एनआईसी एशिया बैंकका ग्राहकलाई बीएमडब्लु खरिदमा विशेष सुविधा


काठमाडौँ।

एनआईसी एशिया बैंकका ग्राहकले बीएमडब्लु ब्रान्डका सवारीसाधन खरिद गर्दा सहुलियतपूर्ण ब्याजदर तथा विभिन्न विशेष सुविधा पाउने भएका छन्।

यसका लागि एनआईसी एशिया बैंक र काठमाडौंस्थित लक्ष्मी प्रिमियम मोटर्स प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा बैंकका चिफ बिजनेस अफिसर (रिटेल बिजनेस) अमित केसी र लक्ष्मी प्रिमियम मोटर्सका डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार बीएमडब्लुका सवारीसाधन खरिद गर्ने ग्राहकले परिवर्तनीय ब्याजदरअन्तर्गत औसत आधारदरमा थप १ प्रतिशत ब्याज सुविधासहित सवारीसाधन कर्जा लिन सक्नेछन्। स्थिर ब्याजदर रोज्ने ग्राहकले भने ७ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

त्यस्तै, ग्राहकले प्रशासनिक सेवा शुल्कमा २५ प्रतिशत छुट पाउनेछन् भने कर्जा प्रक्रिया छिटो र सहज बनाउने व्यवस्था समेत गरिएको छ।

बैंकले उक्त सुविधामार्फत ग्राहकले बीएमडब्लुका सवारीसाधन आकर्षक ब्याजदरमा सहज रूपमा खरिद गर्न सक्ने जनाएको छ।