भोटेकोशी क्षेत्रको विनाशकारी बाढी आउँदै गरेको लगातार सूचना पाएपछि त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले केही मिनेटभित्रै विद्यालय खाली गर्ने निर्णय गर्नुभयो । त्यसबेला विद्यालयमा करिब नौ सय विद्यार्थी थिए । शिक्षक, कर्मचारी, सुरक्षाकर्मी र विद्यार्थीको सामूहिक प्रयासमा अधिकांशलाई सुरक्षित स्थानतर्फ पठाउन सफल हुनुभयो । विद्यालय खाली गराएर उहाँ अन्तिमतिर बाहिरिनुभयो । विद्यालयको भवनमात्र होइन, जमिनसमेत बगाएपछि पुनर्निर्माणको चुनौती झनै जटिल बनेको छ । तर, प्रधानाध्यापक दवाडीले हार मान्नुभएको छैन । उहाँ त्रिशूली माध्यमिक विद्यालयलाई फेरि उठाउने, विद्यार्थीलाई पढाइमा फर्काउनुका साथै बाढीको त्रासबाट बाहिर ल्याउन मनोसामाजिक परामर्श पनि आवश्यक भएको ठान्नुहुन्छ । प्रस्तुत छ, नेपाल समाचारपत्रका यदुप्रसाद भट्टले प्रधानाध्यापक राजेन्द्र दवाडीसँग गर्नुभएको कुराकानीको सम्पादित अंश ः
बाढी आउँदै छ भन्ने सूचना तपाईंले पहिलोपटक कसरी पाउनुभयो ?
त्यतिबेला म कक्षाकोठामै थिएँ । बिहान करिब ९ बजेर १० मिनेट गएको थियो । हाम्रो एकजना लेखापाल साथी निकै हत्तारिँदै विद्यालयभित्र आउनुभयो । उहाँ आत्तिनुभएको थियो । चिच्याउँदै भन्नुभयो, ‘बाढी आइरहेको छ रे, माथिबाट सबै बगायो रे ।’ म तुरुन्तै कक्षाकोठाबाट तल बेसमेन्टतिर झरेँ । बाहिर के भइरहेको छ भन्ने बुझ्नुपर्ने थियो । त्यहाँ पुग्दा हाम्रा सामाजिक विषयका एकजना शिक्षक पनि बाहिरबाट आउनुभएको थियो । उहाँले माथिल्लो क्षेत्रबाट ठूलो बाढी आएको र त्रिशूली क्षेत्र जोखिममा रहेको जानकारी दिनुभयो ।
त्यसपछि एकपछि अर्को सूचना आउन थाल्यो । कसैले फोनबाट खबर दिएका थिए । केही साथीहरूले पनि बाढीको चर्चा गर्न थाले । त्यसैबीच एकजना अभिभावक स्कुटरमा विद्यालयभित्र आउनुभयो । उहाँ आफ्नो बच्चा लिन आउनुभएको रहेछ । उहाँले माथिल्लो क्षेत्रमा ठूलो बाढी आएको र धेरै ठाउँ बगाउँदै तलतिर आइरहेको बताउनुभयो । त्यसपछि फेरि हाम्रो एकजना स्टाफ साथीको फोन आयो । उहाँले पनि अवस्था सामान्य नभएको र बाढी नजिक आइपुग्न सक्ने जानकारी दिनुभयो । त्यतिबेला एउटै कुरा विभिन्न मानिसबाट लगातार सुनिन थालेपछि मैले यसलाई गम्भीर रूपमा लिनुपर्छ भन्ने महसुस गरेँ ।
सूचना सुनेपछि तुरुन्तै विद्यालय खाली गर्ने निर्णय गर्नुभयो ?
