ती अनन्त भित्रै भएकाले तपाईं जीवित हुनुहुन्छ

564
Shares

कुनै पनि चीजलाई हेर्ने हाम्रो दृष्टिकोण, तरिका कस्तो छ ? हामी यो संसारलाई हेर्छौं, आपूmले आपूmलाई हेर्छौं, आफ्नो परिवारलाई हेर्छौं । हाम्रो चारैतिर भएका अवस्थालाई पनि नियाल्छौँ । आकाशतर्पm हेर्ने हो भने सूर्यलाई पनि देख्न सकिन्छ, चन्द्रमालाई पनि देख्न सकिन्छ । ती चीजलाई देखेर के हामीभित्र कुनै यस्तो प्रेरणा जागृत हुन्छ त– ‘ती कसरी सञ्चालित भएका होलान् ?’

जसरी आमाबुबाले आफ्ना सन्तानलाई पहिचान गर्नुहुन्छ । उनीहरूमा त्यस्तो कुनचाहिँ चीज छ जसले गर्दा तपाईं ‘यो मेरो सन्तान हो’ भनेर चिन्नुहुन्छ । दुईवटा आँखा, एउटा नाक, मुख सबैको छ, आँखा पनि त सबैको छ नै तर यस्तो खास चीजचाहिँ के छ ? यदि त्यस बालकले आफ्नो अनुहारमा कुनै माक्स नै किन नलगाओस् तर उसको आवाजबाट पनि उसलाई चिन्छन् ।

कुरा के हो भने, जुन सारा चीजहरूको संयोजन छ– ‘आँखा, नाक, मुख, आवाज, मानिसको गन्ध, कपाल’ यी सबै चीजलाई हेरेर आमा या बुबाले आफ्नो सन्तानलाई पहिचान गर्दछन् । अनि, यसको ठीक विपरीत जुन बच्चामा यी चीजहरू भेटाउँदैनन्– हजारौँ हजार बच्चालाई हेरिरहँदा पनि आफ्नो बच्चालाई पहिचान गर्न सक्दैनन् । किनकि, त्यतिखेरसम्म आफ्नो बच्चालाई चिन्ने दृष्टिकोण नै आएको हुँदैन । अनि, जबसम्म त्यो दृष्टिकोण हुँदैन तबसम्म आफ्नो बालकलाई पहिचान गर्न सकिँदैन ।

माया बस्दा या प्रेम हुँदा मानिसलाई के लाग्छ भने यो सधैँभरि रहनेछ । तथापि, प्रेम सधैँ रहिरहँदैन, बदलिरहन्छ । यसको अर्थ तपाईंले त्यस प्रेमको कदर नै गर्नुहुन्न भन्ने पनि होइन । कदर त गर्नुहुन्छ तर तपाईंले सोच्नुभएको त्यो प्रेमचाहिँ सधैँभरि रहँदैन । यी सबै कुरा बदलिरहनेछन्, किनभने हामीले त्यस कुरालाई यथार्थमा पहिचान गर्न सकिरहेका हुँदैनौँ ।

धेरै समय पहिलाको कुरा हो । एकजना सन्त थिए । उनले आफ्नी श्रीमतीलाई असाध्यै प्रेम गर्थे । एकदिन उनलाई ससुराली जानुपर्ने काम परेको थियो । बाटामा एउटा नदीलाई पार गरेर जानुपथ्र्यो । अँध्यारो भइसकेको थियो । उनी आफ्नी श्रीमतीलाई भेट्न भनेर जान लागेका थिए । नदीपारि जानका लागि उनले अरू कुनै पनि चीज फेला पार्न सकेनन् । उनले त्यहाँ एउटा डुङ्गा देखे । उनी डुङ्गामा बसेर नदीपारि गए । घरनजिकै पुगेपछि उनलाई लाग्यो– अब यहाँभन्दा माथि कसरी चढूँ ! किनकि उनी सुटुक्क जान चाहन्थे । उनले एउटा रुखमा डोरी बाँधेको देखे । उनी त्यस रुखमा चढेर डोरीको सहायताले एकैचोटि घरको माथिको तल्लामा पुगे । जब श्रीमतीको कोठामा पुगे, तब श्रीमतीले भनिन्, ‘यहाँ के गरिरहनुभएको छ ?’

उनले भने, ‘तिमीले नै त त्यहाँ मैले नदी पार गर्न सकूँ भनेर डुङ्गा राखेकी थियौ । अनि, तिमीले नै त्यो रुखमा डोरी बाँधेर राखेकी थियौ, किनकि तिमी म आउन सकूँ भन्ने चाहन्थ्यौ । अनि फेरि, तिमी यहाँ के गरिरहेको भनेर पो भनिरहकी छ्यौ त !’

