विकासमान श्रेष्ठ, ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति समितिका संयोजक हुनुहुन्छ।ललितपुर महानगरपालिका–५ का वडाध्यक्षसमेत रहनुभएका श्रेष्ठको नेतृत्वमा रहेको समितिले विशेषतः अमूर्त संस्कृति, जात्रा–पर्व, परम्परागत सीप तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनलाई पर्यटन तथा स्थानीय आर्थिक विकाससंग जोड्ने काम गर्दै आएको छ।विगत चार वर्षमा समितिले गरेका काम, उपलब्धि, चुनौती,सांस्कृतिक सीपको पुस्तान्तरण तथा अमूर्त संस्कृति संरक्षणका लागि तयार हु“दै गरेको कार्यविधि लगायत विषयमा नेपाल समाचारपत्रका सुनील महर्जनले गरेको कुराकानीको सम्पादित अंशः–
ललितपुर महानगरपालिकाको उद्योग, पर्यटन तथा संस्कृति समितिले अहिले मुख्य रूपमा के–कस्ता काम गरिरहेको छ?
ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति समितिको संयोजकको जिम्मेवारी सम्हालेपछि हामीले संस्कृति, सम्पदा र परम्पराको संरक्षणलाई विशेष प्राथमिकता दिदै आएका छौं।संयोजकको रुपमा जिम्मेवारी सम्हालेदेखि लामो समयदेखि बन्द भएका विभिन्न जात्रा पुनः सञ्चालन गरेका गर्ने क्रमलाई प्राथमिकता दिएका छौं।यस दौरँमा विगत २४ वर्षदेखि बन्द रहेको मानमानेश्वरी भवानी देवीको पायो जात्रा, खड्ग जात्रा, चामुण्डा माईको जात्रा, महालक्ष्मीको खट जात्रा पुनः पुनः सञ्चालन गरेका छौं।महानगरपालिकाको सहयोगले अहिले यी जात्राले निरन्तरता पाएका छन्।त्यसैगरी, मतयाः (दिपयात्रा) भीमसेन पूजा, कृष्णाष्टमी, इन्द्रजात्रा लगायत विभिन्न जात्रा, पर्व र पूजामा आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छौं।जीर्ण अवस्थामा रहेका मठमन्दिरको संरक्षण, र मर्मत सम्भारमा पनि सहयोग गरिरहेका छौं।त्यसैगरी धिमे, नाय् खिं, नायखिं लगायत परम्परागत बाजागाजा र सांस्कृतिक सीप नया“ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षण सञ्चालन गरिरहेका छौं।
जात्रा, पर्व बन्द हुने अवस्था किन आउने गरेको छ?
पहिले जात्रा–पर्व गुठीका जग्गाको आम्दानी र सामुदायिक सहभागिताबाट चल्थे।अहिले गुठीका जग्गा मासि“दा आम्दानी घटेको, खर्च बढेको र सहभागीको संख्या पनि कम हु“दै गएको छ।यही कारण विगतमा कतिपय जात्रा बन्द भएको थियो। त्यसैगरी आपसी समन्वयको कमी, जनशक्ति नहु“दा विभिन्न अर्मूत संस्कृतिहरु बन्द हुन पुगेको थियो।
अमूर्त संस्कृति जोगाउन महानगरपालिकाको कसरी सहयोग गरिरहेको छ ?
हामीले जात्रा–पर्वको महत्व, आवश्यकता र कार्यक्रमको प्रकृति अनुसार सहयोग गर्दै आएका छौं।तर स्पष्ट मापदण्ड नहु“दा कतिपय अवस्थामा कसलाई कति सहयोग गर्ने भन्नेमा अन्योल हुने गरेको छ।त्यसैले सांस्कृतिक महत्व, आवश्यकता र आर्थिक अवस्थालाई आधार बनाएर सहयोग गर्ने स्पष्ट कार्यविधि बनाउ“दैछौं।सबै जात्रा–पर्वको आर्थिक अवस्था एउटै हु“दैन,त्यसैले आवश्यकता अनुसार महानगरको सहयोग पनि जारी रहन्छ।
केही वर्षयता समितिले अक्षयकोषको नीतिलाई निरन्तरता दिएको थिए“ । कार्तिक नाचलगायत विभिन्न जात्रा–पर्वका लागि अक्षय कोष स्थापना गर्न सहयोग गर्दै आएका छौं।कोषको आम्दानीबाट जात्रा सञ्चालन गर्न सके महानगरको बजेटमाथिको निर्भरता घट्छ।हाम्रो उद्देश्य समुदाय आफैंले आफ्नो संस्कृति जोगाउन सक्ने वातावरण बनाउनु हो।महानगरपालिकाले पैसा दिए मात्र जात्रा चल्ने अवस्था दीर्घकालीन समाधान भने होइन।
अक्षय कोष बनाएर जात्रा–पर्वलाई आत्मनिर्भर बनाउने नीति प्रभावकारी हुन सकेन भन्ने गुनासो पनि छ नि?