सुरुमा केही क्षण सोच्नुपर्ने अवस्था थियो । किनभने यस्तो अवस्थामा गलत सूचना पनि आउन सक्छ । यदि सामान्य हल्लामात्र रहेछ भने एक दिनको पढाइ प्रभावित हुन्थ्यो । यति धेरै विद्यार्थीलाई एकैपटक घर पठाउनु सामान्य कुरा थिएन । तर अर्को पक्ष झनै गम्भीर थियो । यदि, बाढी साँच्चै आएको हो र हामीले त्यसलाई बेवास्ता ग¥यौं भने परिणाम अत्यन्तै भयावह हुन सक्थ्यो । विद्यालयमा सयौं विद्यार्थी थिए । उनीहरूको सुरक्षा हाम्रो पहिलो जिम्मेवारी थियो । एउटै विषयमा लगातार तीन–चारजनाबाट सूचना आएपछि ‘यो सामान्य कुरा होइन’ भन्ने निष्कर्षमा पुगेँ । त्यसपछि मैले धेरै सोचेर समय खर्च गर्नुभन्दा तत्काल सुरक्षा उपाय अपनाउनु उपयुक्त ठानेँ । अन्ततः विद्यालय खाली गर्ने निर्णय भयो ।
त्यतिबेला विद्यालयमा कति विद्यार्थी थिए ?
बिहानको समयमा करिब आठदेखि नौ सय विद्यार्थी थिए । हाम्रो विद्यालयमा कक्षा ११ र १२ बिहानको सिफ्टमा सञ्चालन हुन्छ । कक्षा १ देखि १० सम्मको नियमित पठनपाठन दिउँसोको सिफ्टमा हुन्छ । तर, कक्षा ८, ९ र १० का विद्यार्थीलाई अतिरिक्त कक्षाका लागि बिहानै बोलाउने व्यवस्था पनि थियो । त्यसैले बिहान विद्यालयमा विभिन्न तहका विद्यार्थी उपस्थित थिए । त्यो दिन केही विद्यार्थी अनुपस्थित पनि थिए । तर घटनाका बेला विद्यालयमा आठ–नौ सयको हाराहारीमा विद्यार्थी थिए भन्ने हाम्रो अनुमान छ ।
विद्यालय खाली गराउने प्रक्रिया कसरी सुरु गर्नुभयो ? केही बताइदिनुहोस् न ।
हामीले ढिलाइ नगरी सुरक्षाकर्मीलाई सिटी बजाउन भनियो । घण्टी बजाइयो । शिक्षकहरूलाई विद्यार्थीलाई तत्काल कक्षाकोठाबाट बाहिर निकाल्न भनियो । अचानक विद्यालय खाली गराउन थालेपछि स्वाभाविक रूपमा भागदौड भयो । विद्यार्थीहरू आत्तिए । केही दौडिरहेका थिए, केही शिक्षकसँग के भइरहेको छ भनेर सोधिरहेका थिए । भागदौडका क्रममा केही विद्यार्थी ढले पनि । एउटा विद्यार्थी बेहोस भएपछि साथीहरूले उनलाई बोकेर माथि लगेर उपचार भइरहेको थियो । मैले उहाँहरूलाई पनि सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिएँ । त्यतिबेला कसैलाई पनि विद्यालयभित्र वा जोखिमपूर्ण स्थानमा छोड्न मिल्दैनथ्यो । शिक्षक र कर्मचारी साथीहरूले आ–आफ्नो जिम्मेवारी सम्हाल्नुभयो । विद्यार्थीलाई कुन दिशातर्फ जाने भनेर बाटो देखाइरहनुभएको थियो । कोही साना वा डराएका विद्यार्थीलाई सम्हालिरहनुभएको थियो । त्यो एउटा व्यक्तिको काम थिएन । सबैले आफ्नो ठाउँबाट काम गरिरहेका थिए ।
विद्यालयका बसहरूको अवस्था कस्तो थियो ?
