
पोखरा । जेनजी आन्दोलन भएको एक वर्ष पुगेपछि पोखरामा गम्भीर घाइते भएकाहरु भेला भए । एक वर्षअघि आन्दोलन शुरु गरिएको सभागृहअघि उनीहरु भेला भएका हुन् । पोखरा सभागृहअघि जेनजी दिवस मनाइरहेका उनीहरु राज्यप्रति भने बेखुशी देखिएका छन् । पोखरामा जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते हुन पुगेका घाइतेहरुले राज्यबाट पाउनुपर्ने सुविधा अहिलेसम्म पनि नपाएको भन्दै गुनासो गरिरहँदा जेनजीहरुले भने सरकारले आन्दोलनको बलमा सरकार बनाए पनि आन्दोलनको मुद्दालाई बिर्सिएको सुनाए ।
जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदासमेत आफूहरुले राज्यबाट न्यायको अनुभूति गर्न नपाएको र सरकार काठमाडौं केन्द्रित मात्रै भएको उनीहरुको गुनासो छ । गतवर्षको आन्दोलनमा पोखरामा ३ जनाको मृत्यु भएको थियो भने ५६ जना घाइते भएका थिए । जसमध्ये ५ जना गम्भीर घाइते भएका थिए । जसमध्ये ढकबहादुर नेपाली अझै पनि आईसीयुमै उपचाररत छन् । यस्तै रमेश शर्मा, अनीश सापकोटा, चोकबहादुर गुरुङ र विवश घर्ती मगर गम्भीर घाइते भएका थिए । उनीहरुले एक वर्षअघि आन्दोलन शुरु गरेकै स्थान पोखरा सभागृहबाट राज्यलाई पुनः पुकारेका छन् । सुशासन र भ्रष्टाचारविरुद्ध भएको त्यो आन्दोलनमा अनाहकमा राज्यको दमनबाट घाइते हुँदा न त उनीहरुले रोजगार गर्न सकेका छन्, न त राज्यले उचित सम्बोधन नै ।
घाइते चोकबहादुर गुरुङ अहिले एउटा आँखा देख्दैनन् । राज्यबाट पाउने सुविधा नपाएको गुनासो गर्दै पोखराको आन्दोलनप्रति समेत राज्य उदासीन भएको उनले सुनाए । ‘महानगरपालिका अघि म घाइते भएको हुँ । फिस्टेलमा तत्काल उपचार हुँदा मेरो आँखाले देख्दैन भन्नुभयो । पछि आँखा अस्पताल जाँदा राम्रोसँग उपचार भएन । पछि मेरो उपचार निःशुल्क हुँदैन भनेर भन्नुभयो, अहिलेसम्म आफैँले उपचार गराइराखेको छु’, उनले भने, ‘परिवारको अवस्था कमजोर छ । आफैँले होटलमा काम गरेर उपचार गराइरोखको छु । सरकारले केही हेरेको छैन ।’ सरकारबाट केही नहुने भएपछि उनी बोल्न छाडिसकेका छन् । उनले ३ महिनामा २७ हजार रुपैयाँ मात्रै सरकारको सहयोग प्राप्त गरेको सुनाए ।
अर्का घाइते ढकबहादुर नेपाली अहिले पनि अस्पतालको आईसीयुमा छन् । उनकी दिदी लक्ष्मी नेपालीले भाइको उपचार भइरहेको बताउँदै अवस्था अझै पनि उस्तै रहेको सुनाइन् । अहिले उनको माग भनेको घर जाने र राष्ट्रिय परिचयपत्र बनाउने हो । जिल्ला प्रशासन कार्यालय कास्कीमा सो माग राखेको र त्यहाँबाट प्रतिनिधि आउने भनिए पनि अहिलेसम्म नआउँदा पाउने सुविधाहरुबाट वञ्चित भइरहेका छन् ।
