करिब चार दशकभन्दा बढी समयदेखि हस्तकलामा संलग्न कालिगढ तथा हस्तकला व्यवसायी नवीन शाक्य प्रस्तर कलाका कलाकार एवं बजार विस्तार अनुभवी हुनुहुन्छ । नेपाली हस्तकलाको विकासका लागि कच्चा पदार्थमा सहज पहुँच, सीप पुस्तान्तरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार विषयमा केन्द्रित रहेर नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानीको सम्पादित अंशः–
हस्तकलाजन्य सामग्रीको निर्यात बढ्न नसक्नुको मुख्य कारण के हो ?
नेपालको हस्तकला भनेको हाम्रो आफ्नै स्थानीय स्रोत साधन, कच्चा पदार्थ, परम्परागत सीप, प्रविधि र श्रममा आधारित क्षेत्र हो । यसमा हाम्रो ज्ञान र बौद्धिक सम्पत्तिसमेत जोडिएको हुन्छ । त्यसैले हस्तकला अरू उद्योगभन्दा फरक छ । यसमा ठूलो वैदेशिक लगानी आवश्यक पर्दैन, आफ्नै सीप र स्रोतबाट उत्पादन गर्न सकिन्छ । हस्तकला मूलतः निर्यातमुखी क्षेत्र हो । कम लगानीमा उत्पादन गरेर त्यसमा धेरै मूल्य अभिवृद्धि गर्न सकिन्छ । अहिले नेपालबाट वार्षिक करिब २५–२६ अर्ब रुपियाँ बराबरको हस्तकलाजन्य वस्तु निर्यात भइरहेको छ । तर, यो सम्भावनाको तुलनामा निकै कम हो । उचित नीति र सरकारी सहजीकरण भएको खण्डमा निर्यात धेरै गुणा बढाउन सकिन्छ । यसका लागि सबैभन्दा पहिले नीति र कानुनी व्यवस्था सहज बनाउनुपर्छ । हस्तकलामा लाग्ने करमा पनि पुनर्विचार आवश्यक छ । अहिले केही सीमित वस्तुमा कर छुट छ । यो क्षेत्र अझै बलियो नबन्दासम्म करमा थप सहुलियत दिन सकिन्छ कि सकिँदैन भनेर सरकारले सोच्नुपर्छ । हस्तकला व्यवसायीलाई प्रोत्साहन गर्ने स्पष्ट नीति आवश्यक छ ।
हस्तकला क्षेत्रमा अहिले मुख्य समस्या के छ ?
कच्चा पदार्थको समस्या ठूलो छ । नेपालमै पाइने कच्चा पदार्थ प्रयोग गर्न पनि धेरै कानुनी र प्रशासनिक झन्झट छन् । एउटा जिल्लाबाट अर्को जिल्लामा कच्चा पदार्थ लैजान समेत कर, शुल्क र विभिन्न प्रक्रियाको झन्झट हुन्छ । यसले उत्पादन लागत बढाउँछ र व्यवसायीलाई निरुत्साहित गर्छ । उदाहरणका लागि ढुंगालाई लिन सकिन्छ । यहाँबाट केही किलोमिटर बाहिर जाँदा ढुंगाखानी छन् । तर कतिपय वन क्षेत्रमा पर्ने भएकाले हस्तकलाका लागि ढुंगा ल्याउन सहज छैन । वनसम्बन्धी नियमका कारण त्यहाँबाट आवश्यक कच्चा पदार्थ निकाल्न निकै कठिन हुन्छ । अर्कोतर्फ, त्यही ढुंगा गिटी बनाएर बेच्दा केही सय रुपियाँमात्र आउँछ । तर, त्यसैबाट मूर्ति बनाएर बिक्री गर्दा लाखौं रुपियाँ सम्मको मूल्य अभिवृद्धि हुन्छ । त्यसैले कच्चा पदार्थलाई प्रशोधन गरेर उच्च मूल्यको वस्तु बनाउने हस्तकला क्षेत्रलाई राज्यले पनि उद्योगकै रूपमा हेर्नुपर्छ । वन क्षेत्रसँग जोडिएको कच्चा पदार्थको समस्या कसरी समाधान गर्न सकिन्छ ? वन संरक्षण पनि आवश्यक छ, तर संरक्षणको नाममा स्थानीय उद्योग नै चल्न नसक्ने अवस्था बनाउनु हुँदैन । हस्तकलाका लागि आवश्यक कच्चा पदार्थ उपयोग गर्न मिल्ने क्षेत्र पहिचान गरेर निश्चित मापदण्डसहित सहजीकरण गर्न सकिन्छ । सरकारका सम्बन्धित निकायबीच समन्वय गरेर यसको व्यावहारिक समाधान खोज्नुपर्छ । एउटा जिल्लाबाट अर्को जिल्लामा कच्चा पदार्थ लैजाँदा लाग्ने कर, शुल्क र प्रशासनिक प्रक्रिया सहज हुनुपर्छ । कच्चा पदार्थको ओसारपसारमा अनावश्यक झन्झट हटाउने हो भने उत्पादन लागत घट्छ र नेपाली हस्तकलाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छ ।
बजार र अन्तर्राष्ट्रिय मागअनुसार हस्तकलाको उत्पादन बढाउन राज्यले कस्तो सहजीकरण गर्नुपर्छ ?
