विवाद समाधानमा मेलमिलापको बढ्दो महत्व

1.41k
Shares

मानव समाजमा विचार, स्वार्थ, आवश्यकता, अधिकार, दायित्व तथा व्यवहारमा भिन्नता हुनु स्वाभाविक कुरा हो । यही भिन्नताका कारण नै व्यक्ति–व्यक्तिबीच मात्र नभई परिवार, समुदाय, संस्थागत तह वा राज्य र नागरिकबीच विभिन्न प्रकारका विवाद उत्पन्न हुने गर्दछन् । विवाद आफैंमा नकारात्मक विषय होइन तर विवादलाई समयमै उचित ढंगले व्यवस्थापन वा समाधान गर्न नसकिएमा यसले पारिवारिक सम्बन्ध बिगार्न, सामाजिक सद्भाव खल्बल्याउन, आर्थिक क्षति पु¥याउन तथा दीर्घकालीन वैमनस्य सिर्जना गर्न सक्दछ । त्यसैले विवादको समाधान केवल कानुनी निर्णयमा सीमित नराखी सम्बन्धको संरक्षण, आपसी समझदारी र दिगो सहमतिलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता बढ्दै गएको छ ।

नेपालमा पनि पछिल्ला वर्षहरूमा विवाद समाधानका लागि मेलमिलाप कार्यलाई विशेष प्राथमिकता दिन खोजिएको छ । स्थानीय तहदेखि जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतसम्म मेलमिलापको प्रयोग र महत्व विस्तार हुँदै गएको छ । यसका लागि कानुनी तथा संस्थागत व्यवस्था मात्र विकास भएका छैनन्, समाजमा संवाद, सहमति र आपसी सम्मानका माध्यमबाट विवाद समाधान गर्ने संस्कार पनि विकसित हुँदै आएको पाइन्छ । यसले न्यायमा पहुँच विस्तार गर्नुका साथै विवाद समाधानलाई सरल, छिटो, कम खर्चिलो र सम्बन्धमैत्री बनाउन महत्वपूर्ण योगदान पु¥याएको छ ।

मेलमिलाप विवादमा रहेका पक्षहरूलाई आपसी संवाद र समझदारीका माध्यमबाट स्वीकार्य समाधानमा पुग्न सहयोग गर्ने सरल प्रक्रिया हो । यस प्रक्रियामा विवादको निर्णय कुनै न्यायाधीश, अधिकारी वा मेलमिलापकर्ताले एकतर्फी रूपमा गर्दैन । बरु विवादका पक्षहरू आफैंले आफ्नो समस्या, आवश्यकता, चासो र सम्भावित समाधानका विषयमा छलफल गरी सहमति खोज्दछन् । अदालतबाट हुने निर्णयमा सामान्यतः एउटा पक्ष विजयी र अर्को पक्ष पराजित भएको अनुभूति हुन सक्छ । तर मेलमिलापमा दुवै पक्षको चासो, आवश्यकता र सम्भावनालाई ध्यानमा राखेर समाधान खोजिने भएकाले दुवै पक्षले सम्मानजनक रूपमा विवादबाट बाहिर निस्कने अवसर प्राप्त गर्न सक्छन् । त्यसैले मेलमिलापलाई ‘हार–जितको प्रक्रिया’ भन्दा ‘समझदारी र सहकार्यको प्रक्रिया’ का रूपमा बुझ्ने गरिन्छ ।

मेलमिलापको मुख्य आधार स्वेच्छिकता, गोपनीयता, निष्पक्षता, आत्मनिर्णय र आपसी सम्मान हो । पक्षहरूलाई दबाब दिएर वा कुनै समाधान स्वीकार गर्न बाध्य बनाएर गरिएको सहमति मेलमिलापको वास्तविक मर्मअनुकूल हुँदैन । मेलमिलापको सफलता तब मात्र सम्भव हुन्छ, जब पक्षहरूले स्वतन्त्र रूपमा आफ्ना कुरा राख्न पाउँछन् र आफैंले स्वीकार गरेको समाधानमा पुग्छन् ।

नेपालको न्याय प्रणालीमा मुद्दाको संख्या बढ्दै जानु, न्यायिक प्रक्रिया लामो हुनु, आर्थिक दायित्व बढ्नु तथा विवादका कारण सम्बन्ध बिग्रिनुजस्ता समस्याले वैकल्पिक विवाद समाधानका उपायहरूको आवश्यकता बढाएको छ । मेलमिलापले यस्ता समस्यालाई कम गर्न सहयोग पु¥याउन सक्छ । स्थानीय तहमा मेलमिलापको महत्व अझ बढी देखिन्छ । गाउँघर वा समुदायमा उत्पन्न हुने साना तथा मध्यम प्रकृतिका विवादहरू समयमै समाधान हुन नसकेमा तिनले ठूलो समस्या निम्त्याउन सक्छ । घरजग्गा, बाटोघाटो, साँध–सिमाना, लेनदेन, पारिवारिक सम्बन्ध, छिमेकी विवाद तथा समुदायभित्रका विभिन्न असमझदारीलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्न मेलमिलाप उपयोगी हुन सक्छ । स्थानीय स्तरमै विवाद समाधान हुँदा पक्षहरूको समय र खर्च बच्नुका साथै सामाजिक सम्बन्ध पनि जोगिन सक्छ ।
अदालतमा पनि मेलमिलापको प्रयोग बढ्दै गएको छ ।

