लाग्दिनन् । उनी त्यहीँ हाई स्ट्रिटको किनारमा उभिएर फोनमा व्यस्त छिन् । उनको स्वरमा कामको गाम्भीर्य छ, अनि अनुहारमा आफ्नै दुनियाँको एकाग्रता ।

मलाई लाग्यो, – उनी कुनै व्यापारी जस्तै देखिएकी छिन् । जो कारोबार र कुराकानीको जालोभित्र हराएकी छिन् । पसलभित्र पस्ने फुर्सद उनीसँग छैन । बरु सडक किनारमै उभिएर फोनका माध्यमबाट आफ्नो अलग संसारमा विचरण गरिरहेकी छिन् ।

म भने पसलभित्र र बाहिरको त्यो दृश्य नियाल्दै सोचिरहेँ ।

एक समय नेपालीहरू कामको खोजीमा बेलायत आइपुगेका थिए । उनीहरूका हातमा केवल सपना थियो र मुटुभित्र साहस । आज त्यही सपनाले पसलहरू खोलेका छन् । रेष्टुरेन्टहरू चलाएका छन् । व्यवसायहरू खडा गरेका छन् । अनि उनीहरूका सन्तानहरूले यहाँ एउटा नयाँ नेपाली संसार निर्माण गरेका छन् ।

त्यसैले अल्डरशटका यी गल्लीहरूमा हिँड्दा कहिलेकाहीँ बिर्सिन्छु, म बेलायतमा छु कि नेपालमै । किनभने यहाँका सडकहरू अंग्रेजी भए पनि, यहाँका हाँसो, अभिवादन, गफगाफ र आत्मीयता भने पूर्ण रूपमा नेपाली छन् । यही कारणले होला, अल्डरशटलाई धेरैले प्रेमपूर्वक ‘नेपाल बाहिरको नेपाल’ भनेर सम्बोधन गर्छन् । यहाँ नेपाल नक्साभित्र होइन, मानिसहरूको मनभित्र जीवित छ ।

दोकानभित्र पस्ने बित्तिकै एउटा आत्मीय मुस्कानले हाम्रो स्वागत गर्‍यो । काउन्टर पछाडि उभिएकी एकजना बैनीले मलाई नियाल्दै भनिन्, –

‘मैले हजुरले बनाउनु भएको पानीजहाज यात्राको भिडियो घरिघरि हेरेकी थिएँ । तर आज यहाँ प्रत्यक्ष तपाईँलाई देख्न पाएर धेरै खुसी लाग्यो ।’

उनले यति भनेपछि म एकछिन अक्क न बक्क भएँ । संसार कति सानो रहेछ भन्ने अनुभूति भयो । आफूले कहिलेकाहीँ मनका भावना पोख्न बनाएका भिडियोहरू कसले कहाँ बसेर हेर्दो रहेछ । त्यसको त मैले कल्पनासमेत गरेको थिइनँ । तर ती बैनीको बोलीमा कुनै औपचारिकता थिएन । बरु आफन्त भेट्दा हुने खाले आत्मीयता मिसिएको थियो ।

उनको कुरा सुनेर मनमनै हाँसेँ । ‘ए ! यहाँ काम गर्ने सबैले मलाई चिन्ने रहेछन् कि क्या हो ?’

त्यो सोच्ने बित्तिकै अनौठो लाज लाग्यो । अनुहार तताएर रातो भएको महसुस भयो । जीवनभर सैनिक पोसाक लगाएर कठोर अनुशासनमा बाँचेको मान्छे, तर कहिलेकाहीँ यस्ता साना सम्मानका शब्दहरूले भने बालकझैँ लजाइदिँदा रहेछन् ।

म दोकानभित्र विस्तारै अगाडि बढेँ । आँखाले चारैतिर एकपटक फन्को मार्‍यो । रङ्गीचङ्गी कपडाहरू झुण्ड्याइएको थिए । आकर्षक डिजाइनका पहिरन, विभिन्न प्रकारका ब्याग, सौन्दर्य सामग्री र सजावटका सामानहरू सजाएर राखिएका थिए । हेर्दा धेरैजसो सामग्री छोरी मानिसहरूलाई लक्षित गरेर ल्याइएका जस्ता लाग्थे । त्यसैले मेरा लागि त्यहाँ धेरैबेर अल्झिरहने कारण पनि रहेन ।

‘फर्कँदा फेरि आउँला,’ मैले मुस्कुराउँदै भनेँ ।

उहाँहरूले पनि आत्मीयताको साथ विदाइ दिनुभयो ।

अल्डरशटका सडकहरूमा हिँड्दा समयले छुट्टै गति लिएको जस्तो लाग्थ्यो । यहाँ कुन मोडमा कसलाई भेटिन्छ, कुन पसलभित्र छिरेपछि कुन स्मृति जाग्छ, अनुमान गर्न सकिँदैनथ्यो ।

केहीबेरपछि हामी एम्पायर हल अगाडि पुग्यौँ । त्यो भवन देख्नेवित्तिकै मनमा असंख्य सम्झनाहरू एकैचोटि उर्लेर आए । वर्षौंदेखि नेपाली समुदायका विभिन्न कार्यक्रमहरू हेर्न म पटकपटक यही हलमा आएको थिएँ । कहिले सांस्कृतिक साँझ, कहिले चाडपर्वका उत्सव, कहिले समाजसेवी कार्यक्रम । कतिपय कार्यक्रममा त रात अबेरसम्म बसेर नेपाली गीत, नृत्य र हाँसोमा रमाएको सम्झना अझै ताजै थियो । हललाई बाहिरबाट नियाल्दै गर्दा मनभित्र एउटा रहर जाग्यो ।

‘यत्रो आइसकेपछि एकपटक भित्र छिरौँ न ।’

अर्को विचार पनि सँगै आयो ।

‘नारायण गिरी भाइ पनि भेटिन्छन् कि ?’

यही सोच्दै हामी हलभित्र प्रवेश गर्यौं । भित्र पस्ने बित्तिकै मेरो नजर नारायण भाइलाई खोज्न थाल्यो । तर उहाँ कतै देखिनु भएन । काउन्टर नजिक उभिएकी शिरदेखि पाउसम्म कालो पोसाकमा सजिएकी एकजना कर्मचारी बैनीलाई सोधेँ ।

‘नारायणजी हुनुहुन्छ ?’

