विपत्तिको सुरुङभित्र टनेल २६


नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म टनेल २६ ः द कर्स बिनिथ द माउन्टेनले प्रदर्शनको तयारीसगै ट्रेलरमार्फत कथाको संकटपूर्ण संसार सार्वजनिक गरेको छ। ललितपुरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको पौने तीन मिनेटको ट्रेलरले भुटानको एक जलविद्युत् सुरुङभित्र भएको हताहतीपछि उत्पन्न हुने संकट, त्यसबाट सिर्जित परिस्थितिस“गै पात्रहरूले गर्नुपर्ने संघर्षलाई केन्द्रमा राखेको छ।

डिजास्टर जनरामा निर्माण भएको फिल्म भुटानमा भएको वास्तविक घटनाबाट प्रेरित रहेको निर्माण पक्षले जनाएको छ। फिल्मलाई असोज २३ गते नेपाल र भुटानका हलमा प्रदर्शन गर्ने तयारी छ। ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागी हुन भुटानबाट १६ सदस्यीय टोली नेपाल आएको थियो भने नेपाली तथा भुटानी निर्माता पनि कार्यक्रममा उपस्थित थिए।

कथालाई पर्दामा विश्वसनीय बनाउन निर्माण पक्षले कृत्रिम सेटमा मात्र निर्भर नभई फिल्मको कथालाई प्रेरणा दिएको भुटानस्थित वास्तविक सुरुङमै महत्वपूर्ण दृश्य छायांकन गरेको छ। फिल्मको छायांकन करिब सय दिनसम्म चलेको थियो। कथाको भौगोलिक परिवेश, सुरुङभित्रका जटिल दृश्य र दृश्यात्मक आवश्यकतालाई ध्यानमा राखेर लामो समयसम्म गरिएको छाया“कनले निर्माणमा गरिएको तयारीलाई देखाउने निर्माण पक्षको भनाइ छ। ट्रेलरमा सुरुङभित्रको दुर्घटना, त्यसपछि सिर्जना हुने संकट र पात्रहरूले त्यसको सामना गर्ने अवस्थालाई प्राथमिकता दिइएको छ। दृश्य प्रभाव तथा भीएफएक्सको प्रयोगले फिल्मलाई अन्तर्राष्ट्रिय स्तरको स्वरूप दिने प्रयास गरेको देखिन्छ।

दोर्जी वाङ्चुक कार्यकारी निर्माता र अभिनेता प्रदीप खड्का क्रिएटिभ प्रोड्युसर रहेको फिल्मको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्। सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन, रोशनी दादालगायत कलाकारले फिल्ममा अभिनय गरेका छन्।

प्रदीपका लागि टनेल २६ चौथो निर्माण सहकार्य हो। यसअघि उनले स्केप, ठुलो मान्छे र एक्लोमा निर्माण सहकार्य गरेका थिए। ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता निर्वाण चौधरीले आफू फिल्म निर्माणमा साझेदारका रूपमा जोडिन पाउ“दा खुसी लागेको बताए। बुबा विनोद चौधरीले चार दशकअघि फिल्म निर्माण गरेको स्मरण गर्दै निर्वाणले अब आफूले पनि फिल्म निर्माणलाई निरन्तरता दिने बताए।

प्रदीप खड्काले निर्वाण चौधरीस“गै भुटानमा उत्कृष्ट काम गरिरहेका कलाकार तथा प्राविधिकसँग सहकार्य गर्न पाउ“दा खुसी लागेको बताए। मुख्य कलाकार तथा अर्का निर्माता सङ्गे छेल्ट्रिमले टनेल २६ हलिउडस्तरको फिल्म बनेको दाबी गरे। उनले पछिल्लो समय नेपालमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै फिल्मको कुल आम्दानीको आप्mनो सेयरको ५० प्रतिशत रकम नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने घोषणा गरे।