अदालतमा दर्ता भएका धेरै विवादमा कानुनी प्रश्नका अतिरिक्त भावनात्मक, पारिवारिक, सामाजिक वा व्यावहारिक पक्ष पनि जोडिएका हुन्छन् । विशेष गरी पारिवारिक विवाद, सम्बन्धसँग सम्बन्धित विवाद, लेनदेन तथा केही देवानी प्रकृतिका विवादमा मेलमिलापबाट दिगो समाधानको सम्भावना रहन्छ । अदालतको निर्णयले कानुनी विवाद टुंग्याउन सक्छ, तर मेलमिलापले विवादसँगै बिग्रिएको सम्बन्धलाई पनि सुधार गर्ने अवसर प्रदान गर्न सक्छ । मेलमिलापले अदालतको कार्यबोझ कम गर्न पनि सहयोग पु¥याउँछ । सबै विवाद पूर्ण न्यायिक प्रक्रियाबाट मात्र समाधान गर्नुपर्ने अवस्था रहेमा अदालतमा मुद्दाको चाप बढ्न सक्छ । मेलमिलापबाट समाधान हुन सक्ने विवादहरू सहमतिका माध्यमबाट टुंगिँदा न्यायिक स्रोत र समयको प्रभावकारी उपयोग हुन सक्छ । यसबाट जटिल र गम्भीर प्रकृतिका मुद्दामा अदालतले बढी ध्यान केन्द्रित गर्न सक्ने वातावरण पनि निर्माण हुन सक्छ ।

मेलमिलापबाट विवादका पक्षहरूले विभिन्न प्रकारका लाभ प्राप्त गर्न सक्छन् । पहिलो, यो प्रक्रिया तुलनात्मक रूपमा छिटो हुन्छ । लामो समयसम्म मुद्दा चल्दा पक्षहरूको समय, श्रम र आर्थिक स्रोत खर्च हुन्छ । मेलमिलापबाट उचित सहमति हुन सकेमा विवाद कम समयमा समाधान हुन सक्छ । दोस्रो, मेलमिलाप तुलनात्मक रूपमा कम खर्चिलो हुन्छ । अदालतमा मुद्दा चलाउँदा कानुनी प्रक्रिया, प्रतिनिधित्व, यात्रा, समय तथा अन्य व्यवस्थापनमा खर्च हुन सक्छ । मेलमिलापको प्रभावकारी प्रयोगले यस्ता खर्च कम गर्न सहयोग पु¥याउछ । तेस्रो, मेलमिलापले सम्बन्ध जोगाउन मद्दत गर्छ । परिवारका सदस्य, नातेदार, छिमेकी, व्यावसायिक साझेदार वा एउटै समुदायका व्यक्तिबीच विवाद हुँदा केवल कानुनी निर्णय पर्याप्त नहुन सक्छ ।

भविष्यमा पनि सँगै बस्न, काम गर्न वा सामाजिक सम्बन्ध कायम राख्नुपर्ने अवस्था हुन सक्छ । मेलमिलापले संवाद र समझदारीको वातावरण निर्माण गरी सम्बन्ध सुधार्ने सम्भावना बढाउँछ । चौथो, मेलमिलापमा पक्षहरूको सक्रिय सहभागिता हुन्छ । पक्षहरू केवल निर्णय पर्खने व्यक्ति हुँदैनन्, बरु समाधान निर्माण गर्ने मुख्य सहभागी हुन्छन् । यसले सहमतिको स्वामित्व पक्षहरूमा नै रहने वातावरण बनाउँछ । आफूले सहभागिता जनाएर बनाएको सहमति कार्यान्वयन हुने सम्भावना पनि बढी हुन सक्छ । तेस्तै मेलमिलापमा गोपनीयताले संवेदनशील विवादमा विशेष महत्व राख्दछ । पारिवारिक वा व्यक्तिगत विषय सार्वजनिक हुँदा पक्षहरूलाई सामाजिक वा मानसिक असहजता हुन सक्छ । गोपनीयताको उचित संरक्षणले पक्षहरूलाई खुलस्त रूपमा आफ्ना कुरा राख्न सहयोग पु¥याउँछ ।

