दसैंमा घर फर्किने छोराको बाटो हेरेर बसेकी आमा र आमाको माया तथा जिम्मेवारीबीच अल्झिएको छोराको कथा। यही पारिवारिक भावनालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको नेपाली फिल्म आ बाट आमा २ को टिजर सार्वजनिक भएको छ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्मको ३ मिनेट ३८ सेकेन्डको टिजरमा दसैं“को परिवेशसंगै आमा–छोराबीचको सम्बन्धलाई फरक कोणबाट प्रस्तुत गरिएको छ। टिजरमा कृष्णको भूमिकामा रहेका पल शाहले मलिका महतलाई बोकेर हिंडिरहेका छन्। आमाको दबाई लिन अस्पताल पुगेका कृष्णले मलिकालाई जीवनभर बोकेर हिंड्ने कुरा गर्छन्। तर, त्यहीबीच आमाको फोन आउँदा उनले उठाउँदैनन्।
घर फर्किएपछि सुतिरहेकी आमालाई देख्दा कृष्णमा देखिने डरले कथालाई अर्को तहमा पु¥याउँछ। टिजरमा यही घटनालाई भावनात्मक तनावका रूपमा प्रस्तुत गरिएको छ। फिल्मले आमाको प्रतीक्षा, छोराको जिम्मेवारी र परिवारसंग जोडिएका सम्बन्धमा आउने उतारचढावलाई कथाको केन्द्रमा राखेको संकेत टिजरले गरेको छ। सोमबार सार्वजनिक गरिएको ट्रेलरले हालसम्म २ मिलियनभन्दा बढी भ्यूज पाईसकेको छ।
फिल्मको टिजरमा पल शाह, मलिका महत र विपना थापालाई प्रस्तुत गरिएको छ। दसैंमा घर फर्किने परम्परासंग जोडिएको जमरा र आमाको पर्खाइलाई फिल्मले मुख्य विषय बनाएको निर्माण पक्षले जनाएको छ। विजया दशमीको अवसर पारेर आगामी असोज ३० गतेदेखि फिल्म देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ।
चन्द्र पन्तको कथा, पटकथा र निर्देशन रहेको फिल्ममा रोशन भट्ट र चन्द्र पन्त लेखक, रोशन भट्ट संवाद लेखक तथा करण सिंह कार्यकारी निर्माता रहेका छन्। पल शाह, मलिका महत, रिस्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायत कलाकारले अभिनय गरेको फिल्ममा
बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन, नवराज उप्रेतीको छायांकन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।











प्रतिक्रिया