प्रदूषण भन्नासाथ हाम्रो ध्यान प्रायः धुवाँ, धूलो, फोहोर वा दूषित पानीतर्फ जान्छ । तर आजको शहरी समाजमा चुपचाप फैलिरहेको अर्को गम्भीर समस्या हो– ध्वनि प्रदूषण । यो यस्तो प्रदूषण हो, जसलाई देख्न सकिँदैन तर यसको असर मानव स्वास्थ्य, मानसिक अवस्था, श्रवण शक्ति र जीवनको गुणस्तरमा गहिरोसँग पर्छ । दुर्भाग्यवश नेपालका ठूला शहरहरूमा यो समस्या दिनप्रतिदिन बढिरहेको छ । अझ चिन्ताको विषय के छ भने, बालबालिकाको भविष्य निर्माण गर्ने शिक्षण संस्थाहरू नै कतिपय अवस्थामा ध्वनि प्रदूषणका प्रमुख स्रोत बन्न थालेका छन् ।
विद्यालय भनेको शान्त वातावरणमा ज्ञान, अनुशासन, एकाग्रता र व्यक्तित्व विकास हुने स्थान हो । तर पछिल्ला वर्षहरूमा विशेष गरी केही निजी बोर्डिङ विद्यालयहरूमा आवश्यकताभन्दा बढी स्पिकर, माइक, साउन्ड बक्स, ड्रम, इलेक्ट्रिक गिटार तथा अन्य ध्वनि उपकरण प्रयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढेको देखिन्छ । बिहानको एसेम्बलीदेखि शुरु हुने यो क्रम दिनभरि विभिन्न कार्यक्रमका नाममा चलिरहन्छ ।
आजभोलि कतिपय विद्यालयमा सामान्य सूचना सुनाउन, प्रार्थना गराउन वा विद्यार्थीलाई सम्बोधन गर्नसमेत अत्यधिक आवाजका स्पिकर प्रयोग गरिन्छ । वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, नृत्य कार्यक्रम, जन्मदिन समारोह, अभिभावक दिवस, शिक्षक दिवस, बाल दिवस, बिदाइ कार्यक्रम, स्वागत कार्यक्रम, पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय दिवसका अवसरमा दिनभरि ठूलो आवाजमा साउन्ड सिस्टम बजाउने प्रवृत्ति बढ्दो छ ।
विडम्बना त के छ भने, वातावरण संरक्षणको सन्देश दिने ‘विश्व वातावरण दिवस’ जस्ता कार्यक्रममा समेत चर्को आवाजका स्पिकर प्रयोग गरी वातावरणलाई नै प्रदूषित बनाउने काम भइरहेको देखिन्छ । वातावरण संरक्षणका नाममा आयोजना गरिने कार्यक्रममा नै वातावरण बिगार्ने अभ्यास हुनु आफैंमा गम्भीर विरोधाभास हो ।
नेपालका धेरै निजी विद्यालयहरू घना बस्तीको बीचमा सीमित जग्गामा सञ्चालन भइरहेका छन् । विशेष गरी काठमाडौं उपत्यकाका घना आवासीय क्षेत्र र साँघुरा गल्लीभित्र समेत विद्यालयहरू सञ्चालनमा छन् । कतिपय स्थानमा विद्यालयको पर्खाल र छिमेकीको घरबीचको दूरी अत्यन्त न्यून छ, कतै त घर र विद्यालयका पर्खालहरू लगभग जोडिएकै अवस्थामा छन् । यस्तो अवस्थामा दिनभरि बज्ने स्पिकर, माइक र साउन्ड सिस्टमको असर विद्यालयभित्र मात्र सीमित रहँदैन, वरपरका घरपरिवारले पनि प्रत्यक्ष रूपमा भोग्नुपर्छ ।