तसर्थ मेलमिलाप प्रक्रियामा मेलमिलापकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । मेलमिलापकर्ता न्यायाधीश होइनन्, जसले कसलाई सही वा गलत भनेर फैसला गर्छन् । उनी कुनै एक पक्षको कानुनी प्रतिनिधि पनि होइनन् । मेलमिलापकर्ता निष्पक्ष, तटस्थ र विश्वसनीय सहजकर्ताका रूपमा उपस्थित हुन्छन् । उनको मुख्य जिम्मेवारी पक्षहरूबीच संवादको वातावरण सिर्जना गर्नु, विवादका वास्तविक विषय पहिचान गर्न सहयोग गर्नु तथा पक्षहरूलाई पारस्परिक रूपमा स्वीकार्य समाधान खोज्न प्रेरित गर्नु हो । कुशल मेलमिलापकर्ताले विवादको सतहमा देखिएको विषय मात्र होइन, त्यसको भित्री कारण, पक्षहरूको वास्तविक चासो, आवश्यकता, भावना र भविष्यका अपेक्षालाई पनि बुझ्ने प्रयास गर्छन् । कतिपय अवस्थामा विवादको बाहिरी विषय सामान्य देखिए पनि त्यसको पछाडि लामो समयदेखि रहेको असन्तुष्टि, अविश्वास, सम्मानको कमी वा सञ्चारको अभाव हुन सक्छ । यस्ता पक्षलाई पहिचान गर्न सक्ने क्षमता मेलमिलापकर्तामा हुनुपर्छ ।

मेलमिलापकर्ता धैर्यवान् र राम्रो श्रोता हुनुपर्छ । पक्षहरूको कुरा बीचमै काट्ने, हतारमा निष्कर्ष निकाल्ने वा कुनै पक्षको भनाइलाई पूर्वाग्रहका आधारमा मूल्याङ्कन गर्ने व्यवहारले मेलमिलापको वातावरण बिगार्छ । पक्षहरूले आफूलाई सुनिएको, बुझिएको र सम्मान गरिएको अनुभूति गर्न सकेमा सहमतितर्फ अघि बढ्ने सम्भावना बढ्छ । अतः मेलमिलापकर्ता कुशल मात्र होइन, इमानदार र नैतिक पनि हुनुपर्छ । निष्पक्षता मेलमिलापकर्ताको सबैभन्दा महत्वपूर्ण गुण हो । उनले कुनै पक्षको पक्षमा झुकेको देखिनुहुँदैन । कुनै पक्षसँग व्यक्तिगत, पारिवारिक, आर्थिक वा अन्य सम्बन्ध भएमा त्यसले मेलमिलाप प्रक्रियामा प्रभाव पार्न सक्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा पारदर्शिता र नैतिक जिम्मेवारी आवश्यक हुन्छ ।

मेलमिलापको क्रममा पक्षहरूले विश्वासका आधारमा व्यक्तिगत, पारिवारिक वा आर्थिक विषय साझा गर्न सक्छन् । ती विषयलाई अनावश्यक रूपमा बाहिर ल्याउनु वा कुनै पक्षविरुद्ध प्रयोग गर्नु अनुचित हुन्छ । गोपनीयता कायम रहँदा मात्र पक्षहरूले खुलस्त रूपमा संवाद गर्न सक्छन् । मेलमिलापकर्तामा प्रभावकारी संवाद तथा सञ्चार सीप पनि आवश्यक हुन्छ । उसले सरल र स्पष्ट भाषाको प्रयोग गर्नुपर्छ । कानुनी वा प्राविधिक शब्दको अत्यधिक प्रयोगले पक्षहरू अन्योलमा पर्न सक्छन् । विवादका जटिल विषयलाई सरल भाषामा प्रस्तुत गर्ने, गलत बुझाइ हटाउने तथा पक्षहरूबीच सकारात्मक संवाद कायम गर्ने क्षमता महत्वपूर्ण हुन्छ ।

त्यसै गरी, मेलमिलापकर्तामा धैर्यता, संवेदनशीलता, सहानुभूति, आत्मसंयम र समस्या समाधान गर्ने क्षमता हुनुपर्छ । विवादका पक्षहरू भावनात्मक, आक्रोशित वा निराश हुन सक्छन् । यस्तो अवस्थामा मेलमिलापकर्ताले आफ्नो व्यवहार सन्तुलित राखी शान्त र सुरक्षित वातावरण निर्माण गर्नुपर्दछ । उनले पक्षहरूको भावनालाई सम्मान गर्नुपर्छ, तर भावनात्मक दबाबमा परेर निष्पक्षता भने गुमाउनुहुँदैन ।