हाम्रो परम्परागत सीप र प्रविधिलाई आधुनिक डिजाइन र बजारको मागसँग जोड्नुपर्छ । मौलिकता जोगाउँदै समसामयिक उत्पादन गर्न सकिन्छ । उदाहरणका लागि, लोकता पेपर हाम्रो परम्परागत प्रविधिबाट बन्ने मौलिक उत्पादन हो । यस्ता उत्पादनको गुणस्तर, डिजाइन र बजारीकरणमा ध्यान दिन सकियो भने अन्तर्राष्ट्रिय बजारमा अझ राम्रो सम्भावना छ । राज्यले हस्तकलालाई सानो घरेलु व्यवसायका रूपमा मात्र हेर्नु हुँदैन । यो रोजगारी, निर्यात र विदेशी मुद्रा आर्जनसँग जोडिएको महत्वपूर्ण क्षेत्र हो । कच्चा पदार्थ, कर, ओसारपसार, प्रविधि, सीप विकास र बजार प्रवद्र्धनमा सरकारले सहजीकरण गर्ने हो भने हस्तकलाले नेपालको अर्थतन्त्रमा अहिले भन्दा धेरै ठूलो योगदान दिन सक्छ ।
हस्तकलाका लागि आवश्यक कच्चा पदार्थ सहज रूपमा उपलब्ध नहुँदा कस्तो समस्या भइरहेको छ ?
जस्तै, लोकता कागज बनाउन प्रयोग हुने रङ वनमा पाइने रूखका बोक्राबाट बनाइन्छ । तर, त्यही कच्चा पदार्थ वनबाट ल्याउँदा पनि विभिन्न झमेला र शुल्क तिर्नुपर्ने अवस्था छ । खोला, नाला र वनमा पनि हस्तकलामा प्रयोग हुने धेरै कच्चा पदार्थ छन् । कतिपय आफैं उम्रिन्छन्, कतिपय संकलन गरेर प्रयोग गर्न सकिन्छ । तर, वन तथा वातावरणका नियमका कारण ती सामग्री सहज रूपमा निकाल्न पाइँदैन । यस्ता कुरामा सरकारले सहजता गरिदिने हो भने स्थानीय स्रोतको उपयोगसँगै रोजगारी र आम्दानी पनि बढ्छ । ढुंगाको काम गर्नेहरूलाई पनि यस्तै समस्या छ । आवश्यक ढुंगा नै निकाल्न नपाएपछि कलाकारले काम कसरी गर्ने ? यही कारणले परम्परागत सीप भएका धेरै मानिस विस्तारै यो पेशाबाट विस्थापित हुँदै गएका छन् ।
प्रस्तर कला र बजार विस्तारको अवस्था अहिले कस्तो छ ?
