दशैँको मुखमा महँगीको जोखिम


दशैँ नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको घुइँचो लाग्छ । उपभोग्य वस्तुको माग स्वाभाविक रूपमा बढ्छ र व्यापारिक गतिविधिले समेत गति लिन्छ । तर यही समयमा बजारमा मूल्यवृद्धि, कृत्रिम अभाव, कालोबजारी र उपभोक्ता ठगीको जोखिम पनि बढ्ने गरेको विगतको अनुभव छ । दशैँ नेपालीका लागि केवल एउटा चाड होइन, पारिवारिक भेटघाट, सांस्कृतिक उत्सव र ठूलो आर्थिक गतिविधिको समय पनि हो । यस अवसरको फाइदा उठाउन सामानको कृत्रिम अभाव सृजना गरी मूल्य वृद्धि गर्न पर्खिरहेका व्यापारी धेरै हुन सक्छन् ।

यस वर्ष त प्राकृतिक विपत्तिका कारण आपूर्ति प्रणालीमा थप चुनौती देखिएकाले पनि सरकारले महँगी नियन्त्रणलाई अहिलेबाटै प्राथमिकतामा राख्नुपर्ने अवस्था छ । यस वर्ष बाढी–पहिरोले देशका विभिन्न सडक तथा राजमार्ग पटक–पटक अवरुद्ध भइरहेका छन् । वर्षायाम सकिन नपाउँदै आज ९ गतेदेखि लगातार तीन दिन वर्षा हुने प्रक्षेपणले पनि यातायात तथा आपूर्ति व्यवस्थापनमा थप दबाब पर्न सक्ने संकेत गरेको छ ।
विशेष गरी काठमाडौँ उपत्यकामा बाहिरी जिल्लाबाट दैनिक ठूलो परिमाणमा खाद्यान्न, तरकारी, फलफूल, इन्धन तथा अन्य अत्यावश्यक वस्तु भित्रिन्छन् ।

सडक अवरुद्ध भएर मालवाहक सवारीसाधन रोकिएमा बजारमा वास्तविक अभावभन्दा पहिले नै अभावको हल्ला फैलिन सक्छ । यही मनोवैज्ञानिक अवस्थालाई कतिपय व्यवसायीले मूल्य बढाउने अवसरका रूपमा प्रयोग गर्न सक्छन् । त्यसैले सरकार समस्या उत्पन्न भएपछि बजारमा हस्तक्षेप गर्ने पुरानै शैलीमा सीमित हुनुहुँदैन । सम्भावित जोखिमको पूर्वानुमान गरी अहिलेबाटै आपूर्ति व्यवस्थापनको ठोस योजना बनाउनुपर्छ । काठमाडौँ उपत्यकामा अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तुको पर्याप्त मौज्दात छ कि छैन भन्ने यकिन गर्नुपर्छ । कुन वस्तुको कति परिमाणमा मौज्दात छ, कति दिनसम्मको माग धान्न सकिन्छ र सडक अवरुद्ध भए वैकल्पिक आपूर्ति कहाँबाट र कसरी गर्ने भन्ने स्पष्ट योजना सरकारसँग हुनुपर्छ ।

महँगी नियन्त्रणका नाममा केवल पसलमा अनुगमन गरेर मात्र पुग्दैन । उत्पादनस्थलदेखि थोक बजार, ढुवानी प्रणाली र खुद्रा पसलसम्मको सम्पूर्ण आपूर्ति शृङ्खला निगरानीमा राख्नुपर्छ । कृत्रिम अभाव सिर्जना गर्ने, सामान लुकाउने, अस्वाभाविक रूपमा मूल्य बढाउने, गुणस्तरहीन वस्तु बिक्री गर्ने व्यवसायीमाथि तत्काल कारबाही हुनुपर्छ । बजार अनुगमनलाई देखावटी अभियान मात्र नभएर नियमित, तथ्यमा आधारित र परिणाममुखी बनाउन आवश्यक छ ।

यससँगै व्यवसायीहरूलाई दोषीको कठघरामा उभ्याएर मात्र पनि समस्या समाधान हुँदैन । सरकारले आपूर्ति सहज बनाउन ढुवानीका लागि वैकल्पिक मार्ग, आवश्यक परे अस्थायी व्यवस्थापन र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय सुनिश्चित गर्नुपर्छ । निजी क्षेत्रसँग सहकार्य गरी अत्यावश्यक वस्तुको आपूर्ति अवरुद्ध हुन नदिने व्यवस्था मिलाउनुपर्छ । यसमा उपभोक्ताको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । अफवाहका भरमा अत्यधिक सामान थुपार्ने प्रवृत्तिले कृत्रिम अभाव र मूल्यवृद्धिलाई थप प्रोत्साहन गर्न सक्छ । त्यसैले सरकारले वास्तविक मौज्दात, बजार मूल्य र आपूर्ति अवस्थाबारे नियमित तथा विश्वसनीय सूचना सार्वजनिक गर्नुपर्छ । उपभोक्तालाई उजुरी गर्ने सहज र प्रभावकारी संयन्त्र पनि हुनुपर्छ ।

दशैँ हरेक नेपालीका लागि खुशी र उमंगको पर्व हो । त्यो खुशी महँगी र अभावको चिन्ताले नखोसियोस् भन्ने सुनिश्चित गर्नु सरकारको दायित्व हो । सडक अवरोध, वर्षा र बढ्दो मागलाई कारण देखाएर बजारमा अस्वाभाविक मूल्यवृद्धि हुन दिने हो भने त्यसको सबैभन्दा ठूलो भार आम उपभोक्तामाथि पर्नेछ । त्यसैले दशैँ आउनुअघि नै सरकार, स्थानीय प्रशासन, बजार अनुगमन निकाय र निजी क्षेत्रबीच प्रभावकारी समन्वय कायम गरी आपूर्ति सहज र बजार व्यवस्थित बनाउनुपर्छ । महँगी नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी उपाय संकट आएपछि दौडधूप गर्नु होइन, संकट आउनुअघि नै तयारी गर्नु हो । त्यसैले दशैँमा विविध कारणले हुनसक्ने महँगी वृद्धिलाई मध्यनजर गर्दै सरकार एवं सम्बन्धित निकायहरुले अहिलेदेखि नै यसको नियन्त्रण गर्न पहलकदमी गर्नु जरुरी छ ।