हेटौंडा ।
मापदण्डविपरीत सञ्चालन भइ जरिवाना नतिरेका हेटौंडाका १४ क्रसर तथा बालुवा उद्योग सञ्चालक बेपत्ता भएका छन् । हरेक वर्ष अन्तिममा स्टक (मौज्दात) प्रमाणितसम्ममा १ करोड ६७ लाख ९८ हजार ६ सय ८१ रुपियाँ जरिवाना बुझाउन बाँकी भएका उद्योग सम्पर्कबिहीन भएका हुन् ।
हेटौंडा उपमहानगरपालिका राजस्व शाखाका अनुसार हेटौंडा–१४ को गोङ्वा बालुवा, हेटौंडा–१९ को जय माता दी बालुवा, हेटौंडा–१९ को हिमाल बालुवा, हेटौंडा–१९ को विकास बालुवा, हेटौंडा–१९ को राप्ति बालुवा र हेटौंडा–१९ को एसएनआर इन्टरप्राइजेज उद्योग नभएको सूचीमा समावेश छन् । हेटौंडा–१ को ग्लोबल बालुवा उद्योग पनि जरिवाना नबुझाउनेमा छ ।
शाखा प्रमुख मनोज सुबेदीका अनुसार उद्योग नभएको सूचीमा रहेकाहरु कोही सम्पर्कमा छैनन् । उद्योग स्थानमा भएको ठाउँमा पनि कोही नभेटिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–जरिवाना असुलीका लागि स्थानीय प्रशासनसँग समन्वय र उपमहानगरको कर्मचारी परिचालन गरिएको छ ।
उपमहानगरको तथ्यांकअनुसार हेटौंडा–८ को सम्पूर्ण निर्माण सामग्री सप्लायर्स, हेटौंडा–३ को सुबिधा बालुवा, हेटौंडा–९ को श्रेणी बालुवा उद्योग, हेटौंडा–१९ को श्री बस्तीपुर मिनरल्स आव २०८३-०८४ को कारोबारका लागि बिवरण पेश नगरी जरिवाना छलेर बेपत्ता छन् । उपमहानगरले तोकेको जरिवाना नतिरी हेटौंडा–१९ को जयलक्ष्मी इन्फ्रा इण्डस्ट्रिज र हेटौंडा–११ को एसआरआर बालुवा उद्योग सञ्चालन नभएको भन्दै जरिवाना रकम नबुझाएको उल्लेख छ ।
हेटौंडा–१९ स्थित तीनताप्केमा रहेको तामाङ एग्रीगेट इण्डस्ट्रिज जिल्ला समन्वय समितिबाट सिल गरिएको छ । तथ्यांकअनुसार उद्योगहरुले आव २०८२-०८३ अघिबाट नै उपमहानगरलाई जरिवाना नबुझाएर फरार छन् । त्यस्ता उद्योग ३८ वटा रहेको राजस्व शाखाले जनाएको छ ।











प्रतिक्रिया