हो, अक्षय कोषको ब्याजदर घट्दा त्यसबाट आउने आम्दानीले जात्रा सञ्चालनको खर्च धान्न कठिन भएको अवस्था छ।कार्तिक नाच, नवदुर्गा नाच र पायो जात्रा जस्ता महत्वपूर्ण परम्पराको निरन्तरताको लागि अक्षयकोष राखिदिएको थिए“।तर अक्षयकोषको ब्याजले अहिले ती अमूर्त संस्कृति चल्ने स्थिति देखिएन।त्यसैले अक्षय कोष स्थापना गरेर मात्र पुगेन,त्यसलाई प्रभावकारी र दिगो बनाउने नीति पनि आवश्यक रहेको यस तथ्यले देखाएको छ।जात्रा–पर्वलाई महानगरको वार्षिक बजेटमा मात्र निर्भर गराउने बाहेक अरु कुन उपाय अवम्लबन गर्ने भनेर खोज्नुपर्ने खा“चो छ।
त्यसो भए जात्रा–पर्वलाई दीर्घकालीन रूपमा कसरी जोगाउन सकिन्छ?
जात्रा–पर्वलाई खर्चको विषय मात्र होइन, पर्यटन र स्थानीय आर्थिक विकासको आधारका रूपमा पनि हेर्नुपर्छ।यहा“ आउने पर्यटक, स्थानीय उत्पादन, हस्तकला,सेवासंग जात्रा–पर्वलाई जोड्न सकियो भने समुदायमै आर्थिक गतिविधि बढ्न सक्छ।त्यसका लागि महानगर, गुठी, समुदाय, पर्यटन क्षेत्र र निजी क्षेत्र सबैले मिलेर योजना बनाउनुपर्छ।समुदाय आफैंले सञ्चालन गर्न सक्ने गरी गुठी र आर्थिक स्रोतलाई बलियो बनाउ“दै नया“ पुस्तालाई जोड्नुपर्छ।स्थानीय तहले वातावरण, नीति र स्रोत उपलब्ध गराउने तथा समुदायले परम्परा र सञ्चालनको जिम्मेवारी लिने व्यवस्था बनाउन सके मात्रै अमूर्त संस्कृति दिगो रूपमा जोगाउन सकिन्छ।
महानगरपालिकाले विभिन्न नाच,जात्रा,पर्वका लागि दिएको रकमको पारदर्शिता र अनुगमन कसरी हुन्छ?
महानगरले दिएको रकम कहा“ र कसरी खर्च भयो भन्ने हिसाब किताब हेर्छौैं।सहयोगबाट सञ्चालन हुने कार्यक्रमको खर्च विवरण माग्ने र अनुगमन गर्ने व्यवस्था छ।तर हाम्रो समितिले अन्य स्रोतबाट कति रकम उठायो वा कसले कति सहयोग ग¥यो भन्ने विषय सम्बन्धित गुठी र समितिको आन्तरिक कुरा हो।यद्यपि आर्थिक पारदर्शिता आवश्यक छ।रकम दुरुपयोग वा अनियमितताको जानकारी आएमा सम्बन्धित पक्षसंग बुझेर आवश्यक कदम चाल्छौं।
विभिन्न जात्रामा प्रदर्शन र व्यवस्थापनमा खर्च हुने तर देवगण, कलाकारको पारिश्रमिक र जीविकोपार्जनमा पर्याप्त ध्यान नदिइएको गुनासो छ।यसलाई कसरी हेर्नुहुन्छ?
यो गम्भीर विषय हो।जात्रा र नाचलाई जीवन्त राख्ने कलाकार तथा संस्कृतिसंग जोडिएका व्यक्तिको जीवनयापन सहज हुनुपर्छ। अहिले हाम्रो सहयोग मुख्यतःजात्रा सञ्चालनका सामग्री, बाजागाजा र व्यवस्थापनमा केन्द्रीत छ।देवगण, कलाकारको पारिश्रमिक, सामाजिक सुरक्षा र दीर्घकालीन जीविकोपार्जनलाई पनि संरक्षणकै अभिन्न पक्ष मानेर आगामी दिनमा छुट्टै कार्यक्रम मार्फत सम्बोधन गर्न आवश्यक छ।
महानगरपालिका बजेट विनियोजनमा पहु“चवालाले बढी सुविधा पाउने र छुटेका समुदायले अवसर नपाउने आरोप छ। यसलाई कसरी सम्बोधन गर्नुहुन्छ?
