काठमाडौं ।
भारतकी प्राध्यापक माधुरी सुखिजाले नेपाल र भारतबीच सांस्कृतिक, शैक्षिक, खेलकूद जस्ता सम्बन्धलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल भारत नीति संवादमा आइतबार बोल्नुहुँदै संयुक्त शैक्षिक कार्यक्रमहरु बनाएर जानुपर्ने बताउनुभयो ।
काठमाडौं विश्वविद्यालयका लागि आइसीसीआर प्रमुख समेत रहनुभएकी प्राध्यापक सुखिजाले शिक्षा र खेलकूदका क्षेत्रमा भइरहेका सहकार्यहरुले सम्बन्धलाई अझ प्रगाढ बनाएको उहाँको भनाई छ । उहाँले विश्वमा आएको प्रविधिको तिव्र विकासले नेपाल र भारतबीचको नयाँ पुस्तामा सम्बन्धलाई सुदृढीकरणका लागि नयाँ नीतिहरु आवश्यक देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘परिवर्तित अवस्थामा विरासतले मात्र पुग्दैन, नयाँ नीतिहरु बनाएर सम्बन्धलाई सुदृढ गर्नुपर्छ ।‘
भारतको मौलाना अबुल कलाम आजाद इन्स्टिच्युट अफ एशियन स्टडिजका निर्देशक प्राध्यापक सरुप प्रसाद घोषले दुवै देशले युवाहरुमारोजगारी र दक्षतामा ध्यान दिनुपर्ने बताउनुभयो । भारतको वर्तमान सरकार दक्षता अभिवृद्धिमा केन्दित भएको तर ब्रेन ड्रेन र बसाईँसराईँको चुनौती बढेको बताउनुभयो । सामाजिक क्षेत्रमा आएका समस्याले युवा पुस्तामा आएका नकारात्मक असर अन्तका लागि नीति बनाएर बढ्नुपर्नेमा जोड दिनुभयो ।
भारतको विद्यान गँगा बेसिन फाउण्डेशनअफ रिसर्च एण्ड सस्टेनेबल पोलिसीका निर्देशक आनन्दकुमार श्रीवास्तवले नेपाल र भारतसँग ४० प्रतिशतभन्दा बढी युवा जनसंख्या रहेकोले त्यसबाट प्रचुर लाभ लिन सक्नुपर्ने बताउनुभयो । युवाहरुमा आएको ब्रेन ड्रेनको चुनौती दुवै देशको चुनौती भएकाले मिलेर सामना गर्नुपर्ने बताउनुभयो ।
नेपालमा स्थिर सरकार भएकाले भारतले मिलेर काम गर्ने सहज वातावरण विकासभएको बताउनुभयो । दुवै देशले साथ साथ मिलेर काम गर्न सकिने र भारत त्यसका लागि तत्पर रहेको उहाँको भनाई थियो । नेपालको अर्गानिक उत्पादनले भारतमा बजार पाउनसक्ने र युवालाई त्यस दिशातर्फ लगाउन सुझाव दिनुभयो ।
इन्डिया फाउण्डेशनकी रमि निरञ्जन देसाईले नेपाल र भारतबीच सांस्कृति सम्बन्धको पुनः परिभाषा जरुरी रहेको बताउनुभयो । उहाँले नयाँ पुस्तामा देखिएको नयाँ सोच र आकांक्षाले दुवै देशका युवालाई प्रभावित बनाइरहेको सन्दर्भमा नीतिहरुमा पनि आवश्यकता अनुसारको परिवर्तनमा जोड दिनुभयो ।
शोधकर्ता अशोक राई प्यासीले पुस्तान्तरणका क्रममा संस्कृतिको पनि हस्तान्तरण हुने भएकाले युवाहरुमा आफ्नो संस्कृतिबारे जानकार बनाउनुपर्ने बताउनुभयो । उहाँले युवाहरुलाई सृजनशील र दक्ष बनाउन नेपाल र भारतले मिलेर कार्य गर्न सक्ने उहाँको भनाई थियो ।
कार्यक्रमको संचालन भारतको केन्द्रीय संस्कृत विश्वविद्यालयका प्राध्यापक श्रीनिवास बरखेडीले गर्नुभएको थियो ।








तपाईंको विचार लेख्नुहोस्