प्रस्तर कलाको सम्भावना निकै राम्रो छ । पहिले ढुंगाका मूर्ति प्रायः धार्मिक प्रयोजनका लागि मात्र बनाइन्थे । अहिले आन्तरिक सजावटमा पनि यसको प्रयोग बढेको छ । घरभित्र ढुंगाको धारा, विभिन्न डिजाइन तथा सजावटी सामग्री बनाउन थालिएको छ । विदेशमा पनि यसको बजार छ । स्मारक तथा अन्य संरचनामा समेत ढुंगाको कला प्रयोग हुन थालेको छ । मैले पनि करिब चार दशकअघि नै ढुंगाको कलालाई आन्तरिक सजावटसँग जोडेर काम गर्न थालेको हुँ । अहिले यसको बजार नेपालमै आन्तरिक सजावटका लागि र विदेशमा निर्यातका लागि छ । त्यसैले कच्चा पदार्थ सहज बनाउने र परम्परागत सीपलाई प्रवद्र्धन गर्ने हो भने ढुंगा कलासहित समग्र हस्तकलाको बजार अझ विस्तार गर्न सकिन्छ ।
अहिले हस्तकलाको आन्तरिक र बाह्य बजार अवस्था के छ ?
हस्तकलाको आन्तरिक बजार पनि राम्रो छ।अहिले ठूला होटल, घर तथा अन्य भवन बनाउँदा आन्तरिक सजावटमा ढुंगा, काठ, धातुका मूर्ति, पत्रकला, पौभा चित्रकला लगायत नेपाली हस्तकलाका सामग्री प्रयोग गर्ने चलन बढेको छ । आर्ट बुझ्ने डिजाइनर र आर्किटेक्टहरूले यस्ता सामग्रीलाई आफ्नो डिजाइनमा समेट्न थालेका छन् । यसले हाम्रो आन्तरिक बजार विस्तार हुँदै गएको देखाउँछ ।
बाह्य बजारको कुरा गर्ने हो भने धातुका मूर्ति चीन, भुटानलगायतका देशमा गइरहेका छन् । तर, सम्भावना भएका अरू बजार हामीले अझै खोज्न सकेका छैनौं । भियतनाम, बैंकक, थाइल्यान्ड लगायतका बजारमा नेपाली हस्तकलाको सम्भावना खोज्नुपर्छ । त्यसका लागि विदेशस्थित नेपाली दूतावास र वाणिज्य दूतावासलाई पनि परिचालन गर्नुपर्छ । हस्तकलालाई राष्ट्रिय प्राथमिकताका साथ अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्छ ।
हस्तकलाको पहिचानदेखि ब्रान्डिङ र निर्यातसम्म लैजान अब के गर्नुपर्छ ?
अहिले गर्नुपर्ने काम भनेको देशभरका मौलिक हस्तकलाको पहिचान र अभिलेखीकरण हो । ७७ जिल्लामा कुन ठाउँमा के–कस्ता मौलिक सीप, उत्पादन र कच्चा पदार्थ छन् भन्ने तथ्यांक हामीसँग छैन । स्थानीय, प्रदेश र संघीय सरकारले मिलेर त्यसको अभिलेख तयार गर्नुपर्छ । त्यसपछि त्यस्ता उत्पादनलाई कसरी विकास गर्ने, बजारमा लैजाने र निर्यातयोग्य बनाउने भन्ने योजना बनाउन सकिन्छ।उदाहरणका लागि, बागलुङमा ‘भुटे नलि’ भन्ने एउटा मौलिक उत्पादन रहेछ । यो गजिँगो वा मालिंगो जातको बाँसबाट बनाइने रहेछ।निकै बलियो र सुकाएपछि सिधा हुने भएकाले यसको प्रयोग परम्परागत रूपमा विभिन्न काममा हुँदै आएको छ । अहिले भने यसलाई बनाउने सीमित मानिस मात्र छन् । हामीले पनि समय–समयमा तालिम र सीप हस्तान्तरण गर्ने प्रयास गरेका छौं।