
गुल्मी । नेपाली समाजमा दशैँ, तिहार, तीजजस्ता चाडपर्वसँग पिङको विशेष सम्बन्ध रहँदै आएको छ । चाडपर्वका बेला गाउँघरमा पिङ हाल्ने, साथीभाइ तथा आफन्तसँगै पिङ खेलेर रमाइलो गर्ने परम्परा नेपाली समाजमा वर्षौंदेखि चल्दै आएको छ । तर पछिल्लो समय आधुनिकतासँगै परम्परागत रूपमा काठबाट निर्माण गरिने काठेपिङ र लिङ्गेपिङ हराउँदै जान थालेका छन् । पश्चिम गुल्मीका केही स्थानमा भने अझै पनि परम्परागत काठेपिङ देख्न पाइन्छ ।
विशेष गरी गुल्मी जिल्लाको पश्चिम क्षेत्रमा पर्ने मालिका, इस्मा, मदाने र धुर्कोट गाउँपालिकामा दशैँका अवसरमा आयोजना हुने मेला तथा सराय नाचमा काठेपिङको आकर्षण देख्न सकिन्छ । आधुनिक प्रविधिबाट निर्माण गरिएका ठूला पिङ र मनोरञ्जनका अन्य साधन गाउँ–गाउँमा पुग्न थालेपछि स्थानीयस्तरमै निर्माण गरिने यस्ता पिङको प्रचलन घट्दै गएको भए पनि केही स्थानमा यसको परम्परा जोगिएको छ ।
दशैँको टीकापछि गुल्मीका विभिन्न स्थानमा सराय नाच आयोजना भइरहेका छन् । सराय नाच हुने स्थानमा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहने गरेको छ । परम्परागत संस्कृति, मौलिक भेषभूषा, बाजागाजा र नाचगानसँगै मेलामा राखिने काठेपिङले पनि छुट्टै रौनक थप्ने गरेको छ ।
पछिल्लो समय यस्ता मेलामा काठेपिङ राख्ने प्रचलनले पुरानो संस्कृति र मनोरञ्जनको माध्यमलाई निरन्तरता दिन सहयोग पुगेको छ ।
मेला तथा महोत्सवमा आधुनिक र ठूला आकारका पिङ सञ्चालन गर्ने व्यवसायीको उपस्थिति बढ्दै गएपछि गाउँघरमा स्थानीय स्रोत–साधन प्रयोग गरेर निर्माण गरिने काठेपिङको प्रयोग घटेको हो । पहिले गाउँका युवाहरू मिलेर काठ तथा अन्य स्थानीय सामग्रीको प्रयोग गरी पिङ तयार गर्ने र चाडपर्वका अवसरमा सामूहिक रूपमा खेल्ने चलन थियो । अहिले भने त्यस्ता दृश्य कमै मात्रामा देख्न पाइन्छन् । तर पश्चिम गुल्मीका केही स्थानमा काठेपिङप्रतिको आकर्षण अझै कायमै छ ।
दशैँका बेला सराय नाच हुने स्थानमा काठेपिङ राख्ने गरिएकाले नयाँ पुस्ताले पनि परम्परागत पिङको अनुभव लिन पाएका छन् । स्थानीयस्तरमा यसको संरक्षण र निरन्तरता आवश्यक रहेको स्थानीयवासीको भनाइ छ ।
गुल्मी जिल्लामा सराय नाच हुने चर्चित स्थानमध्ये इस्मा गाउँपालिका–६ स्थित बुल्म चौर पनि एक हो । दशैँको अवसरमा यहाँ सराय नाच हेर्न तथा मेलामा सहभागी हुन विभिन्न स्थानबाट मानिसहरू पुग्ने गर्छन् । सराय नाच, बाजागाजा र स्थानीयको जमघटले चहलपहल बढ्ने बुल्म चौरमा काठेपिङले पनि मेलाको आकर्षण थपेको थियो । सराय नाच हेर्न पुगेका सर्वसाधारणले नाचगानसँगै काठेपिङ खेलेर मनोरञ्जन लिने गरेका छन् ।
आधुनिक मनोरञ्जनका साधनको प्रयोग बढिरहेको समयमा पनि परम्परागत काठेपिङ देख्न र खेल्न पाउनु धेरैका लागि फरक अनुभव बनेको छ । विशेष गरी बालबालिका तथा युवायुवतीका लागि पिङ खेल्नु मनोरञ्जनको माध्यम बनेको छ भने ज्येष्ठ नागरिकका लागि यसले विगतका चाडपर्व र गाउँघरको पुरानो जीवनशैलीको सम्झना गराउने गरेको छ ।