त्यस बेला विद्यालयका दुईवटा बस बाहिर विद्यार्थी लिन गएका थिए । एउटा बसलाई सुरक्षित स्थानमा रोक्न लगाइयो । अर्को बस विद्यालयतर्फ फर्किरहेको थियो । विद्यालयतर्फ आइरहेको बसमा विद्यार्थी पनि थिए । हामीले चालकलाई विद्यालयको अवस्था र बाढीको जोखिमबारे जानकारी दियौं । त्यसपछि बसलाई सुरक्षित दिशातर्फ फर्कन भनियो । चालक अनुभवी हुनुहुन्थ्यो । उहाँले पनि अवस्था बुझ्नुभयो । संयोगले उहाँ नयाँ पुलबाट जानुभएको रहेछ । नयाँ पुल पार गरेलगत्तै पुरानो पुल ध्वस्त भयो । त्यो घटनालाई सम्झँदा अहिले पनि डर लाग्छ ।
करिब नौ सय विद्यार्थीलाई कसरी सुरक्षित स्थानतर्फ पठाउनुभयो ?
हामीसँग भएका सीमित बसबाट एकैचोटि धेरै विद्यार्थीको उद्धार सम्भव थिएन त्यसैले उपलब्ध सबै सम्भावित माध्यमको प्रयोग गर्नुप¥यो । केही विद्यार्थी बसमा गए । विद्यालय परिसरमा रहेका मोटरसाइकल पनि प्रयोग भए । धेरै विद्यार्थी मोटरसाइकलमा विद्यालय आउने हुँदा कतिपय मोटरसाइकलमा दुई–तीनजना विद्यार्थी चढेर सुरक्षित स्थानतर्फ गए । धेरै विद्यार्थी आफ्नै घरतर्फ जान सके । त्यतिबेला सबैलाई सकेसम्म जोखिमबाट टाढा र सुरक्षित स्थानमा पुग्न भनिएको थियो । तर, सबै विद्यार्थीको अवस्था एउटै थिएन । टाढा घर भएका विद्यालयसँग सम्बन्धित छात्रावासमा बस्ने करिब ३० जना विद्यार्थी थिए । अरू विद्यार्थीलाई जस्तै ‘घर जाऊ’ भनेर मात्र समस्या समाधान हुँदैनथ्यो । त्यसैले उनीहरूको जिम्मा शिक्षक र होस्टेलसँग सम्बन्धित जिम्मेवार व्यक्तिहरूलाई दिइयो ।
तपाईं विद्यालयबाट अन्तिमतिर निस्किनुभएको थियो ?
हो । विद्यालय लगभग खाली भएपछि म पनि अन्तिमतिर निस्किएको हुँ । मसँग प्रदीप पण्डित, दिलीप खतिवडा, राजकुमार तिमल्सिनालगायत साथीहरू हुनुहुन्थ्यो । हामी बाहिरिँदै गर्दा विद्यालयका पाले कार्यालय सहयोगी छुल्ठिम लामा दाइलाई पछि देख्न छाड्यौं । उहाँ विद्यालय परिसरमै आवासीय रूपमा बस्नुहुन्थ्यो । उहाँकी श्रीमती र छोरी भने पहिले नै बाहिर निस्कनुभएको थियो । तर, लामा दाइ भने पछि सम्पर्कविहीन हुनुभयो । उहाँलाई सम्झँदा अहिले पनि अत्यन्तै पीडा हुन्छ ।
विद्यालयबाट बाहिरिँदा बाढी कति नजिक आइपुगेको थियो ?