हामीले कसैलाई पहुचका आधारमा प्राथमिकता दिने नीति राखेका छैनौ।सकेसम्म सबै जात्रा, पर्व र समुदायलाई समेट्ने प्रयास गरेका छौं।तर सबैको माग हामीसम्म आइपुग्दैन, कतिपय समुदायले आफ्नै स्रोतबाट कार्यक्रम सञ्चालन गरिरहेका हुन्छन्।त्यसैले छुटेका जात्रा वा समुदायले समयमै प्रस्ताव ल्याउनुपर्छ।हामीले मागमा आधारित बजेटको व्यवस्था गरेका छौं।जसबाट नियमित बजेटमा नसमेटिएका तर आवश्यक देखिएका कार्यक्रमलाई सम्भव भएसम्म सम्बोधन गर्न सकिन्छ।विशेषगरी दलित, पछाडि परेका तथा अवसरबाट वञ्चित समुदायका सांस्कृतिक गतिविधिलाई पनि समान रूपमा समेट्न आवश्यक छ।तर सार्वजनिक बजेट खर्च गर्दा कानुनी र प्रक्रियागत व्यवस्था पूरा गर्नुपर्ने भएकाले प्रस्ताव, आवश्यकता र कार्यक्रमको स्पष्ट विवरण आवश्यक हुन्छ।अब बन्ने कार्यविधि मार्फत सहयोगको आधार र प्राथमिकता अझ स्पष्ट बनाउने हाम्रो प्रयास छ, ताकि बजेट वितरणमा पारदर्शिता र समावेशिता कायम होस् र कुनै समुदाय छुटेको महसुस गर्ने अवस्था नआओस्।
संस्कृति संरक्षणका लागि नीति र कार्यविधि बनाउ“दा सरोकारवालालाई सहभागितालाई ध्यान किन नदिएको होला?
अब अमूर्त संस्कृति संरक्षण सम्बन्धी कार्यविधि बनाउने तयारीमा छौं।यसमा कुन संस्कृति, जात्रा, पर्व, परम्परागत सीप र कलालाई कसरी संरक्षण तथा प्रवद्र्धन गर्ने,सहयोगको आधार के हुने,अभिलेखीकरण, प्रशिक्षण, पुस्तान्तरण र आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने विषय स्पष्ट पारिनेछ।कार्यविधिको मस्यौदा सम्बन्धित गुठी, कलाकार, संस्कृतिविद् र समुदायका प्रतिनिधिसंग छलफल गरेर तयार गर्नेछौं।व्यवहारमा संस्कृति जोगाउ“दै आएका समुदायको अनुभव नीतिमा नसमेटिएसम्म कार्यविधि प्रभावकारी हु“दैन।त्यसैले महानगरले नीति, स्रोत र समन्वयको भूमिका निर्वाह गर्ने तथा समुदायको ज्ञान, सीप र परम्परालाई केन्द्रमा राखेर कार्यविधि बनाउने हाम्रो प्रयास हुनेछ।
अमूर्त संस्कृतिको माध्यमबाट पर्यटन उद्योग प्रवद्र्धन गर्न महानगरपालिकाले के गर्दैछ?
अहिले रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरको मात्र नभई देशकै महत्वपूर्ण सांस्कृतिक सम्पदा हो।रथ निर्माण, पांग्र्रा र बेतको कामलगायत जात्रासंग जोडिएका परम्परागत सीप जोगाउन प्रशिक्षण सञ्चालन गरेका छौं । यस वर्ष १२ वर्षे जात्राको इतिहास, प्रक्रिया र विभिन्न समुदायको भूमिकासहित शुरुदेखि अन्त्यसम्मको विस्तृत अभिलेख तयार गर्दैछौं,ताकि भावी पुस्ताले यसको मौलिकता र महत्व बुझ्न सकून्।जात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कूटनीतिक नियोगका प्रतिनिधि तथा विभिन्न स्थानीय तहका प्रमुखलाई सहभागी गराएर प्रचारप्रसार गरिरहेका छौं।रातो मच्छिन्द्रनाथको जात्रालाई विश्वको अमूर्त सम्पदामा सूचीकृत गराउने पहल अघि बढाएका छौं ।यससंगै योमरीलाई राष्ट्रिय अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गराएका छौं।कात्तिक नाच लगायत अन्य सांस्कृतिक सम्पदालाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउने प्रयास भइरहेको छ।
जात्रा र संस्कृतिलाई पर्यटनसंग जोडेर ललितपुरमा पर्यटकको बसाइ अवधि बढाउने योजना के छ?
