हरेक वर्षको भाद्र कृष्ण औँसी अर्थात् कुशेऔँसीका दिन सनातन धर्मावलम्बीहरूले आ–आफ्ना घरमा पुरोहितद्वारा वा आफैँले नयाँ कुश भित्र्याउने गर्दछन् । हाम्रो समाजमा धेरैलाई लाग्न सक्छ– यो केवल परम्परा र संस्कृति जोगाउने एउटा धार्मिक कृत्य वा कर्मकाण्ड मात्र हो । तर, गहन अध्ययन र प्रयोगशालाहरूमा गरिएका वैज्ञानिक अनुसन्धानहरूले कुशमा विकिरण सोस्ने, जलमा अक्सिजन बढाउने र मानव स्वास्थ्यलाई समेत टेवा पु¥याउने अद्भूत क्षमता रहेको देखाएका छन् ।
सर्वप्रथम पौराणिक पृष्ठभूमिमा कुशको महत्व के छ भन्नेतिर विचार गरौँ । धार्मिक मान्यताअनुसार कुशलाई भगवान् विष्णुको रूप मानिन्छ । स्कन्दपुराणमा उल्लेख भएअनुसार भगवान् विष्णुले दक्षप्रजापतिकी पत्नी विरणीको पतिव्रता धर्म नष्ट गरिदिएका थिए । सोही कृत्यको दण्डस्वरूप विरणीले विष्णुलाई चारवटा श्राप दिइन्, जसमध्ये एउटा श्राप ‘घाँस हुनुपरोस्’ भन्ने थियो । यही पौराणिक मान्यताका आधारमा विष्णुले घाँसरूपी कुशको रूप धारण गर्नुभएको मानिन्छ । सोही कारण हरेक वर्ष कुशेऔँसीमा नयाँ कुश उखेलेर घरको ढोकामाथि सिउरिने र वर्षभरि गरिने धार्मिक तथा पितृ कार्यहरूमा यसको प्रयोग गर्ने परम्परा रहिआएको छ ।
हाम्रा धार्मिक वस्तु र यी वस्तु प्रयोग गरेर गरिने कर्मकाण्डहरुलाई अब धार्मिक मान्यतामा रहेर मात्र जोगाइराख्न सकिने अवस्था छैन । यस्ता वस्तु र कृत्यलाई विज्ञानको कसीमा जोडेर हेर्न थालिएको छ । त्यसैले आज कुशेऔँसीको दिन कुशलाई विज्ञानको कसीमा राखेर यो लेख तयार गरिएको छ ।
कुशबाट जल शुद्धीकरण र अक्सिजन वृद्धि
कुशलाई पानीमा डुबाएर राख्दा जलको गुणस्तरमा क्रान्तिकारी परिवर्तन आउने कुरा वैज्ञानिक परीक्षणबाट प्रमाणित भइसकेको छ । भारतको दापोली अर्बन बैंक सिनियर साइन्स कलेजका बोटानी विभागका सहप्राध्यापक सचिन सखाल्कर र सोही कलेजमा एमएस्सी अध्ययनरत शोधार्थी नैना काम्बलेद्वारा केही वर्षअघि आयुर्वेदका आधारमा कुशको जैविक (बायोलोजिकल) अध्ययन गरी शोधपत्र तयार पारिएको थियो ।
शोधका क्रममा उनीहरूले पानीमा कुश हाल्दा अक्सिजनको मात्रा कति बढ्छ भन्ने पत्ता लगाउन प्रयोगशालामा पहिलो प्रयोग गरे । उनीहरूले कुश नराखेको सामान्य पानीको टाइट्रेसन गरी ब्युरेट रिडिङ टिपोट गरे र त्यसपछि १० दिनसम्म कुश राखिएको पानीको पनि ब्युरेट रिडिङ लिए । विज्ञानको फर्मुला प्रयोग गरेर मापन गर्दा कुश नहालेको पानीमा घुलेको अक्सिजनको मात्रा २.६८ ग्राम प्रतिलिटर पाइयो भने १० दिनसम्म कुश राखिएको पानीमा अक्सिजनको मात्रा बढेर १९.०४ ग्राम प्रतिलिटर पुगेको देखियो ।