उनले विनम्रतापूर्वक उत्तर दिइन्, – ‘उहाँ तीन तलामा हुनुहुन्छ ।’

त्यति सुन्नासाथ हामी सिँढीतिर लाग्यौँ । पुराना सिँढीहरू चढ्दै जाँदा हरेक भर्‍याङसँगै माथिबाट सुनिने आवाज झन् स्पष्ट हुँदै गयो । कतै हाँसो, कतै माइकको स्वर, कतै तालीको गड्गडाहट । म सिँढीका खुड्किलाहरू गन्दै गन्दै माथि उक्लँदै थिएँ । तारासमेत पछिपछि आइरहेकी थिइन् ।

तीन तलामा पुग्नेवित्तिकै थाहा भयो । त्यहाँ शेर्पा किदुकको वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ चलिरहेको रहेछ । हलभित्र रङ्गीन पोसाकमा सजिएका मानिसहरू थिए । कोही पुराना साथीहरू भेटेर अँगालो हालिरहेका थिए । कोही तस्बिर खिचाउन व्यस्त थिए । कोही मञ्चतिर ध्यान दिएर कार्यक्रम सुनिरहेका थिए ।

विदेशमा बसेका नेपालीहरू जब यसरी एक ठाउँमा भेला हुन्छन् । त्यो केवल कार्यक्रम मात्र हुँदैन । त्यो त भाषा, संस्कृति र पहिचानलाई बचाइराख्ने एउटा साझा उत्सव हुन्छ । ढोकै अगाडि संस्थाका अध्यक्ष रिन्जी शेर्पा भाइसँग हाम्रो भेट भयो ।

उहाँलाई देख्नेवित्तिकै पल्टन घरका दिनहरू सम्झिएँ । हामीले एकै छानामुनि काम गरेका थियौँ । परेड ग्राउन्डका बिहानहरू, अभ्यासका कठिन दिनहरू र ब्यारेकका रमाइला साँझहरू क्षणभरमै आँखा अगाडि तैरिएर आए । औपचारिक कुराकानीभन्दा पहिले नै मैले सोधेँ, –

‘नारायणजी कता हुनुहुन्छ ? कतै देख्नुभयो कि ?’

रिन्जी भाइले वरिपरि हेरेर जवाफ दिनुभयो, – ‘अहिले भर्खरै दोस्रो तलामा झर्नुभएको छ । कि बोल्नुहुन्छ र ? नत्र म कल गरिदिन्छु ।’ यति भन्दै उहाँले आफ्नो गोजीबाट मोबाइल निकाल्नुभयो ।

त्यो दृश्य हेर्दा मलाई फेरि एकपटक प्रवास जीवनको एउटा सुन्दर पक्ष सम्झना आयो । संसारभर छरिएर बसेका नेपालीहरू जहाँ भेटे पनि सम्बन्धको न्यानोपन हराउँदैन । वर्षौँपछि भेट हुँदा पनि औपचारिक परिचय चाहिँदैन । एउटा मुस्कान, एउटा नाम र केही पुराना सम्झनाहरूले मात्र टाढिएका वर्षहरूको दूरी मेटाइदिन्छन् । अल्डरशटका ती गल्लीहरूमा हिँड्दै गर्दा मलाई पटकपटक लागिरहेको थियो । नेपाल वास्तवमै हजारौँ माइल टाढा छैन । नेपाल त यिनै भेटघाटहरूमा, यिनै अनुहारहरूमा, र यिनै सम्झनाहरूमा जीवित छ ।

नभन्दै उहाँले तुरुन्तै फोन लगाइदिनुभयो । फोन वार्ता सकिने बित्तिकै हामी पनि ढिलो नगरिकन दोश्रो तलातिर ओर्लियौं ।

दोश्रो तलाको सिँढी नजिकै पुग्नेवित्तिकै नारायण भाइसँग भेट भयो । सधैं झैँ उहाँको अनुहारमा आत्मीय मुस्कान झल्किरहेको थियो । सामान्य अभिवादन र कुशलक्षेम आदानप्रदानपछि हामी उहाँको कार्यालयभित्र प्रवेश गर्यौं । आरामसँग कुर्सीमा बस्ने बित्तिकै उहाँले हाम्रो स्वागत स्वरूप चियाको व्यवस्था गरिहाल्नुभयो ।

केही क्षणमै एम्पायरकी एक कर्मचारी बहिनी हतारिएर आइपुगिन् । आगोले पोलेको गतिमा उनले हाम्रो अगाडि चियाका कप सजाइदिइन् । उनको तत्परता र सेवा भावले कार्यालयको वातावरणलाई अझ आत्मीय बनाइदिएको थियो ।

हाम्रो हातमा रहेको चिया कुनै साधारण चिया थिएन । चीनको युनान प्रान्तबाट आयात गरिएको हरियो चिया थियो त्यो । हल्का बास्ना र मधुर स्वादले भरिएको चियाको प्रत्येक घुट्कीसँगै केही समय हामी नेपाली राजनीतिका विषयमा गफियौं । देशको अवस्था, नेताहरूका गतिविधि र भविष्यका सम्भावनाबारे कुराकानी चलिरह्यो ।

तर सत्य कुरा भन्नुपर्दा, राजनीतिले मलाई कहिल्यै त्यति धेरै तानेको छैन । सत्ताको खेल, आरोप–प्रत्यारोप र भाषणका दुनियाँभन्दा पर कतै अनन्त आकाशमुनि यात्रा गर्दै संसार चिन्नु, नयाँ संस्कृति बुझ्नु र फरक-फरक सभ्यताका मानिसहरूसँग भेटघाट गर्नु नै मलाई बढी रोमाञ्चक लाग्छ । मेरो मन राजनीतिका गल्लीहरूभन्दा संसारका अज्ञात बाटाहरूतर्फ बढी दौडिन्छ ।

चियाको अन्तिम घुट्को सकिएपछि म मुस्कुराउँदै भनेँ, ‘चियाको लागि धेरै धेरै धन्यवाद ।’ हामीले फेरि भेट्ने वाचा गर्दै नारायण भाइसँग विदा लियौं ।

