त्रिअभिनेत्री सम्मानित


नेपाली फिल्मको पहिलो अध्यायको स्मरण गर्दै राष्ट्रिय चलचित्र दिवसका अवसरमा नेपाल चलचित्र कलाकार संघले आमा फिल्मलाई केन्द्रमा राखेर हालै विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा पहिलो नेपाली फिल्म आमाका त्रिअभिनेत्री भुवन चन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसाल एकै ठाउँमा जम्मा भएका थिए। कार्यक्रममा आमासंग जोडिएको नेपाली फिल्मको प्रारम्भिक यात्रादेखि पहिलो पुस्ताका कलाकार तथा प्राविधिकले सीमित स्रोतसाधनका बीच गरेको योगदानसम्मका विषयमा चर्चा गरियो।

संघका अध्यक्ष उत्तम केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भुवन चन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसाललाई विशेष सम्मान गरिएको थियो । संघका महासचिव सुनिल कटुवालले स्वागत मन्तव्य राखेको कार्यक्रममा भुवन, चैत्यदेवी र वसुन्धरालाई संघका अध्यक्ष उत्तम केसी र महासचिव सुनिल कटुवालले खादा, माला तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए। सोही अवसरमा पत्रकार विमल भौकाजीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा भौकाजीको सम्पादनमा प्रकाशित शारदा पत्रिकामा समेटिएका नेपाली फिल्मका गीत तथा गीत–संगीतसम्बन्धी सामग्रीको विमोचनसमेत गरियो।

कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, कलाकार लय संग्रौला, संघका पूर्व अध्यक्ष तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र संघका कार्यवाहक अध्यक्ष गोपालकाजी कायस्थ, विमल भौकाजी, लव प्याकुरेललगायतले राष्ट्रिय चलचित्र दिवस, नेपाली फिल्मको इतिहास तथा आमास“ग सम्बन्धित विभिन्न विषयमा चर्चा गरेका थिए। अभिनेत्री वसुन्धरा भुसालले नेपाली फिल्मको प्रारम्भिक समयका आप्mना अनुभव स्मरण गर्दै आफूहरूले फिल्म क्षेत्रमा भोगेको संघर्ष र अनुभवबारे प्रकाश पारिन्।