यस परीक्षणले कुश राखेको पानीमा अक्सिजनको मात्रा झन्डै ७०० प्रतिशत (लगभग ७ गुणा) ले वृद्धि हुने तथ्य स्थापित ग¥यो ।
अक्सिजनयुक्त पानीको सेवन मानव स्वास्थ्यका लागि अत्यन्तै लाभदायक हुने भएकाले नै हिन्दू परम्परामा जलसँगै कुशको प्रयोग अनिवार्य गरिएको हो । वर्तमान समयमा खानेपानी उत्पादक कम्पनीहरूले समेत कुशको प्रयोग गरी पानीमा अक्सिजनको मात्रा बढाउन सक्ने सम्भावना यस अनुसन्धानले देखाएको छ ।
विकिरण सोस्ने क्षमता
कुशमा वातावरणमा रहेका हानिकारक परावैजनी किरण तथा विकिरणहरू शोषण गरेर लिने उच्च क्षमता हुन्छ । भारतका चिकित्सक डा. सदाशिव रावले गरेको एक प्रत्यक्ष क्लिनिकल प्रयोगले यो तथ्यलाई प्रमाणीकरण गरेको छ । भारतका एक जिज्ञासु व्यक्तिले आफ्ना बाबुबाट कुशको विकिरण शोषक क्षमताका बारेमा सुनेका थिए र सो कुरा डा. रावलार्ई बताए । शुरुमा विश्वास नगरेका डा. रावले यसलाई प्रयोगशालामा जाँच्ने अठोट गरे ।
डा. रावले आफ्नै हातमा एक मुठो कुश बेरेर सहयोगीलाई सो हातको एक्स–रे गराउन लगाए । एक्स–रेको नतिजा आउँदा सबै आश्चर्यचकित भए– एक्स–रेबाट निस्कने हानिकारक विकिरणमध्ये ६० प्रतिशत विकिरण त कुशले नै सोसेर लिइदिएको थियो । यस प्रयोगपछि डा. राव पनि कुशको विकिरण सोस्ने क्षमताप्रति पूर्ण विश्वस्त बने ।
हाम्रो संस्कृतिमा ग्रहण लागेको समयमा पानी तथा अन्य खाद्यपदार्थमा कुश डुबाउने वा ढाक्ने परम्परा छ । ग्रहणका बेला वायुमण्डलमा आउने दूषित परावैजनी किरणहरू खानेकुरा र पानीमा घोलिन नदिन कुशले ढालको रूपमा काम गर्दै ती विकिरणहरू आफैँमा सोसेर लिन्छ । तर, यो वैज्ञानिक प्रक्रियालाई केवल परम्परागत अन्धविश्वासका रूपमा मात्र बुझिँदा यसको वास्तविक महत्व ओझेलमा पर्दै गएको छ ।
सुचालन क्षमता, फ्री आयोन्स र एन्टिअक्सिडेन्ट गुण
अक्सिजन वृद्धिको प्रयोग सफल भएपछि अनुसन्धानकर्ता सचिन सखाल्कर र नैना काम्बलेले कुशको सुचालन क्षमता मापन गर्न ‘कन्डक्टिभिटी टेस्ट’ नामक दोस्रो प्रयोग गरे । उनीहरूले १ ग्राम कुशका टुक्रा पिसेर पानीमा घोले र सिरियल डिलुसनको विधिबाट १ मिलिलिटर घोललाई ९ मिलिलिटर डिस्टिल्ड वाटर भएका विभिन्न टेस्ट ट्युबहरूमा हालेर कन्डक्टोमिटरबाट मापन गरे ।
