दाङ । दशैँ सकिएदेखि नै राप्ती क्षेत्रका पहाडी गाउँबस्तीमा परम्परागत मेला र जात्राको रौनक शुरु भएको छ । सल्यानको कुमाख, रुकुमका पाँचपुनीलगायतका मेला सम्पन्न भइसकेका छन् भने रुकुम पश्चिमको डिग्रे, गैरीनेटा र रोल्पाको राक्सेबाङलगायतका मेला लाग्ने तयारीमा छन् । यस्ता मेलाले गाउँघरलाई उत्सवमय बनाएका छन् । मेलामा धार्मिक आस्था, मौलिक लोकसंस्कृति, खेलकुद, मनोरञ्जन र आफन्तजनसँगको भेटघाट एकै ठाउँमा जोडिने गरेका छन् ।
सल्यानको कुमाख लेकमा कोजाग्रत पूर्णिमाका अवसरमा लाग्ने मेलामा रुकुम, रोल्पा, जाजरकोट, दाङलगायत जिल्लाबाट भक्तजन तथा पर्यटक पुग्ने गर्छन् । सिद्धबाबाको दर्शनसँगै स्थानीय लोकनाच, परम्परागत भाका, रोटेपिङ र खेलकुद मेलाका आकर्षण हुन् । यस वर्ष कुमाख मेलामा दुई दिनमा एक लाखभन्दा बढी भक्तजन सहभागी भएको सल्यानका प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्लले जानकारी दिनुभयो ।
रुकुम पश्चिमको थर्पुस्थित डिग्रे साईकुमारी भगवती मन्दिरमा हरिबोधनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म मेला लाग्छ । धार्मिक पूजाआजासँगै सगाल नाच, लट्ठी नाचलगायत सांस्कृतिक प्रस्तुतिले मेलाको महत्व बढाएका छन् । रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ स्थित विन्ध्यवासिनी भगवती मन्दिरमा लाग्ने पाँचपुनी मेलामा पनि पूजाआजा, सांस्कृतिक झाँकी, कृषि प्रदर्शनी, व्यापार र खेलकुदका गतिविधि समेटिने गरेका छन् । रुकुम र सल्यानका विभिन्न क्षेत्रमा लाग्ने शङ्खपीपल, टापु, रिम्नालगायतका मेलाले पनि परम्पराको निरन्तरता दिँदै आएका छन् ।
यी मेला धार्मिक अनुष्ठानमा मात्र सीमित छैनन् । दशैँमा घर फर्किएका तथा रोजगारी र अध्ययनका लागि बाहिर रहेका मानिसलाई आफन्त, साथीभाइ र गाउँलेसँग भेटघाट गर्ने अवसर पनि दिन्छन् । परम्परागत मेलासँगै गाउँगाउँमा गठन भएका स्थानीय युवा क्लब तथा समूहले पनि रचनात्मक गतिविधिसहित मेला आयोजना गर्ने गरेका छन् ।
भर्खरै रुकुम पश्चिमको मुसिकोट नगरपालिका–९, लिंगुरमा मेला आयोजना गरेको समाज रूपान्तरण युवा समूहका अध्यक्ष सर्वजीत खड्काले यस्ता मेलामा आयोजना गरिने भलिबललगायतका प्रतियोगिता युवाबीच भावनात्मक सम्बन्ध जोड्ने महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँका अनुसार सुखदुःख साटासाट, पुराना सम्बन्ध नवीकरण र नयाँ सामाजिक सम्बन्ध निर्माणमा मेलाको भूमिका महत्वपूर्ण छ । विभिन्न गाउँ र जिल्लाका मानिसको जमघटले आपसी सद्भाव र सामाजिक एकतालाई पनि बलियो बनाउँछ ।
मेलामा हुने चहलपहलले स्थानीय अर्थतन्त्रमा समेत योगदान पु¥याउँछ । स्थानीय उत्पादन, परम्परागत परिकार, कृषिउपज र हस्तकलाको बिक्री बढ्न सक्छ । होटल, पसल, यातायात तथा अन्य सेवाको कारोबार विस्तार हुँदा स्थानीयले आम्दानी र रोजगारीका अवसर पाउँछन् । धार्मिक स्थल, प्राकृतिक सौन्दर्य र मौलिक संस्कृतिलाई जोडेर प्रचारप्रसार गर्न सके यस्ता मेला ग्रामीण पर्यटनका आकर्षक गन्तव्य बन्न सक्ने दाङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष महेन्द्र बुढाथोकी बताउनुहुन्छ ।
मेलाको रौनक बढाउन स्थानीय युवा क्लबले गर्ने रचनात्मक गतिविधि पनि उत्तिकै महत्वपूर्ण छन् । भलिबल, लोकगीत तथा नृत्य प्रतियोगिता, स्थानीय कला–संस्कृतिको प्रस्तुति, सरसफाइ अभियान, प्राथमिक उपचार, स्वयंसेवा र लागुऔषध तथा दुव्र्यसनविरुद्धका सचेतनामूलक कार्यक्रमले मेलालाई व्यवस्थित र उपयोगी बनाउन सक्छन् । यस्ता गतिविधिले युवाको प्रतिभा उजागर गर्नुका साथै नेतृत्व, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्छन् ।
सदियौँदेखि चल्दै आएका मेलाको मौलिकता जोगाउँदै तिनलाई व्यवस्थित, सुरक्षित र पर्यावरणमैत्री बनाउनु आवश्यक छ । स्थानीय तह, मेला व्यवस्थापन समिति, युवा क्लब र समुदायबीच सहकार्य हुन सके मेलाले संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र गाउँको अर्थतन्त्र सबल बनाउन थप योगदान दिन सक्छन् ।








तपाईंको विचार लेख्नुहोस्