दशैंको अन्तर्राष्ट्रिय शुभसाइत सार्वजनिक, कुन देशमा कति बजे ?

0
Shares

काठमाडौं।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीका लागि स्थानीय समयअनुसार विजया दशमी–२०८३ को टीका लगाउने शुभसाइत सार्वजनिक गरेको छ । समितिको २०८३ असोज २० गते बसेको बैठकको निर्णयअनुसार नेपालसहित विभिन्न देशका प्रमुख शहरमा स्थानीय मानअनुसार टीकाको साइत निर्धारण गरिएको हो ।

समितिका अनुसार काठमाडौंमा कात्तिक ४ गते बिहान १०ः२६ बजे विजयादशमीको टीका लगाउने शुभसाइत रहेको छ । भारतको दिल्लीमा बिहान ९ः११ बजे, भुटानको थिम्पुमा १०ः१४ बजे, अमेरिकाको न्युयोर्कमा १०ः११ बजे, फ्र्याङ्कफर्टमा १०ः४७ बजे, भ्यानकुभरमा ११ः४५ बजे, टेक्सासमा १०ः२७ बजे, वासिङ्टन डिसीमा १०ः२१ बजे, क्यालिफोर्नियामा ९ः५१ बजे र क्यानडाको टोरोन्टोमा १०ः४१ बजे टीका लगाउने शुभसाइत तोकिएको छ ।

यसै गरी, जापानको टोकियोमा कात्तिक ५ गते बिहान १०ः१७ बजे, अस्ट्रेलियाको सिड्नीमा ९ः२१ बजे, मेलबर्नमा ९ः३० बजे, ब्रिसबेनमा ८ः२५ बजे, एडिलेडमा ९ः१५ बजे, क्यानबेरामा ९ः०७ बजे तथा तास्मानियामा ८ः५५ बजे साइत रहेको समितिले जनाएको छ । न्युजिल्यान्डको वेलिङ्टनमा कात्तिक ४ गते बिहान ९ः२३ बजे टीकाको साइत छ ।

युरोपतर्फ लिस्बनमा ९ः४९ बजे, लन्डनमा १०ः५५ बजे, पेरिसमा ११ः३९ बजे, ओस्लोमा ११ः५० बजे तथा जेनेभामा १०ः३१ बजे साइत निर्धारण गरिएको छ । एसियातर्फ क्वालालम्पुरमा १०ः४७ बजे, अबुधाबीमा १०ः३९ बजे, दोहामा ९ः४१ बजे, बैंककमा १०ः०७ बजे, सियोलमा ११ः१३ बजे, तेलअभिभमा ११ः९३ बजे, सिंगापुरमा १०ः३९ बजे र हङकङमा १०ः३९ बजे टीका लगाउने समय तोकिएको छ ।

समितिका सदस्य–सचिव श्रीकेश कौशिकले विभिन्न देशमा रहेका सनातन धर्मावलम्बीबाट टीकाको साइतबारे जिज्ञाशा आएपछि स्थानीय समयअनुसार साइत निर्धारण गरिएको बताउनुभयो । ‘विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूबाट विजयादशमी टीकाको साइतबारे जिज्ञाशा राखिएकाले स्थानीय मानअनुसार पर्व मनाउनुपर्ने शास्त्रीय मान्यता रहेको हुँदा शुभसाइत निर्धारण गरिएको हो ।’ –उहाँले भन्नुभयो ।

समितिले उक्त साइत टीकाका लागि सबैभन्दा उपयुक्त समयका रूपमा निर्धारण गरिएको स्पष्ट पार्दै सम्बन्धित देशमा रहेका नेपाली तथा सनातन धर्मावलम्बीलाई सोहीअनुसार दशैंको टीका ग्रहण गर्न अनुरोध गरेको छ ।