म गेटमा आइपुग्दा पानी विद्यालय परिसरको पछिल्लो भागसम्म आइपुगिसकेको थियो । सुरुमा पानीको बहाव केही कमजस्तो देखिए पनि अवस्था तीव्र गतिमा भयावह हुँदै थियो । मैले आफ्नो मोटरसाइकल निकाल्न जाने विचार पनि गरेको थिएँ । तर, साथीहरूले नजान भन्नुभयो । त्यतातिर हेर्दा पानीको ठूलो लहर विद्यालयतर्फ आइरहेको थियो । मैले यस्तो दृश्य पहिले हलिउडका फिल्ममा मात्र देखेको जस्तो लाग्थ्यो । अब त्यहाँ उभिएर केही सोच्ने समय थिएन । साथीहरूले लगातार ‘छिटो, छिटो’ भनिरहेका थिए । त्यसपछि हामी गेटबाट माथि जाने बाटोतर्फ दौडियौं । ज्यान जोगाउनु र विद्यार्थीलाई सुरक्षित स्थानमा पु¥याउनु तत्कालको पहिलो काम थियो । त्यो बेला मानिसको मनमा कति कुरा आउँछन् भन्ने वर्णन गर्न कठिन छ । पछाडि विद्यालय थियो । त्यहाँ केही छुट्यो कि भन्ने चिन्ता थियो । अगाडि विद्यार्थी थिए । उनीहरू सुरक्षित पुग्छन् कि पुग्दैनन् भन्ने चिन्ता थियो । तर त्यतिबेला अगाडि बढ्नुको विकल्प थिएन ।
डाँडामा पुगेर पछाडि फर्किंदा के देख्नुभयो ?
माथि नपुग्दासम्म पछाडि फर्केर हेर्ने अवस्था नै थिएन । म लगातार विद्यार्थी अगाडि बढिरहेका छन् कि छैनन् भनेर हेरिरहेको थिएँ । कोही साथी पछाडि छुट्यो कि भनेर दायाँ–बायाँ हेर्थें । विद्यार्थीलाई ‘अगाडि हिँड, अगाडि हिँड’ भन्दै थिएँ । साथीहरूले पनि मलाई पछाडि नहेर्न र माथितिर जान भनिरहेका थिए । माथि डाँडामा पुगेपछि जब पछाडि फर्किएँ, विद्यालय बगिसकेको थियो । त्यो दृश्य देखेपछि म थचक्क बसेँ । म केही समय बोल्न सकिनँ । म भक्कानिएको थिएँ । साथीहरूले ‘हेडसर, यहाँ नबसौं, अझ माथि जानुपर्छ’ भन्दै मलाई उठाउनुभयो । त्यतिबेला पनि हामी पूर्ण रूपमा सुरक्षित भइसकेका थिएनौं । पानीको बहाव र अन्य जोखिमको डर थियो । त्यसैले केही समयपछि हामी थप सुरक्षित स्थानतर्फ गयौं । बगिरहेको विद्यालयको त्यो दृश्य मेरो जीवनको सबैभन्दा पीडादायक दृश्यमध्ये एक हो ।
विद्यालयसँग तपाईंको भावनात्मक सम्बन्ध कस्तो छ ?
यो विद्यालय मेरा लागि केवल काम गर्ने ठाउँ होइन । मैले यही विद्यालयमा पढेँ । कक्षा ७ देखि यहीँ पढेको हुँ । २०५४ सालमा यहीँबाट कक्षा १२ पूरा गरेँ । पछि म यही विद्यालयमा शिक्षक भएर फर्किएँ । २०६२ सालदेखि शिक्षकका रूपमा काम गर्न थालेँ । त्यसपछि सहायक प्रधानाध्यापकको जिम्मेवारी सम्हालेँ र अहिले प्रधानाध्यापकको जिम्मेवारीमा छु । मेरो बाल्यकाल, मेरो युवावस्था र जीवनको ठूलो समय यही विद्यालयसँग जोडिएको छ । त्यसैले मैले डाँडाबाट फर्केर विद्यालय बगिसकेको देख्दा एउटा भवनमात्र हराएको महसुस भएको थिएन । मेरो जीवनको एउटा ठूलो अंश आँखाअगाडि हराएको जस्तो लागेको थियो । यसपटक भवनमात्र बगेको छैन, विद्यालय रहेको जमिनसमेत बगेको छ । त्यसैले पुनर्निर्माणको चुनौती झनै ठूलो बनेको छ । त्यो बेला मलाई ‘अब मसँग केही पनि रहेन’ भन्ने अनुभूति भएको थियो ।
त्रिशूली माध्यमिक विद्यालयको इतिहास कस्तो छ ?
