उदयपुर ।
त्रियुगा नगरपालिका–१३ स्थित बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने भएको छ । उदयपुर सुनचाँदी व्यवसायी संघको पहलमा निर्माण हुन लागेको मन्दिरको शनिबार एक समारोहबीच त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेतले शिलान्यास गर्नुभएको हो ।
सुनचाँदी व्यवसायी तथा विश्वकर्मा समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिर निर्माण गर्न लागिएको संघले जनाएको छ । निर्माण हुने मन्दिरलाई बहुउद्देश्यीय संरचनाका रूपमा विकास गर्ने योजना रहेको छ ।
मन्दिरसँगै पार्टी प्यालेससमेत निर्माण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
मन्दिर निर्माणका लागि सुनचाँदी व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रमेश रसाइलीले एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले धार्मिक तथा सामाजिक क्षेत्रको विकासका लागि यस्ता संरचनाले महत्वपूर्ण योगदान पु¥याउने बताउँदै निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
शिलान्यास समारोहमा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल, त्रियुगा नगरपालिका–१३ का वडाध्यक्ष नवीन चौधरीलगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले मन्दिर निर्माण कार्यलाई सफल बनाउन आफूहरू तथा आ–आफ्ना संस्थाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नगरप्रमुख बसन्त कुमार बस्नेतले मन्दिर निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराएको जानकारी दिँदै निर्माण कार्यमा नगरपालिकाबाट थप सहयोगसमेत उपलब्ध गराउने बताउनुभयो । उहाँले धार्मिक तथा सामाजिक संरचनाको निर्माणले स्थानीय समुदायबीच एकता, सद्भाव र सहकार्यलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभया ।
बरुवा बसपार्क क्षेत्रमा निर्माण हुने उक्त मन्दिरले विश्वकर्मा समुदायको धार्मिक आस्थाको संरक्षणसँगै सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । बहुउद्देश्यीय संरचनाका रूपमा विकास गरिने मन्दिरले स्थानीयस्तरमा सभा, समारोह तथा अन्य सामाजिक गतिविधिका लागि समेत उपयोगी स्थान उपलब्ध गराउने विश्वास आयोजकले लिएको छ । मन्दिर निर्माणका लागि विभिन्न व्यक्ति, संघसंस्था तथा स्थानीयबाट सहयोग जुटाउने अभियानसमेत अघि बढाइने जनाइएको छ ।








तपाईंको विचार लेख्नुहोस्