उमेरले शरीरलाई बिस्तारै कमजोर बनाउँदै लगेको भए पनि मन अझै यात्रामा रमाउन चाहन्थ्यो । त्यसैले बुढेसकालको जिउलाई सावधानीपूर्वक जोगाउँदै म विस्तारै एम्पायर भवनको भुइँ तलातिर झर्दै थिएँ । तर नियतिले त्यहाँ अर्को रोचक भेटघाट जुराइदिएको रहेछ । अकस्मात् मेरो नजर छोङ नोर्बु शेर्पातर्फ पुग्यो ।

छोङ नोर्बु शेर्पा बेलायतमा बसोबास गर्ने नेपाली समुदायमाझ अत्यन्त परिचित र सम्मानित व्यक्तित्व हुन् । उनी प्रसिद्ध ‘इरो सुसी’ कम्पनीका संस्थापक तथा मालिक हुन् । तर केवल व्यवसायीक सफलताले मात्र उनको परिचय पूर्ण हुँदैन ।

झन्डै डेढ लाखको हाराहारीमा रहेको बेलायतस्थित नेपाली समुदायभित्र उनी सर्वाधिक सम्पन्न नेपाली व्यवसायीहरूमध्ये एक मानिन्छन् । आर्थिक सफलताको हिसाबले मात्र होइन, आफ्नो मेहनत, दूर दृष्टि र उद्यमशीलताको कारण पनि उनी चर्चा र सम्मानका पात्र बनेका छन् ।

तर अन्य धेरै धनाढ्य नेपाली व्यवसायीहरूसँग उनको एउटा महत्वपूर्ण भिन्नता छ । उनी अपेक्षाकृत युवा छन् । ऊर्जावान छन् । अझ महत्त्वपूर्ण कुरा, उनी अझै आफ्नो सफलताको यात्रा चुलिँदो गतिमा अगाडि बढाइरहेका छन् । त्यसैले बेलायतमा रहेका नेपाली मूलका धनाढ्य व्यवसायीहरूको सूचीमा निकट भविष्यमा सबैभन्दा अग्रस्थानमा पुग्ने सम्भावना उनैमा अधिक देखिन्छ ।

मलाई व्यक्तिगत रूपमा लाग्छ, यदि यही गति र दूर दृष्टि कायम रह्यो भने आगामी केही वर्षभित्र बेलायतका नेपाली उद्यमीहरूको संसारमा उनी नेतृत्वदायी व्यक्तित्वका रूपमा स्थापित हुनेछन् । यसको प्रमाण उनका व्यवसायको निरन्तर विस्तारमै देख्न सकिन्छ ।

केही दिनअघि मात्र उनले इङ्ग्ल्यान्ड बाहिर पहिलो पटक स्कटल्यान्डको ग्लास्गो शहरमा ‘इरो सुसी’को ३८औँ आउटलेट उद्घाटन गरेका छन् । यो केवल अर्को शाखा थपिएको घटना मात्र होइन, एक नेपाली युवाको सपनाले अन्तर्राष्ट्रिय व्यापारिक जगतमा बनाएको नयाँ इतिहास पनि हो ।

हिमालको काखबाट सुरु भएको एउटा नेपाली युवकको यात्रा आज बेलायतका व्यस्त शहरहरू हुँदै स्कटल्यान्डसम्म फैलिएको छ । उनको सफलताले केवल उनको व्यक्तिगत जीवनलाई मात्र उज्यालो बनाएको छैन । विदेशमा संघर्ष गरिरहेका हजारौं नेपाली युवालाई पनि प्रेरणाको दीपक प्रदान गरेको छ ।

त्यसैले छोङ नोर्बु शेर्पासँगको त्यो आकस्मिक भेट कुनै साधारण भेट थिएन ।

त्यो भेट मेहनत, लगन, साहस र सफलताको एउटा सजीव कथासँगको भेट थियो । उनको मुस्कानमा आत्मविश्वास थियो, र उनको यात्रामा भविष्यका अझ धेरै सम्भावनाका उज्याला अध्यायहरू लुकेका थिए ।

अन्तिम पटक छोङसँग हात मिलाएर बिदा भएपछि मेरो मन अनायास हर्षले भरियो । सफल मानिसहरूको संगतले कहिलेकाहीँ आफ्नै जीवन दृष्टिकोण पनि बदलिदिन्छ । म अलिकति झुक्दै कसैले नसुन्ने गरी ताराको कानामै फुसफुसाएँ, –

‘बुढिया  ! आज त हामीले डेरा पनि शुभ साइतमै छाडेका रहेछौं जस्तो लाग्यो । हेर्दाहेर्दै छोङजस्तो चर्चित र सफल युवा उद्यमीसँग भेटघाट गर्ने अवसर मिल्यो ।’

मेरो अनुहारमा बालकको जस्तै उत्साह झल्किरहेको थियो । तर मेरो कुरा सुनेर तारा भने केही बेर गम्भीर भइन् । उनका आँखामा क्षणभर कुनै अगम्य भाव तैरियो । अनि उनले सुस्केरा हाल्दै भनिन्, –

‘खै त, तपाईँले आफ्नो जीवनमा के गर्न सक्नुभयो र ? अर्काको सफलता देखेर रमाउनु सजिलो छ । गोर्खा सेनामा भर्ती भएर जीवनभर दुःख गर्नुभयो, तर एउटी श्रीमतीलाई समेत सुखसँग राख्न सक्नुभएन । अब अरू के कुरा गर्नु र ?’

उनका शब्दहरू सामान्य थिए, तर ती शब्दहरू बाणझैँ आएर मेरो मुटुको गहिराइमा रोपिए । जीवनमा धेरै आलोचना सुनेको थिएँ, धेरै अपमान भोगेको थिएँ, तर कहिलेकाहीँ आफ्नै प्रिय व्यक्तिले भनेको सत्य सबैभन्दा पीडादायी हुँदो रहेछ ।

म केही क्षण मौन भएँ ।

ताराको भनाइमा असत्य केही थिएन । आखिर जीवनभर संघर्ष गरेँ । पसिना बगाएँ । संसारका विभिन्न कुनाकाप्चा पुगें । तर धनसम्पत्तिको हिसाबले हेर्दा म कहिल्यै सफल मानिसहरूको पङ्क्तिमा उभिन सकिनँ । न ठूलो घर बनाउन सकेँ, न महँगो गाडी किन्न सकेँ । बैंक खातामा करोडौं रकम जम्मा भएन । त्यसैले उनको भनाइलाई पूर्ण रूपमा अस्वीकार गर्ने ठाउँ पनि थिएन । तर मनको एउटा कुनामा भने अर्कै आवाज गुञ्जिरहेको थियो ।

‘के जीवनको सफलता केवल पैसाले मात्र नापिन्छ त ?’

