सगरमाथाको शिखरमा पुग्नेहरूको नाम इतिहासले सजिलै सम्झन्छ । तर, ती शिखरको फेदमा बस्ने मानिसका लागि अस्पताल, विद्यालय र पुल बनाइदिनेहरूलाई कसले सम्झेका होलान त । न्युजिल्यान्डका नेभिल वुडरसन यस्तै एक नाम हुन्, जसले जीवनभर हिमाल चढेनन्, तर हिमालका मानिसको जीवन सहज बनाउन आफ्नो सारा सीप र पसिना खर्चिए । र मृत्युपछि पनि उनी त्यही हिमालमा फर्किए ।
सन् १९३० को विश्वव्यापी आर्थिक मन्दीका बेला न्युजिल्यान्डको ओकाउइयामा जन्मिएका नेभिलको बाल्यकाल गाई दुहुने गोठमा बित्यो । उनी न विश्वप्रसिद्ध आरोही थिए, न कुनै ठूलो पदका धनी । पेशाले साधारण तर अत्यन्त निपुण प्लम्बर । तर, उनको हृदयको आकार भने कुनै पदले नाप्न नसकिने थियो । साथै उनी निडर मोटरसाइकल रेसर पनि थिए । सन् १९५३ मा संसारकै सबैभन्दा खतरनाक दौडमध्ये गनिने ‘आइल अफ म्यान टीटी’ मा सहभागी हुनेले जीवनको गति र जोखिम दुवैलाई उत्तिकै माया गर्थे । एउटा मानिस, दुई संसार । एकातिर इन्जिनको गर्जन, अर्कातिर हिमालको मौनता ।
सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पासँग सगरमाथा चढेपछि सर एडमन्ड हिलारीले आफ्ना शेर्पा मित्रहरूको ऋण तिर्ने बाटो रोजे । ती थिए, विद्यालय, अस्पताल, पुल र खानेपानीको ब्यवस्था । त्यही अभियानमा हिलारीका विश्वासिला साथी बनेर जोडिए नेभिल । सन् १९६६ को अक्टोबरमा खुम्दे अस्पताल निर्माण सुरु हुँदा उनी डा. जोन म्याकिनन र डायन म्याकिननसँगै सोलुखुम्बु पुगे । कल्पना गर्नुहोस्, त्यो समय न सडक थियो, न सजिलो ढुवानी । न्युजिल्यान्ड र भारतबाट ल्याइएका सामग्री भरिया र याकको पिठ्युँमा चिप्लो उकालो हुँदै पु¥याउनुपथ्र्यो । मुसलधारे वर्षा, लेक लाग्ने पीडा र हाड कठ्याँग्रिने चिसोबीच नेभिलले हिलारीसँग काँधमा काँध मिलाएर ढुंगा, काठ र फलाम जोडे । आज सयौँ बिरामीले उपचार पाउने त्यो अस्पतालको भित्तामा उनको पसिना मिसिएको छ ।

उनको माया एकपटकको यात्रामा सीमित रहेन । सन् १९६६ देखि २००० सम्मको ३४ वर्षमा उनी सातपटक नेपाल फर्किए । हरेक पटक खुम्जुङ र वरपरका गाउँमा विद्यालय भवन, झोलुङ्गे पुल, स्वच्छ खानेपानीका धारा र सौर्य ऊर्जा प्रणाली जडान गरे । उनका लागि नेपाल हेर्ने ठाउँ मात्रै थिएन । बाँच्ने र सेवा गर्ने कर्मभूमि पनि थियो । विदेशी भूमिमा भेटिएको दोस्रो घर बन्यो नेपाल ।
सन् २०१९ मा ९० वर्षको उमेरमा नेभिलले संसार छोडे । तर, कथा यतिमै टुंगिएन । परिवारले उनको जीवनका दुई सबैभन्दा प्यारा ठाउँलाई सम्मान गर्ने निर्णय ग¥यो । अस्तुको एक भाग मोटरसाइकल रेसिङको ऐतिहासिक थल आइल अफ म्यानको ‘ब्रे हिल’ मा छरियो । बाँकी भाग नेपालको हिमाली काखमा विसर्जन गर्ने संकल्प भयो । यो भावनात्मक जिम्मेवारी उनका ३२ वर्षीय नाति लेभी शेहानको काँधमा आयो । जो न्युजिल्यान्डको ‘डेथ मेटल’ ब्यान्ड ‘अर्गानेक्टोमी’ का ड्रमर हुन् । रोचक कुरा, सुरुमा लेभीलाई हजुरबुबा हिलारीका साथी हुन् भन्ने मात्र थाहा थियो । नेपालमा उनले गरेको योगदानको गहिराइ उनले पछि मात्र बुझे । हजुरबुबाका डायरी पल्टाउँदै जाँदा भित्र हुटहुटी जाग्यो । अनि यो विरासतसँग जोडिनै पर्छ भन्ने लाग्यो ।
त्यही हुटहुटी बोकेर सन् २०२६ मा खुम्दे अस्पतालको ६०औँ वार्षिकोत्सवमा लेभी सगरमाथा आधार शिविरतर्फको पदयात्रामा निस्किए । साथमा थिए सर एडमन्डका छोरा पिटर हिलारी, न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्क र हिमालयन ट्रस्टका सदस्यहरू । संगीत भ्रमणको व्यस्ततामाझ हजुरबुबाले हिँडेकै गोरेटामा पाइला राख्नु उनका लागि तीर्थयात्रा नै थियो । अनि एक दिन, खुम्दे अस्पताल स्पष्ट देखिने शान्त डाँडाको धारमा उभिएर उनले हजुरबुबाको अस्तु हिमाली हावामा उडाए । जुन अस्पताल उनले आफ्ना हातले उठाएका थिए, त्यसैलाई हेर्दै उनी सदाका लागि हिमालको काखमा विलीन भए । योसँगै एउटा चक्र पनि पूरा भयो ।
यसले हामीलाई गहिरो पाठ सिकाउँछ । योगदानको मूल्य कति धन कमाइयो वा कति ठूलो पद पाइयो भन्ने कुराले होइन, आफ्नो समय, सीप र हृदयको कति हिस्सा अरूको मुस्कानका लागि दिइयो भन्नेले निर्धारण गर्छ । एक साधारण प्लम्बरले देखाइदियो कि महानता पदमा होइन, कर्ममा बस्छ भनेर । नेभिल नेपालमा जन्मिएनन्, तर नेपालले उनलाई आफ्नै सन्तान झैं सम्झिनेछ । आज उनको शरीर छैन, तर खुम्बुको हावामा, अस्पतालको भित्तामा र शेर्पा गाउँका हरेक धाराको पानीमा उनको स्मृति बगिरहेको छ । सगरमाथाको आँगनमा उनले अन्ततः आफ्नो अनन्त घर पाए ।











प्रतिक्रिया