काठमाडौँ ।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा उर्लिएर आएको विनाशकारी बाढीले क्षणभरमै कयौँको सिन्दूर पुछ्यो, कयौँ बालबालिकालाई टुहुरो बनायो र कयौँ परिवारलाई सुकुम्बासी बनायो । सडक, पुल र बस्तीहरू लेदोको समाधिस्थल बने । सिंगो देश शोक र स्तब्धतामा डुबिरहँदा आफ्नै ज्यान हत्केलामा राखेर मृत्युको मुखबाट जीवन खोस्न खटिएका थिए– नेपालका तीनवटै सुरक्षा निकायका बहादुर उद्धारकहरू ।
भोक, प्यास, थकान, निद्रा र प्रतिकूल मौसमको पर्वाह नगरी उनीहरू भग्नावशेष, सुरुङ, नदी किनार र लेदोभित्र जीवन खोजिरहेका थिए । कतै शव भेटिन्थ्यो, कतै आफन्तको विलाप सुनिन्थ्यो । तर उद्धारकहरूका लागि हरेक आवाज एउटा सम्भावित जीवनको संकेत थियो ।
अँध्यारो टनेलबाट जब ‘बचाऊ’ भन्ने आवाज आयो
गंगा बराल, प्रमुख सेनानी
नेपाली सेना
विनाशकारी बाढीले त्रिशूली र भोटेकोशी तटीय क्षेत्र ध्वस्त पारिसकेको थियो । नुवाकोटको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसभित्र ३५ देखि ४० जना कर्मचारी सुरुङभित्रै थुनिएका खबरले सिंगो देशको धड्कन रोकेको थियो । विपद्को गम्भीरतालाई हेरेर नेपाली सेनाका उपरथीको नेतृत्वमा त्रिशूलीमै ‘ट्याक्टिकल हेडक्वाटर’ स्थापना गरियो र कठिन खोज तथा उद्धारको कमाण्ड श्री नं. १ विपद् व्यवस्थापन गणका गणपति, प्रमुख सेनानी बरालले सम्हानुभएको थियो ।
नेपाली सेनाको ‘कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु’ टोली, इन्जिनियर, विशेष फौज बाहिनी, अन्य सुरक्षा निकाय र नेपाल विद्युत् प्राधिकरणका टनेल विशेषज्ञहरूसहितको संयुक्त टोली २४ सै घण्टा अहोरात्र खटियो । बाढी आएको धेरै समय बितिसकेको थियो । जीवितै उद्धार गर्न सकिने प्राविधिक समय समाप्त भइसकेको थियो, प्रमुख सेनानी बराल त्यो भावुक क्षण सम्झिनुहुन्छ । हामीभित्र एउटा गहिरो निराशा छाउन थालेको थियो । तर अचानक, टनेलको अँध्यारो सुरुङबाट सफा पानी बगेर बाहिर आयो र भित्रबाट मानिसहरूको मधुरो आवाज सुनियो, त्यो आवाज सुन्दा हाम्रा आँखाहरू रसाए, शरीरका रौंहरू ठाडो भए । लाग्यो, जीवन अझै बाँकी छ हाम्रा जवानहरूमा एकाएक नयाँ ऊर्जा र हौसला भरियो ।
भौगोलिक विकटता, प्रतिकूल मौसम, भोक, प्यास र निद्रा सबै बिर्सेर नेपाली सेनाका जवानहरू रातदिन नभनी खटिए । गोरखा भूकम्पदेखि म्यानमारको भूकम्पसम्म अन्तर्राष्ट्रिय विपद् व्यवस्थापनमा अनुभव बटुलिसकेको यो गणले त्रिशूलीको त्यो अँध्यारो सुरुङबाट अन्ततः मानिसहरूलाई सुरक्षित बाहिर निकाल्यो ।
विपत्तिको त्यो कठिन परीक्षामा हाम्रा जवानहरूले देखाएको अदम्य साहस र अन्य सुरक्षा निकायसँगको अभूतपूर्व समन्वयले नै चमत्कार सम्भव भएको हो । ‘हामीले जीवन बचायांैँ, र अन्तर्राष्ट्रिय जगत्मा समेत नेपाली सेनाको यो कार्यले गौरव बढाउँदा देशका लागि केही गर्न सकेको गर्व महसुस हुन्छ’, बराल भन्नुहुन्छ ।
हरेक शव कसैको सपना र भविष्य थियो
हिरेन्द्रबहादुर रोकाया, प्रहरी नायब उपरीक्षक
