बिरामीको चाप बढ्दा व्यवस्थापनमा चुनौती

दैनिक १ हजार ७ सयसम्म ओपीडी, ३५० बेड, पूर्वाधार र स्रोतसाधनमा दबाब

1.13k
Shares

जनकपुर ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि आउने बिरामीको संख्या निरन्तर बढ्दै गए पनि त्यसअनुसार बेड, जनशक्ति, पूर्वाधार र आर्थिक स्रोत विस्तार हुन नसक्दा सेवा प्रवाह व्यवस्थापनमा चुनौती थपिएको छ । दैनिक १ हजार ५०० देखि १ हजार ७०० जनासम्म बिरामी ओपीडीमा आउने अस्पतालमा बेड संख्या भने करिब ३०० देखि साढे ३५० सम्म मात्र रहेकाले बिरामीको चाप व्यवस्थापनमा समस्या देखिएको हो ।

अस्पताल निर्देशक डा.जामुन प्रसाद सिंहका अनुसार अस्पताल सर्वसाधारणको प्रत्यक्ष पहुँचमा रहेको प्रमुख स्वास्थ्य सेवा केन्द्र भएकाले बिरामीको चाप स्वाभाविक रूपमा बढी हुन्छ । सेवाप्रतिको विश्वास, सेवा विस्तार तथा अन्य कारणले बिरामीको संख्या बढिरहेको भए पनि त्यसअनुसार पूर्वाधार र स्रोतसाधन विस्तार हुन नसक्दा सेवा प्रवाहमा दबाब परेको उहाँले बताउनुभयो ।

“अस्पतालमा चिकित्सक, एनेस्थेसिस्ट, सर्जन, सहायक स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको भूमिका महत्वपूर्ण छ । तर सेवा प्रवाहमा देखिएका सबै समस्याको जिम्मेवारी अस्पतालभित्रको जनशक्तिलाई मात्र दिन मिल्दैन,” निर्देशकले भन्नुभयो, “अस्पतालको समग्र सेवा प्रणाली, उपलब्ध स्रोतसाधन र बढ्दो बिरामीको चापलाई एकसाथ हेर्न आवश्यक छ ।” जनता बचाउन दक्ष जनशक्ति, उपकरण, भौतिक संरचना हुनुपर्छ । अस्पतालमा सबै भन्दा बढी दबाब आइसियु र एनआईसियु बेड प्राप्तिका लागि आउँछ । हाल आइसियु बेड १० वटा र एनआईसियु बेड ८ वटा रहेको छ । भएको बेड संख्याको अवस्थाको बारेमा अस्पताल व्यवस्थापन तथा संचालन टिमलाई साझा गर्ने गरि दिनमा २ पटक अपडेट गरि समूहमै राख्ने गरिएको छ । बेडनै नभएको ठाउँमा कसरी मिलाउने जसरी पनि मिलाउनुस् म यो दर्जाको मान्छे बोल्दै छु भनेर फोन आउँछ । हाम्रा लागि सबै बिरामी समान हुन । यो अस्पतालको विकासका लागि व्यवस्थित भवन, दक्ष जनशक्ति, आवश्यकता अनुसारको उपकर व्यवस्थापन गर्नु जरुरी छ—डा.जामुन भन्नुहुन्छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, धनुषाका उपकुलपति प्रा.डा. अंकुर शाहले आफू यही अस्पतालमा जन्मिएको र बाल्यकालसमेत यही परिसरमा बिताएकाले अहिले यही संस्थाको सुधार र विकासको जिम्मेवारी पाउनु आफ्ना लागि विशेष दायित्व भएको बताउनुभएको छ । उहाँले “वि.सं. २०३५ सालमा म यही अस्पतालमा जन्मिएको हुँ । अस्पताल परिसरकै जीर्ण अवस्थामा रहेको भवनको एउटा कोठामा बाल्यकाल बिताएको सम्झना अझै ताजा छ । त्यही ठाउँमा अहिले उपकुलपतिको जिम्मेवारी लिएर फर्किन पाउँदा यस संस्थाको सुधार र विकासप्रति मेरो जिम्मेवारी अझ बढेको महसुस गरेको छु । आफू जन्मिएको र हुर्किएको ठाउँलाई सुधार गर्ने अवसरलाई मैले दायित्वका रूपमा लिएको छु । प्रतिष्ठान र अस्पतालको सुधारका लागि जहाँबाट जे–जति साथ र सहयोग प्राप्त हुन्छ, त्यसलाई स्वीकार गर्दै आवश्यक काम अघि बढाउने दृढ इच्छा र उत्साहका साथ आएको छु,” भन्नुभयो ।

अस्पतालको ओपीडी भवन निर्माण गर्दा दैनिक करिब ३५० देखि ४०० बिरामीलाई सेवा दिने क्षमताका आधारमा योजना बनाइएको थियो । तर पछिल्लो समय बिरामीको संख्या त्यसको तुलनामा उल्लेख्य रूपमा बढेको छ । कोभिड–१९ महामारीपछि पनि बिरामीको चाप बढ्दै गएको र उपलब्ध पूर्वाधारले सबैलाई सहज रूपमा सेवा दिन कठिन भइरहेको निर्देशकले बताउनुभयो ।

