बंगालको खाडीमा विकसित चक्रवातको उच्च प्रभाव भारतको आन्ध्र प्रदेशमा देखिन थालेसँगै यसको असर नेपालमा समेत पर्न सक्ने अवस्थाले सबैलाई सचेत बनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार र शनिबार कोशी र बागमती प्रदेशका उच्च हिमाली तथा पहाडी क्षेत्रमा साधारणदेखि भारी वर्षाको सम्भावना छ । काठमाडौँ उपत्यकामा समेत भारी वर्षा हुन सक्ने पूर्वानुमानले सम्भावित जोखिमप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याएको छ । वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको यस्तो समयमा सामान्य लापरबाहीले समेत ठूलो जनधनको क्षति निम्त्याउन सक्छ । त्यसैले चक्रवातको सम्भावित प्रभावलाई समयमै बुझेर सावधानी अपनाउनु अहिलेको प्रमुख आवश्यकता हो ।
नेपाल समुद्रबाट टाढा रहेको मुलुक भए पनि बंगालको खाडीमा विकसित चक्रवातबाट पूर्णत: सुरक्षित छैन । विगतमा भएका मौसमजन्य प्रभावले पनि सतर्कता अपनाउनु जरुरी देखिन्छ । चक्रवातको प्रभावसँगै भित्रिने जलवाष्पयुक्त हावा र वायुमण्डलीय प्रणालीमा आउने परिवर्तनले नेपालका कोशी, बागमती प्रदेशलगायतका क्षेत्रमा हावाहुरीसहितको वर्षा हुन सक्छ । विशेष गरी पहाडी भूभाग, भिरालो जमिन, कमजोर भौगर्भिक संरचना र नदीकिनारका बस्तीमा यस्तो वर्षाले थप जोखिम उत्पन्न गर्न सक्छ । नेपालका लागि भारी वर्षा आफैँमा गम्भीर चुनौती हो । पहाडी क्षेत्रमा छोटो अवधिमै धेरै पानी पर्दा पहिरो जाने, सडक भासिने, ग्रामीण सडक अवरुद्ध हुने सम्भावना रहन्छ । नदीमा पानीको सतह बढ्दा बाढी र डुबानको जोखिम पनि बढ्न सक्छ । काठमाडौं उपत्यकाजस्ता शहरी क्षेत्रमा अव्यवस्थित बस्ती विकास, फोहोरले थुनिएका नाला र कमजोर जलनिकास प्रणालीका कारण सामान्यभन्दा केही बढी वर्षाले समेत डुबान निम्त्याउन सक्छ । विद्युत् सेवा अवरुद्ध हुने, रुख वा बिजुलीका पोल ढल्ने तथा यातायात प्रभावित हुने जोखिमलाई समेत यतिखेर बेवास्ता गर्न मिल्दैन ।
यस अवस्थामा सबैभन्दा बढी सावधानी पदयात्रा तथा पर्वतीय गतिविधिमा संलग्न व्यक्ति, लामो दूरीका यात्रु, सवारीचालक र नदीतटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले अपनाउनुपर्छ । मौसम प्रतिकूल हुने पूर्वानुमान हुँदाहुँदै पदयात्रा, भ्रमण वा जोखिमपूर्ण सडक यात्रामा निस्कनु बुद्धिमानी हुँदैन । सकेसम्म यात्रा स्थगित गर्नु, यात्राअघि सडकको अवस्था बुझ्नु र सम्बन्धित निकायको निर्देशन पालना गर्नु सुरक्षित रहने उपाय हुन् । पानीको बहाव हेर्न खोलाकिनारमा जाने र जोखिमयुक्त अवस्थाका तस्वीर खिच्ने प्रवृत्तिले पनि झनै जोखिम बढाउँछ । नदीमा पानीको सतह बढ्न थालेमा सुरक्षित तथा अग्लो स्थानतर्फ जान ढिलाइ गर्नुहुँदैन । चट्याङ र हावाहुरीबाट बच्न पनि उत्तिकै सावधानी आवश्यक छ । चट्याङ परेको बेला अग्ला रूख, विद्युत्का पोल आदिको मुनि आश्रय लिनुहुँदैन । सम्भव भएसम्म सुरक्षित भवनभित्र नै बस्नुपर्छ । हावाहुरी लागेका बेला कमजोर छाना, ढल्ने अवस्थाका रूख, निर्माणाधीन संरचनाबाट टाढा रहनु बेस हुन्छ ।
यस्तो अवस्थामा सरकार र सम्बन्धित निकायको जिम्मेवारी पनि कम छैन । मौसम पूर्वानुमान महाशाखा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, स्थानीय तह, सुरक्षा निकाय र सञ्चारमाध्यमबीच प्रभावकारी समन्वय हुनु जरुरी छ । जोखिम क्षेत्रमा समयमै सूचना पुर्याउने, नदीको जलसतह निगरानी गर्ने, जोखिमयुक्त बस्तीका बासिन्दालाई सचेत गराउने तथा उद्धार टोली र आवश्यक सामग्री तयारी अवस्थामा राख्ने काममा राज्यले ढिलाइ गर्नुहुँदैन । स्थानीय तहले समेत जोखिमयुक्त सडक, पहिरो सम्भावित बस्ती र डुबानग्रस्त स्थान पहिचान गरी आवश्यक पूर्वतयारी गर्नुपर्छ । प्राकृतिक विपद् सधैँ रोक्न सकिँदैन, तर पूर्वतयारी र सतर्कताबाट यसको क्षति अवश्य घटाउन सकिन्छ । अहिले विकसित चक्रवातको सम्भावित प्रभावलाई सामान्य मौसमी परिवर्तन ठानेर बेवास्ता गर्नुहुँदैन । आगामी शनिबारसम्म विशेष सतर्कता अपनाउँदै अनावश्यक आवागमन कम गर्ने, जोखिमपूर्ण स्थानबाट टाढा रहने र सरकारी निर्देशन पालना गर्ने हो भने सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ । अहिलेको प्राथमिकता पनि यही हुनुपर्छ ।











प्रतिक्रिया