काठमाडौं ।
टेलिभिजन अभिनेत्री तथा ‘लक अप’ फेम आकांक्षा चमोला पछिल्लो समय आफ्नो बोल्ड अभिनयलाई लिएर भइरहेको ट्रोलिङबारे खुलेर बोलेकी छन्।
श्रीमान् गौरव खन्नासँग राष्ट्रिय टेलिभिजनमा सम्बन्धविच्छेदको घोषणा गरेपछि आलोचनाको सामना गरेकी आकांक्षा वैवाहिक सम्बन्धमै रहँदा वेब सिरिज ‘दिल, धोखा और डिजायर’मा दिएको बोल्ड तथा इन्टिमेट दृश्यका कारण पनि विवादमा तानिएकी थिइन्। उनका दृश्यलाई कतिपयले ‘सफ्ट पोर्न’ भन्दै आलोचना गरेका थिए भने केहीले ‘भाभी पोर्न’ गरेको आरोपसमेत लगाएका थिए।
‘म्यासेबल इन्डिया’सँगको कुराकानीमा उनलाई ‘पैसाका लागि बी–ग्रेड शोमा काम गरेको र भाभी पोर्न गरेको आरोप छ नि?’ भनेर प्रश्न गरिएको थियो।
जवाफमा आकांक्षाले व्यङ्ग्यात्मक शैलीमा भनिन्, “तर मेरो शो कसले हेरिरहेको छ त? यो नम्बर वान कसरी बन्यो? मेरो शो कसरी चल्यो त? मलाई अभिनय गर्न भनिएको थियो, मैले कति राम्रोसँग परफर्म गरेर देखाइदिएँ।”
आफ्नो शो पोर्न नभएको दाबी गर्दै उनले कसैले भन्दैमा कुनै कार्यक्रम बी–ग्रेड नहुने बताइन्। आफूले आगामी दिनमा पनि यस्ता भूमिकामा काम गर्ने उनको भनाइ छ।
आकांक्षाले पर्दामा पुरुषले रोमान्स गर्दा सामान्य मानिने तर महिलाले त्यही काम गर्दा प्रश्न उठाइने गरेकोप्रति पनि आपत्ति जनाइन्। “महिलाले पनि त अभिनय नै गरिरहेकी हुन्छिन्। महिलाले त्यहाँ आनन्द लिइरहेकी हुँदैनन्। म त केवल अभिनय गरिरहेकी थिएँ,” उनले भनिन्।
उनले यस्ता सामग्रीबारे निर्णय गर्ने जिम्मेवारी कलाकारमाथि मात्रै थोपर्न नहुने बताइन्। “भारतको सभ्यताको ठेक्का मैले एक्लैले लिएकी छैन। सरकारले यी सबै कुरामा प्रतिबन्ध लगाइदिन्छ भने हामी गर्दैनौँ। दर्शकहरूले पनि यस्ता सामग्री हेर्न छाडिदिऊन्,” उनले भनिन्।
आकांक्षाले सन् २०१६ मा अभिनेता गौरव खन्नासँग विवाह गरेकी थिइन्। करिब एक दशक लामो वैवाहिक सम्बन्धपछि उनले ‘लक अप’मा गौरवसँग सम्बन्ध अन्त्य गर्ने घोषणा गरेकी हुन्। उनले आफू सन्तान जन्माउने पक्षमा नरहेको समेत बताएकी थिइन्। हाल उनी आफूलाई ‘सिङ्गल लाइफ’मा रमाइरहेको बताउँछिन्।











प्रतिक्रिया