भदौ १० गतेको भोटेकोशी बाढीको विपत्ति सकिन नपाउँदै फेरि अर्को विपत्ति आउन सक्ने सम्भावनाको पूर्वानुमान गरिएको छ । पर्सि शुक्रबारदेखि चार दिनसम्म भारी वर्षाको गतिविधि बढ्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाले गरेको छ । मौसमविद्हरुले यही असोज ९ गतेबाट मौसमी प्रणाली भित्रिने र ११ गते आइतबारसम्म नेपालका धेरै क्षेत्रमा वर्षा हुने अनुमान गरेका छन् । त्यसको असर आज बुधबारबाट देखिनेछ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मौसम बुलेटिन जारी गरेको छ । सो अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुने सम्भावना छ । यसले फेरि पश्चिम र सूदरपश्चिमको अवस्था झन् जटिल देखिएको छ । दशैँ आउनै लाग्दा देशभर विपत्तिको घण्टी बज्न थालेपछि सरकार पनि सचेत हुन थालेको छ ।
सरकारले विपद्जन्य घटनाबाट बच्न आपत्कालीन योजना शुरु गरेको छ । नेपालको लाइफलाइन ठानिएको पृथ्वी राजमार्जको पहिरोग्रस्त क्षेत्रमा प्लास्टिक लगाएर वर्षाको असर रोक्ने उपाय शुरु गरेको छ । यता सातै प्रदेश सरकारले मुख्य राजमार्गको सुरक्षा योजना तयार गरेका छन् । यात्रुलाई सहज यातायात व्यवस्था गर्न कार्ययोजना तयार गरेका छन् । वर्षा आउनु एक साताअघिबाट सरकारले भवितव्य हुनसक्ने चेतावनी दिएको छ । यो राम्रो काम हो ।
त्यसबाहेक बिहान र बेलुकी विशेष बुलेटिन जारी गर्ने भएको छ । मंगलबार जारी बुलेटिनमा मधेस प्रदेश, कोशी प्रदेश, बागमती प्रदेशमा र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ । देशभर भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । उत्तर अन्डरमान सागर र आसपास क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग आसपासमा रहेको उल्लेख छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई पश्चिम–उत्तर दिशातिर सर्ने देखिन्छ । यसको प्रभावले बुधबारबाट नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने महाशाखाले जनाएको छ । त्यसको आधारमा बुधबारबाटै नेपालमा चार दिनसम्म वर्षाको सम्भावना रहेको छ ।
विशेष गरी शुक्रबार र शनिबार भारी वर्षाको सम्भावना छ । न्यून चापीय क्षेत्र भारतको ओडिसा र उत्तर आन्ध्र प्रदेशमा विकास भइरहेकाले सो प्रणाली नेपाल आउने सम्भावना बढी देखिएकोले आजबाट नेपालनजिक आउने अनुमान मौसमविद्को छ । सो प्रणाली नेपाल भित्रिए ३ सयदेखि ७ सय मिलिलिटर वर्षा हुने सम्भावना रहेको छ । नेपालमा अमेरिकाको ग्लोबल फोरकास्ट सिस्टम (जीएफएस) ले बिहीबारबाट गण्डकी र सुदूरपश्चिममा भारीदेखि धेरै भारी वर्ष हुनसक्ने अनुमान गरेको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले न्यून चापीय प्रणालीको असर कुनै न कुनै रूपमा नेपालमा पर्न सक्ने देखिएको जनाएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार उत्तर अन्डरमान सागर र पूर्व–मध्य बंगालको खाडी आसपास विकसित न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ अघि बढिरहेको छ । यो प्रणाली सोमबार न्यून चापीय र मंगलबार अझ बलियो भएर न्यून चापीय प्रणाली बन्न सक्ने तथा त्यसपछि दक्षिण ओडिसा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रतर्फ पुग्ने अनुमान छ । यही प्रणालीबाट आउने जलवाष्प र नेपालमा रहेको पश्चिमी वायुमण्डलीय प्रणालीबीच समिश्रण भएमा नेपालमा वर्षा बढ्न सक्ने मौसमविद्हरूको आँकलन छ ।
बंगालको खाडीबाट आउने प्रणाली र पश्चिमी प्रणालीबीच समिश्रण भएर नेपालतर्फ जलवाष्पको प्रवाह बढी वर्षा बढ्न सक्नेछ । भारी वर्षा हुनसक्ने सम्भावनापछि गृह मन्त्रालय, विपद् प्राधिकरण, जल तथा मौसम विज्ञान विभागलगायतका निकायले आन्तरिक तयारी गर्न थालेका छन् । प्राधिकरणले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्तरिक रूपमा सुरक्षा निकाय र जिल्ला विपद् व्यवस्थापन समितिहरूसँग समेत समन्वय तथा सञ्चार गरिरहेको जनाएको छ । चाडबाडको मुखमा नेपालमा हुनसक्ने बाढीजन्य घटनाबाट जोगिन सरकारले विशेष पहल गर्नु आवश्यक छ । जनचेतनाका सूचना दिनुपर्छ । सामाजिक सञ्जालबाट सचेतनाको घण्टी बजाउन सक्नुपर्छ । त्यसो भए मात्र विपद्बाट जोगिन सकिन्छ ।











प्रतिक्रिया