बिरामीको चापसँगै अस्पतालमा लामो लाइन र सेवा लिन लाग्ने समयसमेत प्रमुख समस्याका रूपमा देखिएको छ । दैनिक आउने बिरामीमध्ये करिब ३० प्रतिशत फलोअपका लागि आउने गरेको अनुमान भए पनि फलोअप बिरामीका लागि व्यवस्थित दर्ता प्रणाली नहुँदा वास्तविक बिरामी संख्या र सेवा उपयोगको तथ्याङ्क व्यवस्थापनमा समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ । यता बिरामीका कुरुवाहरु बस्ने र चिकित्सक, स्वास्थ्यकर्मी बस्ने व्यवस्थित स्थान नभएकोले आकस्मिक अवस्थामा निकै समस्या हुने गरेको उपचारका लागि अस्पताल भर्ना भएका बिरामी र कुरुवाको गुनासो रहेको छ । 

फलोअपमा आउने बिरामीले पुनः टिकट काट्ने, चिकित्सकलाई देखाउने र आवश्यक परीक्षणका लागि पटकपटक लाइन बस्नुपर्ने अवस्था नआओस भन्ने उदेश्यले फलोअपमा आउनेलाई सिधै चिकित्सकसँग भेट्ने व्यवस्था गरेका छौं ।  एउटै बिरामीले फरक–फरक विभागबाट सेवा लिँदा अस्पतालको अभिलेखमा उसको सेवा उपयोगसम्बन्धी विवरण फरक–फरक रूपमा दर्ता हुँदैन । एउटै बिरामी मात्र देखिन्छ । यसले अस्पतालमा आउने वास्तविक बिरामी संख्या तथा सेवा उपयोगको समग्र तथ्याङ्क तयार पार्न कठिनाइ भएको निर्देशकले बताउनुभयो ।

बिरामीलाई सहज सेवा दिने उद्देश्यले केही विभागमा टिकट काट्ने बेलामै कुन–कुन विभाग वा चिकित्सकलाई देखाउनुपर्ने हो भन्ने विवरण समावेश गर्ने अभ्यास गर्नुपर्ने हुन्छ । यसबाट पटकपटक लाइन बस्नुपर्ने समस्या केही कम हुन सक्छ । यस्तो हुन नसक्दा धेरै बिरामी ढिलो गरी अस्पताल पुग्ने वा तोकिएको समयमा सेवा लिन नसक्ने पुनः लाइन बस्नुपर्ने अवस्था कायमै रहेको उहाँले बताउनुभयो ।

टिकट काट्ने, चिकित्सकलाई देखाउने, प्रयोगशाला परीक्षण, एक्सरे तथा अल्ट्रासाउन्डलगायतका सेवामा छुट्टाछुट्टै लाइन बस्नुपर्ने भएकाले बिरामीले उपचारका क्रममा लामो समय खर्चिनुपरेको छ । विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी तथा नियमित फलोअपमा आउने बिरामीलाई यस्तो प्रक्रियाले थप कठिनाइ हुने गरेको अस्पताल प्रशासनको भनाइ छ । यसको सुधारका लागि दक्ष जनशक्ति, उपकरण, भवन, कोठाको अभाव रहेको अस्पताल प्रशासनले जनाएको छ । 
निर्देशक जामुनका अनुसार बिरामीको चाप व्यवस्थापन गर्न सेवा विस्तार मात्रै पर्याप्त हुँदैन । बिरामी दर्ता, फलोअप, विभागगत सेवा र तथ्याङ्क प्रणालीलाई समेत व्यवस्थित बनाउन आवश्यक छ । बिरामीलाई पटकपटक लाइनमा राख्नुपर्ने अवस्था अन्त्य गर्दै सेवा प्रवाहलाई सहज बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उहाँले बताउनुभयो ।

अस्पतालको आर्थिक पक्षसमेत बिरामीको चापसँग जोडिएको छ । ओपीडीमा आउने बिरामीले परीक्षण, औषधि तथा अन्य सेवाबापत शुल्क तिरे पनि त्यसबाट मात्र अस्पतालको सम्पूर्ण खर्च धान्न सम्भव नहुने प्रशासनको भनाइ छ । अस्पतालको एनआईसियुमा राख्नुपर्ने बिरामीका लागि स्वास्थ्य बीमा सेवा सरकारको सुविधामा पर्दैन । भर्ना भएका बिरामीको उपचार, औषधि, नर्स तथा अन्य कर्मचारीको तलब र अस्पताल सञ्चालनका लागि आवश्यक खर्च व्यवस्थापन गर्न थप आर्थिक स्रोत आवश्यक पर्ने उहाँले बताउनुभयो ।

“ओपीडीमा आउने बिरामीको संख्या र अस्पतालमा रहेका बेडको संख्या मात्र हेरेर अस्पतालको वास्तविक सेवा र आर्थिक अवस्थाको मूल्याङ्कन गर्न सकिँदैन,” उहाँले भन्नुभयो, “अस्पतालको समग्र सेवा प्रणाली, बिरामीको चाप, जनशक्ति र उपलब्ध आर्थिक तथा भौतिक स्रोतलाई एकीकृत रूपमा हेर्नुपर्छ ।”
बढ्दो बिरामीको चापलाई व्यवस्थापन गर्न अस्पतालको भौतिक संरचना विस्तारसँगै डिजिटल दर्ता, फलोअप व्यवस्थापन, एकीकृत अभिलेख प्रणाली र सेवा प्रवाहको पुनर्संरचना आवश्यक देखिएको छ । उपलब्ध स्रोतलाई अधिकतम उपयोग गर्दै बिरामीले कम समय र कम झन्झटमा सेवा पाउने व्यवस्था गर्न सके मात्रै बढ्दो चाप व्यवस्थापन गर्न सकिने अस्पताल प्रशासनको निष्कर्ष छ ।