तिमोर–लेस्ते ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठक बिहीबार सम्पन्न भएको छ। बैठकले स्वास्थ्यमा समानता कायम गर्ने, स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने तथा विश्वव्यापी स्वास्थ्य पहुँच (यूएचसी) को लक्ष्य हासिल गर्ने दिशामा महत्वपूर्ण निर्णय गरेको छ। चार दिनसम्म चलेको बैठकमा डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रका स्वास्थ्य मन्त्री, उच्च सरकारी अधिकारी तथा सदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी थिए।
बैठकले ‘स्वास्थ्य जनशक्तिसम्बन्धी दिली घोषणापत्र : विशेषज्ञ स्वास्थ्य सेवामा समानता’ पारित गर्नुका साथै चिकित्सा उपकरण, प्रयोगशाला परीक्षण (डायग्नोस्टिक्स) तथा सहायक प्रविधि, स्वास्थ्य संस्थाको उत्थानशीलता, बिरामी तथा रक्त सुरक्षा, दिगो स्वास्थ्य वित्त, क्षयरोग अन्त्य तथा खोपप्रतिको विश्वास र खोपको पहुँच तथा प्रयोगसम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। यसैगरी भाइरल हेपाटाइटिस, एचआईभी तथा यौनरोगसम्बन्धी क्षेत्रीय कार्ययोजनालाई सन् २०३० सम्म विस्तार गर्ने निर्णय भएको छ। डिजिटल स्वास्थ्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा क्षेत्रीय सहकार्यलाई समेत थप मजबुत बनाउने निर्णय बैठकले गरेको छ। विशेषज्ञ स्वास्थ्य सेवामा पहुँचको असमानता अन्त्य गर्ने विषय बैठकको प्रमुख प्राथमिकतामा परेको थियो।
दिली घोषणापत्रले विशेषज्ञ स्वास्थ्य सेवा र दक्ष स्वास्थ्यकर्मीको उपलब्धतामा रहेको भौगोलिक तथा सामाजिक असमानता घटाउन सदस्य राष्ट्रलाई प्रतिबद्ध गराएको छ। घोषणापत्रमा स्वास्थ्य जनशक्तिको समान वितरण, उपलब्धता र दक्षतासँगै प्रभावकारी जनशक्ति योजना तथा स्वास्थ्य प्रणालीको क्षमता अभिवृद्धिलाई जोड दिइएको छ। सदस्य राष्ट्रहरूले सन् २०२७ र २०२९ मा प्रगतिको समीक्षा गर्ने तथा सन् २०३० मा अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने सहमति गरेका छन्।
डिजिटल स्वास्थ्य र एआईमा क्षेत्रीय सञ्जाल डिजिटल स्वास्थ्य तथा कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा सहकार्य विस्तार गर्न दक्षिण–पूर्वी एसिया डिजिटल स्वास्थ्य तथा कृत्रिम बुद्धिमत्ता सहकार्य सञ्जाल (SEA-DAC) स्थापना गर्ने निर्णय भएको छ। सञ्जालमार्फत सदस्य राष्ट्रहरूले डिजिटल स्वास्थ्य तथा एआईसम्बन्धी विशेषज्ञता, अनुभव र व्यावहारिक अभ्यास आदानप्रदान गर्नेछन्। यसले डिजिटल स्वास्थ्य प्रणालीलाई सुदृढ गर्नुका साथै एआईको जिम्मेवार प्रयोगलाई अघि बढाउने अपेक्षा गरिएको छ। डिजिटल स्वास्थ्यसम्बन्धी क्षेत्रीय प्राथमिकतालाई तीव्रता दिन ‘बन्यान फ्रेमवर्क एक्सेलेरेटर’ लगायतका प्रयाससँग समेत यो सञ्जालले सहकार्य गर्नेछ।