यद्यपि त्यो प्रश्नको उत्तर खोज्ने सामर्थ्य त्यतिबेला मसँग थिएन । त्यसैले चुपचाप अगाडि बढिरहेँ । तर ताराका शब्दहरूले मनभित्र कताकता एक प्रकारको रिक्तता, एक प्रकारको नैराश्यता जन्माइदिएका थिए । सफल र धनाढ्य मानिसहरूका कथा सुन्दा आफ्नो जीवनको अधुरोपन अझ स्पष्ट देखिन्थ्यो । तर फेरि आफैँलाई सम्झाएँ ।

‘अब बासट्ठि वर्ष त पुगियो  । जीवनले जति दिन्छ  । त्यति स्वीकार्नुपर्छ । जहाँ पुगे पनि अन्त्यमा सबैको पुग्ने बाटो उही त हो ।’ मनलाई बुझाउने प्रयास गर्दै म मुस्कुराएँ । तर अचानक मनमा एउटा रमाइलो विचार पलायो ।

‘बरु आज मन अलिक हल्का बनाउनु पर्यो । ठमेल दोहोरी रेस्टुरेन्टमा गएर केही बेर नेपाली गीत-सङ्गीत सुन्नु पर्यो । त्यहाँका दिदी बहिनीहरूसँग दोहोरीका भाका मिलाउँदै पुराना सम्झनाहरू बटुल्नु पर्यो । कहिलेकाहीँ संगीत नै सबैभन्दा ठूलो औषधि बन्छ ।’

त्यही सोच्दै म अगाडि-अगाडि हिँड्न थालेँ । मेरो चाल केही तीव्र थियो, मानौँ मनको पीडाबाट भाग्न खोजिरहेको थिएँ । तारा भने केही कदम पछाडि शान्त गतिमा आउँदै थिइन् । एम्पायर हल र ठमेल दोहोरी बारको दूरी खासै टाढा थिएन । ढुङ्गा मिल्काउँदा पुग्ने दुरी भनेझैँ केही मिनेटको पैदल यात्रा मात्र थियो ।

बाटोभरि मेरो मन नेपाली गीतका धुनहरूसँगै उडिरहेको थियो । एक गिलास हल्का पेय पदार्थ हातमा लिएर आफ्नै देशका गीतहरू सुन्ने कल्पनाले मनको भारीपन केही कम हुँदै गएको थियो ।

केही बेरमै हामी बेलायती भूमिमा उभिएको सानो नेपाली संसार, ठमेल दोहोरी बारको ढोकासम्म पुग्यौं ।

सिँढी उक्लिँदै गर्दा अकस्मात् केही समयअघि मात्र गोर्खा भिलामा सँगै बसेर भोजन गरेका ती नव परिचित बहिनीहरूसँग फेरि भेट हुन पुग्यो । उनीहरूलाई देख्नेवित्तिकै वातावरण झन् आत्मीय बन्यो ।

हामीलाई देखेर एकजना बहिनी हाँस्दै अगाडि आइन् र हल्का गुनासो मिश्रित स्वरमा भनिन्, –

‘अलिक ढिलो गरेर आउनुभयो नि दाइ ! आसन ग्रहण त सकिहाल्यो, भाषणसमेत सुरु भइसक्यो ।’

उनको कुरा सुन्दा मलाई हाँसो उठ्यो । जीवनका दुःख, निराशा र अपूर्णताहरू बीच पनि यस्ता सामान्य भेटघाट र आत्मीय शब्दहरूले मानिसलाई फेरि बाँचेको अनुभूति गराउँछन् । साँच्चै, कहिलेकाहीँ जीवनको सबैभन्दा ठूलो सम्पत्ति पैसा होइन, यस्तै मान्छेहरूको माया, अपनत्व र सम्झना हुँदो रहेछ ।

‘होइन  ! हामी त दोहोरीमा गीत गाउन आएका हौं  । कसको भाषण हो र, बैनी  ?’  

‘भित्र पस्नोस् न, देखि हाल्नु हुन्छ,’ 

उनकी कुरा सकिन पाउँदा नपाउँदै हामी एक तला माथी चढेर ठमेल रेष्टुराँको मूलद्वारमा पुग्छौं  । ढोकामा पुगेर एकछिन ठिङ्ग उभिन्छु  । ठमेल बारभित्र लहरै पन्ध्र वीस वटा कुर्सीहरु हार मिलाएर राखेका देख्न सकिन्छ  । तिनै कुर्सीहरूमा मानिसहरु अनुशासनका साथ बसेर भाषण सुनिरहेका हुन्छन्  । बारको सबैभन्दा पर कुनामा नेपाल कम्युनिस्ट पार्टी वा पूर्व माओवादी नेता बर्षमान पुन हामीतिर हेरेर भाषण गरिरहेका देखिन्छन्  ।    

केहीबेर अगाडि ताराको भनाइ र हप्ताभरिको कामको थकान मेट्नको लागि भनेर ठमेल दोहरी छिरेको थिएँ  । तर त्यहाँ पुगेर बैनीहरुसँग नाच गान गर्न पाउन त कता हो कता ? साम्यवादी भाषणको कक्षामा पो पुगिहालियो  ।  

हुनत घर छाडेर बाहिर हिँडेपछि समय समयमा यस्तै आइ परि नै हाल्छ  । कहिले कता कता पुगिन्छ  । अनि को को सँग भेटिन्छ  । केही अत्तोपत्तो हुँदै हुँदैन  । यधपि यो जीवनको सुन्दर पक्ष नै मान्नु पर्छ  । तर अब चाहिँ के गर्ने होला भनेर एकछिन द्विविधामा पर्छु  ।  