तर बनाएको सामग्री कहाँ प्रयोग गर्ने, कसरी बजारमा लैजाने भन्ने योजना पनि चाहिन्छ । यस्ता मौलिक उत्पादनलाई ‘ब्रान्ड’ बनाएर अगाडि बढाउन सकिन्छ । अहिले विदेशबाट आयात हुने सामग्रीको विकल्पका रूपमा यिनै स्थानीय उत्पादनलाई विकास गर्न सकिन्छ । ज्येष्ठ नागरिकले प्रयोग गर्ने छडीदेखि घरायसी तथा सजावटी सामग्रीसम्म यसको बजार बनाउन सकिन्छ । सरकारको नीतिगत पक्षमा पनि धेरै सुधार आवश्यक छ । हस्तकला निर्यात गर्दा सामान पठाउनेदेखि भुक्तानी ल्याउनेसम्म विभिन्न समस्या छन् । कतिपय अवस्थामा ‘हुन्डी’ मार्फत पैसा ल्याउने प्रवृत्ति देखिन्छ । त्यसले विदेशी मुद्रा नेपालमा ल्याउँदैन । त्यसैले बैंकिङ प्रणालीमार्फत सहज रूपमा भुक्तानी ल्याउन सकिने व्यवस्था गर्नुपर्छ ।
हस्तकलालाई राष्ट्रिय उत्पादनका रूपमा सरकारले नै प्रवद्र्धन गर्नुपर्छ।राज्यले आफ्नै उत्पादन प्रयोग नगरी अरूलाई मात्र बेच्न आग्रह गरेर हुँदैन।उदाहरणका लागि, नेपालमा भेडाको ऊन खेर गइरहेको छ । त्यही ऊनबाट राम्रो उत्पादन बनाएर निर्यात गर्न सकिन्छ । सरकारले यस्ता सम्भावनालाई पहिचान गरी उद्यमीलाई सहुलियतपूर्ण ऋण, पूर्वाधार र प्रविधिको सुविधा दिनुपर्छ ।
प्रदेश र स्थानीय तहको भूमिका कस्तो हुनुपर्दछ ?
प्रदेश सरकारको भूमिका पनि महत्वपूर्ण छ । वागमती प्रदेश सरकारले हस्तकला दिवसका रूपमा मंसिर २८ गतेलाई घोषणा गर्नु सकारात्मक सुरुआत हो । त्यस्तै, उद्यमीलाई विद्युत्मा छुट दिने जस्ता कार्यक्रम पनि आएका छन् । तर, समस्या के छ भने यस्ता सुविधा व्यवसायी सम्म प्रभावकारी रूपमा पुग्न सकेका छैनन् । घरघरमा सञ्चालन हुने हस्तकला व्यवसायको तथ्यांक र पहिचान नै नहुँदा धेरैले सुविधा लिन सकिरहेका छैनन् । त्यसैले प्रक्रिया पनि सरल बनाउनुपर्छ । स्थानीय तहको भूमिका त झन् महत्वपूर्ण हुन्छ । हरेक वडा र स्थानीय तहमा कुन मौलिक हस्तकला उत्पादन हुन्छ, कति मानिस त्यसमा आबद्ध छन् र त्यसको सम्भावना के छ भन्ने तथ्यांक स्थानीय सरकारसंग हुनुपर्छ । ललितपुर महानगरपालिका – ६ वडा कार्यालयले हस्तकला व्यवसायीको तथ्यांक संकलन सुरु गरेको कार्य अरुका लागि पनि उदाहरण बन्न सक्दछ । तथ्यांकपछि ती क्षेत्रलाई हस्तकला हबका रूपमा घोषणा गरेर आवश्यक बजेट, प्रविधि र पूर्वाधार दिन सकिन्छ । उदाहरणका लागि, काठमाडौंको छाउनीलाई धातु मूर्तिकलाको हबका रूपमा विकास गर्न सकिन्छ । घोषणामात्र गरेर हुँदैन, त्यहाँको सीपलाई पुस्तान्तरण गर्ने, प्रविधि भित्र्याउने तालिम दिने र बजारसँग जोड्ने कार्यक्रम पनि आवश्यक हुन्छ।स्थानीय तहले मेला–महोत्सव गर्नेमात्र होइन, आफ्ना व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने काम पनि गर्नुपर्छ ।
कलाकार तथा हस्तकर्मीलाई सम्मान दिनुपर्ने कुरा पनि उठ्ने गरेको छ नि ?