यो करिब ७६ वर्ष पुरानो ऐतिहासिक विद्यालय हो । २००७ सालमा स्थापना भएको विद्यालयले यस क्षेत्रको शिक्षामा महत्वपूर्ण भूमिका खेलेको छ । नुवाकोट, रसुवा, धादिङलगायत विभिन्न क्षेत्रका धेरै विद्यार्थीले यस विद्यालयमा अध्ययन गरेका छन् । विभिन्न पुस्ताको यस संस्थासँग सम्बन्ध छ । यो विद्यालय स्थानीय समुदायका लागि मात्र होइन, व्यापक क्षेत्रको शैक्षिक केन्द्रका रूपमा स्थापित हुँदै आएको थियो । विद्यालयमा विभिन्न तहको पठनपाठन सञ्चालन हुँदै आएको थियो । विज्ञान विषयको अध्ययन–अध्यापनका साथै प्राविधिक शिक्षातर्फका कार्यक्रम पनि सञ्चालन हुँदै आएका थिए । नुवाकोट जिल्लामा विज्ञान विषयको अध्ययनका लागि पनि यस विद्यालयको विशेष महत्व रहेको थियो । डिप्लोमा इन सिभिल इन्जिनियरिङको पठनपाठनसमेत सञ्चालन भइरहेको थियो । त्यसैले विद्यालयको भौतिक संरचना नष्ट हुनु भनेको एउटा भवन हराउनुमात्र होइन, लामो समयदेखि स्थापित शैक्षिक संरचनामा ठूलो धक्का पुग्नु हो ।
तपाईंलाई अहिले ‘रियल हिरो’ भनिन्छ । आफूलाई त्यसरी लिनुहुन्छ ?
मलाई मात्र ‘रियल हिरो’ भन्नु उचित हुँदैन । हो, विद्यालयको नेतृत्वकर्ता म थिएँ । तत्काल निर्णय गर्ने जिम्मेवारी मेरो थियो । मैले विद्यालय खाली गर्ने निर्णय गरेँ । तर, यति धेरै विद्यार्थीलाई सुरक्षित स्थानमा पु¥याउने काम मेरो एक्लो प्रयासले सम्भव थिएन । यो सम्पूर्ण ‘टिम त्रिशूली’को सामूहिक प्रयास हो । हाम्रा सुरक्षाकर्मी तुलबहादुर तामाङले लगातार सिटी बजाएर सबैलाई सचेत गराउनुभयो । अर्का सुरक्षाकर्मी ठाकुर तामाङले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुभयो । प्रदीप पण्डित, दिलीप खतिवडा, राजकुमार तिमल्सिनालगायत शिक्षक साथीहरू सक्रिय हुनुहुन्थ्यो । सन्तोषी परियार, नवीना आचार्यलगायत अन्य शिक्षक–कर्मचारीको भूमिका पनि महत्वपूर्ण थियो । होस्टेलका करिब ३० जना विद्यार्थीको जिम्मेवारी लिनुभएकी सन्तोषी परियारको भूमिकालाई विशेष रूपमा सम्झनुपर्छ । उहाँले आफ्नै परिवारको चिन्ताभन्दा पहिले विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिनुभयो । ती विद्यार्थीलाई सुरक्षित राख्ने जिम्मेवारी सामान्य थिएन । उनीहरू घर जान सक्ने अवस्थामा थिएनन् । त्यसैले उनीहरूसँगै रहने, सम्हाल्ने र सुरक्षित स्थानमा पु¥याउने काममा उहाँलगायत साथीहरूको भूमिका महत्वपूर्ण रह्यो । त्यसैले म बारम्बार भन्छु— मैले निर्णय गरेको हुँला, तर उद्धार मेरो एक्लो काम थिएन । यो सामूहिक प्रयास थियो ।
शिक्षक पनि सम्पर्कविहीन हुनुहुन्छ कि ?
