काठमाडौं,
सामाजिक सञ्जालमा अहिले एआईको सहयोगमा पुरानो दशकको लुकमा तस्वीर बनाउने ट्रेन्डले व्यापक चर्चा पाइरहेको छ। सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले आफ्ना तस्वीरलाई रेट्रो शैलीमा रूपान्तरण गरेर सामाजिक सञ्जालमा शेयर गरिरहेका छन्। विशेषगरी ८० र ९० को दशकको फेसन, हेयरस्टाइल, रंगीन पोसाक, पुरानो क्यामेराको फिल्म ग्रेन र न्यानो प्रकाशसहितका तस्वीरले प्रयोगकर्ताको ध्यान तानेका छन्।
नेपालमा पनि कलाकारहरूले यस्ता रेट्रो लुकका तस्वीर शेयर गर्दै ट्रेन्डमा रमाइरहेका छन्। सर्वसाधारणसँगै सेलिब्रेटीहरू पनि यो ट्रेन्डमा सहभागी भइरहेका छन्। नेपालमा समेत कलाकारहरूले आफ्नो तस्वीरलाई पुरानो दशकको लुकमा प्रस्तुत गर्दै सामाजिक सञ्जालमा शेयर गरिरहेका छन्। श्वेता खड्का, वर्षा राउत, सुरक्षा पन्तलगायतका कलाकारका रेट्रो शैलीका तस्वीरले पनि दर्शकको ध्यान तानेका छन्। उनीहरूले फरक समयको लुकमा आफूलाई हेर्न पाउँदा रमाइलो लागेको भावसहित तस्वीर शेयर गरिरहेका छन्।
एआईको विशेषता भनेको प्रयोगकर्ताले आफ्नो मौलिक तस्वीर अपलोड गरेर आफूलाई मनपर्ने दशक, पोसाक, कपाल, पृष्ठभूमि र फोटोको शैलीबारे निर्देशन दिन सक्नु हो। त्यसपछि एआईले अनुहारको पहिचान कायम राख्दै तस्वीरलाई पुरानो समयको स्टुडियो फोटो वा फिल्मी दृश्यजस्तो देखिने गरी पुनः तयार गर्न सक्छ।
यसरी तयार भएका तस्वीर फेसबुक, इन्स्टाग्राम र एक्सजस्ता सामाजिक सञ्जालमा तीव्र रूपमा शेयर भइरहेका छन्। पुरानो पुस्ताको सम्झना र नयाँ पुस्ताको जिज्ञासालाई एकैपटक जोड्ने भएकाले पनि यो एआई फोटो ट्रेन्डले छोटो समयमै ठूलो लोकप्रियता हासिल गरेको देखिन्छ।
कसरी बनाउने रेट्रो फोटो ?
रेट्रो फोटो बनाउन च्याटजीपीटीमा आफ्नो स्पष्ट फोटो अपलोड गर्नुपर्छ। त्यसपछि आफूले चाहेको दशक, पोसाक, कपाल, पृष्ठभूमि, प्रकाश र फोटोको वातावरणबारे स्पष्ट निर्देशन दिन सकिन्छ। पहिलो तस्वीर मन नपरेमा त्यसैमा थप निर्देशन दिएर आवश्यक परिवर्तन पनि गर्न सकिन्छ।
उदाहरणका लागि यस्तो प्रॉम्प्ट प्रयोग गर्न सकिन्छ :
“मैले अपलोड गरेको तस्वीरलाई १९८० को दशकमा खिचिएको वास्तविक भारतीय/नेपाली स्टुडियो पोर्ट्रेटजस्तो बनाउनुहोस्। मेरो अनुहार, पहिचान, अनुहारका विशेषता र प्राकृतिक छालाको रङ यथावत् राख्नुहोस्। ८० को दशकको फेसनअनुसार पोसाक, हेयरस्टाइल र गहना परिवर्तन गर्नुहोस्। न्यानो स्टुडियो प्रकाश, सफ्ट फोकस, हल्का एनालग फिल्म ग्रेन र अलिकति फिक्का तर प्राकृतिक रङ प्रयोग गर्नुहोस्। तस्वीरमा आधुनिक डिजिटल फोटोको अनुभूति नहोस्। यो फोटो वास्तविक रूपमा १९८० को दशकमा फिल्म क्यामेराले खिचिएको जस्तो देखियोस्।”
९० को दशकको लुक चाहनेले प्रॉम्प्टमा ‘१९८०’ को स्थानमा ‘१९९०’ राखेर त्यसअनुसारको फेसन, हेयरस्टाइल, मेकअप र पृष्ठभूमि उल्लेख गर्न सक्छन्।












प्रतिक्रिया