तर साम्यवादी भाषणमा पुगेपछि, वास्तवमा म चाहिँ के हुँ त ? एक पटक सोचि हाल्छु  ।    

पुँजीवादी कि साम्यवादी ? आस्तिक कि नास्तिक ? यथास्थितिवादी कि उदारवादी ? बुर्जुवा कि पोलिटेरियट ? के हो के हो ? छक्क पर्छु  ।

अनि यो सबै कुरोको मापन के ले गर्ने होला ? एकछिन अन्योलमा पर्छु  । तैपनि यसरी अकस्मात् एकजना चर्चित नेपाली माओवादी नेताको सामुन्ने खडा हुँदा मन भित्रदेखि केही अनुत्तरित प्रश्नहरु सरर बर्सिन थाल्छन्  । 

तर मभित्र अर्को मन पनि छ रहेछ  । आखिर म केही पनि होइन  । आफ्नो टाउको लुकाउने ठाउँ कतै नपाएपछि एउटा घर बनाउनको लागि घर छाडेर हिँडेको एकजना परदेशी हुँ  । यथार्थ त्यहीँ हो, भन्छु  । त्यो बाहेक अरु फगत केही पनि होइन रहेछ  । आफूलाई आफै जबाफ फर्काउँछु  । 

साँच्चै, मेरो जीवनको सबैभन्दा ठूलो राजनीति पेट पाल्नु थियो । सबैभन्दा ठूलो दर्शन परिवारको जिम्मेवारी उठाउनु थियो । सबैभन्दा ठूलो क्रान्ति बिहान उठेर काममा जानु र साँझ सकुशल घर फर्किनु थियो ।

म कुनै विचारधाराको सैनिक होइन रहेछु । म त एउटा परदेशी रहेछु । आफ्नो जन्मभूमिबाट हजारौं माइल टाढा, एउटा सानो घरको सपना बोकेर हिँडेको परदेशी । जीवनभर अरूका देशमा पसिना बगाउँदै, आफ्नाहरूको भविष्य उज्यालो बनाउन खोजेको एक साधारण मानिस ।

यथार्थ सायद यही थियो । बाँकी सबै परिचय, सबै उपाधि, सबै विचारधारा त्यसपछि मात्र आउँथे ।

त्यो क्षण म आफैँलाई हेरेर हल्का मुस्कुराएँ र मनमनै भनेँ, –

‘म न पुँजीवादी हुँ, न साम्यवादी । म त केवल आफ्नो भागको जीवन इमान्दारीपूर्वक बाँचेको एउटा यात्रु हुँ ।’

बारसँगै जोडिएको ढोकाको छेउमा उभिएर म हलभित्रको दृश्य नियालिरहेको थिएँ । त्यत्तिकैमा पल्टनघरमा सँगै काम गरेका वीरबहादुर बराल अचानक मेरो अगाडि आइपुगे ।

‘सर, यहाँ पो हुनुहुँदो रहेछ !’ उनले मुस्कुराउँदै भने ।

‘ए भाइ बराल ! तिमी पनि आयौ ?’

‘आएँ नि सर । भित्रै बस्नुस् न, राम्रो कार्यक्रम चलिरहेको छ ।’

‘अलिक बेर है । म त अहिले गहिरो चिन्तनमा छु ।’

‘कुन चिन्तन फेरि ?’ उनले हाँस्दै सोधे ।

‘रन डेकार्टले झैँ ‘कोर्गटो एर्गो साम’ (म सोच्दछु, त्यसैले म छु) भन्ने तहको ।’

मेरो कुरा सुनेर बराल हाँसे । तैपनि उनी मेरो दायाँपट्टि उभिरहे । त्यसैबेला बारभित्र काम गरिरहेकी एक बेयरासँग मेरो आँखा जुध्यो । नेपाली अनुहार देखेपछि स्वाभावैले बोल्न मन लाग्यो ।

‘बैनी, तपाईं नेपाल कहाँको हुनुहुन्छ ?’

‘म्याग्दी,’ उनले मुस्कुराउँदै उत्तर दिइन् ।

‘ए, म्याग्दी ! राम्रै ठाउँ हो त । बेलायत कहिलेदेखि बस्नुभएको ?’

‘केही वर्ष भयो दाइ ।’

‘कामचाहिँ गाह्रो छ कि के छ ?’

‘गाह्रो त छ, तर बानी परिसक्यो,’ उनले सहज रूपमा भनिन् ।

हामी त्यसरी नै सामान्य गफमा व्यस्त थियौँ । त्यत्तिकैमा अर्की एक बैनी पनि नजिक आइन् । उनको अनुहारमा मृदु मुस्कान थियो । मैले मुस्कुराउँदै भनेँ, –

‘बैनी, हामी त यहाँ नाचगान गरेर मन हल्का पार्न आएका मान्छे हौँ । तर भित्र त ठूल्ठूला भाषण पो चलिरहेका रहेछन् । अब बस्ने कि जाने, दोधारमा परियो ।’

मेरो कुरा सुनेर उनी हल्का हाँसिन् । ‘तपाईंलाई दिल खोलेर नाच्न र रमाउन मन छ भने आज साँझतिर फेरि आउनुहोस् । दिउँसो त यस्ता कार्यक्रम, भेला र भाषण नै भइरहन्छन् । दोहोरीको असली रौनक त राति सुरु हुन्छ ।’

‘ए हो र ?’ मैले हाँस्दै भनेँ, ‘त्यसो भए हामी गलत समयमा पो आइपुगेछौँ ।’

‘हुन त त्यही हो,’ उनले पनि मुस्कुराउँदै उत्तर दिइन्, ‘रमाइलो गर्नलाई अलि धैर्य गर्नुपर्छ ।’

‘हस, हस, अवश्य,’ भन्दै मैले विदा मागेँ । नजिकै उभिएका बराल भाइसँग पनि हात मिलाएँ । त्यसपछि हामी त्यहाँबाट बिरालो चालमा चुपचाप बाहिरियौँ । भित्र राजनीतिक भाषण चलिरहेको थियो, बाहिर साँझ बिस्तारै झरिरहेको थियो ।

