काठमाडौँ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंका विभिन्न साइत सार्वजनिक गरेको छ। समितिका अनुसार असोज २५ गते आइतबार बिहान ११ः४७ बजे घटस्थापनाको साइत रहेको छ। यस दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापनाअघि सम्बन्धित शान्ति गरी पूजा आरम्भ गर्नु शास्त्रसम्मत हुने जनाइएको छ।
दशैंको दोस्रो दिन अर्थात् असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने साइत तोकिएको छ। उक्त समयमा पश्चिम मोहडा फर्काएर झण्डा फेर्नुपर्ने समितिले जनाएको छ।
यसैगरी, असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ भने असोज ३१ गते शनिबार फूलपाती तथा श्री तुलजाभवानी यात्रा गरिनेछ। फूलपातीका दिन श्री तुलजाभवानी यात्राको साइत बिहान ७ः३७ बजे र स्थिरासनको साइत बिहान १०ः३९ बजे रहेको छ।
दशैंको महत्वपूर्ण दिनका रूपमा रहेको कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि परेको छ। त्यसको दुई दिनपछि कार्तिक ३ गते मंगलबार महानवमी मनाइनेछ।
कार्तिक ४ गते बुधबार विजया दशमी तथा देवी विसर्जन हुनेछ। समितिका अनुसार यस दिन टीकाको शुभसाइत बिहान १०ः२६ बजे रहेको छ। टीका लगाइमाग्दा पश्चिम फर्किनुपर्ने जनाइएको छ। सोही दिन श्री तुलजाभवानी यात्राको साइत बिहान १०ः५१ बजे, स्थिरासनको साइत दिउँसो ११ः५२ बजे तथा खड्गयात्रा हुनेछ।
दशैंका मुख्य विधि सम्पन्न भएपछि कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिनेछ। समितिले बडादशैंअन्तर्गतका सबै धार्मिक तथा सांस्कृतिक विधि तोकिएका शुभसाइतअनुसार सम्पन्न गर्न जनाएको छ।











प्रतिक्रिया