नेपालको अर्थतन्त्रले विस्तारको सम्भावना देखाइरहे पनि त्यसको आधार अझै कमजोर र बाह्य जोखिमप्रति संवेदनशील छ । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२६ मा ३.९ प्रतिशत र २०२७ मा ४.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । जलविद्युत् उत्पादन र नयाँ विद्युत् क्षमताको विस्तारलाई यसको प्रमुख आधार मानिएको छ ।
तर नेपालले जलविद्युत्को सम्भावनालाई दिगो आर्थिक शक्तिमा बदल्न सकेको छ त ? विद्युत् उत्पादन बढ्नु निश्चय नै सकारात्मक हो । यसले उद्योगलाई ऊर्जा उपलब्ध गराउने, आयातीत इन्धनको निर्भरता घटाउने र विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने बाटो खोल्छ । तर बाढी, पहिरो, अतिवृष्टि र सुख्खाको जोखिमबीच जलविद्युत् पूर्वाधार आफैं कति सुरक्षित छ भन्ने प्रश्न अनुत्तरित छ । आयोजना बनाउने होडसँगै पूर्वाधारको सुरक्षा र जलवायु प्रतिरोधी क्षमता विकास नगरे विद्युत् नै आर्थिक जोखिमको अर्को स्रोत बन्न सक्छ ।
मध्यपूर्वको द्वन्द्वले नेपालको अर्को कमजोरी उजागर गर्छ । अन्तर्राष्ट्रिय बजारमा इन्धन महँगिँदा नेपालमा ढुवानीदेखि उत्पादन लागतसम्म बढ्छ र त्यसको भार उपभोक्ताले बेहोर्नुपर्छ । त्यसमाथि खाडी मुलुकको आर्थिक गतिविधि कमजोर भए विप्रेषण प्रभावित हुने र अन्तर्राष्ट्रिय यात्रामा अनिश्चितता बढे पर्यटन आम्दानी घट्ने जोखिम छ । अर्थात् नेपालको बाह्य क्षेत्र एउटै संकटबाट ऊर्जा, रोजगारी, विप्रेषण र पर्यटन सबै मोर्चामा प्रभावित हुन सक्छ । मुद्रास्फीति सन् २०२६ को ३.२ प्रतिशतबाट २०२७ मा ५ प्रतिशत पुग्ने एडीबीको अनुमान पनि बेवास्ता गर्न मिल्ने संकेत होइन । विश्व व्यापारको अनिश्चितता, आपूर्ति शृङ्खलाको अवरोध र मौसमजन्य विपद्ले खाद्य तथा गैरखाद्य वस्तुको लागत बढाउन सक्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, दक्षिण एसियाको वृद्धि दर नेपालको भन्दा उल्लेख्य रूपमा उच्च रहने अनुमान छ । यसले नेपालको मूल समस्या बाह्य संकट मात्र होइन, आन्तरिक उत्पादन क्षमता र आर्थिक रूपान्तरणको सुस्त गति पनि हो भन्ने देखाउँछ । अब नेपालले केवल विद्युत् उत्पादन बढाएर बस्ने सुविधा छैन ।
उत्पादित विद्युत्लाई उद्योग र रोजगारीसँग जोड्नुपर्छ, जलविद्युत् पूर्वाधारलाई विपद् प्रतिरोधी बनाउनुपर्छ, विप्रेषण र पर्यटनमाथिको अत्यधिक निर्भरता घटाउनुपर्छ र निर्यातका नयाँ आधार खोज्नुपर्छ । नेपालसँग ऊर्जा छ, सम्भावना छ, अभाव छ भने जोखिम थेग्ने नीति र त्यसलाई उत्पादनमा बदल्ने क्षमता हो । आर्थिक वृद्धिलाई दिगो बनाउने हो भने अब विकासको अंक मात्र होइन, संकट सामना गर्न सक्ने अर्थतन्त्र निर्माणमा ध्यान दिनुपर्छ ।
नेपालको समस्या सम्भावनाको अभाव होइन, सम्भावनालाई जोखिमबाट सुरक्षित राख्दै आर्थिक रूपान्तरणमा प्रयोग गर्ने क्षमताको हो । जलविद्युत् नेपालको आर्थिक वृद्धिको नयाँ आधार बन्न सक्छ, तर त्यसलाई दिगो बनाउन ऊर्जा पूर्वाधारको सुरक्षा, जलवायु जोखिमको व्यवस्थापन, उत्पादनमूलक क्षेत्रमा विद्युत्को उपयोग र बाह्य आम्दानीका स्रोतको विविधीकरण अपरिहार्य छ ।
एडीबीको प्रक्षेपणले एउटा महत्वपूर्ण सन्देश दिएको छ, नेपालको आर्थिक वृद्धि अघि बढ्ने बाटो खुलेको छ तर त्यो बाटो बाह्य झट्का, जलवायु जोखिम र कमजोर उत्पादन क्षमताबाट सुरक्षित छैन । अबको आर्थिक नीति केवल वृद्धि हासिल गर्ने होइन, हासिल भएको वृद्धिलाई टिकाउने र बाह्य संकटले अर्थतन्त्रलाई सजिलै हल्लाउन नसक्ने संरचना निर्माण गर्ने दिशामा केन्द्रित हुनुपर्छ ।











प्रतिक्रिया