हो । हस्तकर्मीले आफ्नो जीवनको दशकौं समय सीप विकासमा लगाएका हुन्छन्।तर समाजमा उनीहरूको योगदान अनुसार सम्मान र पहिचान कम छ । सरकार र स्थानीय तहले अनुभवी कलाकारलाई सम्मान गर्नुपर्छ। उनीहरूलाई ‘गुरु वा मेन्टरको भूमिकामा राखेर नयाँ पुस्तासंग संवाद गराउन सकिन्छ । हामीले यही सोचमा शिल्प संवाद जस्ता कार्यक्रम अघि बढाएका छौं । पाँच, चार वा छ दशकदेखि काम गरिरहेका कलाकारले आफ्नो सीप कसरी सिके, कसरी विकास गरे र कलाको सिर्जना कसरी हुन्छ भन्ने कुरा नयाँ पुस्ताले प्रत्यक्ष सुन्न पाउँदा त्यसको ठूलो महत्व हुन्छ । यसलाई स्थानीय तहले पनि आफ्नै क्षेत्रमा संस्थागत गर्न सक्छ ।
हस्तकला व्यवसायी तथा संस्थाहरूले के सुधार गर्नुपर्छ ?
व्यवसायी संस्थाहरूले सबैभन्दा पहिले देशभरको हस्तकलाको तथ्यांक तयार गर्नुपर्छ। कुन जिल्लामा के उत्पादन हुन्छ, कति कलाकार छन्, कुन समुदाय जोडिएको छ, उत्पादनको क्षमता कति छ र कुन वस्तु निर्यात योग्य छ भन्ने विवरण आवश्यक छ।हस्तकला संस्कृति र पर्यटनसँग पनि जोडिएको छ । त्यसैले पर्यटन व्यवसायी, स्थानीय समुदाय र सरकारसंग समन्वय गर्नुपर्छ । त्यसपछि सम्भावित उत्पादनको अध्ययन गरेर त्यसलाई गुणस्तरीय, प्रतिस्पर्धी र निर्यातयोग्य बनाउनुपर्छ । अन्तर्राष्ट्रिय बजारमा आवश्यक प्रमाणपत्र र गुणस्तरका मापदण्ड के हुन् भन्ने विषयमा पनि व्यवसायीलाई जानकारी दिनुपर्छ ।
हस्तकला विकास बोर्ड वा प्राधिकरण आवश्यकता किन उठाइरहनुभएको छ ?
हस्तकलाका लागि छुट्टै संस्थागत संरचना आवश्यक छ भन्ने हाम्रो धारणा हो । हस्तकला अरू औद्योगिक उत्पादनभन्दा फरक क्षेत्र हो । सिमेन्ट वा मेसिनबाट ठूलो परिमाणमा उत्पादन हुने वस्तु र कलाकारले हातले बनाउने मौलिक उत्पादनलाई एउटै दृष्टिकोणबाट हेर्न मिल्दैन । हस्तकलामा संस्कृति, परम्परा, सीप, श्रम र बौद्धिक सम्पत्ति जोडिएको हुन्छ । त्यसैले यसका लागि छुट्टै विकास नीति आवश्यक छ।अहिले विभिन्न मन्त्रालय र निकायमा विषय छरिएर बसेको छ।यसले निर्णय र कार्यान्वयनमा समस्या ल्याउँछ । हस्तकला विकास बोर्ड वा प्राधिकरण बन्यो भने यस क्षेत्रको नीति, योजना, अनुसन्धान, बजार विकास, सीप हस्तान्तरण र निर्यात प्रवद्र्धनलाई एकीकृत रूपमा अघि बढाउन सकिन्छ । प्रधानमन्त्रीसँग भएको छलफलमा पनि विकास बोर्डको विषय सकारात्मक रूपमा उठेको छ । तर, बोर्ड बनाउने विषय सरकारको नीति, ऐन र कानुनी प्रक्रियाअनुसार अघि बढ्नुपर्छ ।