‘राष्ट्रिय परिचयपत्रकै कारण धेरै काम रोकिएका छन् । भाइ आफैँले सास फेर्न सक्दैन, उसका लागि मेडिकलका सामानहरु आवश्यक छ । हामी घर जान चाहान्छौं तर ती सबै किन्ने हाम्रो क्षमता छैन,’ उनले भनिन्, ‘हामीलाई राज्यले ती सुविधाहरु दिए अस्पतालबाट घर जाने थियौं ।’
यस्तै अनिश सापकोटाको देब्रे आँखाको मुनिको जोर्नी पुरै भाँच्चिएको थियो ।
अहिलेसम्म अप्रेसन गर्नका लागि उनी भौंतारिरहेका छन् । उनकी आमा अम्बिकाका अनुसार अप्रेसनका लागि ठूलो रकम लाग्ने र आफूले त्यो रकम दिन सक्ने अवस्था छैन । ‘आँखाको जोर्नी तल झरिसकेको छ । अप्रेसन गर्न भौंतारिएको छु । धेरै रकम लाग्छ भनेका छन् । मैले कहाँबाट ल्याउने ? छोराहरुको नागरिकता पनि छैन । राज्यबाट पाउनुपर्ने सुविधा पनि पाउन सकिरहेका छैनन् । यसमा राज्यले हेरिदिनुप¥यो’, उनले भनिन् ।
उनको समस्या अहिले छोराहरुको नागरिकतामा हो । श्रीमान्ले सानैमा छाडेर गएका कारण अहिले निकै समस्यामा परिरहेको उनी बताउँछिन् । नागरिकता नहुँदा घाइते भएपछि पाउनुपर्ने सुविधाहरुबाट समेत अनिश वञ्चित भएका छन् ।
जेनजी अभियन्ता सुवानी पौडेल जेनजीको रगतमा टेकेर सांसद बनेका जेनजीहरुले अहिले बाटो बिराएको सुनाउँछन् । जुन उद्देश्यका लागि आफूहरु लडेको हो, त्यो उद्देश्य पूरा नभएको उनको गुनासो छ । ‘सुशासनसँगै भ्रष्टाचारविरुद्ध हामीले आन्दोलन गरेका थियौं तर अहिलेसम्म ती केही पनि पूरा भएका छैनन् । घाइते भएका जेनजीले सुविधा पाएका छैनन् । शहीद भएकाले सम्मान पाएका छैनन्’, उनले भनिन्, ‘थुनुवा जेनजीको मुद्दा सुनुवाइ भएको छैन । गृहमन्त्रीले केस हेर्दै छौं भन्छन्, केही भएको छैन । वास्तविक जेनजी सडकमा, रगतमा टेकेर सांसदमा पुगेका जेनजीले पछि फर्केर हेर्दा पनि हेरेनन् । सडकबाट सदनमा पुगे, आफ्नो स्वार्थ पूरा गरे ।’
जेनजी कास्कीका संयोजक सरोज पराजुलीले जेनजीको मुद्दा सडकमा पुगे पनि सदनमा भने पुग्न नसकेको बताए । अझै पनि आन्दोलनले सार्थकता नपाएको उनको भनाइ छ । ‘आन्दोलनपछि जसरी सरकार बन्यो र एक्सनमा गएर पक्राउ पनि ग¥यो तर के भयो, अहिले बिर्सिएको छ । सरकारले काम गरिरहेको छ तर धेरै गर्न बाँकी रहेको छ । सरकार केन्द्रीकृत भएको हो कि भन्ने लागेको छ । किनभने पोखराका घाइते जेनजीको मुद्दा उस्तै छ’, उनले भने, ‘कतिले अझै पनि मासिक पाउनुपर्ने भत्ता पाइरहेका छैनन् । अझै पनि नागरिकता पाइराहेको छैन । राज्यले ह्विलचियरसमेत दिएन ।’
जेनजी आन्दोलनले जुन रुप लियो, ०६२÷०६३ सालको आन्दोलनसमेत त्यस्तो भयानक थिएन । कास्की जिल्लाको प्रहरी कार्यालय नै ध्वस्त हुनु अहिलेसम्मकै भयानक अवस्था थियो । अहिले जसरी सरकार बनेको छ, यतिखेर सरकार जवाफदेही र सुशासनमा कमजोर बनिरहेको भान भएको जेनजी घाइतेहरुको कथन छ ।












प्रतिक्रिया