अल्डरशटको त्यो सानो ठमेलबाट बाहिर निस्कँदा सडक छेउका बत्तीहरू क्रमशः बल्न थालेका थिए । दिनहरू अन्त्यहीन जस्ता लाग्थे । रातहरू कहिलेकाहीँ निन्द्राविहीन बन्थे । अनि जीवन भने अर्को सप्ताहन्तको प्रतीक्षामा चुपचाप अगाडि बढिरहेको हुन्थ्यो ।

हामी विस्तारै सडक किनारमा हिँडिरहेका थियौँ । मन भने अझै केहीबेरअघि सुनेको भाषणकै वरिपरि घुमिरहेको थियो ।

साम्यवाद ।

यो शब्दले मेरो जीवनमा जति पुस्तकका पाना पल्टाइएको छ । सायद अरू कुनै विचारले पल्टाइएको छैन । जति देशहरू देखाएको छ । सायद अरू कुनै विचारधाराले देखाएको छैन । तर उमेर बढ्दै जाँदा मलाई कहिलेकाहीँ लाग्न थालेको छ । साम्यवाद वास्तवमा एउटा सुन्दर सपना हो । एउटा युटोपिया । त्यस्तो समाजको कल्पना, जहाँ अन्याय नहोस्, शोषण नहोस्, वर्ग विभाजन नहोस् र सबै मानिस समान रूपमा बाँचून् ।

सुन्नमा त्यो अत्यन्त आकर्षक लाग्छ । तर जीवनको लामो यात्रामा अनेक देश, अनेक शासन व्यवस्था र अनेक राजनीतिक प्रयोगहरू देखेपछि आजभोलि म यो विचारलाई अलिक फरक दृष्टिले हेर्न थालेको छु । कहिलेकाहीँ यो अत्यन्त आदर्शवादी, अव्यवहारिक र वास्तविक मानवीय स्वभावभन्दा टाढाको अवधारणा जस्तो लाग्छ ।

मानिस समान हुन चाहन्छ, तर उही मानिस अरुभन्दा अगाडि पनि निस्कन चाहन्छ । मानिस न्याय खोज्छ, तर शक्ति प्राप्त गरेपछि त्यही न्याय बिर्सन्छ ।

यही कारणले होला, सिद्धान्तमा सुन्दर देखिने धेरै कुरा व्यवहारमा पुग्दा विकृत बन्छन् । युटोपियाको कुरा गर्दा मलाई सधैं सर थोमस मोरको सम्झना आउँछ । उनले कल्पना गरेको आदर्श समाज वास्तवमा मानव सभ्यताले निरन्तर खोजिरहे पनि कहिल्यै पूर्ण रूपमा भेट्टाउन नसकेको सपना थियो ।

तर विडम्बना हेरौँ । त्यही युटोपियाको खोजीले मलाई संसारका अनेक शहर र इतिहासका अनेक मोडसम्म पुर्यायो । तैपनि यी सबै यात्राहरूले मलाई एउटा कुरा सिकाए ।

साम्यवाद केवल राजनीतिक सिद्धान्त मात्र होइन रहेछ । यो आशा, विश्वास, मोह, संघर्ष, विजय, पराजय र मानवीय आकांक्षाहरूको विशाल कथा रहेछ । साम्यवादले संसार परिवर्तन गर्‍यो वा गरेन, त्यो इतिहासले मूल्याङ्कन गर्ला । तर साम्यवादको खोजीले भने मेरो जीवनलाई अवश्य धेरै लामो यात्रा गरायो । मैले भेटेका देशहरू, देखेका शहरहरू र बुझेका मानिसहरू त्यसका साक्षी भएर आज पनि मेरो स्मृतिमा जीवित छन् ।

‘आखिर, म को हुँ त ?’

ठमेल दोहोरीको ढोकाबाट बाहिर निस्कँदै गर्दा मनभित्र अचानक यही प्रश्न उठ्छ । वर्षौँदेखि मानिसले यही प्रश्नको उत्तर खोज्दै दर्शन लेखे, धर्म बनाए, विचारधारा खडा गरे, क्रान्ति गरे र साम्राज्यहरू निर्माण गरे । तर त्यो क्षणमा मसँग त्यसको कुनै स्पष्ट उत्तर थिएन ।

बरु उत्तर यति मात्रै थियो, – ‘मलाई केही थाहा छैन ।’

यो स्वीकारोक्ति सुन्दा सामान्य लाग्न सक्छ । तर जीवनका धेरै घुम्ती पार गरेपछि कहिलेकाहीँ ‘मलाई थाहा छैन’ भन्न सक्नु नै सबैभन्दा इमानदार उत्तर पनि हुँदो रहेछ ।

मनभित्र उठिरहेका नानाथरी प्रश्नहरूलाई केहीबेर विश्राम दिएर हामी ठमेल दोहोरीबाट बाहिर निस्केर साँझको चिसो हावाले अनुहार छुँदै थियो । सुस्त गतिमा पाइला चाल्दै हामी अगाडि बढ्न थाल्यौँ ।

द क्वीन होटललाई बायाँतिर छाड्दै ग्रसभेनर रोडको पेटी समाउँदै हिँड्दा सडकमा बेलुकीको चहलपहल विस्तारै बढ्न थालेको थियो । पसलका सिसाहरूमा बलिरहेका बत्तीहरू साँझसँगै झन् उज्याला देखिन्थे ।

यत्तिकैमा हाम्रो अगाडि एउटा परिचित नाम चम्कियो ।

‘सुम्निमा ज्वेलरी एन्ड कलेक्सन ।’

‘सुम्निमा’ किराँती सभ्यता र संस्कृतिमा यो नाम केवल एउटा नाम मात्र होइन, आस्था, इतिहास र पहिचानसँग जोडिएको भावनात्मक प्रतीक पनि हो । त्यसैले होला, नाम मात्र देख्दा पनि ताराको आँखामा उत्सुकताको चमक देखापर्‍यो ।

‘खै त, एकछिन भित्र पसौं न ?’ पछाडिबाट हल्का उत्साहित स्वर आयो I

त्यो आवाज अल्डरशटको साँझ हावासँग मिसिँदै मेरो कानमा आइपुग्दा नपुग्दै म पसलको ढोकासम्म पुगिसकेको थिएँ । भित्र प्रवेश गर्नेवित्तिकै आत्मीय मुस्कानसहित एक सज्जन अगाडि आउनुभयो ।

