बाढीपछि महामारीको जोखिम अर्को विपत्ति आउन नदेऊ


चीनसँगको सीमावर्ती क्षेत्रबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपालमा निम्त्याएको मानवीय र भौतिक क्षतिको पूर्ण चित्र अझै बाहिर आइसकेको छैन । घर, पुल, सडक, जलविद्युत् आयोजना र स्वास्थ्य संस्थासमेत तहसनहस भएको यो विपत्ति आफैँमा अकल्पनीय त्रासदी हो ।

तर विपत्तिको घाउमा अर्को स्वास्थ्य संकट थपिन थालेको संकेत अझ चिन्ताजनक छ । बाढी प्रभावित क्षेत्रमा देखिन थालेको ज्वरो, दूषित पानी, अस्वस्थकर वातावरण र विस्थापित नागरिकको भीडले सम्भावित महामारीको जोखिमतर्फ संकेत गरिरहेको छ । बाढी सकिएपछि जोखिम सकिँदैन । वास्तवमा त्यसपछि शुरु हुन्छ– अर्को चरणको चुनौती ।

खानेपानीका मुहान दूषित हुनु, शौचालय तथा ढल प्रणाली नष्ट हुनु, फोहोर र मरेका पशु चौपाया व्यवस्थापन हुन नसक्नु तथा हजारौँ मानिस अस्थायी आश्रयमा बस्न बाध्य हुनु भनेको संक्रामक रोग फैलिने अनुकूल अवस्था हो । विश्व स्वास्थ्य संगठनले पनि यस्ता परिस्थितिमा झाडापखाला, हैजा, टाइफाइडजस्ता पानी तथा खानाजन्य रोगसँगै श्वासप्रश्वासजन्य संक्रमण, छालासम्बन्धी समस्या र लामखुट्टेबाट सर्ने रोगको जोखिम बढ्ने चेतावनी दिएको छ ।

अहिले देखिएको ‘भाइरल ज्वरो’लाई सामान्य मौसमी समस्या भनेर बेवास्ता गर्नुहुँदैन । ज्वरो आफैँमा कुनै एउटा रोगको नाम होइन । यसको कारण भाइरल संक्रमणदेखि डेंगु, इन्फ्लुएन्जा, पानीजन्य संक्रमण वा अन्य संक्रामक रोग हुनसक्छ । त्यसैले प्रभावित क्षेत्रमा ज्वरो, झाडापखाला, बान्ता, पेट दुख्ने, सास फेर्न गाह्रो हुने, छालामा असामान्य समस्या वा अत्यधिक कमजोरी देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुग्ने व्यवस्था हुनुपर्छ । रोगको कारण पुष्टि नगरी औषधि खाने र जथाभावी एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ ।

नागरिक तहमा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षित पानी र स्वच्छ खाना हो । उमालेर वा सुरक्षित तरिकाले प्रशोधन गरेको पानी मात्र पिउने, खाना पकाउन र भाँडा माझ्न सुरक्षित पानी प्रयोग गर्ने, साबुन–पानीले नियमित हात धुने तथा खुला ठाउँमा दिसापिसाब नगर्ने विषयमा प्रभावित बस्तीमा निरन्तर जनचेतना आवश्यक छ । डब्लुएचओले बाढीपछि सुरक्षित खानेपानी उपलब्ध गराउनु पानीजन्य रोग नियन्त्रणको सबैभन्दा महत्वपूर्ण उपायमध्ये एक भएको जनाएको छ ।

सरकारको जिम्मेवारी अझ ठूलो छ । स्वास्थ्य मन्त्रालयले प्रभावित प्रत्येक बस्तीमा रियल टाइम रोग निगरानी प्रणाली सञ्चालन गर्नुपर्छ । कुन गाउँमा कति ज्वरोका बिरामी छन्, कति झाडापखाला फैलिएको छ, कुन ठाउँमा पानी दूषित छ र कुन रोगको परीक्षण सकारात्मक भइरहेको छ भन्ने तथ्यांक दैनिक अद्यावधिक हुनुपर्छ । शंकास्पद क्लस्टर देखिए तत्काल परीक्षण, प्रयोगशाला टोली, औषधि र चिकित्सक परिचालन गर्नुपर्छ । केही अस्पतालले स्वस्फूर्त स्वास्थ्य शिविर राख्ने गरे पनि पर्याप्त हुन सकेको छैन ।

त्रिशूलीका जनता स्वास्थ्य समस्यामा परिसकेका छन् । महामारीपछि देखिने समस्या धेरैमा देखिइसकेको छ र उपाचारका लागि अन्यत्र जाने ठाउँ छैन । त्यसै गरी खानेपानीको परीक्षण, क्लोरिनेसन, फोहोर व्यवस्थापन, लामखुट्टे नियन्त्रण, अस्थायी शिविरमा पर्याप्त शौचालय र सुरक्षित खाना सुनिश्चित गर्नुपर्छ । स्वास्थ्य संस्थामा औषधि मात्र होइन, प्रयोगशाला, अक्सिजन, आकस्मिक सेवा र जनशक्तिको पर्याप्त व्यवस्था हुनुपर्छ । डब्लुएचओले पनि बाढी प्रभावित क्षेत्रमा रोग निगरानी र अत्यावश्यक स्वास्थ्य सेवा निरन्तरतामाथि विशेष जोड दिएको छ ।

अर्को महत्वपूर्ण पक्ष मानसिक स्वास्थ्य हो । आफन्त गुमाएका, घरबारविहीन भएका र लामो समयदेखि बेपत्ताको प्रतीक्षामा रहेका नागरिकको मानसिक पीडा पनि स्वास्थ्य संकटकै हिस्सा हो । उनीहरूलाई मनोसामाजिक परामर्श र आवश्यक सहयोग उपलब्ध गराउनुपर्छ । बाढीले दिएको पहिलो पाठ उद्धार र राहतको हो भने दोस्रो पाठ महामारी रोकथामको हुनुपर्छ ।

विपत्तिपछि रोग फैलिन दिनु भनेको एउटै त्रासदीलाई अर्को त्रासदीमा बदल्नु हो । त्यसैले सरकार अहिले नै ‘रोग देखिएपछि उपचार गर्ने’ होइन, रोग फैलिनुअघि पहिचान र रोकथाम गर्ने रणनीतिमा जानुपर्छ । नागरिक पनि सुरक्षित पानी, स्वच्छता र समयमै उपचारलाई आफ्नो पहिलो जिम्मेवारी ठान्नुपर्छ । प्रकृतिले दिएको विपत्तिलाई हामीले रोक्न नसकौँला, तर त्यसपछिको महामारीलाई रोक्न अवश्य सक्छौँ । अहिलेको आवश्यकता यही सामूहिक सतर्कता हो ।