ललितपुरमा ऐतिहासिक सम्पदा, जात्रा, पर्व र संस्कृति प्रशस्त छन्।तर धेरै पर्यटक काठमाडौं र भक्तपुरमा बढी समय बिताउ“छन्।ललितपुरमा आउने पर्यटक पनि छोटो समयमै फर्किने गरेका छन्।हाम्रो प्रयास पर्यटकलाई ललितपुरमा कम्तीमा एक,दुई दिन बस्ने वातावरण बनाउनु हो।यहा“का सम्पदा, संस्कृति र जात्राबारे राम्रोसंग बुझ्ने अवसर दिनुपर्छ।त्यसका लागि होमस्टे, होटल र सांस्कृतिक गतिविधिलाई जोड्न आवश्यक छ।हामीले विभिन्न नगरपालिकामा ललितपुरको संस्कृति, सम्पदा र पर्यटनको प्रचारप्रसार गर्ने काम गरिरहेका छौं।पोखरा, विराटनगर र चितवन लगायतका ठाउ“मा प्रचार सामग्री राख्ने तथा सांस्कृतिक पहिचान प्रस्तुत गर्ने योजना अघि बढाइएको छ।पर्यटकलाई ललितपुरमा बस्न आकर्षित गर्न सांस्कृतिक कार्यक्रम, सम्पदा भ्रमण र स्थानीय अनुभवलाई जोड्ने प्रयास गरिरहेका छौं।
परम्परागत उद्योग र सीपको संरक्षणका लागि समितिले के गरिरहेको छ?
ललितपुरमा चा“दीका गहना बनाउने, पित्तलका मूर्ति ढाल्ने, माटाका भा“डा र मूर्ति बनाउने, ढुंगाको मूर्ति बनाउने,काष्ठकला, तामापित्तलको भाडा बनाउने लगायतका पुस्तौंदेखि गर्दैै आएको सीप छन्।बदलिदो परिवेशका कारण नया“ पुस्ताले ती सीप सिक्न छाड्दै गएको अवस्था छ।पहिले हाम्रा पुर्खाले गर्दै आएका काम अहिलेका युवाले नगर्दा कतिपय सीप लोप हुने अवस्थामा पुगेका छन्।केही कामका लागि विदेशबाट कालीगढ ल्याउनुपर्ने अवस्था पनि छ।त्यसैले हामीले चा“दी, पित्तल, माटाका भा“डा र मूर्ति बनाउने लगायतका परम्परागत सीपको प्रशिक्षणमा सहयोग गर्दै आएका छौं।हाम्रो उद्देश्य ती सीप नया“ पुस्तामा हस्तान्तरण गर्नु र स्थानीय उद्योगलाई पुनः सक्रिय बनाउनु हो।
सीप सिकेका व्यक्तिले त्यसलाई व्यवसायका रूपमा अघि बढाउन सकून् भन्ने पनि हाम्रो चाहना हो।प्रशिक्षणले सकारात्मक परिणाम दिएको छ।उदाहरणका लागि, रातो मच्छिन्द्रनाथको रथ निर्माणका लागि आवश्यक पर्ने बेतको काम र पांग्रा बनाउने सीपमा प्रशिक्षण दिएका छौं।त्यसले काम गर्न सक्ने जनशक्ति तयार गर्न सहयोग गरेको छ।त्यसैगरी, गहना बनाउने लगायतका विभिन्न परम्परागत सीप सिकेका व्यक्तिहरूले व्यवसाय सञ्चालन गर्न थालेका छन्।बाजागाजाको क्षेत्रमा पनि प्रशिक्षण लिएका व्यक्तिहरूलाई विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी गराउने योजना बनाएका छौं।यसले उनीहरूको सीप प्रयोग हुने अवसर बढाउनुका साथै केही आयआर्जन गर्न पनि सहयोग पुग्नेछ।सीप सिकाउनु मात्र पर्याप्त हु“दैन।सिकेका व्यक्तिले त्यसलाई व्यवहारमा प्रयोग गर्न र आफ्नो जीविकोपार्जनसंग जोड्न सक्ने वातावरण पनि बनाउनुपर्छ।
संस्कृति संरक्षणमा अहिलेका देखिएका मुख्य चुनौती के–के छन् ?
