हिजो तीजको विशेष पर्व । धार्मिक दृष्टिकोणमा तीज भनेको नारीहरूको सौभाग्य र समृद्धिका निमित्त शिव र पार्वतीको उपासना र पूजा गर्ने ऐतिहासिक पर्व हो । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाको दिन यो पर्व पर्दछ । यसलाई हरितालिका तीज भनिन्छ । यस दिनलाई तीज पर्वको दोस्रो महत्वपूर्ण दिनको रुपमा समेत लिइन्छ ।
धार्मिक दृष्टिकोणले तीजको ठूलो महत्व छ । तीज भनेको नारीहरूको सौभाग्य र समृद्धिका निमित्त शिव र पार्वतीको उपासना र पूजा गर्ने ऐतिहासिक र सांस्कृतिक पर्व हो । धार्मिक परम्पराअनुसार हिमालय पर्वतकी छोरी पार्वतीको सानै उमेरदेखि महादेवसँग गहिरो प्रेम थियो । हिमालय पर्वतले विष्णुलाई छोरी कन्यादान दिन तयार भएको पार्वतीले थाहा पाएर उनी भागेर जंगल गइन् । त्यहाँ महादेवको तपस्या गरिन् । यसकै परिणाम छोरीको पति रोज्ने चाहनालाई बाबु हिमालय पर्वतले स्वीकार गर्नुप¥यो । यही ऐतिहासिक कथाको आधारमा तीज मान्ने गरिन्छ । यस पर्वका मुख्य दिनहरुमा दर खाने दिन, हरितालिका तीज, गणेश चतुर्थी र ऋषि पञ्चमीलाई लिइन्छ ।
यो पर्व खानपिन, व्रत, उपवास र स्नानका साथै सप्तऋृषिहरुको पूजा अर्चनामा केन्द्रित रहेको पाइन्छ । मिष्ठान्न भोजन, नाच, गान, नयाँ वस्त्र, गरगहना, विभिन्न पहिरनलगायतका विषयले बाहिरी रौनकता बढाएर यसको प्रभावकारितालाई उत्कर्षमा पु¥याएको पाइन्छ । हाम्रो परम्परामा बिहे भएर पराई घर गएपछि चेलीहरूलाई गरेका व्यवहार, भोग्नुपरेका दुःख, कष्ट, नन्द, आमाजू, देवर र सासूको बुहार्तनका पीडाहरु उकुसमुकुस भएर रहेका हुन्छन् । दिदीबहिनीहरू जम्मा भएर माइतीको घर–आँगनमा यस्ता आफ्ना मनका पीडाहरू गीतमार्फत व्यक्त गर्ने पर्वसमेत हो तीज ।
तीज हिन्दू नारीको महान् चाड हो । हिन्दू नारीहरुले यस चाडलाई महत्वपूर्ण पर्वको रुपमा मान्ने गर्दछन् । घरको कामले हैरान परेका, माइत जान नपाएका चेलीहरु तीजको निहुँले भए पनि माइत जान्छन् र आफ्ना पुराना साथीसंगीसँग भेटघाट गर्ने, दर खाने र अर्को दिन भगवान् शिवको पूजा आराधना गर्नुका साथै आफूमा भएका वेदना मेटाउने खालका गीत गाउने, नाचगान, मनोरञ्जन गरेर भव्य तरिकाले तीज मनाउने परम्परा रही आएको छ ।
पहिलेका तीजका गीतमा दुःख–वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दाभन्दै तीज गएको जस्ता कुराहरु मिसाएर गीतका शैली हालेर गाउने गरिन्थ्यो । त्यो बेलाका गीतहरु धुरुधुरु रुने, रुवाउने शैलीमा गाइएका हुन्थे । पहिला–पहिला माइतीको आँगनीमा नाच बरिलै, तीजको रहर आयो बरिलै जस्ता भावना भएका गीतहरु गाउने गरिन्थ्यो । पहिले–पहिले रेडियो टेलिभिजनले पनि यस्तै खालका गीतहरु बढी मात्रामा बजाउने गर्दथे । गायकले भन्दा पनि बढी गायिकाले भाका हालेर तीजका गीत गाएको सुन्न पाइन्थ्यो ।