यस प्रयोगबाट कुश राखिएको पानीमा उच्च सुचालन क्षमता पाइयो । अध्ययनअनुसार कुश मिश्रित पानीमा फ्री आयोन्सहरू उत्पन्न हुन्छन्, जसले मानव शरीरको शुद्धीकरण (प्युरिफिकेसन) गर्न मद्दत गर्छन् । यसै गरी उनीहरूले गरेको एन्टिअक्सिडेन्ट परीक्षणमा कुशको मात्रा र इन्कुबेसन अवधि बढाउँदै जाँदा पानीमा एन्टिअक्सिडेन्ट गुण पनि सोही अनुपातमा वृद्धि हुँदै गएको पुष्टि भयो ।
फोनेटिक भाइब्रेसन, संस्कृत मन्त्र र जैविक उपचार
कुशको अर्को मुख्य विशेषता भनेको यसको टुप्पोमा ध्वन्यात्मक कम्पन (फोनेटिक भाइब्रेसन) सुचालन गर्ने विशिष्ट क्षमता हुनु हो । संस्कृत भाषाका शब्दहरू फोनेटिक साउन्ड (ध्वनि तरंग) मा आधारित हुन्छन् । त्यसैले स्पष्ट उच्चारणका साथ संस्कृत मन्त्र पढ्दै कुशको टुप्पो पानीमा चोबेर सिञ्चन गर्दा वातावरण र मानव शरीरमा सकारात्मक जैविक तरङ्गहरू प्रवाह हुन्छन् ।
मुटुरोग विशेषज्ञ एवं फिजिसियन डा. हरिहर खनालका अनुसार बोली र ध्वनिमा निश्चित फ्रिक्वेन्सी वा कम्पन हुन्छ, जसको उच्चतम उपयोगबाट ऊर्जा पैदा हुन्छ । प्राचीन ऋषिमुनिहरूले मन्त्रको ध्वनि शक्तिबाटै ठोस वस्तु पगाल्ने वा रोग निको पार्ने गर्दथे । वैज्ञानिक डा. जेन्नीले स्वस्थ र बिरामी व्यक्तिमा फरक–फरक ध्वनि कम्पन हुने व्याख्या गरेका छन्, जसकै आधारमा आधुनिक चिकित्सामा ‘साउन्ड थेरापी’ र बायो–थेरापीको विकास भएको हो ।
भिजेको कुशमा सुकेको कुशको तुलनामा फोनेटिक भाइब्रेसन सुचालन गर्ने र विकिरण सोस्ने क्षमता अझ बढी हुन्छ । यसै कारण होटल, रेस्टुरेन्ट वा स्वागत कक्षमा तामाको भाँडामा पानी राखी टुप्पोसहितको हरियो कुश डुबाएर राख्दा त्यहाँको वातावरण अत्यन्तै स्वच्छ, पवित्र र शीतल रहन्छ ।
चुम्बकीय प्रभाव, कुशको औँठी र कुशासनको महत्व
कुशमा प्राकृतिक चुम्बकीय शक्तिसमेत विद्यमान हुन्छ । संस्कृत ग्राम कालिञ्चोक, दोलखाका पण्डित रामप्रसाद सुवेदीका अनुसार धार्मिक तथा पितृकार्यमा औँलामा कुशको पवित्र (औँठी) धारण गर्दा यसको चुम्बकीय प्रभावले शरीरमा रक्तसञ्चारलाई सहज बनाउँछ र मानसिक तरङ्गहरूलाई शान्त बनाई शरीर स्वच्छ राख्छ ।
यसै गरी, धार्मिक कार्य गर्दा सुकेको कुशबाट बनेको आसन (कुशासन) मा बस्ने नियम छ । कुशासनमा बस्दा मानव शरीरमा उत्पन्न हुने जैविक ऊर्जा जमिनतिर डिस्चार्ज वा अर्थिङ हुन पाउँदैन । यसले गर्दा मस्तिष्क क्षमता, बुद्धि र मानसिक एकाग्रतामा वृद्धि हुन्छ । कुशले शरीरमा शीतलता प्रदान गर्ने भएकाले मानसिक स्वस्थता कायम रहन्छ । पौराणिक कथनअनुसार भगवान् बुद्धले समेत कुशकै आसनमा बसेर ध्यान गरी बुद्धत्व प्राप्त गर्नुभएको थियो ।