नेपाल प्रहरी
भदौ १० को त्यो कालो दिन, विनाशकारी बाढीको खबर पाउनेबित्तिकै प्रहरी नायब उपरीक्षक हिरेन्द्रबहादुर रोकायाको टोली नुवाकोट र रसुवातर्फ सोझियो । जिल्ला प्रहरी कार्यालय नुवाकोटको निर्देशनपछि उहाँको टोली देवीघाटतर्फ अघि बढ्यो ।
बाटोभरि ध्वस्त भएका पुल, भत्किएका सडक र लेदोले पुरिएका बस्तीहरू थिए । मानिसहरू आफ्ना हराइरहेका आफन्तको नाम पुकार्दै रोइरहेका थिए । देवीघाट पुग्दा दृश्य झनै कारुणिक थियो । प्रहरी टोलीले एउटा घरभित्र र अर्को आधा सडेको अवस्थामा दुईवटा शव फेला पा¥यो । शवलाई सम्मानपूर्वक व्यवस्थापन गर्नु, पहिचान खुलाउनु र रोइरहेका आफन्तको जिम्मा लगाउनु प्रहरीका लागि अत्यन्त भावुक क्षण थियो ।
त्यसपछि रोकायाको टोली बेत्रावतीतर्फ लाग्यो, जहाँ दुई दिनसम्म निरन्तर खोज तथा उद्धार जारी रह्यो । बेत्रावतीको अवस्था कुनै युद्धभूमिभन्दा कम थिएन । त्यहाँ ६ वटा शव फेला परे । तीमध्ये दुईवटा शव त पूर्णरूपमा क्षतविक्षत भएको स्कारपियो गाडीभित्र र नजिकै भेटिएका थिए, भावुक हुँदै रोकाया भन्नुहुन्छ– ‘उनीहरू त पवित्र गोसाइँकुण्डको दर्शन गर्न हिँडेका यात्रुहरू रहेछन् । धर्मकर्मका लागि हिँडेका मानिसहरूको त्यो हविगत देख्दा छाती चस्स दुख्यो । अर्को शव उत्तरगयाको एक विद्यालय नजिक भेटियो, जो सानै उमेरकी अबोध स्कुलकी बालिका थिइन् । जब हामीले ती बालबालिका र मानिसका शवहरू लेदोबाट निकालिरहेका थियौँ, मलाई महसुस हुन्थ्यो, यी केवल मृत शरीर होइनन्, यी त कसैको घरको आशा, कसैको सपना र कसैको सिंगो भविष्य थिए ।’ त्यसपछि उहाँ बट्टार, त्रिशूली बजार र टुप्चे क्षेत्रमा खटिनुभयो ।
सञ्चार र विद्युत् विच्छेद भएकाले मानिसहरू बाहिरी दुनियाँबाट अलग थिए । सामान्यतया आधा घण्टा लाग्ने बाटो धादिङबेँसी हुँदै ९–१० घण्टा घुमेर पुग्नुपथ्र्यो । त्रिशूली बजारमा मानिसहरूले जिन्दगीभरको कमाइ, पसल र घर एकैछिनमा गुमाएका थिए । मानिसहरू जीवित त थिए, तर उनीहरूभित्रको जीवन मरिसकेको थियो । उनीहरूको आँखामा भोक र थकानभन्दा बढी भविष्यप्रतिको अन्योल र डर थियो । डिएसपी रोकाया भन्नुहुन्छ– ‘उद्धारका क्रममा हामीले लेदोभित्र पुरिएका गरगहना र बहुमूल्य सामानहरू फेला पारेर सुरक्षित रूपमा सम्बन्धित धनीलाई बुझायौँ । यसले मलाई सिकायो, विपद्मा प्रहरीको काम शव उठाउनु वा जीवन बचाउनु मात्र होइन, नागरिकको भरोसा, मर्यादा र हराएको आशा पुनस्र्थापित गर्नु पनि हो ।’
माटोमुनि ६२ घण्टापछि सुनिएको त्यो सानो स्वरः ममीममी
सञ्जु खत्री, सशस्त्र प्रहरी निरीक्षक
सशस्त्र प्रहरी बल