यस्तो अवस्थामा दिनभरि बज्ने चर्को आवाजले विद्यालयका विद्यार्थी मात्र होइन, वरपरका सम्पूर्ण समुदाय प्रभावित हुन्छन् । घरमा रहेका वृद्धवृद्धा, बिरामी, अध्ययन गरिरहेका विद्यार्थी, रातिको ड्युटी गरेर दिनमा आराम गरिरहेका व्यक्ति तथा भर्खरै जन्मेका शिशुसमेत यसबाट प्रत्यक्ष प्रभावित हुन्छन् । तर विद्यालय व्यवस्थापनले प्रायः आफ्नो कार्यक्रम सफल भयो कि भएन भन्ने कुरामा ध्यान दिन्छ, छिमेकी समुदायको शान्ति र स्वास्थ्यमा परेको असरबारे कमै सोच्ने गरेको देखिन्छ ।
ध्वनि प्रदूषणको सबैभन्दा गम्भीर असर साना बालबालिकामा पर्छ । नर्सरी, केजी, कक्षा १ र २ मा अध्ययन गर्ने बालबालिकाको मस्तिष्क, स्नायु प्रणाली र श्रवण क्षमता अझै विकासकै क्रममा हुन्छ । बारम्बार उच्च ध्वनिको सम्पर्कमा आउँदा उनीहरूको सुन्ने क्षमतामा नकारात्मक प्रभाव पर्न सक्छ । निरन्तर ठूलो आवाजले ध्यान केन्द्रित गर्ने क्षमता कमजोर बनाउने, सिकाइ प्रक्रियामा बाधा पु¥याउने, स्मरणशक्ति घटाउने, चिडचिडापन बढाउने तथा मानसिक तनाव सिर्जना गर्ने सम्भावना रहन्छ ।
विश्वभर भएका विभिन्न अध्ययनहरूले अत्यधिक ध्वनिले बालबालिकाको बौद्धिक विकासमा समेत असर पार्ने देखाएका छन् । कक्षाकोठाभन्दा बाहिर निरन्तर सुनिने ठूलो आवाजले एकाग्रता भंग गर्छ । बालबालिकाले शिक्षकको कुरा स्पष्ट रूपमा सुन्न सक्दैनन् । यसले सिकाइको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्छ । विद्यालय ज्ञानको केन्द्र बन्नुपर्ने ठाउँमा ध्वनिको प्रतिस्पर्धा हुने अवस्था सिर्जना हुनु आफैंमा चिन्ताको विषय हो ।
ध्वनि प्रदूषणले कानलाई मात्र होइन, सम्पूर्ण शरीरलाई असर गर्छ । लामो समयसम्म उच्च ध्वनिमा बस्दा कानको भित्री भागमा रहेका संवेदनशील कोषहरू नष्ट हुन सक्छन् । यसले क्रमशः श्रवण शक्ति घटाउने, कानमा लगातार आवाज बजिरहने समस्या उत्पन्न गर्ने र अन्ततः स्थायी बहिरोपनसम्म निम्त्याउन सक्छ । चिकित्सकहरूका अनुसार अत्यधिक ध्वनिले तनाव हर्मोन बढाउँछ, रक्तचाप वृद्धि गर्छ, मुटुरोगको जोखिम बढाउँछ र मानसिक स्वास्थ्यमा समेत असर पु¥याउँछ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ध्वनि प्रदूषणलाई आधुनिक शहरी जीवनका गम्भीर सार्वजनिक स्वास्थ्य समस्यामध्ये एक मानेको छ । डब्लुएचओका अनुसार अत्यधिक ध्वनिले श्रवण शक्तिमा मात्र असर गर्दैन, यसले निद्रामा बाधा पु¥याउने, मानसिक तनाव बढाउने, सिकाइ क्षमतामा असर गर्ने तथा मुटु र रक्तनलीसम्बन्धी रोगहरूको जोखिमसमेत बढाउन सक्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा, बिरामी तथा गर्भवती महिलाहरू ध्वनि प्रदूषणबाट बढी प्रभावित हुने समूहमा पर्दछन् । त्यसैले विद्यालय, अस्पताल तथा आवासीय क्षेत्रवरपर ध्वनिको स्तर नियन्त्रण गर्न विश्वभर विशेष महत्व दिइन्छ ।