एसिड निस्तेज गर्ने क्षमता
कुशमा एसिड वा अम्लीयतालाई निस्तेज गर्ने अद्भूत रासायनिक क्षमता हुन्छ । कोभिड–१९ को लकडाउनका बेला हाल कौशलटार, भक्तपुर निवासी पण्डित हरिहर न्यौपानेले हरियो कुश हालेर तताएको दूध नफाट्ने अनुभव सुनाएपछि म लेखक स्वयंले यसको व्यावहारिक प्रयोग गरेको थिएँ ।
यस प्रयोगका क्रममा आधा लिटर दूध ल्याएर यसलाई तताउनुअघि त्यसमा दुई थोपा कागतीको रस निचोरियो । कागती परेकाले दूध फाट्ने निश्चित थियो, तर लगत्तै हरियो कुशका २–४ वटा टुक्रा हालेर दूध तताउँदा दूध अलिकति पनि फाटेन । यस प्रत्यक्ष प्रयोगले कुशमा अम्लीयतालाई पूरै निष्प्रभाव बनाइदिने शक्ति रहेको अकाट्य रूपमा पुष्टि ग¥यो ।
औषधीय क्षमता र वातावरणीय सुरक्षा
आयुर्वेद विज्ञ डा. बीपी तिमल्सिनाका अनुसार कुशमा ९ वटा महत्वपूर्ण रासायनिक तत्वहरू पाइन्छन् । यसमा १.६ प्रतिशत इथरका साथै प्याक्टोज, सेलुलोज, फाइबर, नाइट्रोजन, क्रुट प्रोटिनजस्ता तत्वहरू हुन्छन् । कुशमा रहेको प्याक्टोज १५ दिन नियमित सेवन गर्ने हो भने हाड खिइने समस्यामा उल्लेख्य सुधार आउने कुरा डा. तिमल्सिनाले एक अन्तर्वार्तामा बताउनुभएको छ ।
नियमित कुशासनमा बस्नाले वा कुशको स्पर्शमा रहनाले उच्च रक्तचाप, प्रोस्टेट, दाँत र कपाल झर्ने समस्या, पिसाबको सङ्क्रमण, बाथरोग, मिर्गौलाको समस्या र पिनासबाट जोगिन सकिन्छ भन्ने गरिन्छ । यति मात्र होइन, कुशमा विद्युतीय दुष्प्रभाव निस्तेज गर्ने क्षमता हुने भएकाले ढोकामाथि कुश सिउरिएको घरमा चट्याङ पर्ने जोखिम हुँदैन । बाहिर करेन्ट वा विद्युतीय झटका लागेर झस्किएको व्यक्ति घरभित्र पस्दा ढोकामाथिको कुशको प्रभावले सामान्य अवस्थामा फर्कने विश्वास गरिन्छ ।
हाम्रा पूर्वजहरूले कुशेऔँसीका दिन घरमा कुश भित्र्याउने जुन परम्परा बसाले, त्यो केवल अन्धविश्वास वा कर्मकाण्ड मात्र थिएन । आधुनिक विज्ञान, भौतिकशास्त्र र रसायनशास्त्रका विविध प्रयोगहरूले कुशलाई एक विकिरण शोषक, अक्सिजन बढाउने प्राकृतिक स्रोत, वातावरण शोधक र औषधिजन्य वनस्पतिको रूपमा प्रमाणित गरेका छन् । तसर्थ, कुशेऔँसीको पावन अवसरमा कुशको धार्मिक आस्थालाई सम्मान गर्दै यसभित्र लुकेको वैज्ञानिक महत्वलाई बुझ्न र प्रयोगमा ल्याउन सके मात्र हाम्रा मौलिक परम्पराहरूको वास्तविक संरक्षण हुनेछ ।












प्रतिक्रिया