नेपालको सामाजिक परम्परामा आपसी समझदारी, छलफल र सहमतिका माध्यमबाट विवाद समाधान गर्ने अभ्यास पूर्णतः नयाँ होइन । परिवारका ज्येष्ठ सदस्य, समुदायका सम्मानित व्यक्ति वा स्थानीय सामाजिक संरचनाले विगतदेखि नै विवाद मिलाउने भूमिका खेल्दै आएका छन् । आधुनिक मेलमिलाप प्रणालीले यस्ता सामाजिक अभ्यासलाई कानुनी, संस्थागत र प्रक्रियागत आधार प्रदान गरेको छ । मेलमिलापको संस्कार विकास गर्न केवल कानुन बनाउनु पर्याप्त हुँदैन । नागरिकमा संवादको संस्कृति, सहिष्णुता, आपसी सम्मान र सहमतिको भावना पनि विकास हुनुपर्छ । विवाद उत्पन्न हुनासाथ अदालत वा कानुनी संघर्षलाई मात्र पहिलो विकल्प ठान्नुको सट्टा सम्भव भएसम्म संवाद र मेलमिलापको अवसर खोज्ने सोच आवश्यक छ ।

मेलमिलापको महत्व बढ्दै गए पनि यसको प्रभावकारी कार्यान्वयनमा चुनौतीहरू पनि रहेका छन् । कतिपय स्थानमा मेलमिलापसम्बन्धी पर्याप्त जनचेतनाको अभाव छ । धेरै नागरिक अझै पनि मेलमिलापको प्रक्रिया, यसको लाभ र कानुनी महत्वबारे स्पष्ट जानकारी राख्दैनन् । मेलमिलापकर्ताको क्षमता विकास पनि महत्वपूर्ण विषय हो । केवल तालिम प्राप्त गर्नु पर्याप्त हुँदैन । व्यावहारिक अनुभव, निरन्तर अध्ययन, संवाद सीप, नैतिक आचरण तथा विषयगत ज्ञान आवश्यक हुन्छ । मेलमिलापकर्ताका लागि नियमित पुनर्ताजगी तालिम, अनुभव आदानप्रदान तथा प्रभावकारी अनुगमनको व्यवस्था हुनुपर्छ ।

त्यस्तै, मेलमिलापको नाममा कमजोर पक्षमाथि दबाब पर्न नदिन विशेष सावधानी आवश्यक हुन्छ । शक्ति, आर्थिक अवस्था, सामाजिक प्रभाव वा लैङ्गिक असमानताका कारण कुनै पक्षलाई आफ्नो इच्छा विपरीत सहमति गर्न बाध्य पारिनुहुँदैन । मेलमिलापलाई प्रभावकारी बनाउन स्थानीय तह, अदालत, कानुन व्यवसायी, मेलमिलापकर्ता तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक छ । मेलमिलाप प्रक्रियाको गुणस्तर, पारदर्शिता र विश्वसनीयता कायम राख्न संस्थागत जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ ।

अन्त्यमा, आजको समयमा विवाद समाधानमा मेलमिलापको महत्व निरन्तर बढ्दै गएको छ । स्थानीय तहदेखि सर्वोच्च अदालतसम्म नै मेलमिलापले स्थान पाउनु यसको उपयोगिता र आवश्यकताको सङ्केत हो । यसले पक्षहरूको समय, श्रम र खर्च बचाउनुका साथै आपसी सम्बन्ध जोगाउन, सामाजिक सद्भाव कायम गर्न तथा न्यायमा पहुँच विस्तार गर्न सहयोग पु¥याउन सक्छ । मेलमिलापको सफलता कानुनी व्यवस्था वा संस्थागत संरचनामा मात्र निर्भर हुँदैन । यसको सफलता पक्षहरूको स्वेच्छिक सहभागिता, आपसी विश्वास, संवादको वातावरण तथा मेलमिलापकर्ताको क्षमता र इमानदारितासँग पनि गहिरो रूपमा जोडिएको हुन्छ । मेलमिलापकर्ता निष्पक्ष, धैर्यवान्, संवेदनशील, गोपनीयता कायम गर्ने, कुशल संवादकर्ता र उच्च नैतिक चरित्र भएका हुनुपर्छ । कानुनले विवादको निर्णय गर्न सक्छ, तर मेलमिलापले संवाद, समझदारी र विश्वासको सम्बन्धलाई पुनः जोड्न मद्दत गर्छ । तसर्थ मेलमिलाप आजको आवश्यकता मात्र होइन, न्यायपूर्ण, सहिष्णु र सद्भावपूर्ण समाज निर्माणको महत्वपूर्ण आधार पनि हो ।
(लेखक काफ्ले अधिवक्ता तथा मेलमिलापकर्ता हुनुहुन्छ ।)