काठमाडौँबाट घटनाको खबर पाएको १ घण्टामै सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीको नेतृत्वमा ५० जना तालिम प्राप्त टोली हेलिकोप्टरमार्फत रसुवाको धुन्चे हुँदै टिमुरेका लागि प्रस्थान ग¥यो । बाढी र पहिरोले टिमुरेलाई छिन्नभिन्न पारिसकेको थियो । खत्रीको टोलीले प्रारम्भिक चरणमै साहसिक कार्य गर्दै त्यहाँ फसेका करिब ३५० जना नागरिकलाई हेलिकोप्टरमार्फत सकुशल उद्धार गरी धुन्चे पठायो । तर, वास्तविक परीक्षा अझै बाँकी थियो ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा चारैतिर माटो, ढुंगा र काठको थुप्रो मात्रै थियो । सतहमा जीवनको कुनै चिन्ह थिएन । बाढी आएको ६२ घण्टा भइसकेको थियो । सबैले आशा मारिसकेका थिए । अब यहाँ कोही जीवित पाउनु असम्भव छ । ‘बाढी आएको ६२ घण्टा भइसकेको थियो । हामी माटो र काठको थुप्रो पन्छाउँदै थियौँ । वातावरण सुनसान थियो,’ सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्री त्यो क्षण सम्झिँदै स्तब्ध हुनुहुन्छ– ‘अचानक त्यो विशाल माटाको थुप्रोमुनिबाट एउटा एकदमै मसिनो, काँपेको सानो आवाज आयो, ममी… ममी…’ हाम्रा गोडा क्षणभरका लागि रोकिए । हामी सबैले एकअर्कालाई हे¥यौँ । ६२ घण्टादेखि माटोमुनि पुरिएकी ६ वर्षीया बालिका जीवितै थिइन् ।’
‘टोलीले ढिलो नगरी अहोरात्र खटेर माटो र काठ पन्छाउँदै ती अबोध बालिकालाई जीवितै बाहिर निकाल्यो । तर, लगत्तै अर्को ठूलो चुनौती आयो । टिमुरेमा सञ्चार सम्पर्क पूर्णरूपमा ठप्प थियो । हामीले ती बालिकालाई तत्काल अस्पताल पु¥याउनुपर्ने थियो, तर फोन चलेको थिएन । हाम्रा जवानहरू आधा घण्टासम्म पैदल माथि डाँडामा उक्लिएर रेडियो सेटमार्फत धुन्चे गुल्ममा खबर पठाउन सफल भयो । तर, मौसम यति खराब भयो कि त्यस दिन हेलिकोप्टर आउनै सकेन’ –खत्री भन्नुहुन्छ ।
रात प¥यो, ओछ्यान थिएन, ओत थिएन । सशस्त्र प्रहरीका दुई जना जवानहरूले ती बालिकालाई रातभर आफ्नो छातीको न्यानो दिएर काखमा राखेर स्याहार गरे । ६२ घण्टासम्म अँध्यारो माटोमुनि हराएकी ती बालिका बिस्तारै दोहोरो कुरा गर्न थालिन्, तर उनी टोलाउँथिन् र आत्तिन्थिन् । भोलिपल्ट बिहानैदेखि टोली आकाशतिर हेरेर टोलाइरह्यो, तर मौसम अझै खुलेको थिएन । अन्ततः दिउँसोको १ः३० बजे हेलिकोप्टर टिमुरेको आकाशमा आइपुग्यो ।
‘जब हेलिकोप्टर अवतरण भयो र हामीले ती बालिकालाई काठमाडौँको अस्पताल पठाउन सक्यौँ, तब मात्र हामीले राहतको सास फे¥यौँ । ती बालिकाको उद्धार हाम्रा लागि केवल कर्तव्य थिएन, भगवान्ले दिएको अभूतपूर्व उपहार थियो’ –निरीक्षक खत्री भन्नुहुन्छ ।
भदौ १० को त्यो बाढीले नेपाललाई कहिल्यै नपुग्ने घाउ दिएर गयो । सडक र पुलहरू त भोलि फेरि बन्नेछन्, तर गुमेका जीवनहरू कहिल्यै फर्कने छैनन् । यद्यपि, यो महाविपत्तिले एउटा कुरा भने प्रस्ट पा¥यो, जब–जब नेपाली जनतामाथि विपत्तिको पहाड खस्छ, तब–तब नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरू आफ्ना परिवार, भोक र ज्यानको प्रवाह नगरी पर्खाल बनेर उभिन्छन् । माटोमुनि ६२ घण्टापछि सुनिएको त्यो ‘ममी’ भन्ने पुकार होस् या सुरुङको अँध्यारोबाट सुनिएको ‘बचाऊ’ भन्ने आवाज, यी वीर उद्धारकहरूले केवल मानिसको ज्यान मात्र बचाएनन्, सिंगो देशको विश्वास र आशालाई पुनर्जन्म दिए ।












प्रतिक्रिया