हो । हाम्रा सहकर्मी शिक्षक सन्तोष परियार पनि सम्पर्कविहीन हुनुहुन्छ । उहाँ त्यसबेला विद्यालय परिसरमा पुग्नुभएको थिएन । बिहान उहाँ आफ्नो जिम्मेवारीअनुसार काममा हुनुहुन्थ्यो । त्यसपछि उहाँसँग सम्पर्क हुन सकेन । उहाँ हाम्रो विद्यालय परिवारको सदस्य हुनुहुन्थ्यो । लामा दाइ र सन्तोष परियार सर दुवैको खोजी र सम्झना हाम्रो मनमा छ ।
डाँडामा पुगेपछि तपाईंहरू कति दिन त्यहीँ बस्नुभयो ?
हामी करिब सयजना विद्यार्थी र १७–१८ जना स्टाफसहित माथिको सुरक्षित स्थानमा पुगेका थियौं । त्यो स्थान अहिले हामीले ‘इन्टेक’ भन्ने क्षेत्रतर्फ पर्छ । त्रिशूली जलविद्युत् आयोजनाको नहर र सुरुङसँग सम्बन्धित क्षेत्रको डाँडातिर हामी पुगेका थियौं । हामी त्यहाँ तीन दिन बस्यौं । डाँडामा पुगेपछि तत्कालको बाढीबाट केही सुरक्षित भयौं । विद्यार्थीहरू आफ्ना घरपरिवार सम्झेर रोइरहेका थिए । शिक्षक र कर्मचारी पनि आफ्नै परिवारप्रति चिन्तित थिए । कसैका घरमा बालबालिका थिए । कसैका वृद्ध आमाबुबा थिए । तर सबैसँग तत्काल सम्पर्क गर्न सक्ने अवस्था थिएन । मोबाइल सम्पर्कमा समस्या थियो । सूचना पाउन कठिन थियो । सुरक्षित स्थानमा पुगेपछि पनि मानिसको मन भने तल आफ्ना परिवार र घरतिरै थियो । तीन दिनको त्यो अनुभव जीवनभर बिर्सन सकिने छैन ।
त्यसबेला विद्यार्थीहरूको मानसिक अवस्था कस्तो थियो ?
विद्यार्थीहरू अत्यन्तै त्रसित थिए । आफ्नै आँखाअगाडि ठूलो बाढी देख्नु, विद्यालय छोडेर भाग्नुपर्ने अवस्था आउनु र आफ्ना घरपरिवारसँग सम्पर्क हुन नसक्नु उनीहरूका लागि ठूलो मानसिक आघात थियो । कतिपय विद्यार्थी अहिले पनि पानीको ठूलो बहाव र खोलाको दृश्य सम्झँदा डराउँछन् । सामान्य अवस्थामा फर्कन समय लाग्छ । त्यसैले अब विद्यालय सञ्चालन गर्ने कुरा केवल कक्षाकोठा खोज्ने र पढाइ सुरु गर्ने विषयमात्र होइन । विद्यार्थीको मनोवैज्ञानिक अवस्था पनि बुझ्नुपर्छ । मलाई लाग्छ, विद्यालय पुनः सञ्चालन भएपछि सुरुका दिनमा मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्छ । विद्यार्थीले आफ्नो अनुभव व्यक्त गर्न पाउनुपर्छ । उनीहरूलाई सुन्नुपर्छ । पहिले उनीहरू सुरक्षित छन् भन्ने अनुभूति दिलाउनुपर्छ । किताबको पढाइ सुरु गर्नुअघि विद्यार्थीको मनभित्र बसेको त्रास कम गर्नुपर्छ । शिक्षकले पनि उनीहरूको भावनात्मक अवस्था बुझ्नुपर्छ । शिक्षा भनेको पाठ्यपुस्तक पढाउनु मात्र होइन । यस्तो विपत्तिपछि विद्यार्थीको आत्मविश्वास पुनःनिर्माण गर्नु पनि शिक्षा प्रणालीको जिम्मेवारी हो ।
अभिभावकले फेरि विद्यार्थीलाई विद्यालय पठाउन कत्तिको विश्वास देखाएका छन् ?