उहाँ हुनुहुन्थ्यो भोजपुरको टेम्के र मैयुँको काखबाट हजारौँ सपना बोकेर बेलायत आइपुगेका व्यवसायी, श्याम सामसोहाङ भाइ ।

हामीलाई देख्नेवित्तिकै उहाँले हार्दिक स्वागत गर्नुभयो । केवल स्वागत मात्र होइन, खादा ओढाएर सम्मान पनि गर्नुभयो । परदेशमा पाइने यस्तो आत्मीय व्यवहारले मन अनायास न्यानो बनाउँछ । त्यसपछि हामी पसलभित्र यताउता हेर्दै बिस्तारै घुम्न थाल्यौँ ।

एउटै छानामुनि नेपालको गाउँघरको सुगन्ध र आधुनिक संसारको चमक एकसाथ भेटिएका थिए ।

भोजपुर, खोटाङ र पहाडी बस्तीहरुमा स्थानीय हातहरूले बुनेका डोका, डालो र नाङ्लाहरू सजिएका थिए । तिनको छेउमै दुबई, हङकङ र अन्य अन्तर्राष्ट्रिय बजारबाट ल्याइएका सुनका हार, झुम्का, औँठी, कण्ठी र विविध गहनाहरू टल्किरहेका थिए ।

एउटा कुनामा नेपालको माटोको गन्ध थियो भने अर्को कुनामा विश्वव्यापी व्यापारको चमक । परम्परा र आधुनिकताको यस्तो संगम देखेर तारा केहीबेर स्तब्ध भइन् । सायद उनी आफ्नै मनलाई सोधिरहेकी थिइन्,

‘म साँच्चै अल्डरशटमा छु कि नेपालकै कुनै बजारमा ?’

उनका आँखाहरू पसलभरि घुमिरहे । उनी कहिले कपडाको र्याक हेर्थिन्, कहिले गहनाको शोकेस । एकपछि अर्को कपडा निकालेर हेर्न थालिन् । पल्टाइन्, घुमाइन्, नापजाँच गरिन् । तर अन्ततः नेपाली श्रीमतीहरूको चिरपरिचित निष्कर्षमा पुगिन् ।

‘हैन, ठीकै छ… अब जाऔँ है ।’

म उनको अनुहार हेरेर मुस्कुराएँ । पसल पस्दा संसार किन्न मन लाग्ने, निस्कँदा केही पनि नकिनेर घर फर्किने यो कला धेरै नेपाली श्रीमतीहरूसँग जन्मजात हुने रहेछ । हामी निस्कने तयारी गर्दै थियौँ । त्यसैबेला श्याम भाइ भित्रबाट एउटा पुस्तक लिएर आउनुभयो ।

‘दाइ, यो मेरो सानो उपहार ।’ भन्दै उहाँले आफैले लेख्नुभएको ‘मुन्दुम ट्रेल’ पुस्तक मेरो हातमा राखिदिनुभयो । अप्रत्याशित उपहारले म भावुक भएँ ।

कुनै मानिसले आफ्नो श्रम, अनुभव र विचारलाई पुस्तकका पानामा बाँधेर कसैलाई उपहार दिनु, त्यो केवल पुस्तक दिनु मात्र होइन; आफ्नो जीवनको एउटा अंश सुम्पिनु पनि हो । मैले दुवै हात जोडेर भनेँ,

‘धेरै धेरै धन्यवाद भाइ । यो माया सम्झनलायक छ ।’

केहीबेरको आत्मीय कुराकानीपछि हामी बिदा भयौँ । घडीले बेलुकीको ठीक पाँच बजेको सङ्केत गरिरहेको थियो । दिन विस्तारै साँझमा रूपान्तरित हुँदै थियो । त्यसैले हामी आफ्नो बासस्थानतर्फ फर्किने निर्णय गर्दै भिक्टोरिया रोडको ओरालो समात्यौँ ।

ओरालो बाटोमा पाइला आफैँ हलुका हुँदै जान्छन् । शरीर तलतिर झर्छ, मनचाहिँ कहिले स्मृतितिर, कहिले कल्पनातिर । हामी बिस्तारै ओरालो झर्दै थियौँ । बाटोभरि नेपाली नाम बोकेका पसलहरू एकपछि अर्को देखापर्थे । कतै नेपाली किराना पसल, कतै मोमो घर, कतै ट्राभल एजेन्सी, कतै रेमिट्यान्स सेवा ।

हेर्दाहेर्दै लाग्थ्यो, मानौँ ब्रिटिस भूमिमा एउटा सानो नेपाल नै उम्रिएको हो । प्रत्येक साइनबोर्डमा नेपाली अक्षर थिए । प्रत्येक पसलभित्र संघर्षका आफ्नै कथाहरू थिए । लाखौँ सपनाहरू थिए । त्यसरी पसलमाथि पसल पार गर्दै ओरालो झरिरहेका बेला अचानक एउटा चम्किलो साइनबोर्डले हाम्रो ध्यान खिच्यो ।

सामुन्ने ठूलो अक्षरमा लेखिएको थियो i

‘श्री लक्की ज्वेलरी ।’

हामी अनायास रोकियौँ र अर्को कथाको ढोका फेरि बिस्तारै खुल्न थाल्यो । आफ्नो उमेर ढल्कँदै गएको दिनझैँ म पनि भिक्टोरिया रोडको ओरालो चुपचाप झरिरहेको थिएँ । साँझको हल्का चिसो हावाले गाला छुँदै थियो । आकाशमा उज्यालो र अँध्यारोको सिमाना विस्तारै विलिन हुँदै थियो । जीवन पनि सायद यस्तै हुँदो रहेछ, एक दिन थाहै नपाई उकालो सकिन्छ र ओरालो सुरु भइसकेको हुन्छ ।

