दैनिक १ हजार ७ सयसम्म ओपीडी, ३५० हाराहारी बेड; पूर्वाधार र स्रोतसाधनमा दबाब
जनकपुर ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि आउने बिरामीको संख्या निरन्तर बढ्दै गए पनि त्यसअनुसार बेड, जनशक्ति, पूर्वाधार र आर्थिक स्रोत विस्तार हुन नसक्दा सेवा प्रवाह व्यवस्थापनमा चुनौती थपिएको छ । दैनिक १ हजार ५०० देखि १ हजार ७०० जनासम्म बिरामी ओपीडीमा आउने अस्पतालमा बेड संख्या भने करिब ३०० देखि ३५० सम्म मात्र रहेकाले बिरामीको चाप व्यवस्थापनमा समस्या देखिएको हो ।
अस्पताल निर्देशक डा. जामुनप्रसाद सिंहका अनुसार अस्पताल सर्वसाधारणको प्रत्यक्ष पहुँचमा रहेको प्रमुख स्वास्थ्य सेवा केन्द्र भएकाले बिरामीको चाप बढी हुन्छ । सेवाप्रतिको विश्वास, सेवा विस्तार तथा अन्य कारणले बिरामीको संख्या बढिरहेको भए पनि त्यसअनुसार पूर्वाधार र स्रोतसाधन विस्तार हुन नसक्दा सेवा प्रवाहमा दबाब परेको उहाँले बताउनुभयो ।
‘अस्पतालमा चिकित्सक, एनेस्थेसिस्ट, सर्जन, सहायक स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको भूमिका महत्वपूर्ण छ । तर सेवा प्रवाहमा देखिएका सबै समस्याको जिम्मेवारी अस्पतालभित्रको जनशक्तिलाई मात्र दिन मिल्दैन’, निर्देशकले भन्नुभयो– ‘अस्पतालको समग्र सेवा प्रणाली, उपलब्ध स्रोतसाधन र बढ्दो बिरामीको चापलाई एकसाथ हेर्न आवश्यक छ ।’
उहाँका अनुसार आईसियुमा १० र एनआईसियुमा ८ बेड छन् । बेडको अवस्थाबारे अस्पताल व्यवस्थापन तथा सञ्चालन टोलीलाई दिनमा २ पटक अपडेट गरिन्छ । ‘जनता बचाउन दक्ष जनशक्ति, उपकरण र भौतिक संरचना हुनुपर्छ । अस्पतालमा सबैभन्दा बढी दबाब आईसियु र एनआईसियु बेड प्राप्तिका लागि आउँछ । बेड नै नभएको ठाउँमा कसरी मिलाउने, ‘जसरी पनि मिलाउनुस्, म यो दर्जाको मान्छे बोल्दै छु’ भनेर फोन आउँछ । हाम्रा लागि सबै बिरामी समान हुन् । अस्पतालको विकासका लागि व्यवस्थित भवन, दक्ष जनशक्ति र आवश्यकताअनुसार उपकरण व्यवस्थापन गर्नु जरुरी छ’ –डा. जामुनले भन्नुभयो ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अंकुर शाहले आफू यही अस्पतालमा जन्मिएको र बाल्यकालसमेत यही परिसरमा बिताएकाले संस्थाको सुधार र विकासको जिम्मेवारी पाउनु विशेष दायित्व भएको बताउनुभयो । ‘२०३५ सालमा म यही अस्पतालमा जन्मिएको हुँ । अस्पताल परिसरकै जीर्ण अवस्थामा रहेको भवनको एउटा कोठामा बाल्यकाल बिताएको सम्झना अझै ताजा छ । त्यही ठाउँमा अहिले उपकुलपतिको जिम्मेवारी लिएर फर्किन पाउँदा यस संस्थाको सुधार र विकासप्रति मेरो जिम्मेवारी अझ बढेको महसुस गरेको छु’ –उहाँले भन्नुभयो ।
अस्पतालको ओपीडी भवन दैनिक करिब ३५० देखि ४०० बिरामीलाई सेवा दिने क्षमताका आधारमा निर्माण गरिएको भए पनि पछिल्लो समय बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ । कोभिड–१९ महामारीपछि पनि चाप बढ्दै गएको निर्देशकले बताउनुभयो ।
बिरामीको चापसँगै लामो लाइन र सेवा लिन लाग्ने समय प्रमुख समस्या बनेका छन् । दैनिक आउने बिरामीमध्ये करिब ३० प्रतिशत फलोअपका लागि आउने अनुमान भए पनि व्यवस्थित फलोअप दर्ता प्रणाली नहुँदा वास्तविक बिरामी संख्या र सेवा उपयोगको तथ्यांक व्यवस्थापनमा समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ ।
फलोअप बिरामीले पुनः टिकट काट्ने, चिकित्सकलाई देखाउने र परीक्षणका लागि पटकपटक लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्न सिधै चिकित्सकसँग भेट्ने व्यवस्था गरिएको निर्देशकले बताउनुभयो । टिकट, चिकित्सक, प्रयोगशाला, एक्सरे तथा अल्ट्रासाउन्डका लागि छुट्टाछुट्टै लाइन बस्नुपर्ने भएकाले ज्येष्ठ नागरिक, दीर्घरोगी तथा नियमित फलोअपका बिरामीलाई थप कठिनाइ हुने गरेको छ ।
अस्पतालको आर्थिक पक्षसमेत बिरामीको चापसँग जोडिएको छ । ओपीडी शुल्कबाट मात्र सम्पूर्ण खर्च धान्न सम्भव नहुने र एनआईसियुमा राख्नुपर्ने बिरामीका लागि स्वास्थ्य बीमा सेवा सरकारको सुविधामा नपर्ने प्रशासनले जनाएको छ ।
‘ओपीडीमा आउने बिरामीको संख्या र अस्पतालमा रहेका बेडको संख्या मात्र हेरेर अस्पतालको वास्तविक सेवा र आर्थिक अवस्थाको मूल्यांकन गर्न सकिँदैन’, निर्देशकले भन्नुभयो– ‘अस्पतालको समग्र सेवा प्रणाली, बिरामीको चाप, जनशक्ति र उपलब्ध आर्थिक तथा भौतिक स्रोतलाई एकीकृत रूपमा हेर्नुपर्छ ।’
बढ्दो चाप व्यवस्थापनका लागि भौतिक संरचना विस्तारसँगै डिजिटल दर्ता, फलोअप व्यवस्थापन, एकीकृत अभिलेख प्रणाली र सेवा प्रवाहको पुनर्संरचना आवश्यक देखिएको छ ।











प्रतिक्रिया