चिकित्सा उपकरणमा जीवनचक्र दृष्टिकोण पहिलोपटक चिकित्सा उपकरण, प्रयोगशाला परीक्षणका लागि आवश्यक उपकरण तथा सहायक प्रविधिलाई क्षेत्रीय समितिको छुट्टै कार्यसूचीमा राखिएको थियो। बैठकले यी सामग्रीको पहुँचलाई सम्पूर्ण जीवनचक्रको दृष्टिकोणबाट व्यवस्थापन गर्ने प्रस्ताव पारित गरेको छ। यसमा आवश्यक तथा प्राथमिकताका उपकरणको सूची निर्माण, स्वास्थ्य प्रविधि मूल्यांकन, नियमन, खरिद, जडान, मर्मतसम्भार, आपूर्ति निरन्तरता तथा उपकरण प्रतिस्थापनसम्मका विषय समेटिएका छन्।
सदस्य राष्ट्रले सन् २०२७ सम्म राष्ट्रिय नेतृत्व तथा समन्वय संयन्त्र स्थापना, सन् २०२८ सम्म आधारभूत अवस्थाको मूल्यांकन र सन् २०३० सम्म लागतसहितको कार्यान्वयन योजना तयार गर्नेछन्। उपकरणको सञ्चालन अवस्था, प्रयोगविहीन रहने समय, आपूर्ति अभाव तथा भौगोलिक समानताको समेत नियमित अनुगमन गरिनेछ। विपद् र जलवायुजन्य जोखिमसँग जुध्ने स्वास्थ्य संस्था बाढी, भूकम्प, महामारी, जलवायु परिवर्तनलगायतका विपद्का कारण स्वास्थ्य संस्थामा बढ्दो जोखिमलाई सम्बोधन गर्न स्वास्थ्य संस्थाको उत्थानशीलतासम्बन्धी नयाँ प्रस्ताव पारित भएको छ।
यसअन्तर्गत पानी, ऊर्जा, सरसफाइ, अक्सिजन, सञ्चार तथा स्वास्थ्य सामग्रीको आपूर्तिजस्ता महत्वपूर्ण प्रणालीमा जोखिममा आधारित लगानी गर्न जोड दिइएको छ। जलवायु अनुकूल तथा न्यून कार्बन उत्सर्जन गर्ने स्वास्थ्य संस्था निर्माण, डिजिटल कनेक्टिभिटी, आपत्कालीन तयारी तथा स्वास्थ्य सेवा निरन्तर सञ्चालनलाई समेत प्राथमिकता दिइएको छ।
विशेषगरी साना टापु राष्ट्र, दुर्गम तथा उच्च जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष ध्यान दिन भनिएको छ। बिरामी र रक्त सुरक्षामा जोड बिरामीको सुरक्षा तथा सुरक्षित रगत उपलब्ध गराउने विषयमा पनि सदस्य राष्ट्रहरूले महत्वपूर्ण निर्णय गरेका छन्। देशहरूले स्वास्थ्य सेवा सुरक्षाका लागि सुशासन, कानुनी व्यवस्था, वित्तीय स्रोत तथा जवाफदेहितालाई बलियो बनाउने सहमति गरेका छन्। रक्त व्यवस्थापन प्रणालीबीच समन्वय बढाउने र सुरक्षित रक्त तथा रक्तजन्य सामग्रीमा समान पहुँच सुनिश्चित गर्ने निर्णय पनि भएको छ। बिरामी सुरक्षासम्बन्धी घटना रिपोर्टिङ र त्यसबाट सिक्ने प्रणाली, स्वास्थ्यकर्मीको क्षमता विकास तथा गुणस्तर सुधारलाई अघि बढाउने निर्णय गरिएको छ।
बिरामी सुरक्षा तथा स्वास्थ्य सेवाको गुणस्तरसम्बन्धी सूचक नियमित मापन गरी सार्वजनिक गर्नसमेत प्रोत्साहित गरिएको छ। स्वास्थ्य क्षेत्रमा दिगो वित्तीय स्रोत आवश्यक ‘सबैका लागि स्वास्थ्य’को लक्ष्य हासिल गर्न सदस्य राष्ट्रहरूले दिगो स्वास्थ्य वित्तीय प्रणाली निर्माणमा जोड दिएका छन्। राष्ट्रिय अवस्था र वित्तीय क्षमताअनुसार स्वास्थ्य क्षेत्रमा आन्तरिक लगानी बढाउने, नागरिकको उपचार खर्चबाट हुने आर्थिक जोखिम घटाउने तथा प्राथमिक स्वास्थ्य सेवाका लागि दिगो वित्तीय स्रोत सुनिश्चित गर्न बैठकले आह्वान गरेको छ। स्वास्थ्य क्षेत्रमा खर्चको प्राथमिकता वैज्ञानिक प्रमाणका आधारमा निर्धारण गर्ने, रणनीतिक खरिद प्रणाली लागू गर्ने तथा राष्ट्रिय स्वास्थ्य लेखा र स्वास्थ्य प्रविधि मूल्यांकनलाई आधार बनाउने विषयमा समेत जोड दिइएको छ।