अहिले तीजका गीतमा व्यापक परिवर्तन आएको पाइन्छ । तीजका गीतलाई फेसनका रुपमा लिन थालिएको छ । तीज भन्नेबित्तिकै रातो सारी लगाएर छमछम माइतीको आँगनीमा नाच्ने भन्ने परम्परा बिस्तारै हराउँदै गएको छ । अहिलेका तीज गीतका शब्दहरुमा अश्लीलताले बढी प्राथमिकता पाउन थालेको छ । गायक–गायिकालाई समेत यस्तै गीत गाउँदा भाइरल भइन्छ भन्ने परेको छ ।
तीजका गीतमा संस्कृतिभन्दा पनि छाडापन मौलाएको छ । यसकै असरले तीजका मौलिक गीतहरु बिस्तारै लोप हुने अवस्थामा पुगेका छन् । दुई–तीन दिन मनाउने तीजलाई महिना दिनअगावैदेखि दर खाने चलन विकृतिको रुपमा बढिरहेको छ । पश्चिमा संस्कृतिको प्रभाव र बढ्दो आधुनिकीकरणले महिलाले भोगेका वेदना र समस्यालाई अभिव्यक्त गर्ने माध्यम बनेको महिलाको तीज पर्वमा अहिले आधुनिक गीत र संगीतमा रमाउन थालेका छन् ।
यसै गरी तीजका बेला नेपाली नारीले माइतीको घरमा भन्दा पनि पार्टी प्यालेस, रेस्टुरेन्ट, दोहोरीसाँझमा अनावश्यक खर्च तडकभडक, धनदौलतको प्रदर्शन गर्न थालेका छन् । विगत केही वर्षदेखि यस्ता ठाउँ रोज्ने क्रम बढेको छ । विगतका तीजमा दरको रूपमा शुद्ध शाकाहारी भोजन ग्रहण गरेर निरहार व्रत बस्ने चलन थियो तर अहिले यो परम्परामा विकृति थपिँदै गएको छ । दर खाने नाममा माछामासुका साथै मादक पदार्थको पनि प्रयोग यदाकदा हुन थालेको छ । दर खाने नाममा आफ्नो शरीरले धान्ने भन्दा बढी मात्रामा खानेकुरा खाँदा कति महिला बिरामीसमेत पर्ने गरेका छन् । अस्वस्थकर खानपानले समेत तीजको व्रतलाई प्रभावित पार्न थालेको छ ।
नाच्नु–गाउनु आफैंमा संस्कृति र सभ्यताको प्रतिविम्ब हो । मनस्थिति उत्साहित बनाउनु जीवनको आवश्यकता हो । तर आफूसँग भएको साधन लुकाएर, आफूसँग छैन भने खोज्न हिँडेर, तीज मनाइएन भने अरुले के भन्लान् भन्ने लोकाचारका नाममा अनावश्यक संकोच, सरम र हीनताबोध मान्नु आफैँमा राम्रो होइन । मानवीय दर्शनको मान्यता छ, हरेक मानिस अध्यात्मवादी पनि हुन्छ । किनकि ऊसँग बुद्धिका साथै विवेक पनि छ । धर्मको सार्थकता भनेको मानिसको मनस्थितिलाई सकारात्मक र सिर्जनशील बनाउँदै एउटा शिष्ट र सामाजिक अनुशासनयुक्त जीवन दिनुमा छ । धर्मको देनमै आउँछन् चार्डपर्वहरू, जसका आधारमा मौलिक संस्कृति विकसित हुन्छ । यिनीहरूको सही अर्थ लगाउँदा चार्डपर्वले उत्प्रेरणा र सिर्जनशीलता बढाउँछन् । गलत अर्थ लगाएर अमल गर्दा मानिस धर्मपीडित हुनसक्छ भन्ने कुरालाई समेत हेक्का राखेर सबैको साझा पर्व तीज मनाउनुपर्छ ।
