दोलखा।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ ले दशैं पर्वको अवसर पारेर खसी– बोका मेला– २०८३ आयोजना गरेको छ । बुधवार एक दिन आयोजना गरिएको मेलामा स्थानीय किसान शिवराम कार्की प्रथम भएका छन् । उनले १० हजार नगद पुरस्कार पाएको आयोजक ५ नम्बर वडा कार्यालयले जनाएको छ ।
मेलामा कमला श्रेष्ठ दोस्रो, सुन्तली श्रेष्ठ तेस्रो र दुर्गादेवी कार्की सान्त्वना भएको वडा कार्यालयले जनाएको छ । उनीहरुले क्रमशः नगद सात हजार, चार हजार र दुई हजार पुरस्कार प्राप्त गरेका थिए ।

खसी– बोका मेला– २०८३ मा वडाका एक सय ४७ जना किसानले दुई सय पाँच वटा खसी– बोका ल्याएको वडा अध्यक्ष बासु श्रेष्ठले बताए । मेलामा २३ वटा खसी– बोका बिक्रि भएको र त्यसको कूल तौल छ सय केजी रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा उत्कृष्ट किसानलाई पुरस्कार वितरण गर्दै भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले आर्थिक उन्नतीका लागि कृषि तथा पशुपालन व्यवसाय उपयुक्त रहेको उल्लेख गर्दै नगरपालिकाले कृषि तथा पशुपालन व्यवसायमा संलग्न किसानहरुलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गाउर्दै आएको बताए ।
वडा नम्बर– ५ का वडा अध्यक्ष बासु श्रेष्ठले वडाका बाख्रापालक किसानलाई प्रोत्साहन गर्न खसी– बोका मेला– २०८३ आयोजना गरिएको र यसमा किसानहरुको उत्साहजनक सहभागिता रहेको बताए ।

कार्यक्रममा कृषि, पुशपंक्षि तथा पशु सेवा कार्यालय दोलखाका डा. मदन भण्डारी, भीमेश्वर नगरपालिकाका पशु शाखा प्रमुख डा. निसान दहाल र श्याम खड्काले मेलामा सहभागी गराइएको खसी– बोकाको मूल्याङ्कन सहित पुरस्कारको लागि सिफारिस गरेका थिए ।














प्रतिक्रिया