सन् २०३० सम्म क्षयरोग अन्त्य गर्ने प्रतिबद्धता सन् २०३० सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य पूरा गर्न सदस्य राष्ट्रहरूले पुनः प्रतिबद्धता जनाएका छन्। यसका लागि क्षयरोगको छिटो पहिचान, डब्लुएचओले सिफारिस गरेका परीक्षणको विस्तार, सक्रिय बिरामी खोजी तथा रोकथाममा जोड दिइएको छ। औषधि प्रतिरोधी क्षयरोगसहित सबै प्रकारका बिरामीलाई केन्द्रमा राखेर उपचार गर्ने नीति अवलम्बन गर्न भनिएको छ।
क्षयरोग नियन्त्रणका लागि आन्तरिक वित्तीय स्रोत बढाउनुका साथै क्षयरोगबाट प्रभावित व्यक्तिका लागि सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रम विस्तार गर्नसमेत आग्रह गरिएको छ। दादुरा–रुबेला नियन्त्रणमा खोपप्रतिको विश्वास बढाउने दादुरा तथा रुबेला उन्मूलनका लागि खोपप्रतिको विश्वास र खोप लगाउने दर बढाउनुपर्नेमा सदस्य राष्ट्रहरूले जोड दिएका छन्।
खोप सेवामा समान पहुँच सुनिश्चित गर्ने, समुदायसँग प्रभावकारी संवाद गर्ने, खोपसम्बन्धी व्यवहार तथा सामाजिक कारणको निगरानी गर्ने र गलत सूचना पहिचान गरी त्यसको प्रभावकारी प्रतिकार्य गर्ने निर्णय भएको छ। विशेषगरी कुनै पनि खोप नपाएका बालबालिका, खोप छुटेका बालबालिका तथा दुर्गम, सेवा नपुगेका र भौगोलिक रूपमा छरिएका समुदायमा बस्ने नागरिकलाई खोप सेवाको पहुँचमा ल्याउन जोड दिइएको छ। एचआईभी, हेपाटाइटिस र यौनरोगसम्बन्धी योजना २०३० सम्म भाइरल हेपाटाइटिस, एचआईभी तथा यौनरोग नियन्त्रणका लागि एकीकृत क्षेत्रीय कार्ययोजनालाई सन् २०३० सम्म विस्तार गरिएको छ।
विस्तारित कार्ययोजनाले निगरानी तथा तथ्यांक प्रणाली सुदृढ गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्थानीय तहमा परीक्षण तथा उपचारको क्षमता बढाउने, एकीकृत रोकथाम, परीक्षण र उपचार सेवा विस्तार गर्ने विषय समेटेको छ। एचआईभी, सिफिलिस तथा हेपाटाइटिस बी आमाबाट बच्चामा सर्ने क्रम अन्त्य गर्ने प्रयासलाई समेत प्राथमिकता दिइएको छ।
डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकबाट भएका यी निर्णयले स्वास्थ्यमा समानता कायम गर्ने, स्वास्थ्य प्रणालीलाई थप सबल बनाउने तथा ‘सबैका लागि स्वास्थ्य’को लक्ष्यतर्फ क्षेत्रलाई अघि बढाउन महत्वपूर्ण आधार तयार गरेको डब्लुएचओले जनाएको छ। विशेषगरी दुर्गम, टापु, सेवा नपुगेका तथा जोखिममा रहेका समुदायलाई स्वास्थ्य सेवाको मूलधारमा ल्याउन निर्णयहरू केन्द्रित छन्।












प्रतिक्रिया