सिटिजन्स क्यापिटलको २०औँ वार्षिक साधारणसभा सम्पन्न


काठमाडौँ।

सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको बाटुलेघर, डिल्लीबजारस्थित रजिष्ट्रर्ड कार्यालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नुका साथै संस्थाको नियमावलीअनुसार गरिएको सञ्चालक नियुक्तिको अनुमोदनसमेत गरेको छ।

सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार तथा डिम्याटलगायतका पूँजी बजारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले काठमाडौं उपत्यकाबाहिरका लगानीकर्तालाई समेत पूँजी बजारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले सिटिजन्स बैंकका देशभरका विभिन्न शाखामार्फत आफ्ना सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।