पत्नीले भनिन्, ‘मैले त कुनै डोरी बाँधेकी छैन ।’ उनले भने, ‘हिँड, म देखाउँछु ।’ जब हेर्न गए, त्यो त डोरी नभएर सर्प पो रहेछ । त्यसपछि नदी किनारामा जाँदा त्यहाँ पनि डुङ्गा नभएर मूर्दा पो रहेछ । यति देखिसकेपछि उनकी श्रीमतीले भनिन्, ‘तपाईंले मलाई जति प्रेम गर्नुभएको छ, यदि आफ्ना सृष्टिकर्तालाई यसरी प्रेम गर्नुभएको भए कमसेकम तपाईंको जीवन त बदलिने थियो ।’ उनलाई यो कुरा निकै घत प¥यो । त्यसपछि उनले आफ्नो पूरै जीवनलाई भक्तिमा समर्पण गरिदिए ।

बुझ्नुपर्ने कुरा हो । मैले तपाईंलाई वैरागी हुनुहोस् भनेको होइन । तथापि, एउटा प्रेम त्यस अनन्त चीज, ती सृष्टिकर्तासँग पनि गर्नु आवश्यक छ । उनी थिए, छन् र सदैव रहनेछन् । मानिसहरू भन्ने गर्छन्, ‘कहाँ छन् अनन्त ?’ यदि तपाईं तिनलाई देख्न चाहनुहुन्छ, बुझ्न चाहनुहुन्छ भने त्यसका लागि तपाईंले आफ्नो आँखा खोल्नुपर्छ, हृदय खोल्नुपर्छ र बुझ्नुपर्छ । आफ्नो दृष्टिकोणलाई बदल्नुपर्छ । त्यसपश्चात् तिनलाई देख्न सकिन्छ । यद्यपि उनलाई यी आँखाले देखिएकै जसरी भने देख्न सकिँदैन । भित्रको आँखाद्वारा त्यो भावनालाई बोध गर्न सकिन्छ ।
आज सारा समाज सेल्फी फोटो खिच्न व्यस्त भएको छ अनि कतिपय मानिसले त सेल्फी फोटो लिने क्रममा नै मृत्युवरण गर्नुपर्ने बाध्यता भइदिन्छ । यद्यपि, एउटा शब्द छ– ‘अनन्त’ ।

यसलाई चिन्न सकेनन् । ती त त्यतिखेर पनि थिए, जतिखेर यो धर्ती नै थिएन, मानिस नै थिएन । आज यी सबै कुरा छन् तर भोलि जब केही पनि हुनेछैन त्यस बखत पनि उनी रहनेछन् । तर, तिनलाई कसैले पनि चिन्ने कोशिशै गर्दैन ।

संसारमा जुन अवस्था उत्पन्न भइरहेको छ– मानिस एक–अर्कालाई सिध्याउन उद्यत रहेका छन् । के मानिस हुनुको अर्थ यही हो ! यदि मानिसले आफ्नो जीवनमा करुणालाई, त्यो दयालाई बुझेन, चिनेन भने त उसको जीवनको अर्थ नै के रहन्छ ! जबसम्म ती अनन्तलाई चिन्दैनौँ, जो ‘थिए, छन् र रहनेछन्’ । उनैले सबै चीजको निर्माण गरेका छन् । मानिसको जीवनमा दुःख हुन्छ तर दुःखबाटै सबै कामले पूर्णता पाउने होइन । हिम्मतलाई पनि अघि सार्नुपर्ने हुन्छ । किनभने, कसैको जीवनमा समस्या आयो भने उसलाई अभैm समस्या बढाउने खालका मानिस भए भने त्यसको के अर्थ ? उसलाई त यस्तो मानिस चाहिन्छ, जो स्वयं दुःखी नभएर अभैm हिम्मत प्रदान गरी मद्दत गर्न सकोस् । वस्तुतः जो सहयोग गर्न सक्छ, त्यो मानिस मात्रै काम लाग्न सक्छ । जब मानिसलाई समस्याले सताउन थाल्छ, तब ऊ आत्तिन थाल्छ– अब के हुन्छ ! तर तपाईं जब ती सृष्टिकर्ता अर्थात् अनन्तलाई चिन्नुहुन्छ, तब तपाईंका लागि सबैथोक हुन्छ । किनकि, उनी त तपाईंभित्रै भएका कारणले तपाईं जीवित हुनुहुन्छ । अनि, जुन दिन उनी तपाईंभित्र रहँदैनन्, तब तपाईं पनि रहनुहुन्न । यसर्थ सबैभन्दा पहिला उनैसँग नाता गाँस्नुहोस् ।

सृष्टिकर्ताले दुःख पनि राखेका छन् अनि सुख पनि राखेका छन् । दुःख सिर्जना गर्नु आवश्यक हुँदैन । जहाँ सुख हुँदैन, त्यहाँ दुःख हुन्छ । अँध्यारो उत्पन्न गर्न आवश्यकता पर्दैन । मानिसहरूको बुझाइ त के छ भने, सृष्टिकर्ताले नै अँध्यारो बनाएका हुन् । उनले अँध्यारो निर्माण गरेका होइनन् । प्रकाशको रचना गरेका हुन् । अनि, जहाँ प्रकाश हुँदैन त्यहाँ अँध्यारो हुन्छ । अज्ञानता आपैmँमा कुनै चीजै होइन । जहाँ ज्ञान हुँदैन त्यहाँ अज्ञानता हुन्छ । तपाईंको जीवनमा आनन्द छ कि दुःख छ भन्ने कुरा पनि तपाईंमाथि नै निर्भर रहन्छ । मेरो जीवनमा सुख छ कि दुःख छ ! त्यसको जिम्मेवार पनि मै हुँ । ती सृष्टिकर्ता होइनन् । कतिपय मानिस भन्ने गर्छन्, ‘कर्मको फल हो’ । यदि यस्तो हो भने छिटो–छिटो राम्रो–राम्रो काम गर्नुहोस् अनि यो शरीरलाई छोड्नुहोस् !

