करिब १८ वर्षपछि ठूलो पर्दामा फर्किएका हास्य अभिनेता नारायण त्रिपाठीलाई फेरि दर्शकमाझ ल्याउँदै फिल्म चमेलीको पोइको पौने चार मिनेटको ट्रेलर सार्वजनिक गरिएको छ।
ट्रेलरले फिल्मको कथा पारिवारिक सम्बन्धवरिपरि केन्द्रित रहेको संकेत गरेको छ। मायाप्रेम, आसक्ति, दाम्पत्य जीवनका उतारचढाव, विश्वास र घातसंगै मानवीय सम्बन्धका विभिन्न पाटालाई समेटिएको ट्रेलरमा हास्दाहास्दै आसु झार्नुपर्ने अवस्थासम्म पुग्ने घटनाक्रम देखाइएको छ। निर्देशक एभरेष्ट सूर्य बोहराले फिल्म विशुद्ध मनोरञ्जनात्मक रहेको जनाउँदै करिब साढे दुई घण्टा दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले निर्माण गरिएको बताए।
दुई दशकअघिसम्म प्रेमचरो उपनामले फिल्म तथा सानो पर्दामा चर्चित त्रिपाठी अमेरिका गएपछि नेपाली फिल्मको ठूलो पर्दाबाट टाढिएका थिए। लामो अन्तरालपछि यो फिल्मबाट पुनरागमन गरेका उनी फिल्मबाट आशावादी छन्। अमेरिकामा आयोजित विशेष शोमा नेपाली दर्शकबाट पाएको प्रतिक्रियाले आफ्नो उत्साह थप बढाएको उनले बताए। नेपाली फिल्ममा फर्किने चाहना लामो समयदेखि भए पनि परिस्थितिले साथ नदिएको जनाउँदै उनले अब अभिनयलाई निरन्तरता दिने इच्छा व्यक्त गरे।

त्रिपाठीसंगै फिल्ममा सुरक्षा पन्त, मुकुन, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, उमेश राई (फुलन्देकी आमा) लगायतका कलाकार छन्। मुकुनले फिल्ममा आफूले यसअघि गर्न नपाएको शैलीको कमेडी गर्न पाएको बताए। उनका अनुसार फिल्मले दर्शकलाई हसाउने मात्र नभई केही ठाउँमा गम्भीर पनि बनाउनेछ। विल्सनले त्रिपाठीसंग बाल्यकालमै साथी फिल्ममा स्क्रिन शेयर गरेको स्मरण गर्दै यसपटकको सहकार्यलाई रोचक अनुभवका रूपमा प्रस्तुत गरे।
निर्देशक बोहराकै लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनेत्री सुरक्षा पन्तले दोस्रोपटक सहकार्य गरेको र आफूले खोजेजस्तै कथा, परिवेश, पात्र र चरित्रमा काम गर्न पाएको बताइन्। निर्माता रामनारायण उपाध्यायका अनुसार दर्शकलाई भरपुर मनोरञ्जन दिने उद्देश्यले फिल्म निर्माण गरिएको हो। आगामी १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्मको लेखनमा निर्देशक बोहरालाई शिवम् अधिकारीले सघाएका छन् भने राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको कोरियोग्राफी र कुमार महर्जनको द्वन्द्व निर्देशन छ। धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा सुनीता सापकोटा र रामनारायण उपाध्यायद्वारा निर्मित फिल्ममा उदयविक्रम राणा, रितु मल्ल ठकुरी, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता, धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर तथा नारायण त्रिपाठी, प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली र सुदीप कु“वर सह–निर्माता छन्।











प्रतिक्रिया