कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता


काठमाडौँ।

नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मनोनयनमा शर्माले पुष्पराज पौड्याललाई वारेस बनाएर निर्वाचन समितिमा मनोनयन दर्ता गराएका हुन्।

कांग्रेसले विधान संशोधन गर्दै यसैपटकदेखि वरिष्ठ उपसभापति पद थप गरेको हो। शर्माको प्रस्तावकमा झापाका उद्धव थापा र सुनसरीका केदार भण्डारी छन्। समर्थकमा झापाका सुधीर सिवाकोटी र देउकुमार थेवे रहेका छन्।

नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका शर्मा नेविसंघको केन्द्रीय अध्यक्ष, केन्द्रीय प्रवक्ता हुँदै १४औँ महाधिवेशनबाट लोकप्रिय मतसहित महामन्त्रीमा निर्वाचित भएका थिए।

गत विशेष महाधिवेशनबाट उनले उपसभापतिको जिम्मेवारी सम्हालेका थिए।