नवजात शिशु तथा साना बालबालिका ध्वनि प्रदूषणका सबैभन्दा संवेदनशील समूह मानिन्छन् । विद्यालय, पार्टी प्यालेस, रेस्टुरेन्ट वा अन्य स्थानबाट आउने ठूलो आवाजले उनीहरूको निद्रा बिगार्न सक्छ । निद्रा विकासशील मस्तिष्कका लागि अत्यन्त आवश्यक हुन्छ । निरन्तर ध्वनि प्रदूषणले शिशुको आराम, मानसिक विकास र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ । घना बस्तीभित्र सञ्चालित विद्यालयहरूले यस पक्षलाई प्रायः बेवास्ता गर्ने गरेको देखिन्छ ।
ध्वनि प्रदूषणको समस्या विद्यालयमा मात्र सीमित छैन । सडकमा प्रेसर हर्न बजाउने सवारीसाधन, साइलेन्सर निकालेर कर्कश आवाज निकाल्ने मोटरसाइकल, अनावश्यक रूपमा हर्न बजाउने चालक, बस्तीभित्र चर्को आवाजमा संगीत बजाउने रेस्टुरेन्ट तथा बार, सार्वजनिक कार्यक्रमहरूमा राति अबेरसम्म चलाइने साउन्ड सिस्टम तथा विभिन्न उत्सवहरूमा प्रयोग गरिने उच्च क्षमताका ध्वनि उपकरणहरूले शहरको वातावरण दिनप्रतिदिन असहज बनाइरहेका छन् ।
कतिपय मोटरसाइकल चालकले साइलेन्सर नै हटाएर ठूलो आवाज निकाल्नुलाई फेसन वा आधुनिकताको प्रतीक ठान्ने गरेका छन् । यस्ता सवारीसाधन सडकमा गुड्दा विद्यालय, अस्पताल, कार्यालय र आवासीय क्षेत्र सबै प्रभावित हुन्छन् । प्रेसर हर्नको जथाभावी प्रयोगले झन् समस्या बढाएको छ । सडकमा पैदलयात्री, वृद्धवृद्धा, बिरामी तथा बालबालिकाले अनावश्यक ध्वनि सहन बाध्य हुनुपरेको अवस्था छ ।
विकसित मुलुकहरूमा विद्यालय, अस्पताल र आवासीय क्षेत्रलाई विशेष संवेदनशील क्षेत्रका रूपमा लिइन्छ । यस्ता स्थानवरपर ध्वनिको सीमा स्पष्ट रूपमा तोकिएको हुन्छ । विद्यालयका अधिकांश कार्यक्रम ध्वनि नियन्त्रण गरिएका सभाहल वा बन्द संरचनाभित्र सञ्चालन गरिन्छन् । खुला क्षेत्रमा कार्यक्रम गर्दा पनि निर्धारित डेसिबलभन्दा माथि ध्वनि जान पाइँदैन । ध्वनि मापन, निगरानी र कानुनी कारबाहीको व्यवस्था प्रभावकारी रूपमा लागू गरिन्छ । त्यसैले विद्यालयको कार्यक्रम सफल बनाउन ठूलो आवाज होइन, व्यवस्थित व्यवस्थापन र अनुशासित सञ्चालनलाई महत्व दिइन्छ ।
नेपालमा ध्वनि नियन्त्रणका लागि कानुनी आधारसमेत छ । ध्वनि गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०१२ ले क्षेत्रअनुसार ध्वनिको सीमा तोकेको छ । शहरी आवासीय क्षेत्रमा दिनमा ५५ र रातमा ५० डेसिबल तथा शान्त क्षेत्रमा दिनमा ५० र रातमा ४० डेसिबलको सीमा निर्धारण गरिएको छ । विद्यालयजस्ता संवेदनशील क्षेत्रमा ध्वनि नियन्त्रण अझ महत्वपूर्ण हुन्छ ।
डब्लुएचओले विद्यालयका कक्षाकोठामा सिकाइ र शिक्षक–विद्यार्थीबीचको संवाद स्पष्ट रहोस् भनेर ३५ डेसिबलभन्दा बढी पृष्ठभूमि ध्वनि नहुने स्तरलाई उपयुक्त मानेको छ भने विद्यालयको बाहिरी खेल क्षेत्रमा ५५ डेसिबलको मार्गदर्शक स्तर दिएको छ । यसबाट स्पष्ट हुन्छ– विद्यालयमा कार्यक्रम हुँदैमा ध्वनिको सीमा नाघ्न पाइन्छ भन्ने होइन । शिक्षा र मनोरञ्जनका नाममा प्रयोग हुने ध्वनि पनि विद्यार्थी र वरपरको समुदायको स्वास्थ्य तथा शान्तिलाई ध्यानमा राखेर नियन्त्रित हुनुपर्छ ।