काठेपिङ खेल्ने व्यक्तिले प्रतिव्यक्ति १०० रुपैयाँदेखि खेल्ने समयअनुसार तिर्नुपर्ने व्यवस्था रहेको छ । दशैँको समयमा विभिन्न स्थानमा मेला लाग्ने र सर्वसाधारणको भीडभाड हुने भएकाले काठेपिङ व्यवसायीले पनि यही समयलाई आफ्नो व्यवसाय सञ्चालन गर्ने अवसरका रूपमा लिने गरेका छन् । वर्षभरि नियमित रूपमा सञ्चालन नहुने यस्ता पिङ व्यवसायीले मुख्यत: दशैँको समयमा विभिन्न मेला तथा सराय नाच हुने स्थानमा पुगेर पिङ चलाउने गर्छन् । चाडपर्वका बेला सर्वसाधारणको आकर्षण बढ्ने भएकाले उनीहरूले यही अवधिमा आम्दानी गर्ने गरेका छन् ।
यसरी परम्परागत पिङ सञ्चालनले एकातिर स्थानीयलाई मनोरञ्जन प्रदान गरेको छ भने अर्कोतिर केही व्यक्तिका लागि आम्दानीको माध्यमसमेत बनेको छ । काठेपिङ सञ्चालन गर्न पर्याप्त जनशक्ति आवश्यक पर्ने भएकाले यसको व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको छ । पिङ तयार गर्ने, आवश्यक सामग्री जुटाउने र सञ्चालनका क्रममा सावधानी अपनाउने काममा जनशक्ति तथा अनुभव चाहिन्छ । नेपाली समाजमा वर्षमा कम्तीमा एक दिन भए पनि पिङ खेल्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।
दशैँ तथा अन्य चाडपर्वका अवसरमा पिङ खेल्नुलाई मनोरञ्जनसँगै परम्परा र संस्कृतिको निरन्तरताका रूपमा पनि लिने गरिन्छ । गाउँघरमा दशैँ आउनुअघि नै पिङ हाल्ने तयारी गर्ने, साथीभाइ जम्मा भएर पिङ खेल्ने र चाडपर्वको खुशी साटासाट गर्ने चलन पहिले व्यापक थियो । लिङ्गेपिङ, काठेपिङ र चर्खेपिङजस्ता परम्परागत पिङले नेपाली चाडपर्वलाई थप रमाइलो बनाउने गर्थे । विशेष गरी ग्रामीण क्षेत्रमा चाडपर्वको समयमा पिङ खेल्नकै लागि टाढा–टाढाबाट मानिसहरू आउने तथा मेलामा सहभागी हुने चलन रहेको थियो ।
पिङ खेल्ने क्रममा देखिने उत्साह, साथीभाइबीचको आत्मीयता र सामूहिक सहभागिताले गाउँघरको सामाजिक सम्बन्धलाई समेत बलियो बनाउने गरेको थियो । रेसुङ्गा नगरपालिका–१ का कपिलमणि पन्थीका अनुसार पहिले तीज, दशैँ र तिहारजस्ता पर्वमा पिङ खेल्नुपर्छ भन्ने मान्यताका कारण गाउँघरमा पिङ हाल्ने र खेल्ने प्रचलन धेरै थियो । चाडपर्वको समयमा पिङ नहाले पर्व नै अधुरो हुनेजस्तो अनुभूति हुने गरेको उनी बताउँछन् । समय परिवर्तनसँगै मानिसको जीवनशैली, मनोरञ्जनका माध्यम र चाडपर्व मनाउने तरिकामा पनि परिवर्तन आएको छ ।
अहिले गाउँ–गाउँमा सडक सुविधा विस्तार हुनु, बजारबाट आधुनिक मनोरञ्जनका साधन पुग्नु तथा मेला महोत्सवमा विभिन्न प्रकारका पिङ सञ्चालन हुनुले परम्परागत पिङको प्रयोगमा प्रभाव पारेको छ । त्यसका बाबजुद पनि काठेपिङप्रतिको आकर्षण पूर्ण रूपमा समाप्त भइसकेको छैन । मुसिकोट नगरपालिका–वामीबाट बुल्म चौरमा मेला हेर्न पुगेकी सीता केसीले अझै पनि परम्परागत पिङ देख्न पाउँदा रमाइलो लागेको बताइन् । आधुनिक मनोरञ्जनका साधनको प्रयोग बढिरहेको अवस्थामा काठबाट तयार गरिएको पिङ देख्न पाउनु खुशीको कुरा भएको उनको भनाइ छ ।
यस्ता पिङले विगतका चाडपर्वको सम्झना गराउनुका साथै पुरानो संस्कृतिसँग नयाँ पुस्तालाई जोड्ने काम गर्ने केसीले बताइन् । अहिले धेरै स्थानमा परम्परागत पिङ देख्न मुस्किल हुँदै गएको अवस्थामा मेलामा काठेपिङ राखिनुले पुरानो चलनलाई सम्झाउने अवसर प्रदान गरेको छ । काठेपिङ केवल मनोरञ्जनको साधन मात्र नभई ग्रामीण जीवनशैली र परम्परागत सीपसँग जोडिएको सांस्कृतिक पहिचान पनि हो ।











प्रतिक्रिया