तिहारलाई पाँच पाण्डव


मल्टिस्टार फिल्म पाँच पाण्डवको फिर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। मुख्य पाँच पात्रको क्यारेक्टर रिभिल गर्दै फस्टलुक सार्वजनिक गरिएको हो।
पोस्टरमा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौलालाई पाँच पाण्डवका रूपमा प्रस्तुत गरिएको छ। हरिवंश युधिष्ठिर, जितु नेपाल भीम, आर्यन सिग्देल अर्जुन, महेश त्रिपाठी नहकुल र सुशील सिटौला सहदेवको भूमिकामा देखिएका छन्। घोडाले तानिरहेको साजसज्जायुक्त बग्गीमा पाँचै पात्रलाई राखिएको पोस्टरमा युधिष्ठिरको भूमिकामा रहेका हरिवंश अगाडि बसेका छन् भने उनको पछाडि बाँकी चार पात्र उभिएका छन्। पाँचै जनाको प्रफुल्ल अनुहारले उनीहरूबीचको एकता, मिलन र भाइचाराको संकेत गर्छ। पा“च पाण्डवको विशेषता झल्काउने गरी तयार पारिएको पोस्टरले फिल्म र पात्रप्रति दर्शकको चासो बढाउने निर्माण पक्षको विश्वास छ।

निर्देशक वसन्त निरौलाका अनुसार पोस्टरमार्फत पात्र र उनीहरूको लुक्स सार्वजनिक गरिएको हो। दर्शकले वरपर देखिरहेका परिचित पात्र र लुक्स भएकाले यी क्यारेक्टर छिट्टै लोकप्रिय बन्ने र फिल्मप्रति प्रतीक्षा बढ्ने निर्माण पक्षको अपेक्षा छ।

तिहारको छेको पारेर फिल्म आगामी कात्तिक २० गते रिलिजमा ल्याइने तयारीमा छ। फिल्म पूरै डल्बी एटमसमा तयार पारिएको निर्देशक निरौलाले बताएका छन्। काली रानी फिल्म्स्को ब्यानरमा नवीन श्रेष्ठद्धारा प्रस्तुत फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपानेलगायतका कलाकारले पनि अभिनय गरेका छन्। फिल्ममा सुशील पौडेलको कथा, पटकथा र संवाद, अर्जुन पोखरेलको संगीत, श्याम तामाङको छाया“कन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।