नेपालमा पनि ध्वनि प्रदूषण नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था र मापदण्डहरू छन् । वातावरण संरक्षणसम्बन्धी कानुनी व्यवस्थाले अनावश्यक ध्वनि नियन्त्रण गर्नुपर्ने व्यवस्था गरेको छ । तर व्यवहारमा भने ध्वनि प्रदूषणलाई सामान्य विषयका रूपमा लिइन्छ । स्थानीय सरकार, विद्यालय प्रशासन, व्यावसायिक प्रतिष्ठान तथा सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र प्रभावकारी अनुगमनको अभाव देखिन्छ । परिणामस्वरूप कानुन कागजमा सीमित छ भने ध्वनि प्रदूषण व्यवहारमा बढ्दै गएको छ ।
सबैभन्दा दुःखद पक्ष के हो भने, शिक्षाको मन्दिर मानिने विद्यालयहरूबाटै ध्वनि प्रदूषणको संस्कृति सामान्य बन्दै गएको छ । शान्त वातावरणमा सिकाइ, अनुशासन, एकाग्रता र सभ्य व्यवहारको शिक्षा दिनुपर्ने संस्थाहरूले नै दैनिक रूपमा अनावश्यक ध्वनि प्रयोगलाई सामान्य अभ्यास बनाइरहेका छन् । यदि विद्यालयले नै अरूको शान्ति, स्वास्थ्य र सामाजिक उत्तरदायित्वप्रति संवेदनशील बन्न सिकाउन सकेन भने भविष्यमा जिम्मेवार र सचेत नागरिक निर्माण गर्ने लक्ष्य कसरी पूरा होला भन्ने गम्भीर प्रश्न उठेको छ ।
विद्यालयले बालबालिकालाई पाठ्यपुस्तकको ज्ञान मात्र होइन, व्यावहारिक जीवनका मूल्य र सामाजिक उत्तरदायित्व पनि सिकाउनुपर्छ । वातावरण संरक्षण, सार्वजनिक स्वास्थ्य, अनुशासन र सहअस्तित्वका विषयमा पढाउने संस्थाहरू आफैंले यस्ता सिद्धान्तको पालन नगर्दा सन्देश र व्यवहारबीचको दूरी बढ्छ । शिक्षाले उदाहरणबाट प्रभाव पार्छ र विद्यालय स्वयं उदाहरण बन्न नसके शिक्षा प्रणालीको नैतिक बल कमजोर हुन्छ ।
सभ्य समाजको परिचय अग्ला भवन, महँगा उपकरण वा शक्तिशाली साउन्ड सिस्टमले होइन, अरूको शान्ति र स्वास्थ्यप्रतिको सम्मानले दिन्छ । ध्वनि आवश्यक छ तर सीमा नाघेपछि त्यही ध्वनि प्रदूषण बन्छ । आज विद्यालय, सडक, रेस्टुरेन्ट, बार र सार्वजनिक स्थलहरूमा बढ्दै गएको अनियन्त्रित ध्वनि प्रदूषणलाई समयमै नियन्त्रण गर्न नसकिए यसको सबैभन्दा ठूलो मूल्य वर्तमान र भावी पुस्ताले चुकाउनुपर्नेछ । बालबालिकाको सुन्ने क्षमता, मानसिक स्वास्थ्य, एकाग्रता र सिकाइ क्षमतामाथि भइरहेको यो अदृश्य आक्रमणलाई अब सामान्य रूपमा लिनुहुँदैन । यस विषयलाई सार्वजनिक स्वास्थ्य, शिक्षाको गुणस्तर र सभ्य सामाजिक जीवनसँग जोडिएको गम्भीर राष्ट्रिय चुनौतीका रूपमा हेर्नुपर्ने बेला आइसकेको छ ।











प्रतिक्रिया