सर्लाही।
महिनावारी किशोरी तथा महिलाको जीवनमा आउने स्वाभाविक प्रक्रिया हो। महिनावारी कुनै दोष नभई प्रजनन प्रक्रियासँग सम्बन्धित प्राकृतिक प्रक्रिया हो। यस प्रक्रियालाई सहज रूपमा बुझ्न नसक्दा किशोरी उमेरदेखि नै विभेद र अन्धविश्वासको त्रासमा बस्नुपर्ने अवस्था अझै कायम छ। परिवार र समाजमा महिनावारीलाई लाज, छुवाछूत र धार्मिक विश्वाससँग जोडेर हेर्ने परम्परा तथा प्रवृत्ति कायम रहँदा सुरक्षित महिनावारी व्यवस्थापन अझै चुनौतीपूर्ण बनेको छ। महिनावारीसम्बन्धी अन्धविश्वासको प्रभाव सामान्य परिवारदेखि सम्पन्न परिवारसम्म पनि देखिन्छ र यो पूर्ण रूपमा हट्न सकेको छैन।
तराई–मधेसका ग्रामीण तथा विपन्न समुदायमा सुरक्षित र सम्मानजनक महिनावारी व्यवस्थापन अझै चुनौतीका रूपमा रहेको छ। कतिपय किशोरी तथा महिला महिनावारीका विषयमा खुलेर बोल्नसमेत सहज महसुस गर्दैनन्। परिवारभित्र समेत महिनावारीबारे खुलेर कुराकानी गर्न असहज मान्ने प्रवृत्ति छ।
पहिलो पटक महिनावारी हुँदा धेरै किशोरीलाई आफ्नो शरीरमा भइरहेको परिवर्तनबारे पर्याप्त जानकारी हुँदैन। घरमा आमा वा दिदी नहुँदा बाबु वा दाजुसँग यस विषयमा कुरा गर्नसमेत असहज महसुस गर्ने अवस्था हुन्छ। यसले किशोरीमा अन्योल, डर र मानसिक तनावसमेत सिर्जना गर्न सक्छ। ग्रामीण क्षेत्रका कतिपय किशोरीलाई महिनावारीका समयमा देखिने सामान्य समस्याबारे समेत पर्याप्त जानकारी हुँदैन।
महिनावारीका समयमा पेट दुख्ने, कम्मर दुख्ने, चक्कर लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, रक्तस्राव हुने, कमजोरी तथा थकान महसुस हुनेजस्ता समस्या देखिन सक्छन्। कतिपयमा मानसिक तनावसमेत हुन सक्छ। यस्ता समस्या सामान्य हुन् कि स्वास्थ्य समस्या हो भन्ने विषयमा परिवारले ध्यान दिन आवश्यक हुन्छ। महिनावारी सामान्य प्राकृतिक प्रक्रिया हो भनेर मात्र बेवास्ता गर्दा असामान्य लक्षण देखिएका अवस्थामा किशोरीले थप स्वास्थ्य समस्या भोग्नुपर्ने अवस्था आउन सक्छ।
किशोरीलाई सुरक्षित महिनावारी व्यवस्थापनसम्बन्धी जानकारी विद्यालय, परिवार र समुदायबाटै दिनुपर्छ। समुदाय र विद्यालयमा नियमित रूपमा महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। यस्ता कार्यक्रममा छात्रालाई मात्र नभई शिक्षक तथा अभिभावकलाई समेत सहभागी गराई महिनावारीबारे व्यावहारिक जानकारी दिनुपर्छ।
विद्यालयमा पर्याप्त पानी, साबुन, सफा शौचालय, महिनावारीका समयमा सेनेटरी प्याड फेर्न मिल्ने उपयुक्त स्थान तथा प्रयोग गरिएका प्याडको सुरक्षित व्यवस्थापनको व्यवस्था हुनुपर्छ। यस्ता आधारभूत सुविधाको अभावले किशोरीलाई विद्यालयमा नियमित हुनसमेत समस्या पर्न सक्छ।
तराईका कतिपय क्षेत्रमा सार्वजनिक शौचालय तथा सरकारी र गैरसरकारी कार्यालयमा समेत महिनावारीमैत्री पूर्वाधारको अभाव देखिन्छ। सार्वजनिक स्थानमा महिलाका लागि पर्याप्त र सफा शौचालय नहुँदा महिनावारीका समयमा थप समस्या हुने गरेको छ।