म सडक किनार समातेर बिस्तारै अघि बढिरहेको थिएँ । तर मेरो मन भने कतै टाढा भौतारिइरहेको थियो । त्यही बेला, नेपालभन्दा हजारौँ माइल टाढा रहेको यो सानो नेपाली बस्ती, अल्डरशटको साँझमा, मेरो पछाडिबाट एउटा परिचित स्वर हावासँग मिसिँदै कानमा आइपुग्यो । त्यो स्वरमा गुनासो पनि थियो । पीडा पनि थियो । अनि अपूरा सपनाहरूको लामो इतिहास पनि ।

‘जापानदेखि अमेरिकासम्म लानुभयो । कम्बोडियादेखि कोलम्बियासम्म पुर्‍याउनुभयो । संसारका कति देश देखाइदिनुभयो । हिमाल, समुद्र, मरुभूमि र महानगर सबै देखेँ । तर ती मेरा रहर थिएनन् । ती मेरा सपनाहरू पनि थिएनन् । मेरो त जीवनभर एउटै सपना थियो । रहर नपुगुञ्जेल गहना किन्ने रहर ।

अरू महिलाहरूले ऐनामा आफूलाई सजिएको हेर्दा जुन मुस्कान मुस्कुराउँछन् । म पनि त्यो मुस्कान एकपटक मन खोलेर मुस्कुराउन चाहन्थेँ । तर जीवनभर जिम्मेवारीको भारी बोकियो । कहिले छोराछोरीको भविष्य अगाडि आयो । कहिले घरखर्च, कहिले गाउँका आफन्त, कहिले परदेशको दुःख ।

अनि मेरा रहरहरू ?

ती सधैँ कतै कुनामा थन्किएर बसिरहे । त्यसैले खै… जीवन हुनु र रहर नपुग्नु बीचको दूरीलाई के जीवन भन्न मिल्ला र ?’

उनका शब्दहरू सुन्दा म एकाएक मौन भएँ । सडक उही थियो । अल्डरशट उही थियो । साँझ उही थियो ।

तर ती शब्दहरूले अचानक मेरो वरिपरिको संसार बदलिदिएका थिए । जीवनभर मैले संसार घुमेँ । देशहरू देखेँ । इतिहासका पानाहरूमा हिँडेँ । क्रान्तिका कथा पछ्याएँ । साम्यवाद, पुँजीवाद, युद्ध र शान्तिका चिन्हहरू खोज्दै महादेशहरू डुलेँ ।

तर त्यही यात्रामा सँगसँगै हिँडेकी एउटी महिलाको सानो सपना भने कहिल्यै पढ्न सकिनँ । सायद संसार बुझ्न खोज्दा म घरभित्रको संसार बुझ्न चुकेको थिएँ । सायद मानव सभ्यताको कथा खोज्दै जाँदा एउटी श्रीमतीको मनभित्र लुकेको इतिहास पढ्न बिर्सिएको थिएँ । क्षणभर मलाई लाग्यो, मानिसले सगरमाथा चढ्नु ठूलो कुरा होइन । मानिसले चन्द्रमामा पुग्नु पनि ठूलो कुरा होइन । सबैभन्दा कठिन यात्रा त नजिकैको मानिसको मनसम्म पुग्नु रहेछ ।केहीबेर अघिसम्म आकाशले आफ्ना परेला भिजाइरहेको थियो । सिमसिम पानीका सूक्ष्म थोपाहरू हावासँगै नाचिरहेका थिए । मानौं बेलायती मौसमले आफ्नो पुरानो स्वभाव दोहोर्‍याइरहेको हो । तर स्टेसन रोडबाट भित्र पस्ने बित्तिकै दृश्य फेरिन्छ । बादलका तहहरू चिरिँदै जान्छन् । सुनौलो घामले जमिनलाई स्पर्श गर्छ र भिजेका सडकहरूमा उज्यालोका असंख्य टुक्राहरू छरिन्छन् । प्रकृतिको त्यो आकस्मिक रुपान्तरणले मनलाई अनायास प्रसन्न बनाइदिन्छ ।

तर त्यही यात्रामा सँगसँगै हिँडेकी एउटी महिलाको सानो सपना भने कहिल्यै पढ्न सकिनँ । सायद संसार बुझ्न खोज्दा म घरभित्रको संसार बुझ्न चुकेको थिएँ । सायद मानव सभ्यताको कथा खोज्दै जाँदा एउटी श्रीमतीको मनभित्र लुकेको इतिहास पढ्न बिर्सिएको थिएँ । क्षणभर मलाई लाग्यो, मानिसले सगरमाथा चढ्नु ठूलो कुरा होइन । मानिसले चन्द्रमामा पुग्नु पनि ठूलो कुरा होइन । सबैभन्दा कठिन यात्रा त नजिकैको मानिसको मनसम्म पुग्नु रहेछ ।

म केही नबोली अगाडि बढिरहेँ ।

साँझको सुनौलो उज्यालो विस्तारै हराउँदै थियो । सडकको ओरालो झन् तल झरिरहेको थियो । र हामी दुवै आ-आफ्ना अपूरा सपना बोकेर ‘नेपाल बाहिरको नेपाल – अल्डरसट’ को ओरालोमा बिलिन हुँदै गइरहेका थियौँ ।केहीबेर अघिसम्म आकाशले आफ्ना परेला भिजाइरहेको थियो । सिमसिम पानीका सूक्ष्म थोपाहरू हावासँगै नाचिरहेका थिए । मानौं बेलायती मौसमले आफ्नो पुरानो स्वभाव दोहोर्‍याइरहेको हो । तर स्टेसन रोडबाट भित्र पस्ने बित्तिकै दृश्य फेरिन्छ । बादलका तहहरू चिरिँदै जान्छन् । सुनौलो घामले जमिनलाई स्पर्श गर्छ र भिजेका सडकहरूमा उज्यालोका असंख्य टुक्राहरू छरिन्छन् । प्रकृतिको त्यो आकस्मिक रुपान्तरणले मनलाई अनायास प्रसन्न बनाइदिन्छ ।

साँझको सुनौलो उज्यालो विस्तारै हराउँदै थियो । सडकको ओरालो झन् तल झरिरहेको थियो । र हामी दुवै आ-आफ्ना अपूरा सपना बोकेर ‘नेपाल बाहिरको नेपाल – अल्डरसट’ को ओरालोमा बिलिन हुँदै गइरहेका थियौँ ।

इङ्ग्ल्यान्ड ।