अहिलेको मुख्य चुनौती आर्थिक स्रोत,जनशक्ति र परम्परागत सीपको निरन्तरता हो।जात्रा–पर्व सञ्चालनका लागि आवश्यक सामग्री, कलाकार, व्यवस्थापन र पूर्वाधारमा पर्याप्त स्रोत छैन।त्यसैले स्थानीय तहले संस्कृति संरक्षणलाई वार्षिक बजेटको सीमित सहयोगमा मात्र नराखी दीर्घकालीन नीति, स्पष्ट कार्यविधि र स्थायी स्रोतको व्यवस्था गर्नुपर्छ।पर्यटन, स्थानीय उत्पादन र निजी क्षेत्रसंगको सहकार्यबाट पनि दिगो स्रोत जुटाउनेतर्फ सोच्नुपर्छ।अर्को चुनौती सरोकारवालाबीच देखिने विश्वासको वातावरणको अभाव र असमझदारी हो।
अन्त्यमा केही भन्न छुटेको छ ?
हामी अहिले चौथो वर्षमा छौं।यो अवधिमा धेरै काम गरेका छौं।तर गर्नुपर्ने काम अझै धेरै छन्।हामीले अहिले सिकेका अनुभव र प्राप्त सुझावका आधारमा आगामी दिनमा कामलाई अझ व्यवस्थित बनाउनुपर्ने देखेका छौं।हाम्रो संस्कृति, सम्पदा र परम्परा नै हाम्रो पहिचान हुन्।ती संरक्षण गर्न सके मात्र हाम्रो मौलिकता जोगिन्छ।
-पहिले जात्रा–पर्व गुठीका जग्गाको आम्दानी र सामुदायिक सहभागिताबाट चल्थे।अहिले गुठीका जग्गा मासि“दा आम्दानी घटेको, खर्च बढेको र सहभागीको संख्या पनि कम हुदै गएको छ।यही कारण विगतमा कतिपय जात्रा बन्द भएको थियो। त्यसैगरी आपसी समन्वयको कमी, जनशक्ति नहु“दा विभिन्न अर्मूत संस्कृतिहरु बन्द हुन पुगेको थियो।
– स्पष्ट मापदण्ड नहु“दा कतिपय अवस्थामा कसलाई कति सहयोग गर्ने भन्नेमा अन्योल हुने गरेको छ।त्यसैले सांस्कृतिक महत्व, आवश्यकता र आर्थिक अवस्थालाई आधार बनाएर सहयोग गर्ने स्पष्ट कार्यविधि बनाउ“दैछौं।
– जात्रा–पर्वलाई खर्चको विषय मात्र होइन, पर्यटन र स्थानीय आर्थिक विकासको आधारका रूपमा पनि हेर्नुपर्छ।यहा“ आउने पर्यटक, स्थानीय उत्पादन, हस्तकला,सेवासंग जात्रा–पर्वलाई जोड्न सकियो भने समुदायमै आर्थिक गतिविधि बढ्न सक्छ।
– हाम्रो प्रयास पर्यटकलाई ललितपुरमा कम्तीमा एक,दुई दिन बस्ने वातावरण बनाउनु हो।यहा“का सम्पदा, संस्कृति र जात्राबारे राम्रोसंग बुझ्ने अवसर दिनुपर्छ।त्यसका लागि होमस्टे, होटल र सांस्कृतिक गतिविधिलाई जोड्न आवश्यक छ।हामीले विभिन्न नगरपालिकामा ललितपुरको संस्कृति, सम्पदा र पर्यटनको प्रचारप्रसार गर्ने काम गरिरहेका छौं।
-पहिले हाम्रा पुर्खाले गर्दै आएका काम अहिलेका युवाले नगर्दा कतिपय सीप लोप हुने अवस्थामा पुगेका छन्।केही कामका लागि विदेशबाट कालीगढ ल्याउनुपर्ने अवस्था पनि छ।त्यसैले हामीले चा“दी, पित्तल, माटाका भा“डा र मूर्ति बनाउने लगायतका परम्परागत सीपको प्रशिक्षणमा सहयोग गर्दै आएका छौं।हाम्रो उद्देश्य ती सीप नया“ पुस्तामा हस्तान्तरण गर्नु र स्थानीय उद्योगलाई पुनः सक्रिय बनाउनु हो।











प्रतिक्रिया