काठमाडौँ।
मृत्यु भएको ठानेर काजक्रिया गरिसकेको व्यक्ति अचानक जिउँदै भेटिए के गर्ने ? आफन्तका लागि यो असम्भवजस्तै लाग्ने प्रश्न हो । तर, विपद्का बेला यस्ता घटना हुन सक्छन् । त्यसपछि परिवारले धार्मिक रूपमा के गर्नुपर्छ ? भन्ने विषयमा पनि धर्मशास्त्रले बाटो देखाएको छ ।
गत भदौ १० गतेको विनाशकारी बाढीमा हजारौँ मानिस बेपत्ता भए । हराएकामध्ये कतिपयको शव फेला प¥यो भने कतिपयलाई जीवितै उद्धार गरियो । यही क्रममा भदौ २० गते, बाढी आएको ११औँ दिनमा सशस्त्र प्रहरीले नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट ६४ वर्षीया चण्डिका श्रेष्ठलाई जीवितै उद्धार ग¥यो । तर, चण्डिका जीवितै उद्धार भइरहँदा उहाँको परिवारले भने उहाँ फर्किने आशा मारिसकेको थियो । परिवारले कुशको प्रतीमा बनाएर काजक्रिया सुरु गरिसकेको थियो ।
यस घटनाले एउटा गम्भीर प्रश्न जन्माएको छ– मृत्यु भएको ठानेर काजक्रिया गरिसकेको व्यक्ति जिउँदै भेटिए अब के गर्ने ? वाल्मीकि विद्या पीठको धर्मशास्त्र विभाग प्रमुख प्राडा देवमणि भट्टराई भने यस्तो असामान्य अवस्थामा आत्तिनुपर्ने अवस्था नरहेको बताउनुहुन्छ । ‘मृत्यु भएको ठानेर गरिएको संस्कार आफ्नो ठाउँमा हुन्छ तर व्यक्ति जीवितै भेटिएपछि उसलाई जीवित व्यक्तिका रूपमा पुनः संस्कारको प्रक्रियामा ल्याउने धार्मिक विधि रहेको छ’ –उहाँले भन्नुभयो ।
धर्मसिन्धु, निर्णयसिन्धु आदि धर्मशास्त्रीय मान्यताअनुसार मृत्यु भएको ठानी काजक्रिया तथा अन्तिम संस्कार गरिसकेको व्यक्ति पछि जीवितै भेटिएमा पुनः संस्कार गर्नुपर्ने व्यवस्था रहेको छ । ‘जीवितै भेटिएको व्यक्तिलाई मृत व्यक्तिको रूपमा व्यवहार गरिरहनुपर्ने होइन । बरू उसलाई पुनः जीवन प्राप्त भएको अवस्थाका रूपमा मानेर जन्मदेखि गरिने संस्कार अर्थात् जन्मादि षोडश संस्कार गर्ने धार्मिक मान्यता रहेको छ’ –भट्टराईले भन्नुभयो ।
हिन्दू परम्परामा मानिसको जीवनलाई विभिन्न संस्कारसँग जोडिएको छ । जन्मसँग सम्बन्धित संस्कारदेखि नामकरण, अन्नप्राशन, चूडाकर्म, उपनयनलगायतका संस्कारले व्यक्तिको जीवनयात्रालाई धार्मिक रूपमा व्यवस्थित गर्ने मान्यता छ । त्यसैले मृत्यु भएको ठानी संस्कार गरिसकेको व्यक्ति जीवितै भेटिएमा उसलाई पुनः संस्कारको प्रक्रियामा ल्याउने व्यवस्था रहेको धर्मशास्त्रीय व्याख्या रहेको बाबा गोरखनाथ पञ्चाङ्गका पञ्चाङ्गकार श्रीकेश कोशिक पनि बताउनुहुन्छ ।
शव नभेटिएका विपद्का घटनामा परिवारले मृत्यु भएको निष्कर्षमा पुगेर कुशको प्रतीमा बनाई प्रतीकात्मक रूपमा काजक्रिया गर्ने अवस्था आउन सक्छ । तर, पछि सम्बन्धित व्यक्ति जीवितै भेटिएमा पहिले गरिएको मृत्यु संस्कारपछि पनि जीवित व्यक्तिका लागि आवश्यक संस्कार गर्न सकिने धर्मशास्त्रीय मान्यता रहेको उहाँको भनाइ छ ।
अर्थात्, त्यस व्यक्तिलाई पुनः जीवनमा फर्किएको मान्दै जन्मादि संस्कारको प्रक्रियामा लैजानुपर्ने हुन्छ । यसको अर्थ पहिले गरिएको काजक्रिया ‘गलत’ भयो भन्ने होइन । उपलब्ध सूचना, घटनाको अवस्था र शव नभेटिएको परिस्थितिमा परिवारले मृत्यु भएको ठानेर गरेको धार्मिक कर्मलाई त्यस बेलाको अवस्थासँग जोडेर हेर्नुपर्ने हुन्छ । तर, व्यक्ति जिउँदै फेला परेपछि परिस्थिति पूर्ण रूपमा बदलिन्छ ।
विशेष गरी बाढी, पहिरो, दुर्घटना वा अन्य विपद्मा शव फेला नपर्दा परिवारले लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने बाध्यता हुन्छ । यस्तो अवस्थामा धर्मशास्त्रले निश्चित परिस्थितिमा कुश वा अन्य प्रतीकात्मक माध्यमबाट अन्तिम संस्कार गर्ने विकल्प दिएको पाइन्छ । तर, पछि त्यही व्यक्ति जीवितै भेटिएमा पुनः संस्कारको बाटो खुला रहेको प्राडा भट्टराईको भनाइ छ । चण्डिका श्रेष्ठको घटनाले यही विषयलाई थप चर्चामा ल्याएको छ ।












प्रतिक्रिया