अभिभावकको विश्वास नै अहिले हाम्रो सबैभन्दा ठूलो शक्ति हो । धेरै अभिभावकले फोन गरेर विद्यालयबारे सोधिरहनुभएको छ । ‘विद्यालय कहिले खुल्छ ? कहाँ खुल्छ ?’ भनेर चासो देखाउनुहुन्छ । कतिपय अभिभावकले हामीलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तर, चुनौती पनि छन् । सबै अभिभावकलाई तुरुन्तै ढुक्क पार्न सकिन्छ भन्ने छैन । उनीहरूको चिन्ता स्वाभाविक छ । आफ्ना छोराछोरीले यति ठूलो विपत्ति भोगेका छन् । विद्यार्थीहरू पनि त्रसित छन् । त्यसैले नयाँ ठाउँमा विद्यालय सञ्चालन गर्दा त्यो स्थान सुरक्षित छ भन्ने विश्वास दिलाउनुपर्छ । अभिभावक र विद्यार्थी दुवैलाई सुरक्षित शैक्षिक वातावरणको अनुभूति हुनुपर्छ । हामीले केवल ‘विद्यालय खुल्यो’ भनेर मात्र हुँदैन ।
विद्यालय बनाउने तथा खोल्ने सोच राख्नुभएको छ त ?
अब सुरक्षित ठाउँ चाहिँ नेपाल सरकारलाई भन्नु पर्ला । मलाई माननीय गृहमन्त्री सुधन गुरुङज्यूले पनि स्कुल बनाउनुपर्छ, तपाईं स्कुल बनाउन लाग्नुस्, सरकारले सहयोग गर्छ भनेर भेटेरै भन्नुभएको छ । उहाँ देश बनाउने भनेर लाग्नुभाको छ । म एउटा स्कुल बनाउँछु भनेर लागेको छु । गृहमन्त्रीले अबको पन्ध्र दिनपछि फेरि पनि म स्कुल खोल्छु भन्नुभएको छ । यसले गर्दा ममा आशा जागेको छ । चौधरी ग्रुप तथा भारतीय राजदूतावासले पनि सहयोग गर्छु भनेका छन् । ऊर्जामन्त्रीले पनि विद्यालय सञ्चालनमा सहयोग गर्ने वचन दिनुभएको छ । यसले गर्दा ममा आशा र विश्वास पलाएको छ । यो पहिलाको अवस्थाको स्कुल नखुल्न सक्छ । तर, खुला आकाशमा भए पनि स्कुल खुल्छ ।
विपद्को त्यो घटनाले तपाईंलाई सबैभन्दा ठूलो पाठ के सिकायो ?
समयमा आएको चेतावनीलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन । हामीले पहिले पनि बाढी देखेका थियौं । त्यसैले कतिपय मानिसलाई यसपटक पनि सामान्य बाढी होला भन्ने लागेको हुन सक्छ । कतिपय मानिस बाढी हेर्न खोलातिर गए । कतिपयले पहिले घरका सामान जोगाउने प्रयास गरे । तर, यस्तो विपत्तिमा सबैभन्दा पहिले ज्यान जोगाउनु महत्वपूर्ण हुन्छ । सम्पत्ति फेरि जोड्न सकिन्छ । घर फेरि बनाउन सकिन्छ । तर, मानिसको जीवन फर्काएर ल्याउन सकिँदैन । विपद्को चेतावनीलाई सामान्य रूपमा लिनु हुँदैन । जोखिमको सम्भावना छ भने पहिले सुरक्षित स्थानमा जानुपर्छ । बाँकी कुरा पछि गर्न सकिन्छ ।
अब विद्यालय पुनः सञ्चालनको सबैभन्दा ठूलो चुनौती के हो ?
