महालक्ष्मी विकास बैंक लगातार तेस्रो पटक आईएसओबाट प्रमाणित


काठमाडौँ ।

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015 बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ।

गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत अन्तर्राष्ट्रिय मापदण्डअनुरूप वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले तेस्रो सर्भिलियन्स अडिट सफलतापूर्वक पूरा गरेपछि पुनः ISO प्रमाणपत्र प्राप्त गरेको जनाएको छ। यो प्रमाणपत्र सन् २०२६ अगस्ट १६ अर्थात् २०८३ साल साउन ३२ गतेदेखि लागू हुने गरी प्रदान गरिएको हो।

बैंक पहिलोपटक सन् २०२४ अगस्ट १६ देखि लागू हुने गरी ISO 9001:2015 बाट प्रमाणित भएको थियो। त्यसपछि २०८२ साल भदौमा सम्पन्न पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित भएको बैंक तेस्रो सर्भिलियन्स अडिटपछि पनि निरन्तरता दिन सफल भएको हो।

बैंकले ‘Provision of Development Banking Activities’ अन्तर्गत उक्त प्रमाणपत्र प्राप्त गरेको जनाएको छ। विकास बैंकहरूमध्ये यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा महालक्ष्मी विकास बैंक अग्रणी रहेको बैंकको दाबी छ।

ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्न संस्थाको गुणस्तर व्यवस्थापन प्रणाली, नीति, नियम, कार्यविधि, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको विस्तृत परीक्षण र अडिट हुने गर्दछ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने तथा कार्यप्रणालीमा निरन्तर सुधार गर्न सक्ने संस्थाले यस्तो प्रमाणपत्र प्राप्त गर्ने बैंकले जनाएको छ।

महालक्ष्मी विकास बैंकले गुणस्तरीय वित्तीय सेवा विस्तार गर्ने क्रममा हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ।