बालेनको भारत भ्रमणलाई लिएर विष्णु रिजालका पाँच प्रश्न


काठमाडौँ ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग सदस्य विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी र कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमण सफलताको शुभकामना दिँदै रिजालले भ्रमणअघि राष्ट्रपति र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग परामर्श नगर्नु कूटनीतिक निरन्तरताका दृष्टिले उचित नभएको टिप्पणी गरेका छन्।

उनले भारतमा रहेका नेपाली नागरिकका प्रतिनिधिसँग भेटघाट नगर्नु, भारतीय उद्योगी–व्यवसायीसँग अन्तरक्रियाको कार्यक्रम नराख्नु तथा राष्ट्रिय सहमतिबिना दीर्घकालीन सम्झौता गर्न खोज्नुको औचित्यमाथि प्रश्न गरेका छन्।

रिजालले प्रधानमन्त्रीले आवश्यक भेटघाट र छलफल गर्न नसक्नु व्यक्तिगत समस्या हो वा सरकारकै नीति भन्दै जिज्ञासा व्यक्त गरेका छन्। भ्रमणबाट उपलब्धि के हासिल हुन्छ भन्ने पछि नै थाहा हुने भए पनि प्रधानमन्त्रीको सुरुवाती कार्यशैलीले आशंका जन्माएको उनको भनाइ छ।

यस्तो छ उनको जिज्ञासा:

प्रधानमन्त्री बालेन्द्र शाह आजदेखि छिमेकी राष्ट्र भारतको दुई दिने राजकीय भ्रमण (स्टेट भिजिट) मा जाँदै हुनुहुन्छ। सर्वप्रथम उहाँ भ्रमणको शुभकामना व्यक्त गर्दछु।  

भ्रमणबाट के–के उपलब्धि हासिल हुन्छ, थाहा भइहाल्नेछ। तर, सुरुमै प्रधानमन्त्री शाहका व्यवहारका कारण केही जिज्ञासा उत्पन्न भएका छन्:  

१. भ्रमण पूर्व राष्ट्रपतिदेखि संसद्मा रहेका दलहरूसँग कसैसँग पनि कुनै छलफल र परामर्श भएन। कूटनीतिमा निरन्तरता र राष्ट्रिय सहमतिले ठूलो महत्व राख्दछ। देशभित्र संसद्मा रहेका दलहरूसँग समेत कुनै परामर्श नगरी भारतसँग एकल र छुट्टै के गर्न लाग्नुभएको हो ?  

२. भारतमा लाखौँ नेपाली नागरिकहरू छन्, तिनका धेरै संस्थाहरू क्रियाशील छन्। नेपालका प्रधानमन्त्री भारत पुग्दा नेपाली दूतावासमा उनीहरूसँग प्रतिनिधिमूलक भेट गर्ने र आश्वस्त पार्ने काम गर्दा प्रधानमन्त्रीलाई के आपत् आइलाग्दो रहेछ ?  

३. नेपालमा भारतीय लगानी भित्र्याउनका लागि अन्तरक्रिया र प्रोत्साहन गर्ने भन्दै प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा ठूलो संख्यामा निजी क्षेत्रका अगुवाहरू पनि छन्। तर, भारतीय उद्योगी–व्यवसायीलाई सम्बोधन गर्न प्रधानमन्त्री तयार हुनुभएनछ। यसो गर्दा उहाँलाई के घाटा हुँदो रहेछ ?  

४. देशभित्र सामान्य छलफल पनि नगरेका प्रधानमन्त्रीसँग कुनै पनि दीर्घकालीन सहमतिपत्र वा सम्झौतामा हस्ताक्षर गर्ने नैतिक तथा राजनीतिक सामर्थ्य हुँदैन। त्यसबाट भोलिका दिनमा थप विवाद सिर्जना हुन सक्छ। यसतर्फ बेलैमा सबैले ध्यान दिनुपर्छ।  

५. आवश्यक भेटघाट, छलफल र अन्तरक्रिया गर्न नसक्ने, दोहोरो सम्वाद गर्न नसक्ने प्रधानमन्त्रीज्यूको कुनै व्यक्तिगत समस्या हो कि नेपाल सरकारको नीति नै हो ?

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।