-नेपालको हस्तकला भनेको हाम्रो आफ्नै स्थानीय स्रोत साधन, कच्चा पदार्थ, परम्परागत सीप, प्रविधि र श्रममा आधारित क्षेत्र हो । यसमा हाम्रो ज्ञान र बौद्धिक सम्पत्तिसमेत जोडिएको हुन्छ । त्यसैले हस्तकला अरू उद्योगभन्दा फरक छ ।
-उचित नीति र सरकारी सहजीकरण भएको खण्डमा निर्यात धेरै गुणा बढाउन सकिन्छ । यसका लागि सबैभन्दा पहिले नीति र कानुनी व्यवस्था सहज बनाउनुपर्छ । हस्तकलामा लाग्ने करमा पनि पुनर्विचार आवश्यक छ ।
-कच्चा पदार्थको समस्या ठूलो छ । नेपालमै पाइने कच्चा पदार्थ प्रयोग गर्न पनि धेरै कानुनी र प्रशासनिक झन्झट छन् । एउटा जिल्लाबाट अर्को जिल्लामा कच्चा पदार्थ लैजान समेत कर, शुल्क र विभिन्न प्रक्रियाको झन्झट हुन्छ । यसले उत्पादन लागत बढाउँछ र व्यवसायीलाई निरुत्साहित गर्छ ।
-उत्पादनको गुणस्तर, डिजाइन र बजारीकरणमा ध्यान दिन सकियो भने अन्तर्राष्ट्रिय बजारमा अझ राम्रो सम्भावना छ।राज्यले हस्तकलालाई सानो घरेलु व्यवसायका रूपमा मात्र हेर्नु हुँदैन । यो रोजगारी, निर्यात र विदेशी मुद्रा आर्जनसँग जोडिएको महत्वपूर्ण क्षेत्र हो ।
-लोकता कागज बनाउन प्रयोग हुने रङ वनमा पाइने रूखका बोक्राबाट बनाइन्छ । तर, त्यही कच्चा पदार्थ वनबाट ल्याउँदा पनि विभिन्न झमेला र शुल्क तिर्नुपर्ने अवस्था छ ।
-ढुंगाको काम गर्नेहरूलाई पनि यस्तै समस्या छ । आवश्यक ढुंगा नै निकाल्न नपाएपछि कलाकारले काम कसरी गर्ने ? यही कारणले परम्परागत सीप भएका धेरै मानिस विस्तारै यो पेशाबाट विस्थापित हुँदै गएका छन् ।
-अहिले गर्नुपर्ने काम भनेको देशभरका मौलिक हस्तकलाको पहिचान र अभिलेखीकरण हो । ७७ जिल्लामा कुन ठाउँमा के–कस्ता मौलिक सीप, उत्पादन र कच्चा पदार्थ छन् भन्ने तथ्यांक हामीसँग छैन।स्थानीय, प्रदेश र संघीय सरकारले मिलेर त्यसको अभिलेख तयार गर्नुपर्छ । त्यसपछि त्यस्ता उत्पादनलाई कसरी विकास गर्ने, बजारमा लैजाने र निर्यातयोग्य बनाउने भन्ने योजना बनाउन सकिन्छ ।
-हस्तकलालाई राष्ट्रिय उत्पादनका रूपमा सरकारले नै प्रवद्र्धन गर्नुपर्छ । राज्यले आफ्नै उत्पादन प्रयोग नगरी अरूलाई मात्र बेच्न आग्रह गरेर हुँदैन ।
-हस्तकलाका ला गि छुट्टै संस्थागत संरचना आवश्यक छ भन्ने हाम्रो धारणा हो । हस्तकला अरू औद्योगिक उत्पादनभन्दा फरक क्षेत्र हो ।
-सिमेन्ट वा मेसिनबाट ठूलो परिमाणमा उत्पादन हुने वस्तु र कलाकारले हातले बनाउने मौलिक उत्पादनलाई एउटै दृष्टिकोणबाट हेर्न मिल्दैन । हस्तकलामा संस्कृति, परम्परा, सीप, श्रम र बौद्धिक सम्पत्ति जोडिएको हुन्छ । त्यसैले यसका लागि छुट्टै विकास नीति आवश्यक छ ।












प्रतिक्रिया