एकजना त्यस्ता मानिस पनि छन्, जसले यो संसारबाट बिदा हुँदै गर्दा भन्नेछन्, ‘हे सृष्टिकर्ता ! तपाईंलाई लाखौँलाख धन्यवाद !’ अनि, अर्का त्यस्ता पनि छन् र तिनले बिदा हुँदै गर्दा भन्नेछन्, ‘मेरो यो पनि अधुरै रह्यो, त्यो पनि अधुरै रह्यो ।’ जो मानिस आफ्नो बुद्धि–सुद्धी सबैलाई भुलेर मायाका पछि दौडिएको छ, अज्ञानताका पछि दगुरेको हुन्छ नि उसलाई दुःख नै त प्राप्त हुन्छ । कहिले हुन्छ ? अहिले हुन्छ । अनि, कस्तो खालको दुःख हुन्छ त ? उसले आपूmलाई सुखी छु भनेर ठान्दा पनि ऊ दुःखी नै हुन्छ । यस्तो प्रकृतिको दुःखको अनुभव कहिल्यै गर्नुभएको छ ? त्यसमा तपाईंले त ‘म सुखी छु’ भनेर सोच्नुहुन्छ तर दुःख नै भइरहेको हुन्छ ।

जीवित हुनु कति शक्तिशाली कुरा हो । अनि, मृत्यु पनि त कति शक्तिशाली कुरा हो । दुवै कुरा । अनि, यो आइरहेको र गइरहेको श्वासका बीचको समयले सम्पूर्ण मृत्युको परिस्थितिलाई छेकिदिएको छ । तपाईंले आफ्नो श्वासलाई पहिचान गर्न सक्नुभएन । यही श्वासका कारणले नै त तपाईं जीवित हुनुहुन्छ । हामीलाई श्वासको महत्त्व नै थाहा छैन । तपाईं जन्मनुभयो, किनभने श्वास चलिरहेको थियो । तपाईंको नामाकरण पनि भयो । तपाईंले आजसम्म आफ्नो जीवनमा जे–जे गर्नुभयो, त्यो सबै काम गर्नुको मूल कारण नै तपाईंमा श्वास आइरहेको छ । अनि, तपाईंले यो श्वास चलिरहेको समयसम्ममा मात्रै सबै कुरा गर्न सक्नुहुन्छ ।

आइन्स्टाइनले एउटा कुरा भनेका छन्– जे–जे सृजना हुन्छन्, जति पनि सिर्जना गरिएको छ, त्यसको विनाश पनि निश्चित छ । तपाईं जे–जे देखिरहनुभएको छ– तारा, ग्रह सबै कुरा देखिरहनुभएको छ नि ! ती सबैको नष्ट हुने कुरा निश्चित छ । पृथ्वी पनि नष्ट हुनेछ । सबै चीजको अन्त्य हुनेछ । तपाईं त एकदमै थोरै समयका लागि जीवित हुनुहुन्छ । तपाईं पत्र–पत्रिकाहरूतिर हेर्नुहोस्– ‘त्यहाँ यस्तो भइरहेको छ, त्यस्तो भइरहेको छ । त्यहाँ फलानाले यसो गरिदियो, तिनले त्यसो गरे ।’ पूरै पत्रिका पढ्नुभयो भने सत्य कुरा एउटै मात्र हुन्छ– यो जति पनि जथाभावी भइरहेको छ नि, त्यो सबै लालचका कारणले नै भइरहेको छ ।

लोभका बारेमा त कसैले पनि कुराकानी गर्न चाहँदैन तर त्यसैका कारण यी सबै कुरा हुन्छन् र भइरहेको पनि छ । अनि, तपाईं मस्तसँग होसहवासै हराएर अज्ञानताका पछि दगुरिरहनुभएको छ । त्यसलाई नियन्त्रण गरेर जित्नेछु भनेर दगुर्नुभएको छ । तर, होइन । तथापि, तपाईंमा त्यो शक्ति छ । तपाईं बुझ्न सक्नुहुन्छ । त्यसलाई प्रयोग गर्नुहोस् । आफ्नो जीवनलाई सफल बनाउनुहोस् । मौका यही हो । पछि त आखिर धूलो नै बन्नु छ । यो हुन्छ । कहिले हुन्छ ? कसैलाई पनि थाहा छैन ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता डा. प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)