मानिस जति आधुनिक भए पनि उसले पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि देखासिकी गरी मनाउन थालेको पाइन्छ । यसलाई सकारात्मक रुपमा नै लिनुपर्छ । परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान गर्ने तीज पर्वको अर्काे विशेषता पनि हो । तीजमा गीत संगीतको विशेष महत्व रहन्छ । पहिला महिलाहरू समूहमा भेला भई मादलको तालमा गीत गाएर नाच्ने गर्दथे भने अहिले विद्युतीय उपकरण र साधनको सहायतामा साउन्ड स्पीकरमा आफूलाई मन परेका आधुनिक शैलीका तीजका गीत बजाएर नाच्ने प्रचलन गाउँदेखि शहरसम्म फैलिँदै गएको देख्न पाइन्छ ।
समग्ररूपमा नेपाली समाज र अहिलेको पुस्ता देखासिकी र तडकभडकतर्फ उन्मुख हुन थालेको छ । यो कुराको प्रभाव अरू चाडपर्वभन्दा तीजमा धेरै देखिन्छ । हुनेखानेले पुरानो लुगा र गहनाभन्दा तीज पर्वमा फरक लगाउनुपर्ने के बाध्यता छ, अरूको नक्कल गर्नुपर्ने किन हुन्छ ? आवश्यकभन्दा धेरै भोजभतेर गर्नुपर्ने किन ? यी विषयमा हामीले ध्यान दिनु जरुरी छ । हरेक पर्व र संस्कृतिसँग आर्थिक पक्ष जोडिएको हुन्छ । तीज पनि आर्थिक पक्षबाट अलग हुन सक्दैन । फेसन, गरगहना र भोजभतेरको सन्दर्भ हेर्ने हो भने अहिले तीज सबैभन्दा महँगो पर्वको रुपमा दर्ज हुन थालेको छ ।
यसै गरी हरितालिका तीज केवल व्रत, पूजा, दर, नाचगान र रमाइलो गर्ने पर्व मात्र होइन; यो नेपाली नारीको आस्था, आत्मसम्मान, संघर्ष, पीडा र स्वतन्त्र अभिव्यक्तिसँग जोडिएको जीवन्त सांस्कृतिक विरासत पनि हो । पार्वतीको दृढ संकल्प र तपस्यासँग जोडिएको तीजको धार्मिक पक्षले नारीको इच्छा, साहस र आफ्नो जीवनसाथी रोज्ने अधिकारको प्रतीकात्मक सन्देश दिन्छ भने तीजका मौलिक गीतहरूले पुस्तौँदेखि महिलाले भोग्दै आएका दुःख, पीडा, विभेद र सामाजिक विसंगतिलाई आवाज दिँदै आएका छन् ।
तीजको वास्तविक सौन्दर्य यसको बाहिरी तडकभडकमा होइन, यसको अन्तरनिहित भावना, आत्मीयता, सहअस्तित्व र सांस्कृतिक मौलिकतामा छ । समय परिवर्तनसँगै पर्व मनाउने शैली परिवर्तन हुनु स्वाभाविक हो । आधुनिकता, प्रविधि, नयाँ पुस्ताको रुचि र सामाजिक परिवर्तनलाई अस्वीकार गरेर तीजको संरक्षण सम्भव छैन ।
तर आधुनिकताको नाममा अश्लीलता, अनावश्यक खर्च, देखासिकी, धन–सम्पत्तिको प्रदर्शन, अस्वस्थ खानपान र सांस्कृतिक विकृतिलाई प्रश्रय दिनु पनि तीजको मर्म होइन । तीजलाई कसले कति महँगो कपडा लगायो, कति ठूलो भोज ग¥यो वा कति भव्य कार्यक्रम ग¥यो भन्ने प्रतिस्पर्धाको पर्व बनाउनुको सट्टा यसलाई आत्मीय भेटघाट, पारिवारिक एकता, नारी सम्मान, सामाजिक चेतना र मौलिक संस्कृतिको उत्सव बनाउनु आवश्यक छ ।
अन्त्यमा, हिन्दुनारीहरूको महान् पर्व हरितालिका तीज नारी संघर्षको प्रतीक हो । यसको महत्वलाई बुझेर हाम्रो धर्म, संस्कार र संस्कृतिको मूल्य, मान्यता र तिनीहरूको मौलिकतालाई लोप हुन दिनुहुँदैन । यस पर्वमा हुर्कंदै गरेको भड्किलोपनलाई आजैबाट रोकेर यसको महत्वलाई अझै उँचो पार्दै लान सक्नुपर्दछ अनि मात्र तीज मनाउनुले सार्थकता पाउनेछ ।











प्रतिक्रिया