सबैभन्दा ठूलो चुनौती सुरक्षित स्थान र जग्गाको व्यवस्थापन हो । पहिले विद्यालयसँग ठूलो क्षेत्रफलमा जमिन थियो । भवन थिए । कक्षाकोठा थिए । विभिन्न शैक्षिक संरचना थिए । खेल्ने ठाउँ थियो । अहिले धेरै कुरा बाढीले बगाएको छ । विद्यालय सञ्चालन गर्न पहिले उपयुक्त र सुरक्षित जमिनको व्यवस्था गर्नुपर्ने अवस्था छ । त्यसपछि अस्थायी संरचना र पठनपाठनको व्यवस्थापन गर्नुपर्छ । हामीसँग अनुभवी शिक्षक छन् । विद्यार्थी छन् । अभिभावकको विश्वास छ । समुदायको साथ छ । त्यसैले चुनौती ठूलो भए पनि विद्यालय पुनः सञ्चालन असम्भव छैन । हामीले पहिले पनि कठिनाइ पार गरेका छौं । यसपटक पनि सामूहिक प्रयासबाट अगाडि बढ्नेछौं ।
राहत, उद्धार र पुनर्निर्माणबारे तपाईंको सुझाव के छ ?
पहिलो प्राथमिकता उद्धार हुनुपर्छ । जो मानिस अझै जोखिममा छन्, उनीहरूलाई पहिले सुरक्षित स्थानमा पु¥याउनुपर्छ । सुरक्षित मानिसले केही समय कठिनाइ सहन सक्छ । तर तत्काल जोखिममा रहेको मानिसलाई पहिले बचाउनुपर्छ । त्यसपछि राहतको काम आउँछ । खाना, बसोबास, स्वास्थ्य सेवा र आवश्यक सामग्रीको व्यवस्था गर्नुपर्छ । तर उद्धार र ज्यानको सुरक्षा सधैं पहिलो प्राथमिकता हुनुपर्छ । पुनर्निर्माण र पुनःस्थापनाको चुनौती अझ ठूलो छ । यो विपत्ति भूकम्पभन्दा केही हिसाबले फरक छ । भूकम्पमा घर भत्किए पनि धेरै मानिसको जग्गा बाँकी रहन्थ्यो । त्यसैले त्यही ठाउँमा पुनर्निर्माण गर्न सकिन्थ्यो । तर बाढीले कतिपय ठाउँमा जमिन नै बगाएको छ । त्यसैले पुनःस्थापनाको योजना बनाउँदा पहिले जस्तै ठाउँमा संरचना बनाउने कुरामात्र पर्याप्त हुँदैन । सुरक्षित भूगोल, जोखिमको अध्ययन र दीर्घकालीन योजना आवश्यक छ । सरकार, स्थानीय तह, समुदाय र विभिन्न निकायबीच समन्वय हुनुपर्छ ।
अन्त्यमा, विद्यार्थी र अभिभावकलाई के भन्न चाहनुहुन्छ ?
हामीले ठूलो क्षति बेहोरेका छौं । हाम्रो विद्यालय बगेको छ । धेरै भौतिक संरचना नष्ट भएका छन् । विद्यालयसँग जोडिएको हाम्रो लामो इतिहास र सम्झनामा ठूलो चोट लागेको छ । हाम्रा प्रिय सहकर्मीहरू सम्पर्कविहीन हुनुको पीडा पनि छ । विद्यार्थीहरू त्रसित छन् । अभिभावक चिन्तित छन् । तर हामीले हिम्मत हार्नु हुँदैन । त्रिशूली माध्यमिक विद्यालय केवल भवन होइन । यो विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक र समुदायको साझा संस्था हो । भवन बगे पनि हाम्रो प्रतिबद्धता बगेको छैन । जमिन बगे पनि शिक्षाप्रतिको हाम्रो विश्वास बगेको छैन । हामीसँग जनशक्ति छ । हामीसँग अनुभवी शिक्षक छन् । हामीसँग विद्यार्थी छन् । सबैभन्दा महत्वपूर्ण कुरा—हामीसँग समुदायको विश्वास छ ।












प्रतिक्रिया