विश्वचर्चित गायिका तथा गीतकार लेडी गागा पहिलोपटक आमा बनेकी छन्। गागाले आफ्ना मंगेतर तथा व्यवसायी माइकल पोलान्स्कीसँग पहिलो सन्तानलाई स्वागत गरेकी हुन्। उनीहरूलाई पहिलोपटक बच्चासँगै सार्वजनिक स्थानमा देखिएपछि गागा आमा बनेको खबर बाहिरिएको हो।
भाइरल भइरहेका तस्वीरमा ४० वर्षीया गागा उत्तरी क्यालिफोर्नियामा पोलान्स्कीसँग हिँडिरहेको देखिन्छ। तस्वीरमा उनले बच्चालाई छातीमा टाँसेर बोकेकी छन्। ‘पिपल’ म्यागजिन र ‘पेज सिक्स’ले पनि गागा र पोलान्स्की पहिलोपटक अभिभावक बनेको पुष्टि गरेका छन्।
यद्यपि, बच्चाको जन्ममिति, नाम र लिङ्गबारे अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन। गागा र पोलान्स्कीले विवाह भने गरेका छैनन्। उनीहरूले सन् २०२४ मा इन्गेजमेन्ट गरेका थिए भने सन् २०१९ देखि सम्बन्धमा छन्। पछिल्लो समय उनीहरूले गोप्य रूपमा विवाह गरेको चर्चा चले पनि उनीहरू निकट स्रोतले दुवैबीच इन्गेजमेन्ट मात्रै भएको पुष्टि गरेको थियो।
अप्रिलमा ‘मायम बल’ टुर सकिएपछि गागा केही महिनादेखि सार्वजनिक गतिविधिबाट धेरै हदसम्म टाढा थिइन्। अहिले उनी पहिलोपटक आमा बनेको खबर सार्वजनिक भएपछि उनका प्रशंसकले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै बधाई दिइरहेका छन्।
गागा र पोलान्स्कीको व्यक्तिगत सम्बन्धसँगै व्यावसायिक सहकार्य पनि रहँदै आएको छ। पोलान्स्की गागाको सन् २०२५ को ग्रामी विजेता रेकर्ड ‘मायम’ मा लेखकका रूपमा जोडिएका छन्।











प्रतिक्रिया