आर्थिक रूपमा कमजोर दलित तथा विपन्न समुदायका किशोरीमा महिनावारी व्यवस्थापनको चुनौती अझ बढी देखिन्छ। पर्याप्त महिनावारी सामग्री खरिद गर्न नसक्नु, सफा पानीको अभाव, सुरक्षित शौचालय नहुनु तथा स्वास्थ्य सेवामा पहुँच कम हुनुका कारण उनीहरूको स्वास्थ्य र शिक्षामा समेत असर पर्न सक्छ। ती समुदायका कतिपय किशोरी महिनावारीका समयमा विद्यालय नजाने वा पढाइ छुट्ने अवस्थासमेत रहेको पाइन्छ। त्यसैले विपन्न समुदायका किशोरीका लागि सुरक्षित महिनावारी व्यवस्थापनमा विशेष पहल आवश्यक छ।
कतिपय समुदायमा महिनावारीलाई अझै धार्मिक अन्धविश्वाससँग जोडेर किशोरीलाई घरको छुट्टै कोठा वा स्थानमा राख्ने, भान्सा तथा पूजास्थलमा जान नदिने र खानपिनमा समेत रोक लगाउनेजस्ता परम्परा कायम छन्। यस्ता संस्कार र परम्पराले किशोरीमा डर, हीनभावना र मानसिक दबाब सिर्जना गर्न सक्छ।
छोरी पहिलो पटक महिनावारी हुनुअघि नै परिवारले शरीरमा हुने परिवर्तन, व्यक्तिगत सरसफाइ, पोषण, महिनावारी चक्र र स्वास्थ्यसम्बन्धी समस्याबारे सहज र वैज्ञानिक जानकारी दिनुपर्छ। महिनावारीलाई लुकाउनुपर्ने वा लाज मान्नुपर्ने विषयका रूपमा होइन, स्वास्थ्यसँग सम्बन्धित सामान्य प्राकृतिक प्रक्रियाका रूपमा बुझाउने वातावरण परिवारबाटै सिर्जना गर्न आवश्यक छ।
स्थानीयस्तरमा महिनावारीलाई कसरी मर्यादित र किशोरीमैत्री बनाउने भन्ने विषयमा विभिन्न संघसंस्थाले समेत कार्यक्रम तथा छलफल अघि बढाइरहेका छन्। यसैक्रममा सर्लाहीको लालबन्दी नगरपालिका–३ लाई २०८३ बैशाख ११ गते पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा गरिएको बताइएको छ। मर्यादित महिनावारीका लागि लालबन्दीस्थित बाल संरक्षण संस्थाले अभियान सञ्चालन गरेको छ। राधा पौडेल फाउन्डेसनकी अध्यक्ष राधा घिमिरेले वडालाई पहिलोपटक मर्यादित महिनावारीमैत्री वडा बनाउन सफल भएको दाबी गर्नुभएको छ।
त्यसैगरी संस्थाले २०८३ भदौ २५ गते लालबन्दी नगरपालिका–१० लाई पनि मर्यादित महिनावारीमैत्री वडा घोषणा गरेको छ। संस्थाले मर्यादित महिनावारीसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने संस्थाको उद्देश्य रहेको छ।
सरकारी तथा गैरसरकारी संस्थाले मर्यादित महिनावारीमैत्री कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय समुदायसम्म विस्तार गर्न सके तराई–मधेसमा महिनावारीप्रतिको अन्धविश्वास र विभेद कम गर्न सहयोग पुग्न सक्छ। तर यस्ता अभियानसँगै परिवार, विद्यालय, स्थानीय सरकार र समुदायको निरन्तर सहभागिता पनि आवश्यक हुन्छ।
महिनावारीलाई लुकाउनुपर्ने वा लाज मान्नुपर्ने विषय नभई स्वास्थ्यसँग सम्बन्धित सामान्य प्राकृतिक प्रक्रिया हो भन्ने वातावरण परिवारबाटै सिर्जना गर्नुपर्छ। यसका लागि परिवारमा खुला संवाद, विद्यालयमा निरन्तर स्वास्थ्य शिक्षा, सार्वजनिक तथा सरकारी–गैरसरकारी कार्यालयका शौचालयमा आवश्यक पूर्वाधार, विपन्न समुदायमा महिनावारी सामग्री र स्वास्थ्य सेवामा सहज पहुँच तथा अन्धविश्वासविरुद्ध निरन्तर चेतना आवश्यक छ।











प्रतिक्रिया